केयरगिभर तालिम : चार गुणा बढी माग

- जितेन्द्र साह

जेष्ठ २६, २०७३-

बेलबारी, मोरङकी २६ वर्षीया डिका गुरुङ र उनका दुई मित्रले इजरायल जान स्थानीय एक इन्स्टिच्युटमा हिब्रु भाषा सिके । उनीहरू त्यसपछि ‘केयरगिभर’ तालिमका लागि काठमाडौं जाने योजना बनाइरहेका थिए । अचानक एक शिक्षिकाबाट कोसीहरैंचा नगरपालिका स्थित स्वास्थ्यचौकीमा तीनमहिने नि:शुल्क केयरगिभर तालिम हुन लागेको थाहा पाएपछि उनीहरू मख्ख परे ।

साइकलमा आधा घण्टामा पुग्न सकिने उक्त चौकीमा उनीहरू बिहान ११ देखि ३ बजेसम्म प्रशिक्षण लिइरहेका छन् । ‘राजधानीको प्राइवेट इन्स्टिच्युटमा कोचिङ गर्दा मासिक ५ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ,’ गुरुङले भनिन्, ‘कोठा बहाल र खाना खर्च पनि उत्तिकै महँगो छ ।’ उनीहरूले यहाँ भने तालिममा सहभागी भएबापत उल्टै दैनिक ४० रुपैयाँ खाजा खर्च पाइरहेका छन् । 

मध्यपूर्वको मुलुक इजरायलमा नेपाली केयरगिभरको बढ्दो मागलाई लिएर मोफसलका पहुँचविहिन नागरिकहरू उत्साहित छन् । एसियाली विकास बैंक (एडीबी) ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मार्फत सञ्चालन गरेको सीप विकास परियोजनाअन्तर्गत मोरङ र सुनसरीमा केयरगिभर (स्वास्थ्य हेरचाह प्रदायक) तालिम सञ्चालन गरिएको हो । एक–दुई जना युवाबाहेक तालिम लिनेमा अधिकांश युवती छन् । 

विराटनगरबाट २९ किलोमिटर उत्तरपूर्वको उक्त स्वास्थ्यचौकीमा १ पुरुषसहित २० जनाले प्रशिक्षण लिइरहेका छन् । करिब ४० जनाबाट दुई पटकको अन्तर्वार्तापछि उनीहरू छनौट भएका हुन् । सिटिइभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको संयुक्त साझेदारीमा सञ्चालित मोरङको शिशवनी जहदा–३ स्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजले प्रत्यक्ष जनसम्पर्क गरी यो तालिम प्रदान गरिरहेको छ । मोरङ ,बाहुनी–९ की ३६ वर्षीया बिमला लिम्बू पनि इजरायल पुग्ने लक्ष्यका साथ उक्त चौकीमा प्रशिक्षण लिइरहेकी छिन् ।

‘यो प्रशिक्षणले मन्टेश्वरीमा पढाउन पाइन्छ भन्ने कुरा थाहा थियो,’ धनकुटा मौना बुधुक–४ की शान्ता सुवेदीले भनिन्, ‘यहाँ आएर विदेशमा यसको निकै माग रहेको जानकारी भयो ।’ खोटाङ छितापोखरी–८ का २६ वर्षीय रविन थापामगरले काठमाडौ जाने तरखरमा रहेकै बेला यहाँ तालिम भैरहेको आफन्तजनबाट जानकारी पाएको बताए । ‘दिदीबहिनीले राम्रो व्यवहार गरेको हुनाले अप्ठेरो लागेको छैन,’उनले भने,‘एक जना केटा साथी भैदिएको भए अलिक सहज हुने थियो ।’ 

