पुर्खाको चिठ्ठी

  • उपन्यास अंश

- गगनसिंह थापा

वैशाख २८, २०७३

आज यी काजीले कज्याएका गाउँका प्रत्येक घर दु:ख, वेदना र छटपटीमा डुबेका छन् । साँझ परिसक्दा पनि कतै बत्ती बलेको देखिँदैन । यी गाउँलेहरूको छातीभित्र आजको दुखान्त घटनाको लामो कथा छ । अन्तर्मनको रोदन र वेदना यिनीहरूका मूक मुहारले प्रकट गरिरहेका छन् । 

आज बिहानको बिदाइको त्यो दृश्य अहिले पनि नाचिरहेको छ यो गाउँको मुहारमा । पूर्व भन्जाङको त्यो कापबाट उदाउन लागेका गोलाकार सूर्य बलिदानीतिर हिँड्न लागेका ती रिकुटेहरूको अनुहारमा बिदाइका विम्ब टाँस्दै थिए । वीरताको बलिबेदीमा चढ्न तम्तयार आ–आफ्ना आत्मजनहरूलाई गाउँलेहरू आशीर्वचन दिँदै सेता अक्षेता निधारमा लगाउँदै थिए । पराई दम्भको रक्षार्थ खटिने यी योद्धाको मुस्कानविहीन अनुहारमा बिछोडको आभा पोतिँदै थियो । यिनीहरूको दिन पनि रात जस्तो, बिपना पनि सपना जस्तो अनौठो–अनौठो भैरहेको थियो । 

उता सिपाहीको नाइके कर्कस स्वरमा कराउँदै थियो— केको लटरपटर हो यो, जाने बेला भैसक्यो । धेरै जङ्गल, नदीनाला पार गर्नु छ । यी वीर योद्धाहरूको बिदाइमा आँसु बगाउन हुन्न है । साहस दिनुपर्छ, यिनीहरूको मनमा हौसला भर्नुपर्छ । विजयको माला लगाएर आएस् भन्ने आशीर्वचन दिनुपर्छ । ऊ कड्केर भन्दै थियो । उनीहरूका आमा–बुवाहरू, छोरा–छोरीहरू, जीवन–सँगिनीहरू अन्तरआत्माको वेदना मूक भाषाले प्रकट गरिरहेका थिए । सिपाहीको नाइकेका आँखा गाउँले महिलाहरूतिर केन्द्रित थिए । 

एउटा साहसी महिलाले भनिन्— यसरी ट्वाल्ल परेर के हेरेको ? तिम्रो सुन्दर आँखा, ओठ र अनुहारको आकर्षक बान्की देखेर वाल्ल परेको । नाइकेको उत्तर थियो । यो पाल्तू कुकुरसँग बोलेर केही फाइदा छैन भन्ने ठानेर ती महिला हूलमा ओझेल भइन् । यो गाउँको सरल, सुन्दर र शान्त जीवनमा पीडाको कालो बादल मडारियो । यो गाउँको स्वच्छ, शान्त जीवन चिप्लेर अर्कै मोडमा पुग्यो । 

गाउँको पल्लोपट्टिको उकालोमा यी सयाँै रिकुटेको हूल उँभो लाग्यो । अगाडि, पछाडि र बीचमा सङ्गीनधारी सिपाही लागेका थिए । सेता भेडी बगालको बीच–बीचमा कालामैला लुगा लगाएका ग्वालाजस्ता देखिन्थे कालो पोसाकका सिपाहीहरू । त्यो गाउँको सिरानीको आफ्नो अग्लो भव्य घरको ओटालीमा बसेर काजीसाहेब काँसाको फर्सेहुक्कामा ट्वारट्वार तमाखु पिउँदै थिए, उकालो लागेका ती भेडा–बाख्राहरूको लाइन हेर्दै । उनी ज्यादै हर्षित थिए र मनमनै भन्दै थिए– ‘यो वर्षको कटकमा म मेरो कजाइँको क्षेत्रबाट ज्यादा रिकुटे पठाउन सफल भएँ । सायद यति त अरू मुखिया, जिम्वाल र टाकुरे राजाले पनि पठाउन सकेनन् होला । पक्कै पनि अब श्री ३ महाराज मसँग खुसी भएर मेरो कजाइँको क्षेत्रफल बढाइदिबक्सने होला । गुठी बिर्ता बकस पाउने हुँला ।’ यस्तै सोच्दै काजी बाजे मख्ख भए ।

