नौ लाख तारासँग रमाउँदै अम्बर

- अश्विनी कोइराला

जेष्ठ ३०, २०७३

सबैको जीवन सानदार हुँदैन । जसको जीवन सानदार हुँदैन, मृत्यु सानदार हुने कुरै भएन । यद्यपि अम्बर गुरुङ यस्ता प्रतिभा हुन्, जसले आफ्नो जीवन सानदार बनाए र मृत्युको क्षणमा पनि उनी दु:खी थिएनन् । उनले कमाएका लाखौं शुभचिन्तक देखेर पक्कै पनि उनको आत्मा गद्गद् भएको हुनुपर्छ । 

जीवनको नियम हो, मानिस जहाँ छ, त्यहीँबाट उठ्नुपर्छ । अम्बर गुरुङ जन्मजात संगीतकार थिए । यही परिचयबाट उनी नेपालका सबैभन्दा अग्ला संगीतकार बन्न सफल भए । पुख्र्यौली थलो गोर्खाको रिसिङबाट उनका हजुरबा सानैमा भागेर दार्जीलिङ छिरेका थिए । हजुरबा त्यहीँ सेनामा भर्ना भए । हजुरबासँगै भारतका विभिन्न स्थानमा पुगेका उनका बा पनि सेनामा जागिरे भए । उनका बुवाले दार्जीलिङको लालढिकीमा घर बनाए । अम्बर त्यहीं जन्मिए, जन्मजात संगीतकर्मीको प्रतिभा लिएर ।

उनी सानैदेखि धुनसँग खेल्न मन पराउँथे । दार्जीलिङको माटोमा मादल र बाँसुरीसँग उनको लगाब ईष्र्यालाग्दो थियो । उनी पढ्ने विद्यालयको एउटा कोठालाई आदिकवि भानुभक्तको मूर्तिसहित भजन कोठा बनाइएको थियो । त्यहाँ राखिएको हार्मोनियम सौख हुनेहरूले निर्धक्क बचाउन पाउँथे । अम्बर गुरुङ कक्षा छाडेर त्यही कोठामा हार्माेनियमसँग खेल्थे । उनको स्वर साह्रै मीठो थियो । त्यहाँको विवाह तथा धार्मिक अनुष्ठानहरूमा उनको माग हुन्थ्यो, तर उनको प्रतिभा बुझ्न उनका अभिभावकहरूलाई गाह्रो भयो । त्यसैले उनी बुवा र शिक्षकहरूको हातबाट विद्यालय नगएको वा समयमा पढाइ पूरा नगरेका कारण कुटाइ पनि खान्थे । मध्यमवर्गीय परिवारमा जन्मिए पनि संगीतमा लगाव भएका कारण उनले आईएभन्दा बढी पढेनन् । कलेज पढ्न दिएको पैसाले २०१६ सालमा आफ्नै गीत–संगीतमा पहिलो गीत रेकर्ड गराए, जसको शीर्षक थियो– म अम्बर हुँ । 

उनले रेकर्ड गरेको एल्बम ‘नौ लाख तारा उदाए’ एल्बमले एउटा रेकर्ड नै राख्यो, एक सातामा ५ सय प्रति बिक्री भएर । त्यतिबेला एल्बम किन्ने चलन थिएन । नेपाली भाषामा निस्किएको एल्बम एक सातामै ५ सय प्रति बिक्री हुनु आफंैमा अचम्म थियो । अल इन्डिया रेडियोमा बजेका कारण त्यसको माग आकासिएको थियो । त्यतिबेला नेपाली भाषालाई भारतको राष्ट्रिय भाषाको मान्यता थिएन । कुनै विरोधीले यो गीतलाई भाषा आन्दोलनको गीत र भारतविरोधी गीतको आरोप लगाएपछि त्यसलाई प्रतिबन्धित गरियो । उनी रातारात प्रशासनको आँखामा परे । यही कारणले नेपालमा उनका शुभचिन्तकहरू बढे । 

त्यही बेला तत्कालीन राजा महेन्द्र अम्बर गुरुङको प्रतिभा र चर्चाबाट परिचित हुन पुगेका हुन् । उनले २०२५ सालको आफ्नो जन्मोत्सवमा अम्बर गुरुङलाई नेपाल निम्त्याएका थिए । उनको सांगीतिक प्रस्तुतिपछि साह्रै प्रभावित भएर महेन्द्रले आफ्नै पुर्खाको थलोमा बस्न अनुरोध गरे । एक वर्षपछि राजा आफैं हेलिकोप्टर लिएर उनको घर पुगेपछि भने अम्बर गुरुङ नेपाल आउन बाध्य भए । काठमाडौं आउनेबित्तिकै उनलाई तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विशेषज्ञका रूपमा जागिर दिइएपछि भने उनी सधैंभरि नेपालमै बसे । त्यति मात्र होइन, सम्पूर्ण नेपालीका तर्फबाट राजाले आफूलाई बोलाएको सम्झेर जीवनभर कालजायी संगीत सिर्जना गर्ने र संगीतमा नयाँ प्रयोग गर्ने काममा आफूलाई व्यस्त राखे । 

अम्बर गुरुङ भाग्यमानी संगीतकार हुन् । उनी पञ्चायती कालको उद्गमका बेला राजाको आग्रहमा नेपाल छिरेका थिए तर उनी गणतन्त्र नेपालको राष्ट्रिय गानका संगीतकार बन्न पुगे । पञ्चायतको समयमा सेनाले गाउने सांगठनिक गीत ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो’मा संगीत दिएर सेनाको मन जिते । त्यसैले उनलाई सेनाले मानार्थ क्याप्टेन पद दिएको थियो । उनले लामो समय सेनाबाट पनि तलब बुझे । मृत्युका बेला पनि सेनाले उनलाई सलामी दियो । 

