ग्रिनकार्डसम्बन्धी भविष्यवाणी

- मनोज गजुरेल

वैशाख २४, २०७३

सन् २००७ मा पहिलो पटक कलाकारको नाताले अमेरिका जाने अवसर मिलेको थियो । बेलायतको विकास, अस्ट्रेलियाको आधुनिकता, युरोपको उन्नति तथा अमेरिकाको वैभवबाट मोहित नहुने कमै होलान् । त्यतिबेला गजुरियल विश्लेषकको मन पनि नडगमगाएको होइन । सामान्य आर्थिक पृष्ठभूमि, असामान्य पारिवारिक जिम्मेवारी, अन्योलग्रस्त राष्ट्रिय राजनीतिका कारण धेरै दिनसम्म ‘फर्कौं कि बसौं’ मनस्थिति भएकै हो ।

‘सोसियल सेक्युरिटी लिइहाल्नोस्, ग्रिनकार्ड निवेदन दिइहाल्नोस्, काम खोज्न थालिहाल्नोस्, फर्कने सोच फालिहाल्नोस् । पाँच वर्षमा सिटिजनसिप हात लाग्छ, त्यसपछि भाग्य साथ लाग्छ । छोराछोरी हुर्किसक्छन्, पत्नी पनि फुर्किसक्छिन् । त्यसपछि जे गर्नु छ गर्नाेस्, अहिलेचाहिँ ग्रिनकार्ड भरिहाल्नोस् !’ अमेरिकामै रहेका शऽभ चिन्तकहरूले यसरी निकै हौस्याएका थिए ।

‘दुई–चार वर्ष उतै बसेको भए ग्रिनकार्ड बन्थ्यो । छोराछोरीको भविष्य सुन्दर हुन्थ्यो । साथीभाइ भेट्न आउँथे, आमाबाबु घुम्न पाउँथे । यता पनि घर हुन्थ्यो, त्यता पनि फ्ल्याट बन्थ्यो । म पनि खुसी हुन्थें, मम्मी–बुबा पनि दंग बन्थे । आफ्नो आदर्शका लागि परिवारको सपना मार्नुभयो, टुप्पामा पुगेका थियौं, ग्वार्लाम्मै झार्नुभयो । हाम्रो सुझाव बेकार ठान्नुभो, सुन्दर भविष्यमा तपाईंले बञ्चरो हान्नुभो’ भन्दै पत्नीले गुनासो गरेको हिजैजस्तो लाग्छ । 

त्यो मेरो व्यक्तिगत यात्रा थिएन । गैरआवासीय नेपालीहरूले आफ्नो मूलभूमिको इज्जत सम्झिएर बोलाएका थिए । मूलवासीले देशको सांस्कृतिक दूतका रूपमा पठाएका थिए । अमेरिकी दूतावासले पनि मलाई ग्रिनकार्ड एप्लाई गर्न भिसा दिएको थिएन, नेपालको जिम्मेवार कलाकर्मीका रूपमा सम्मान गरेको थियो । यस्तो परिबन्दमा व्यक्तिगत इच्छाभन्दा पनि राष्ट्रिय स्वार्थ र अन्तर्राष्ट्रिय मान्यताको अपमान गर्नुहुन्न भन्ने गजुरियल ठम्याइ रह्यो ।

आमनेपालीहरू विश्वको जुनसुकै देशमा स्थायी बसोबास गर्न स्वतन्त्र छन् र प्रक्रिया पुर्‍याएर आफ्नो मातृभूमि आउन जान र बस्न निर्बाध पाउँछन् तर आफूलाई नेपालको नेता मान्ने, प्रशासक भन्ने र सेलिब्रिटी मान्नेहरूले चाहिँ स्थायी वा अस्थायी बसोबास–पत्र लिनुअघि दस पटक सोच्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ । देशका गोपनीयताहरू हुन्छन्, समाजका सीमा र दायराहरू हुन्छन् । नियम, कानुन, कर्तव्य र दायित्वहरू हुन्छन् । त्यससँग बाझिने गरी दोहोरो सुविधा भोग्नु, दोहोरो दायित्व लिन खोज्नु र दोहोरो गतिविधि गर्न‘ अनैतिक कार्य हो भन्ने गजुरियल अडान छ ।

शुभ चिन्तकहरू भन्थे, ‘तपाईंको अडानलाई तपाईंकै नेताहरूले एक दिन लडान पार्दिन्छन् । बाबुराम, ओली र प्रचण्डहरूलाई त्यस्तै मान्छे नभै हुँदैन । ग्रिनकार्डसहित नेपाल फर्कंदा तपाईंको सान बेग्लै हुन्छ, मान अग्लो बन्छ । मिडिया तपाईंका अगाडि हुन्छन्, नेता तपाईंका पछाडि हुन्छन् ।’ 

म फिस्स हाँसेको थिएँ, साथीहरू हौस्याउँदै थिए, ‘कार्ड रिन्यू गर्न आउँदै गर्नोस्, नेपाल पनि धाउँदै गर्नोस् । नयाँ शक्तिको नेता बन्ने कि, पुरानो शक्तिको फेटा बाँध्ने कि, प्रतिष्ठानहरूको प्राज्ञमा पर्ने कि, ‘बाङ्गा कुरा : राष्ट्रपतिसँग’ गर्ने कि, मन्त्रीको निजी सहायक बस्ने कि, प्रधानमन्त्रीको किचन क्याबिनेटमै पस्ने कि † त्यो बेला यस्ता सम्भावनाका ढोका, झ्याल, प्वाल र जस्केलाहरू सजिलै खुल्नेछन् ।’

आज देशको राजनीति, कला र सञ्चार क्षेत्र हेर्छु, दस वर्षअघिको त्यो भविष्यवाणी ठ्याक्कै मेल खान्छ बा ! के त्यसो भए मेरो अडान गलत थियो त ? आँखा चिम्लन्छु, विपश्यना ध्यानको छोटो रसपान गर्छु अनि अन्तर्मनबाट सम्यक् जवाफ आउँछ, ‘साथीहरूको भविष्यवाणी पनि सही निस्कियो तर मेरो अडान पनि गलत थिएन ।×’ 

त्यसो भए गलतचाहिँ कहाँनिर भैरहेको छ त ! यति त तपाईं (पाठक)ले भन्नुपर्‍यो नि......।

 

प्रकाशित :वैशाख २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्