बिरालो मेरो गुरु हो

- अश्विनी कोइराला

जेष्ठ २८, २०७३

 मीनबहादुर भाम, निर्देशक कालो पोथी

३ करोड ८५ लाख रुपैयाँ खर्च गरेर बनाइएको चलचित्र “कालो पोथी’ का निर्देशक हुन्, मीनबहादुर । नेपाली टिमले निर्माण गरेको यो चलचित्र महँगो भएर मात्र चर्चित भएको होइन, यसले अहिलेसम्म २५ वटा चलचित्र महोत्सवमा भाग लिएको छ भने भेनिस फिल्म फेस्टिबलमा क्रिटिक च्वाइसमा बेस्ट फिल्मको उपाधि जितेको छ । निर्माण हुनुअघि नै यो चलचित्रको कथा–पटकथाले स्विट्जरल्यान्ड, बर्लिन र फ्रान्सको कला–संस्कृति मन्त्रालयबाट साढे २ करोड रुपैयाँभन्दा बढीको पुरस्कार जितेको थियो । अहिलेसम्म संसारका ५० भन्दा बढी टेलिभिजन च्यानलले यो चलचित्रको कपिराइट किनिसकेका छन् । नेपाली बजारमा पनि यसले उल्लेख्य व्यापार गरिरहेको छ । मुगुका स्थायी बासिन्दा उनले राजनीतिशास्त्र तथा बौद्ध दर्शनमा स्नातकोत्तर गरेका छन् । लुकेर काम गर्न रुचाउने भामसँग साप्ताहिकले उनको जीवन र नेपाली चलचित्रका विषयमा लामो कुराकानी गरेको थियो ।         

तपाईंमा नेपाली चलचित्रमा हलचल मच्चाउने क्षमता रहेछ । यद्यपि अहिलेसम्म आम मानिसले तपाईंलाई चिन्दैनन् । किन लुक्नुभएको ? 

मलाई एक्लै बस्न मन लाग्छ । चलचित्र गम्भीर साधनाको क्षेत्र हो । म त्यसैमा लागिरहन चाहन्छु । अहिले हलहरूमा चलचित्र लागिरहेकाले बाध्यतावश बाहिर निस्किएको हुँ । खासमा मैले ठूलो काम गरेँ भन्ने पनि लाग्दैन । 

तर तपाईंको चलचित्रले संसारभर प्रभाव पार्‍यो । साढे २ करोड त पुरस्कार नै पाउनुभयो । यो ठूलो कुरा हो नि, होइन ?

हो, मलाई पहिलेदेखि नै नेपाली चलचित्रको विस्तार सम्भव छ भन्ने लाग्थ्यो । हलिउडले बनाएको चलचित्र संसारभर चल्छन् । कोरिया एक्लैले हलिउडलाई ३० प्रतिशतभन्दा बढी बिजनेस दिन्छ । हिन्दी चलचित्रले पनि संसारभर उल्लेख्य व्यापार गर्छन् । क्याराभानले संसारभर नै चर्चा पायो । त्यो हाम्रो कथा थियो र कलाकार पनि हाम्रै थिए । यी सबै कुराले पनि नेपाली चलचित्रको विस्तार सम्भव छ भन्ने लाग्थ्यो । त्यसैको प्रयास थियो कालो पोथी । 

तर कालो पोथीमा नेपाल जति राम्रो छ, त्यति देखाउनु भएको छैन । माओवादी द्वन्द्वलाई हलुका रूपमा प्रस्तुत गरिएको छ । अझ राम्रो गर्न सकिँदैनथ्यो ?

चलचित्र बनाउनुअघि नै हामीले दुईवटा कुरा निश्चित गरेका थियौं, पहिलो सौन्दर्यमा कटौती गर्ने । नेपाल सुन्दर छ तर हामी जुन परिस्थितिमा बाँचेका छौं, त्यो सुन्दर छैन । हामीले जुन स्थानमा सुटिङ गर्‍यौं, ती क्षेत्र सौन्दर्यका दृष्टिले अनुपम छन्, तर यो चलचित्र सौन्दर्यको कथा होइन, दु:खको कथा हो । त्यसैले राम्रा दृश्यहरू जानेरै समेटेनौं । दोस्रो, माओवादी द्वन्द्वलाई ‘लाउडली’ देखाउँदा कसैको पक्षमा समर्थन वा विरोध गर्नुपथ्र्यो । चलचित्रकर्मीको काम कुनै कुराको पक्ष वा विपक्षमा कुरा गर्नुभन्दा एउटा पत्रकार जस्तो तटस्थ भएर रिपोर्टिङ शैलीमा फिल्म बनाउँ भन्ने प्रयास गरेका हौं । 

कालोपोथीलाई किन संसारभर मन पराइयो त ?