यता गणतन्त्र नेपालको राष्ट्रगीतको संगीतकारका नाताले उनले मासिक भत्ता पाउन थालेका थिए । प्रज्ञा–प्रतिष्ठानमा लामो समय जागिर खाएका गुरुङ रेडियो नेपालमा पनि राम्रो पारिश्रमिक बुझ्ने संगीतकारमा पर्थे । उनी मार्लोबोरो चुरोटको सौखिन थिए र पिउने कुरामा पनि ब्रान्ड कन्सस थिए । नेपालमा रंगीन पत्रपत्रिका प्रकाशन सुरु नहुँदै उनी विदेशबाट नेसनल जोग्राफिक पत्रिका मगाएर पढ्थे । गुरुङले चर्चित साहित्यकार शंकर लामिछाने, भूपी शेरचन तथा मविवि शाहका रूपमा चर्चित राजा महेन्द्रजस्ता साहित्यकारको संगतले रसपूर्ण जीवन जिउन पाएका थिए । ‘यो नेपाली शीर उचाली संसारमा लम्कन्छ’ गीत तयार पारेपछि उनी आममानिसबीच पनि लोकप्रिय हुन पुगे । 

अम्बर गुरुङ निकटस्थहरूका अनुसार उनलाई भारतमा जन्मिएर यहाँ आफ्नो भाग खोस्न आएको भन्नेहरू प्रति ठूलो गुनासो थियो । त्यसैले उनी आफ्नो कुनै व्यवहारले कसैलाई चोट पुग्ला कि भन्ने कुरामा निकै सचेत थिए । पछिल्लो समयमा नेपालभित्रै नेपाल विरोधी गतिविधि हुँदा उनी निकै चिन्तित थिए । ‘नेपाल नरहे नेपाली जाति नै संकटमा पर्छ । त्यसैले सबै नेपाली जाति एकजुट हुन जरुरी छ ।’ उनी बारम्बार भन्थे । 

गुरुङ हक्की स्वभावका थिए । त्यसैले नारायण गोपाल र चाँदनी शाह (तत्कालीन रानी ऐश्वर्य) सँग गीत–संगीतको छनौटलाई लिएर झगडा भएको थियो । उनी प्रज्ञा–प्रतिष्ठान एक्लैले गीत–संगीत, साहित्य र कलाको उत्थान गर्न नसक्ने भएकाले भिन्दै एकेडेमी बनाउनुपर्ने कुराको वकालत गर्थे । उनको यही नीतिका कारण गणतन्त्रपछि सरकारले प्रज्ञा–प्रतिष्ठानलाई तीन बटामा विभाजन गर्‍यो । 

सुरुमा नेपालका रैथाने संगीतकारसँग उनको राम्रो हेलमल हुन सकेन । जब उमेरसँगै उनमा परिपक्वता आयो, अम्बरका शब्द र संगीतमा पनि पूर्णता आयो । यो यति सशक्त थियो कि सबै संगीतकारले उनको क्षमताको कदर गर्न थाले । उनले मुनामदन, मालती मंगले जस्ता गीति नाटक, सेनाले गाउने मुख्य गीत र रातो र चन्द्र सूर्यजस्ता कालाजयी गीत तयार पारेपछि भने उनलाई राजा महेन्द्रले दिएको पद उपयुक्त भएको सबैले स्वीकार गरे । पुराना चलचित्रमा उनले दिएको संगीत अहिले पनि कालाजयी मानिन्छन् । 

उनको संगीतमा नारायण गोपाल, अरुणा लामा, शान्ति ठटाल, फत्तेमान, तारादेवी, प्रेमध्वज प्रधान, उदितनारायण झा, भक्तराज आचार्य, दीप श्रेष्ठ, रबिन शर्मा, तारा थापा, निर्मला श्रेष्ठ, सुक्मित गुरुङजस्ता सफल गायक–गायिकाले गाउन सफल भए । अम्बर गुरुङकै संगीत पाएर यी गायक अमर भएको दावी गर्नेहरू पनि धेरै छन् । भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, शंकर लामिछाने, हरिभक्त कटुवाल, अगमसिंह गिरी, वैरागी काइँला, भूपी शेरचन, रत्नशमशेर थापा, चाँदनी शाह आदिका शब्दमा अम्बरले संगीत भरेका छन् । मनले खाएको गीत भेट्दा उनी जसले लेखेको भए पनि संगीत दिन्थे । निकटस्थहरूका अनुसार अम्बर शब्दको मामिलामा निकै नाकनिके थिए । जस्ता–तस्ता शब्द उनलाई मन पर्दैनथे । उनले संगीत भरेका शब्द विद्वान् व्यक्तिका लागि पनि चासोयुक्त हुन्थे । आफनो संगीतलाई सघाउने शब्द पाएनन् भने उनी आफैं लेख्न थाल्थे । यही सौखले उनलाई गीतकार पनि बनायो । 

आफ्ना सन्तानलाई अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पठाए पनि घर–सम्पत्तिको लोभमा नपरेका कारण उनी दु:खी भएको अनुमान गर्नेहरू धेरै छन्, तर उनलाई करोडौं खर्चेर घर बनाउनुभन्दा लाखौं खर्चेर छोराछोरीलाई पढ्न पठाउनु ठूलो कुरा लाग्थ्यो । तीन छोरा र एक छोरीलाई पढाउन उनले आफ्नो जीवनभर कमाएको सम्पत्ति खर्च गरे । अहिले उनका चारमध्ये अधिकांश सन्तान अमेरिकाका स्थायी बासिन्दा भएका छन् ।

प्रकाशित :जेष्ठ ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्