अमेरिकी डिभी चिट्ठा परेका नेपालीको सुखदु:ख

- युवराज गौतम

जेष्ठ १४, २०७३

सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला ? ‘हाइफाइ लाइफस्टाइल’, उच्चस्तरीय प्रविधि, गगनचुम्बी भवन, सफासुग्घर सडक, व्यस्त र रमाइलो दैनिकी अमेरिकाको पहिचान हो, तर न्यून स्तर भएका नेपालीहरूका निम्ति अमेरिका पुग्न त्यति सहज छैन । अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा ‘इडिभी’मा आवेदन दिएपछि सार्वजनिक भएको नतिजाले भने न्यून स्तरका नेपालीहरूलाई पनि अमेरिका पुर्‍याइदिएको छ । यद्यपि, चिट्ठा परेर भाग्य चम्किएका नेपालीहरूले अमेरिका पुग्न झन्झट पनि उत्तिकै बेहोर्नुपर्छ । सन् २०१६ को नतिजा सार्वजनिक भएपछि करिब ३ हजार ५ सयभन्दा बढी नेपाली अमेरिका जाने प्रक्रियामा छन् । भिसाका लागि कानुनी प्रक्रिया नजानेर वा सहायता नपाएका कतिपय नेपालीलाई यही चिट्ठा घाँडो हुने गरेको छ । 

कन्काई क्याम्पस, झापाबाट स्नातक गरेका दिनेशराज शर्मा सोच्दै नसोचेको नतिजा आएपछि अमेरिका जाने प्रक्रियामा छन्, तर उनी भिसा प्रक्रियाको मेसो नपाएर अलमलमा छन् । ‘एकातिर भाषाको समस्या छ भने काठमाडौंसम्म पुगेर भिसा प्रक्रिया प्रारम्भ गर्ने कुनै माध्यम फेला परेको छैन’, शर्माले भने, ‘चिट्ठा नपर्दा पनि दु:खी, पर्दा पनि दु:खी पो भइयो ।’ ‘सुनेको–पढेको सपनाको साम्राज्य जाने अवसर त मिल्यो तर कसरी र कहिले जाने भनेर मेसो मिलाउन धौ–धौ परिरहेको छ,’ उनले भने । यसरी चिट्ठा परेर पनि प्रक्रिया नबुझ्दा अलमलमा पर्ने नेपालीहरूको संख्या धेरै छ, तर अमेरिका पुगेर रमाउनेहरूले त्यस्ता झन्झट बिर्सिसकेका हुन्छन् । जब डिभी भिसा नेपालीको हातमा पर्छ र अमेरिका उड्छन् त्यसपछि उनीहरूमा नेपालमा फर्केर आउने लालच हटिसक्छ । 

प्राविधिक विषयमा दख्खल भएका वा चिकित्सा क्षेत्र अनुभव बटुलेका नेपालीहरूका लागि अमेरिका राम्रो छ । अरूलाई व्यवसाय गर्न र सामान्य रोजगारी दिलाउन सरकारले नै पहल गर्छ । डिभी परेर अन्य तवरले अमेरिका पुगेका नेपालीहरू हत्तपत्त नेपाल फर्कन चाहँदैनन्, किनभने अमेरिकी सरकारले क्षमता र योग्यताका आधारमा रोजगारीका लागि पहल गर्छ र व्यवसायमा प्रोत्साहित गर्छ । त्यहाँ अध्ययनको पनि राम्रो अवसर छ । त्यसबाहेक ग्रिनकार्ड पाइसकेपछि नागरिकता लिन अरू पाँच वर्ष पर्खनुपर्छ । डिभीमार्फत अमेरिकाको मेरिल्यान्ड पुगेका धादिङका शिवहरि खतिवडाका अनुसार त्यहाँ पुगेका कसैले पनि फुर्सदमा बस्नु पर्दैन, दैनिक १७ घण्टासम्म व्यस्त रहन्छन् उनीहरू । डिभी परेर अमेरिका पुगेका नेपालीहरूले मासिक सरदर ३ देखि १५ लाख रुपैयाँसम्म कमाउँछन् ।

अमेरिकामै बसेर पत्रकारिता गरिरहेका किशोर पन्थीले एउटा जानकारीमूलक लेखमार्फत भनेका छन्— डिभी परेका सबै नेपाली अमेरिकाका लागि योग्य हुँदैनन् । दोस्रो लेटर आइसकेपछि पनि बर्सेनि सयौं नेपालीको अमेरिका यात्रा रोकिन्छ । सन् २०१५ मा मात्र ४ हजार ९ सय ९१ जना चिट्ठा परेका मध्ये १६ सय २१ जनाले भिसा नपाएको पन्थीले उल्लेख गरेका छन् । हुन पनि चिट्ठा परेका कतिपयको शैक्षिक योग्यता नपुग्ने मात्र नभई फौजदारी अभियोगलगायत अन्य विविध कारणले अमेरिकाले भिसा रोकिदिने गरेको छ । 