लामा–लामा जुँगा मुठ्याए, ताउ लगाए । अनुहारमा खुसीको आभा पोतियो । उनी त्यो रिकुटेको लर्कोलाई हेरिरहे । उनका आँखा त्यतैतिर टाँसिइरहे । उनले मनमनै भने— ‘साइँलो छोरालाई त्यो पिचासिनीले मारेर के भयो ? अझै जेठो, माइलो, कान्छो त छँदै छन् नि । त्यो पिचाशिनी अब जेलमा कुहिन्छे ।’ काजीले हुक्काबाट मुख अलग गर्दै फेरि जुँगा मुठ्याए ।

उकालो लागेका आफ्ना जवान आफन्तहरूलाई हेर्दै थिए तलबाट उनका आमा–बाबु, छोरा–छोरी, र जीवन–सँगिनीहरू । उँभो–उँभो उकालो उक्लिँदै राता रुमालहरू हल्लाउँदै र आँसु पुछ्दै हिँड्दै थिए पङ्क्तिबद्ध भएर रिकुटेहरू । राउतेको जालमा पर्ने बाँदरहरू आँसु पुछ्दै जालभित्र पसेजस्तै । यिनीहरूको मात्र होइन, यिनीहरूलाई ट्वाल्ल पर्दै हेरिरहेका ती आँखाहरूको आकाश आज धमिलिएको थियो फुस्रो–फुस्रो भएर । आज यहाँको प्रकृतिको अनुहार पनि उदास देखिएको थियो । यहाँका वन पाखा र घर छेउका बुढा रूखका हाँगामा बसेर चिरबिर गर्ने चरीहरू आज मौन छन् । चिसो नदीका माछाहरू ग्रीष्मको तातो बालुवा बगरमा छटपटाएझैँ छटपटिँदै छन् आज यहाँ बिछोडको वियोगमा पोतिएका आत्माहरू । यहाँका यौवनाहरूको आँखाको जादु हराएको छ । आँखामा आँसुरूपी वेदना पोखिएको छ । बान्की परेका सुन्दर लामा हात–पाखुरा लुला भएका छन् । प्रकृतिले नै लाली दलेका मुख–ओठहरूको कामुकता हराएको छ । लाली फिक्का भएको छ । मर्नुभन्दा बाँच्नु कठिन भएको छ आज यो गाउँलाई । गाडी गएर शून्य भएको प्लेटफर्मजस्तै शून्य भएको छ आज यो गाउँ । 

रिकुटेको हुल माथि–माथिको चुचुरोमा पुग्यो र अब घुम्ती घुम्ने बेला भयो । एक जना भावुक रिकुटेले बाँसुरी बजायो । विरह–वेदना भरिएको त्यो सुरिलो स्वर तल गाउँसम्म पुग्यो ।

राता रुमाल हल्लाउँदै ती योद्धाहरू युद्धमुख भएर घुम्ती घुम्न थाले । तल गाउँबाट पनि बिदाइको संकेतमा सेता रुमाल हल्लिए । तलबाट अन्तिम घुमाइ हेरिरहेका ती आँखाहरूमा आँधीहुरी चल्यो । आँसुहरूको सुनामी बग्यो । निन्याउरो भएर प्राणविहीन सालिकझँै ठिङ्ग उभिएका छन् गाउँबाट ओझेल हुँदै गएका ती रिकुटे जन्मिएका घरहरू ।

प्रकाशित :वैशाख २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्