जापान नियालेका नेपाली

- नरेन्द्र रौले

जेष्ठ ११, २०७३-
जापान आर्थिक समृद्धि र विकासमा तीव्र फड्को मार्दैछ । अध्ययन र कामको खोजीमा त्यहाँ जाने नेपालीहरूको संख्या उल्लेख्य छ । जापानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ झन्डै ६० हजार नेपाली छन् । लामो समयदेखि जापानमै बसोबास गरिरहेका नेपालीहरूले बाँडेको अनुभव उनीहरूकै शब्दमा : 

जापानको प्रविधिले तान्यो
म सन् १९९७ मा जापान आइपुगें । जापान सरकारको शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएपछि यता आउने अवसर जुर्‍यो । यता आउनुअघि डाक्टर बन्ने सपना पालेर म नेपालमा मेडिकल कलेज भर्ना भएको थिएँ । त्यही क्रममा मलाई जापानको उच्च प्रविधिले आकर्षित गर्‍यो । 
जापानको जीवन एकदमै व्यवस्थित छ । यहाँको समाज एकदमै सभ्य छ । जापानीहरू दयालु र आफ्नो कामप्रति उत्तरदायी छन् । जुनसुकै कुरामा उनीहरू समाधानमुखी छन् । मेरो १९ वर्ष लामो जापान बसाइमा पछुतो लाग्नुपर्ने, दु:ख मनाउ गर्नुपर्ने कुनै दिन आएन । एकदमै लामो समय काम गर्दा कुनै बेला भने बोर हुन्छ । यदि जापानी भाषा सिक्ने हो भने यो देशमा काम पाउन र जीवन बिताउन एकदमै सहज छ । मैले १२ वर्षसम्म एउटा मोबाइल कम्पनीमा क्लाउड कम्प्युटिङ बनाउने काम गरें । उत्कृष्ट कर्मचारीका रूपमा मैले सम्मान पनि पाएँ । यतिबेला भने ठूलो आईटी कम्पनीमा एड्भाइजरी आर्किटेक्टका रूपमा कार्यरत छु । 
१९ वर्ष लामो समय बिताउने क्रममा यहाँको समाज, देश कसरी विकसित भयो भन्ने खोज, अध्ययन गरिरहेको छु । विश्वको तेस्रो बलियो अर्थतन्त्र भएको देश जापानबाट मैले धेरै कुरा सिकें । 
चण्डी सुवेदी, स्याङ्जा, हाल : जापान

नेपाली पर्यटन क्षेत्रको प्रचार गर्दैछु
सन् १९९९ मा अनुवादकका रूपमा केही समयका लागि मैले जापान भ्रमण गरे । त्यसको एक वर्षपछि उच्च शिक्षा हासिल गर्न फेरि जापान पुगें । म ६ वर्षको हुँदा ललितपुर, धापाखेलस्थित मेरो घरमा जापानी स्वयंसेवकहरू होमस्टेका रूपमा बस्थे । स्कुलदेखि नै अलिअलि जापानी भाषा सिकेकाले जापानप्रति मेरो रुचि बढ्यो । केही सिक्ने मनसायले पछि मैले जापानलाई नै रोजें । मैले नेपाल सरकारको राजदूतलगायत उच्चपदस्थ अधिकारीहरूदेखि सांसद तथा मन्त्री, पूर्वप्रधानमन्त्री एवं राष्ट्रपति जापान भ्रमणमा आउँदा कतिपय अवस्थामा जापानी समकक्षीसँग अनुवादकका रूपमा सघाएको छु । 
मैले अन्तर्राष्ट्रिय मामिला पढेको हुँ । यसको क्षेत्र पनि राम्रो छ, तर जापान प्रविधिमा अगाडि भएकाले समाजशास्त्रका विषयहरूभन्दा प्राविधिक कुरा सिक्नु उपयुक्त हुन्छ । म अहिले जापानको कानागावा प्रिफेक्चरको अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्यरत छु । यहाँको वैदेशिक मामिलासम्बन्धी नीति–नियमहरूका लागि आवश्यक अनुसन्धान गर्नु मेरो काम हो । यहाँ मानिसहरूले मुखले भनेको कुरा र मनले सोचेको कुरा फरक हुन्छ, जुन आमनेपालीलाई मन पर्दैन । उनीहरूको राम्रो कुराचाहिँ मेहनत गर्ने बानी हो । 
जापानी भाषा जापानमा आएर पढ्ने होइन । नेपालमा राम्रोसँग पढेर आएपछि यहाँको उच्च शिक्षा लिनु उपयुक्त हुन्छ । जापानका बारेमा कुरा नबुझी आउँदा दु:ख पाउनेहरू धेरै छन् । मसँगै सयौं जापानी नेपाल पुगेका छन् । मैले प्रत्यक्ष र मिडियामार्फत नेपालको पर्यटनको प्रचारप्रसार गरेको छु । 
जिज्ञान थापा, जापान