कतिलाई पर्‍यो चिट्ठा ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३ हजार ५ सयजति मात्र डिभी चिट्ठा विजेता अमेरिका जान पाउने प्रावधान छ । त्यसअनुसार बर्सेनि करिब ३ हजार ५ सय नेपाली डिभीमार्फत अमेरिका पुगिरहेका छन् । यतिबेला सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी विजेताहरूको भिसा प्रक्रिया सञ्चालन गरिरहेको छ । हालै निस्किएको नतिजाअनुसार चिट्ठा परेकाहरू प्रक्रिया मिलेको खण्डमा सन् २०१७ सम्ममा अमेरिका पुगिसक्छन्, तर चिट्ठा परेका सबैले भिसा पाउने सम्भावना छैन ।  

डिभी चिट्ठा परेका नेपाली

 

    सन् २००२ मा ७ हजार २ सय ९ 
    सन् २००३ मा २ हजार ३ सय २० 
    सन् २००४ मा ४ हजार २ सय ५९ 
    सन् २००५ मा १ हजार ५ सय ४५
    सन् २००६ मा १ हजार ९ सय ३४
    सन् २००७ मा १ हजार ५ सय २९
    सन् २००८ मा २ हजार ५ सय ६२ 
    सन् २००९ मा १ हजार ८ सय ९१
    सन् २०१० मा २ हजार १ सय ३२
    सन् २०११ मा २ हजार १ सय ८९
    सन् २०१२ मा ३ हजार २ सय ५८
    सन् २०१३ मा ४ हजार ३ सय ७०
    सन् २०१४ मा ६ हजार ८२
    सन् २०१५ मा ४ हजार ९ सय ९१
    सन् २०१६ मा ३ हजार ८ सय ३१

के हो डिभी चिट्ठा 

इन्टरनेटको सहायताले नि:शुल्क आवेदन दिन पाइने एक प्रकारको चिट्ठा हो— ई–डिभी । यसले अमेरिका प्रवेशका लागि कानुनी मान्यता दिन्छ तर रोजगारीको ग्यारेन्टी दिँदैन । अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सबैभन्दा सजिलो र धेरै समय बसोबास गर्न मिल्ने भिसा हो । यो भिसामार्फत अमेरिकाको नागरिक हुन सजिलो हुन्छ । ग्रिन कार्ड प्राप्त गर्ने सजिलो माध्यमका रूपमा रहेको डिभी चिट्ठा कार्यक्रममा हरेक वर्ष विश्वका विभिन्न देशका मानिसहरूले आवेदन दिन्छन् । बर्सेनि डिभी भर्नेहरूको संस्या १ करोड नाघ्छ । चिट्ठा परेपछि ‘फस्र्ट लेटर’, ‘सेकेन्ड लेटर’, अन्तर्वार्ता, स्वास्थ्य–परीक्षण आदि प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि हाई स्कुल लेभल अर्थात् प्लस टु उत्तीर्ण हुनुपर्छ । अमेरिकाले हरेक वर्ष डिभीबाट निश्चित संख्यामा मात्र यस्तो भिसा दिन्छ । 

अमेरिका पुगेपछि गर्नैपर्ने काम

डिभी परेर वा अन्य तरिकाले अमेरिका पुगेपछि अमेरिकाको कानुनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्छ । सोसल सेक्युरेटीका लागि आवेदन दिने साथै परिचयपत्र बनाउने काम दोस्रो प्राथमिकतामा हुनुपर्छ । अमेरिकामा निजी गाडी अनिवार्य हुने भएकाले गाडी चलाउन सिक्नु र अनुमतिपत्र लिनु अनिवार्य छ । मेडिकल इन्स्युरेन्स अमेरिकामा अनिवार्यजस्तै छ । सुरुमा अमेरिका प्रवेशपछि अध्ययन तथा बसोबासनजिकै रोजगारी खोज्नुपर्छ, तर अरूको प्रगति देखेर हीनताबोध गर्नु हुँदैन । मेहनतका साथ अवसरको सदुपयोग गरेपछि आफूले पनि प्रशस्त प्रगति गर्ने सम्भावना रहन्छ । यहाँ वार्षिक आयकरचाहिं तिर्नुपर्छ । अमेरिकी जीवनशैलीअनुसार चल्न केही समय लाग्ने भएकाले अताल्लिनु हुँदैन ।

अमेरिका पुगेपछि बैंक खाता खेल्ने, क्रेडिट कार्ड लिने तथा ग्रिनकार्ड बनाउने काम अनिवार्य रूपमा गर्नैपर्ने काम हुन् । 

