विवादास्पद तस्बिर (कथा)

- टीका ढुंगाना

जेष्ठ २९, २०७३

धेरैले उसलाई चित्रकारका रूपमा चिन्छन् । तैपनि बाहिर ऊ सामान्य मान्छे हो । एकपल्ट चित्र कोर्न बस्दा मैले उसलाई नियालेर हेरिरहेको थिएँ । 

क्यानभासभित्र

उसले क्यानभास निकाल्यो । धुलो राम्रोसँग पुछ्यो । कपडालाई मज्जाले तन्कायो फ्रेममा राम्रोसँग च्याप्यो । त्यसपछि चुरोट सल्कायो । एकसरो धूवाँ तान्यो र आँखा बन्द गर्‍यो । सम्झियो कुनै अनुहार । त्यस पछि स्केच तयार गर्न थाल्यो । 

तीन औँलाले च्यापिएको पेन्सिल क्यानभासमा दगुर्न थाल्यो । दगुर्दा–दगुर्दै सुन्दर नाकको नक्सा तयार भयो । नाक निक्कै सुन्दर देखियो । उसलाई आफँैले बनाएको दृश्य चित्त बुझ्यो सायद । धेरै पटक दोर्‍याएर हेर्‍यो र मुसुक्क हाँस्यो । त्यसपछि पोटिला गाला तयार भए । चौडा निधार पनि तयार भयो । ओठ र आँखा बनाउन छाडेर ऊ केशतर्फ अघि बढ्यो । उसको पेन्सिल केही छिट–छिटो दगुर्न थाल्यो । केही क्षणमा मिलेको सिल्की केश तयार भयो । केशलाई केही नियालेर हेर्‍यो । नाक खुम्च्यायो । त्यसपछि केशलाई तीव्र गतिमा मेट्यो । पुन: चुरोट सल्कायो र केही बेर आँखा बन्द गर्‍यो । उसको शरीरमा केही अकस्मात् घटित भएझैं गरी आँखा खुल्यो र औँलाहरू पुन: क्यानभासमा चलमलाउन थाले । केही समयको सक्रियतापछि केश तयार भयो । मेट्नुअघिको र अहिले बनेको केश बीच दुई ध्रुवझंै फरक देखा पर्‍यो । घुम्रिएको, कता–कता नकोरिए जस्तो, बतासले हलचल मच्चाएजस्तो देखिने केशराशि देखेर ऊ पुन: मुस्कुरायो । सायद अहिले चित्त बुझ्यो । 

उसको अनुहारको आभामा केही चमक थपियो । औँलामा पनि केही पागलपन देखा परे । लाग्थ्यो क्यानभासमा औँलाहरू रडाको मच्चाइरहेका छन् । केही समयपछि औँलाको चञ्चलता रोकीयो । त्यससँगै दुईवटा आँखा क्यानभासमा देखा परे । अनौठो हेराई, कतै रिस पोखिएजस्तो, कतै प्रेम छछल्किएजस्तो, समुद्र र मरुभूमि दुवै अनुभूति हुने विवादास्पद आँखा देखेर ऊ केही भावुक देखियो, तर मेटाउने साहस भने गर्न सकेन ।

केही समय क्यानभास र पेन्सिलबाट टाढा वस्यो । थकाई मरेझैं गर्‍यो तर बेचैन नै थियो ऊ । तुरुन्तै काममा फर्कियो । नाकदेखि केही तल पेन्सिल सल्बलाउन थाल्यो । ऊ आफैँलाई बिर्सिएजस्तो देखियो । लाग्थ्यो, क्यानभासमा सल्बलाएको कुनै पेन्सिल नभएर ऊ आफैं हो । केही समयपछि ओठको आकार तयार भयो । माथिपट्टि केही पातलो अनि तलको ओठ केही बाक्लो । त्यसैमा थोरै मन्द मुस्कान मिसायो, थोरै थकान अनि कता–कता कापेझैँ जुन शब्दको घेराबाट बाहिरिएजस्तो । हो, त्यस्तै ओठ तयार भयो । अचानक उसका हात रंगमा परे । सरासर रंगहरू ओठहरूमा सल्बलाउन थाले । केही फिक्का पेन्सिल रंग ओठमा देखा पर्‍यो । चित्त नबुझेझंै गरेर उसले त्यसलाई पुन: गाढा बनायो । उसको अनुहारबाट सन्तुष्टिको रंग हराएझैं भयो । केही समय सोचमग्न भएर बस्यो । त्यसपछि ओठमा गाढा रातो रंग मिसायो । केही बाक्लो, मन्द मुस्कान मिसिएको ओहो † साँच्चै सुन्दर गुलावी ओठ तयार भयो । लाग्थ्यो, ती ओठहरूबाट भर्खरै शब्दहरू निस्किएका छन्, ‘कलाकार म तिमीलाई खुबै मन पराउँछु ।’