जापानी भाषा सिक्दा अवसरहरू पाइन्छ
हाईस्कुल जीवनका साथी र अन्य अग्रजहरूले जापानी विश्वविद्यालयको पढाइका बारेमा सुनाएपछि मलाई पनि जापान जान मन लाग्यो । सन् २००७ को सेप्टेम्बर म जापान आइपुगें । बझाङमा जन्मिएको मैले यहाँ आएपछि मिश्रित किसिमको अनुभव बटुलें । सुरुवातमा भाषा र यहाँको संस्कृति बुझ्न समस्या भयो । समय बित्दै जाँदा यहाँको बसाइ रमाइलो लाग्न थाल्यो । 
म अहिले टोकियोस्थित एक जापानी शैक्षिक संस्थामा प्रोड्युसरका रूपमा काम गर्दैछु । त्यसका साथै म नेपाल र जापानमा कार्यरत ‘युमी नेपाल’ नामक संस्थाको सह–संस्थापक भै दुई देशबीच कला, संस्कृति प्रवद्र्धनमा पनि अग्रसर छु । यदि जापानी भाषा सिकियो र काममा मेहनत गर्न सक्यो भने त्यसअनुसारको फल यहाँ पक्कै पाइन्छ । कतिपय ठाउँमा विदेशीहरूलाई ठाडो भाषामा उनीहरू ‘गाइजिन’ अर्थात् बाहिरको मान्छे भनेर सम्बोधन गरिन्छ । कतिपय ठाउँमा अझै पनि मानिसको अनुहार हेरेर उसको व्यक्तित्व विश्लेषण गर्ने परम्परा छ । यहाँ बसेर दाम कमाउन नसकिए पनि विभिन्न भाषा, संस्कृति, कार्यक्षेत्र र कार्यक्षमतालाई प्रतिनिधित्व गर्ने साथीभाइहरूचाहिँ कमाइयो जस्तो लाग्छ । 

जापान भनेर हाम फालेर नआउनुहोला । कस्तो ठाउँमा पढ्न वा काम गर्न जाँदैछु भन्ने कुरा राम्रोसँग बुझ्नुहोला । यहाँ दैनिक जीवनमा बोलिने भाषा अध्ययन गरेर मात्र आउँदा राम्रो हुन्छ । 
दिनेश रताला जोशी, टोकियो

जापानको शिक्षा प्रयोगात्मक छ
म २०७२ सालको भदौमा जापान आएको हुँ । म यहाँ ओओइता केनको बेप्पु सहरस्थित रित्सुमेइकान एसिया प्यासिफिक युनिभर्सिटीमा पब्लिक हेल्थ म्यानेजमेन्टमा स्नातकोत्तर तह अध्ययनरत छु । स्नातक तहको पढाइ पूरा गरेपछि मैले नेपालकै ओम फर्मास्युटिकल्समा चार वर्ष काम गरें । पछि अध्ययनलाई निरन्तरता दिने निर्णय गर्दा आर्थिक समस्या पर्‍यो । नेपालमा राम्रा–राम्रा शैक्षिक संस्था भए पनि छात्रवृत्तिका लागि चाहिने सोर्सफोर्स नभएकाले जापानमा आवेदन दिएँ र भाग्यले साथ दिएर जापान आएँ ।
जापानका मानिसमा पाइने अनुशासन, लगनशीलता, मेहनत देखेर विश्व नै चकित हुन्छ । सबै कुरा समयमा चल्छ र व्यवस्थित छ । सडक, अफिस तथा अन्य पूर्वाधार अपांगमैत्री छन् । सबै जना नियमको पालना गर्छन् । सरकारले जे निर्णय लियो, त्यसलाई सबैले स्वीकार गर्छन् । 
जापानीहरूको दैनिक जीवनशैली र कामप्रतिको अथाह लगन एवं जिम्मेवारीबाट हामी नेपालीहरूले केही सिक्नैपर्छ । यिनीहरूको जस्तै मेहनत र यहाँका नेता तथा सरकारको जनताप्रतिको उत्तरदायित्वबाट प्रेरणा लिन सके नेपालको विकास हुन धेरै समय कुर्नु पर्दैनथ्यो । यहाँ आउनुअघि नेपालमै केही समय भाषा सिकेर आउँदा सजिलो हुन्छ । भर्खर यहाँको सरकारले माई नम्बर सुरु गरेकाले पढ्न र सँगै कमाउन अलि गार्‍हो हुन्छ । यहाँ पढ्न आउनेहरू सुरुमा पढ्नका लागि मात्र आए हुन्छ । पछि पढाइ सकेर काम गर्‍यो भने जिन्दगीभरिलाई सजिलो हुन्छ । यहाँको काम धेरै गाह्रो त हुँदैन, तर पनि यहाँको नियमअनुसार काम गर्दा सुरु–सुरुमा अलिक गार्‍हो लाग्छ । पछि बिस्तारै गर्दै जाँदा सजिलो हुन्छ । 