विषयवस्तुका कारण । हाम्रा कथा नौला छन्, त्यसलाई राम्रोसँग भन्ने हो भने यसको ठूलो बजार छ । हामी नेपाली पुस्तक विदेशी भाषामा अनुवाद होस् भन्ने चाहन्छौं । नेपाली हस्तकला विदेशमा निर्यात होस् भन्ने चाहन्छौं । त्यसैगरी नेपाली चलचित्रले पनि विदेशी बजारमा प्रवेश पाउनुपर्छ । 

चलचित्र हेर्दा सामान्य छ । नेपाली चलचित्र ५० लाखमा बनिरहेका बेला झन्डै ४ करोड रुपैयाँ कहाँ खर्च भयो ?

मुगु, जहाँ चलचित्रको सुटिङ भयो, त्यहाँ यातायातको सुविधा छैन । त्यस्तो स्थानमा साढे ६ महिना ठूलो युनिट बस्यो । हामीले त्यहीँ कार्याशाला चलायौं । काठमाडौंको भन्दा १० गुणा महँगोमा खाद्यान्न र अन्य कुरा किन्नुपर्छ । त्यसमाथि करिब एउटा चलचित्र बन्ने पैसा दिएर फ्रान्सबाट सिनेम्याटोग्राफर ल्याएका थियौं । अन्तिमको एउटा दृश्य खिच्न ८ लाख रुपैयाँ खर्च गर्‍यौं । सपनाको दृश्य खिच्न कुल २५ लाख रुपैयाँ खर्च भएको थियो । ३ करोड ८५ लाख रुपैयाँ चलचित्र राम्रो बनाउने प्रयासस्वरूप गरिएको थियो । 

१ करोड खर्च गरेर पुरस्कार पाएको २ करोड रुपैयाँ नाफाका रूपमा राख्न सक्नुहुन्थ्यो, त्यसो नगर्नुको कारण ?

केहीले मलाई यस्तै सुझाव दिनुभएको थियो, तर म व्यापार गर्न चलचित्र क्षेत्रमा आएको होइन । नेपाली चलचित्र पनि विश्वस्तरको हुन सक्छ भनेर प्रयास गरेको थिएँ । नभन्दै त्यो सफल भएको छ । अबका चलचित्रमा लगानीको खाँचो छैन । धेरै विदेशी चलचित्र कम्पनीले मसँग काम गर्ने चासो देखाएका छन्, तर मलाई नेपाली लगानीकर्ताहरूबाटै यो काम भए हुन्थ्यो भन्ने लाग्छ । सबै लगानी गर्न नसकिए पनि कम्तीमा २५ प्रतिशत नेपालीको लगानी होस् भन्ने चाहन्छु ।

अबको चलचित्रमा कति खर्च गर्ने योजना बनाउनुभएको छ र ?

खर्च कति हुन्छ भन्दा पनि कस्तो चलचित्र बनाउने भन्ने कुरामा भर पर्छ । विषयवस्तु र प्रस्तुतिमा बढी खर्च हुन्छ । अबको चलचित्र एउटा भिक्षुको प्रेमकथामा बनाउँदैछु । त्यसको लागत २५ करोड पुग्छ होला । 

नेपाली चलचित्रको लागत २५ करोड, अलि बढी भएन ?

नेपाली चलचित्र भनेर नाक खुम्च्याउनु हुँदैन । २० वर्षअघि बनेको क्याराभान नेपाली चलचित्र नै हो । निर्देशक मात्र विदेशी हुन् । उक्त चलचित्रमा त्यति बेला ८७ करोड रुपैयाँ लगानी भएको थियो । अहिलेको हिसाबले हेर्दा त्यसको लागत २ अर्बभन्दा बढी पुग्छ । यसरी हेर्दा २५ करोड ठूलो खर्च हो जस्तो लाग्दैन । ठूलो खर्च हुने चलचित्र त बनाउन बाँकी नै छ ।

तपाईंले आफ्नो ड्रिम प्रोजेक्ट के बनाउनुभएको छ, त्यसको लागत कति लाग्नेवाला छ ?