एउटा सुन्दर अनुहार तयार भैसकेको थियो । ऊ अलिकति पर सरेर हेर्‍यो । खुसी भयो । अलिकति नजिक आएर हेर्‍यो, नाचूँ–नाचूँजस्तो गर्‍यो । उसका आँखा बारम्बार क्यानभासका नि:शब्द आँखामा ठोक्किरहेका थिए । अचानक चित्रतर्फ झुक्यो ऊ । भर्खरै तयार भएको ओठमा चुम्बन बर्साउन थाल्यो । लाग्थ्यो दुई सजीव पात्रहरू चुम्बनमा हराइरहेका छन् ।

क्यानभासबाहिर 

लखतरान भएपछि ऊ क्यानभास ठडिएको ठीक मुन्तिर भुइँमा पल्टियो । जीउलाई घोप्टो पार्‍यो । छेउको कपडाको झोलाबाट पुरानो डायरी निकाल्यो र लेख्न थाल्यो ।

‘लगभग साँझ छिप्पिनै लागेको थियो । म उक्त निर्जन वनमा पुग्दा केही सुनसान थपिएको थियो । चराहरू बास बस्न वन फर्कने क्रममा थिए, केही फर्किसकेका पनि थिए । एकनास तिनिहरूको चिरबिर–चिरबिर आवाज मेरा कानमा ठोक्किरहेको थियो । दिमाग बिग्रिएझैं मेरो मनले त्यो आवाजलाई समेत स्केच गर्ने दुष्प्रयास गर्दै थियो । हो, मलाई कोहीकोही बेला यो मनले हैरान बनाउने गरेको छ । आज पनि त्यही क्रम दहोरिएको हुनुपर्छ सायद ।

वन अधबंैसे जंगली फूलहरूले सुगन्धित थियो । टाढा–टाढाका दृश्यहरू प्रकाशसँगै दूर थिए । धुमिल–धुमिल मात्र देखिन्थे । धुमिल उज्यालोमा गुराँस फूलेको देखिनु एउटा संयोग मात्र थियो । गुराँस फुलेतर्फ दौडनु मेरो एउटा मीठो भुल थियो सायद । हो, म गुराँसको फेदमा पुग्दा रूखमाथि केही सल्बलाइरहेको थियो । मलाई अचम्म लागेको थियो, गाढा साँझमा के सल्बलाउँछ गुराँसमा ? अचानक मेरा आँखा कुनै अपरिचित खुट्टामा परे, आँखाहरू सल्बलाउँदै माथि–माथि उक्लन थाले, पिँडुला हुँदै कसैको अपरिचित लाजमा गएर ठोक्कियो । त्यही बेला मेरो अनुहारमा गुराँसका थुङ्गाहरू बर्सन थाले । मेरो त्यस्तो ऐतिहासिक भूलमा पनि गुराँस बर्साउने तिमी को थियौ, थाहा पाउन सकिन । सायद उज्लालोले मलाई ठगेको थियो, तिम्रो मुहारमा चियाउन पाइनँ ।

माफ गर, तिम्रो काल्पनिक चित्र क्यानभासमा उतारेको छु बिनाअनुमति । ढुंगा बर्साउँदा त रगत बग्थ्यो सायद, फूल बर्सायौ उठ्न नसक्ने गरी घाइते भएको छु । त्यही घाउ त क्यानभासमा तस्बिर भएर उत्रिएको होला ।

प्रकाशित :जेष्ठ २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्