यहाँको पढाइ पास हुने भन्दा पनि केही सिक्ने–सिकाउने र समग्र व्यक्तित्व विकासतर्फ केन्द्रित हुन्छ । हरेक दिन कक्षामा आफ्नो प्रदर्शन, सहभागिता एवं आफूले गरेको मेहनतअनुरूप आफ्नो मूल्यांकन हुन्छ । कतिपय कक्षामा शिक्षकले पढाउने भन्दा अडियो र भिडियोबाट पढाइ हुन्छ । त्यसमा आफैंले मेहनत गर्नुपर्ने हुन्छ । आगामी कक्षाको तयारी पहिलेदेखि नै गर्‍यो भने आफ्नो प्रदर्शन राम्रो हुन्छ र त्यसको उच्च मूल्यांकन पनि हुन्छ । 
विनय लामिछाने, ओओइता केन

जापान मेरो दोस्रो घर  
सुरुमा म स्टुडेन्ट भिसामा बिजनेस स्टडी पढ्न यता आएँ । दुई वर्षको कोर्स आफ्नै खर्चमा अध्ययन गरियो । अहिले म जापान आएको पनि २० वर्ष पुगिसकेको छ ।
सन् २००३ ग्लोबल सपना गु्रप कम्पनी दर्ता गरेर मैले आफ्नै व्यापार सुरु गरें, रेस्टुराँ खोलें । अरू दुई जना नेपाली र एक जापानीलाई रोजगारी दिएँ । ४०–५० लाख रुपैयाँ लगानी गरे पनि आफैं भाँडा माझ्थें । अहिले ८० जना नेपाली र विदेशी गरेर १ सय जनालाई रोजगारी दिएको छु । जापान मेरो कर्मभूमि र दोस्रो घर हो । 
यहाँको जीवनशैली एकदमै व्यस्त छ । हामी नेपालको बियर यहाँ ल्याएर बेच्छौं । रियलइस्टेटको कारोबार गर्छौं । जापानमा धान पनि रोप्छौं । म ५० हजार रुपैयाँ बोकेर जापान आएको थिएँ । अहिले म बिहान ८ बजे निस्किएर २ बजे राति घर पुग्छु । जापानीहरू समय–तालिकाअनुसार चल्छन् । यहाँका मानिसको संघर्ष, धैर्यता, बोल्ने कला विश्वमै उत्कृष्ट छ । जापानबाट नेपालले धैर्यता, संघर्ष, अनुशासन आदि धेरै कुरा सिक्न सक्छन् । 
सबैभन्दा ठूलो कुरा हामीले अध्ययन गर्ने शिक्षा प्रयोगात्मक हुनुपर्छ । बाहिर जानुअघि कहाँ जाने, कस्तो काम गर्ने निक्र्योल गर्नुपर्छ जापान आउँदा भाषा सिकेर, जापानका बारेमा बुझेर आए राम्रो हुन्छ । जापानमा भएका साथीहरूसँग बुझ्न सकिन्छ । यहाँ पढ्दै काम गर्न गार्‍हो हुन्छ । 
भुवन अधिकारी, टोकियो, च्योदाकु 

प्रकाशित :जेष्ठ ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्