मसँग ‘मोक्ष’ शीर्षकको एउटा स्क्रिप्ट छ । मलाई यो चलचित्र बनाउनु पर्छ भन्ने लागिरहेको छ । यो चलचित्र बनाउने हो भने अहिलेको मूल्यमा ८० करोड रुपैयाँ खर्च हुन्छ । 

मानौं कुनै लगानीकर्ता तपाईंको प्रोजेक्टमा लगानी गर्न तयार भए रे, तपाईंको सर्त के–के हुन्छ ?

मलाई एउटा चलचित्र बनाउन ३ देखि ५ वर्ष लाग्छ । पैसा बुझाएर ५ वर्षसम्म धैर्य गर्न सक्नुपर्छ । लगानी फिर्ता हुन्छ भनेर ग्यारेन्टी गर्न सक्दिनँ । सिर्जनात्मक पक्षमा मलाई कुनै हस्तक्षेप गर्न पाइँदैन । सबै लगानीकर्तालाई यही तीनवटा सर्त हुनेछ । मुटु मिचेर लगानी गर्नुपर्छ । कालो पोथीमा पनि छिरिङ रितार शेर्पा, देवकी राई र अनुप थापाले यस्तै सर्तमा लगानी गर्नुभएको हो । 

तपाईं अरूभन्दा फरक किन ?

मान्छे जन्मिएपछि व्यक्त हुन चाहन्छ । सबैले आफूलाई फरक–फरक शैलीमा प्रस्तुत गरिरहेका हुन्छन् । मैले गरेको पनि त्यही हो । अलि फरक लागेको मात्र हो । म विशेष हुन खोजेको होइन र छैन पनि । 

तपाईं १४ वर्षको उमेरमा घरबाट भाग्नुभयो, चलचित्र क्षेत्रको गौतम बुद्ध हुन खोज्नुभएको हो ?

सिद्धार्थ गौतमले पनि विवाहपछि घर छाडेका थिए । मेरो पनि १४ वर्षको उमेरमा परिवारले विवाह गरिदियो । किनभने मुगुका गाउँमा यो सामान्य चलन हो । मलाई चलचित्रले यति धेरै हुटहुटी लगायो कि घर बस्नै सकिनँ । नयाँ दुलहीले पनि आकर्षित गरिनन् ।

 

१४ वर्षको उमेरमा त्यो पनि मुगुजस्तो दुर्गम जिल्लामा चलचित्रले कसरी आकर्षित गर्‍यो ?

मेरो बुवा फोटोग्राफर र गाउँमा फिल्म देखाउने व्यवसायी हुनुहुन्थ्यो । उहाँले गाउँमा भिडियोमा हिन्दी फिल्म देखाउँदा म यो कसरी बन्यो होला भन्ने सोच्थें । काठमाडौंमा चलचित्रका कलाकार हुन्छन् भन्ने सुनेपछि एसएलसी दिनेबित्तिकै काठमाडौं हान्निएँ । 

तपाईंको गुरुचाहिँ को हो ?

बिरालो, बिरालो यस्तो प्राणी हो जुन एकै ठाउँमा ८–१० घण्टा हलचल नगरी बस्छ । बिरालो मलाई भयंकर साधक लाग्छ । म आफूले बिरालोले झैँ साधना गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । 

तपाईंको गेटअप पनि फरक छ । अनुहारमा पियर्सिङ (सियो घोच्नु) गराउनुभएको छ, किन ?

मलाई सियोदेखि धेरै डर लाग्थ्यो । मेरो मान्यता छ, जे कुराबाट डर लाग्छ, त्यही गर्नुपर्छ । पियरसिंग गर्नुको कारण यही हो । मलाई कुकुरदेखि निकै डर लाग्छ । दुई–चार पटक कुकुरले टोकेको छ । त्यो डरलाई जित्न मैले घरमा ४ वटा कुकुर पालेको छु । 

प्रकाशित :जेष्ठ २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्