साढे चार वर्ष कतार बसेर आएका रविन फेरि विदेश जान आठ महिनादेखि बेलबारी–३ स्थित आफन्तकहाँ बसिरहेका छन् । पहाड घरमा रहेका ९ जनाको परिवारले खेतीपातीबाट जसोतसो गुजारा गरिरहेको हुनाले बिदेसिनुको विकल्प नरहेको उनले बताए । ‘पहिलो प्राथमिकता इजरायल हो, अन्य सम्भाव्य मुलुकका सम्बन्धमा पनि बुझदैछु,’ मगरले भने । राजधानीमा बसेर यो तालिम लिँदा शुल्क, भोजन, आवास र पकेट खर्चगरी मासिक हुने न्यूनतम ३० हजार रुपैयाँ जोगिएको उनले बताए । दुर्गम जिल्ला र वरिपरिका गाउँका मात्र नभएर कोसीहरैचाका स्थानीय बासिन्दाहरू पनि यो तालिममा सहभागी छन् । सहभागीमध्ये १४ जना कोसीहरैचाकै छन् । 

कोसीहरैचा–९, सलकपुरकी २६ वर्षीया गंगा खड्का खत्रीको आर्थिक अवस्था खराब भएकाले एसएलसी उत्तीर्ण गरेपछि ५ वर्षदेखि त्यत्तिकै बसिरहेकी थिइन् । विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएर इजरायल जान हिब्रु भाषा सिकेको र एक वर्षदेखि भिसाका लागि प्रयास गरिरहेको उनले बताइन् ।

जनस्वास्थ्य निरीक्षक एवं प्रशिक्षक शेखरकुमार यादवले जनस्वास्थ्यसम्बन्धी आधारभुत विषयवस्तु यो तालिममा समेटिएको बताए । ‘त्यही भएर पहिलो पटक यस्तो तालिम दिँदा पनि गार्‍हो लागेन,’ उनले भने । राम्रो उद्देश्य राखेर दिइएको यो तालिमले रोजगारीका विभिन्न अवसर सिर्जना गर्नुका साथै सहज र व्यवहारिक जीवन जिउन मद्दत गर्ने यादवले बताए ।

पूर्वको पुरानो व्यापारिक केन्द्र विराटनगर तथा उदाइरहेको सहर इटहरीमा १६ जेठदेखि यो तालिम प्रारम्भ भैसकेको छ । विदेशमा केयरगिभर जनशक्तिको माग रहेको प्रचार–प्रसारका कारण पूर्वको सबै जिल्ला, सदरमुकाम एवं गाउँमा यो तालिमको माग छ । मुलुकको सबै भागबाट उल्लेखीय संख्यामा बसाइँ सरेका नेपालीहरूका कारणले सुनसरीको इटहरीमा अन्यत्रभन्दा बढी माग भएको शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीले बताए । निर्धारित संख्याभन्दा चार/पाँच गुणा बढी आवेदन परेको उनले जानकारी दिए । विराटनगरमा समेत २० सिटका लागि ८० भन्दा बढीले आवेदन दिएको उनको भनाइ थियो ।

इच्छुकमध्ये यो प्रशिक्षणको नीकै आवश्यकता भएका २०/२० जनाको समूह बनाएर केयरगिभरको कक्षा सञ्चालन गरिरहेकतो उक्त पोलिटेक्निक कलेजका प्रमुख प्रशिक्षक एवं तालिमका संयोजक शिवराज सुवेदी बताउँछन् । यसका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि भए पुग्छ । ‘अन्तर्वार्तामार्फत छनौट भएका आवेदकलाई फारम भर्न लगाइन्छ,’ सुवेदीले भने, ‘उनीहरूको पृष्ठभूमि, आवश्यकता र आर्थिक अवस्थाअनुरूप सहभागी गराउने वा नगराउने निर्णय गरिन्छ ।’