नेपालको शैक्षिक योग्यताको यहाँ खासै महत्व हुँदैन

जुनसुकै माध्यमबाट अमेरिका आए पनि कुन सहरमा र कति समय काम गर्ने भन्ने विषयले मानिसको आय निर्धारण गर्छ । यहाँ हप्ताको ४० घन्टा कामको निर्धारित समय हो । सरदर १० डलरसम्म प्रतिघण्टा कमाउन सकिन्छ । यहाँको सरकारले सबैलाई समान व्यवहार गर्छ तर सरकारी सेवा–सुविधा कति लिन सक्ने हो, त्यो आफ्नै क्षमतामा भर पर्छ । यहाँ आउन डिभी परेको भए करिब १ लाख रुपैयाँमा सबै प्रक्रिया पूरा गर्न सकिन्छ अन्य तरिकाले आउन लागेको भए त्यहीअनुसारको खर्च लाग्छ । नेपालको शैक्षिक योग्यताको यहाँ खासै महत्व हुँदैन । अमेरिकाको सुन्दर पक्ष भनेको कानुनी राज्य नै हो । किनभने यहाँ सबैलाई समान व्यवहार हुन्छ, सरकारी अवसर आफ्नै खुबीले लिने हो । यहाँ नेपालीहरूले रोजगारी पाउन सक्ने क्षेत्र डिपार्टमेन्टल स्टोर, स–साना किराना पसल, रेस्टुराँ, कफी सप, ग्याँस स्टेसन आदि हुन् । मचाहिं अमेरिकीका बीचमा घर किनेर बसेको छु । सयौं अमेरिकीका बीचमा काम गर्छु । करोडौं अमेरिकीको बस्ती र बजार घुम्न निस्कन्छु । म नेपाली हुँ भनेर गर्वले भन्छु, उनीहरू सहजै स्वीकार गर्छन् । 

सतिश चापागाईं, मेरिल्यान्ड

यहाँ सुत्ने र रमाउने समय थोरै हुन्छ

डिभी परेर अमेरिका आउँदा सबैथोक मिल्छ भनेर नसोच्नुहोला । यहाँ त आफ्नो क्षमता र सीपले काम गर्ने हो । सरकारले सबैथोक दिन्छ भन्ने भ्रममा पर्नु पनि बेकार छ । आफ्ना लागि काम आफैंले खोज्नुपर्छ । सरकार र यहाँका सहयोगी मनहरूले केही आइडिया चाहिं दिन सक्छन् । यहाँ आइसकेपछि सुरुका केही महिना अत्यन्तै दु:ख हुन्छ । काम नगरी केही हुँदैन । सुत्ने र रमाउने समय थोरै हुन्छ । बालबालिका वा परिवारसहित अमेरिका आउनेहरूले केही समस्या झेल्नुपर्छ । अध्ययनका लागि भने यहाँ स्वतन्त्रता छ । जुनसुकै विषय पढ्न छुट छ । हातमा सीप र भाषा राम्रो भए समस्या झेल्नु पर्दैन । मैले नेपालमै छँदा ब्युटी कोर्स, ड्राइभिङ आदि सिकेकाले केही समस्या परेको छैन । कमाइ सन्तोषजनक छ । यहाँ जुनसुकै देशबाट आएका मानिससँग समान व्यवहार गरिन्छ । ठूला सहरहरूमा कामअनुसार दाम पाइन्छ तर बस्न र खान अलिक महँगो हुन्छ । विशेष गरी नर्सिङ, आईटी पढेकाहरूले यहाँ राम्रो रोजगारी प्राप्त गर्न सक्छन् ।

एलिना कार्की, टेक्सास

यहाँ आउनुअघि ड्राइभिङ सिक्नुपर्छ

डिभी परेर होस् वा अन्य तरिकाले अमेरिका आइसकेपछि नेपाल फर्कने हतार हुँदैन । अत्यन्तै व्यस्त भइन्छ । व्यस्त नभए सामान्य जीवनस्तर मेन्टेन गर्न नै मुस्किल पर्छ । हातमा सीप हुने तथा भाषामा राम्रो दख्खल भएकाहरूका लागि अमेरिका आनन्ददायक जीवन जिउने उर्वर भूमि हो । म यहाँ करिब १५ घण्टासम्म व्यस्त रहन्छु । हामी नेपाली दाजुभाइहरू मिलेर एउटा रेस्टुराँ सञ्चालन गरेका छौं । यहाँ ब्युटिपार्लरसम्बन्धी ज्ञान, वेटर, कुकदेखि कम्प्युटरमा उच्च दक्षता भएका जोकोहीलाई रोजगारीको अवसर छ । यहाँ आउनुअघि ड्राइभिङ सिक्नुपर्छ । यहाँ प्रतिघण्टाको हिसाबले काम गर्न पाइन्छ, तलबी रूपले पनि धेरै नेपालीले काम गरिरहेका छन् । डिभी परेर वा अन्य तरिकाले आएकाहरूले कानुनी कागज मिलाउन सके सामाजिक सुरक्षा परिचय–पत्र, बेरोजगार भत्ता आदिको सुविधा उपलब्ध हुन्छ । 

पवन पौडेल, क्यालिफोर्निया

प्रकाशित :जेष्ठ १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्