पहिलो चरणमा चार समूहमा ८० जनालाई तालिम दिइने सुवेदीले जानकारी दिए । ‘तीन ठाउँ तय भैसकेको छ, बढी माग भएको चौथो ठाउँको खोजी गर्दैछौं,’उनले भने । प्रत्येक केन्द्रमा आलैपालो तीन जना प्रशिक्षकले तालिम दिन्छन् । दैनिक पाँच घण्टा चल्ने यो प्रशिक्षणमा स्वास्थ्य विषयमा न्यूनतम प्रमाण पत्र तह उत्तीर्ण स्टाफ नर्स, अनमी एवं स्वास्थ्य व्यवसाय परिषद्मा दर्ता भएका कम्तीमा ५ वर्षको अनुभव भएकाले पढाउँछन् ।

विराटनगरमा तालिम दिइरहेकी उक्त पोलिटेक्निक कलेजकी नर्सिङ प्रशिक्षक रत्नमाया तामाङ्गले यो कौशल र ज्ञानले बालबालिकादेखि वृद्धवृद्धासम्मको हेरचाह राम्रो ढंगले गर्न सकिने कुरा बताइन् । ‘यस्तो खालको सक्षम जनशक्तिको उत्पादनमा भूमिका खेल्दा निकै सन्तुष्टि हुँदो रहेछ,’ तामाङले भनिन्, ‘यस्तो कामलाई म जागिरभन्दा माथि राखेर समय दिन्छु ।’ 

प्रिन्सिपल अधिकारीले मुलुकमा केयरगिभरको तालिमप्राप्त जनशक्ति न्यून रहेको बताए । सरकारले अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा केही वर्षदेखि केयरगिभर प्रशिक्षण दिइरहेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा निकै माग भएकाले दातृ संस्थाले पनि यस्तो व्यवसायिक तालिमलाई प्रोत्साहन दिंदै आएको उनले जनाए ।

एडीबीले दुई वर्षअघि सिटिइभिटीमा राखेको रोजगारीका लागि सीप परियोजनाले मुलुकभरिका ६० हजार युवालाई विभिन्न तालिम दिएको थियो । यसमा ८ सय जनाले केयरगिभर तालिम लिएका थिए । 

‘यसअन्र्तगत अहिले मुलुकभर ३ सय जनाभन्दा बढीले केयरभिगरको प्रशिक्षण लिइरहेका छन्,’ अधिकारीले भने, ‘यो तालिमको माग बढ्ने सम्भावना छ ।’ उक्त परियोजनामा कृषि क्षेत्रमा बेमौसमी तरकारी उत्पादन, मोटरसाइकल रिपेयर एन्ड मेन्टेनेन्स र गारो लाउने कार्यसमेत समावेश छ । 

उक्त परियोजनाले चार वर्षभित्र ४५ हजारलाई एक र दुई तह तालिम दिने लक्ष्य लिएको छ । तीमध्ये ३४ हजारलाई एक तह र ९ हजारलाई कृषि जेटिए र विद्युत् प्राविधिकजस्ता दुई तहको सीप सिकाइनेछ । इजरायल आदि मुलुकमा कृषिमा दक्षजनशक्तिको निकै माग छ ।

समावेशी र रोजगारीलाई बढावा दिने यो परियोजनाले लिंगका आधारमा ४० प्रतिशत महिला, आदिवासी, जनजातिका आधारमा ६० प्रतिशत, १० प्रतिशत दलित एवं ३० प्रतिशतमा अन्य र विपन्न राख्ने भनेको छ । सरकारी नीतिमा नभए पनि प्रशिक्षार्थीलाई दैनिक ४० रुपैयाँ खाजा र नास्ताका लागि उपलब्ध गराएको प्रिन्सिपल अधिकारीले बताए ।

दुर्गम क्षेत्रका, एकल महिला, स्तन पान गराइरहेका र विपन्न समेतबाट २ जना छानी मासिक ३ हजार ५ सय रुपैयाँ थप सहयोग दिइने उनले जानकारी दिए । तालिमपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्डअनुरूप नेपालको राष्ट्रिय सीप प्रशिक्षण समिति (एनएसटीबी) ले सीप परीक्षण जाँच लिएर प्रमाणपत्र प्रदान गरिन्छ । यसमा १० प्रतिशत पाएको ज्ञानसम्बन्धी तथा ९० प्रतिशत व्यवहारिक प्रश्न सोधिन्छ । 

‘हाम्रो मुलुकमा तालिम नलिई काम गरिने हुनाले यस्ता प्रशिक्षित जनशक्तिलाई मौका दिएर प्रोत्साहित गर्नुपर्छ,’ कलेजका प्रिन्सिपल अधिकारीले भने । पहिलेदेखि यस्ता काम जानेकालाई पनि जाँच लिएर प्रमाणपत्र दिनुपर्ने उनले बताए । ‘यहाँ नीति हुन्छ, तर कार्यान्वयन हुँदैन,’ प्रिन्सिपल अधिकारीले भने । चिकित्सकले क्लिनिक, नर्सिङ होम तथा चाइल्ड केयर होममा चिकित्साकर्मीबाहेक केयरभिगरको संख्या तोक्नुपर्ने अधिकारीले सुझाव दिए । 

तालिममा के सिकाइन्छ ?

केयरगिभर तालिममा अशक्त, वृद्ध, बालबालिका, गर्भवती महिला तथा घरमै रहेका दीर्घकालीन रोगीको हेरचाहसम्बन्धी ज्ञान प्रदान गरिन्छ । यसमा प्राथमिक उपचार, पोषण र मातृशिशु सेवा, मुखको सरसफाइ, छाला, ढाड, घुँडा र नङको हेरचाह आदिका बारेमा चर्चा गरिन्छ । मिर्गौला, रक्तचाप, मधुमेह, बाथज्वरो र जोर्नीको पीडामा अपनाउन सकिने उपाय बताइन्छ । फोहोर व्यवस्थापन र रोगको रोकथामका सम्बन्धमा जानकारी दिइन्छ । प्रयोग भएका सामग्रीको उचित प्रबन्धनको तरिका थाहा पाइन्छ । महामारी र एचआईभी/एड्ससम्बन्धी परामर्श सीप सिकाइन्छ । तालिममा अशक्त, रोगी, वृद्धवृद्धा तथा बालबालिकाको मनोविज्ञानअनुरुप कसरी व्यवहार गर्ने भन्ने कुरा जानिन्छ ।

के–के गर्न सकिन्छ ?

कुनै गम्भीर रोग पत्ता लाग्नेबित्तिकै चिकित्सकले नै बिरामीलाई त्रसित एवं आतंकित तुल्याउँछन् । ठूलो कृपा गरेझैं औंषधी लेख्ने र प्रिन्सिपलले विद्यार्थीलाई बोलाएझैं चिकित्सकले बिरामीलाई फलोअपका लागि बोलाउँछन् । धेरैजसो अस्पताल, क्लिनिक तथा नर्सिङ होममा बिरामीले उचित सल्लाह सुझाव नपाउने अवस्था छ । यस्तोमा स्वास्थ्यक्षेत्रमा परामर्श सेवा र स्वास्थ्य शिक्षाको गतिविधिलाई ‘केयरगिभर’ मार्फत प्राथमिकताकासाथ अघि बढाउन सकिन्छ । तालिम पाएकाहरूले परिवार एवं सामुदायिक संस्थामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । होस्टल, वृद्धाश्रम, मन्टेश्वरी चाइल्ड केयर, क्लिनिक तथा नर्सिङ होमहरूमा हेरचाह सहयोगी बन्न सक्छन् । सहरभन्दा बाहिर आफैंले प्राथमिक स्वास्थ्य हेरचाहसम्बन्धी सेन्टर खोल्न सक्छन् । कसैको घरमा दीर्घकालीन बिरामी भए सेवा प्रदान गर्न सक्छन् ।

प्रकाशित :जेष्ठ २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्