रातो कार्पेटमा भलिबल सुन्दरीहरू

- जनक नेपाल

वैशाख १३, २०७३

नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा नेपालगन्ज रंगशालाको कभर्डहल दुलहीझैं सिंगारियो । रंगीचंगी झन्डाहरू फर्फराइए । मूलद्वारदेखि कभर्ड हल प्रवेशसम्म रातो कार्पेट बिछ्याइयो । इन्डोर भलिबल खेलाउन मिल्ने राजधानीबाहिरको एक मात्र नेपालगन्ज रंगशालास्थित कभर्ड हलले प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताका लागि नेपाल तथा भारतीय राष्ट्रिय टिमका भलिबल सुन्दरीहरूलाई स्वागत गर्दै थियो । 

नेपाल तथा भारतीय भलिबल सुन्दरीहरूको स्वागतमा पञ्चैबाजा, मयूर नाच एवं सिंगारु नृत्यले रौनक थप्यो । रातो कार्पेटमा हालै भारतको गुवाहाटीमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता भारतीय राष्ट्रिय टिमका दुई खेलाडी अनुश्री घोष र प्रीति सिंह तथा गत वर्ष काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप विजेता भारतीय टिमकी लिबरो एवं हाल उत्तरप्रदेश टिमकी प्रीति मिश्रासम्म थिए । नेपाली राष्ट्रिय टिमकी कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, स्टार भलिबल खेलाडी सरस्वती चौधरी, रेश्मा भण्डारी, नेबिका चौधरी, उषा विष्ट, अरुणा शाही, प्रतिभा माली आदिले पनि रातो कार्पेटमा पाइला चाले । नेपालगन्जको चढ्दो गर्मीमा दिनमा खेल खेलाउन मात्र होइन, हेर्ने दर्शकका लागि पनि सहज हुँदैन । त्यसैले इन्डोर भलिबलका लागि अत्यावश्यक म्याटमाथि कृत्रिम प्रकाशमा पहिलोपल्ट खेल सञ्चालन गरियो । बेलुकी अबेरसम्म पनि खेलाडीहरू रमाउँदै खेलिरहे ।

हरेक वर्ष टिम संख्या वृद्धि भैरहेको प्रधानमन्त्री कपमा यसपटक भारतका दुई उत्कृष्ट टिम सहभागी थिए । झन्डै २ हजार दर्शक क्षमताको कभर्डहलमा खचाखच भरिएको थियो । कोलकाताले १ लाख १ हजार ११ सय ११ नगदसहित प्रधानमन्त्री कपको उपाधि चुम्यो । नेपाली भलिबलको अब्बल टिम नेपाल एपीएफ क्लबले उपविजेतामा चित्त बुझायो भने भारतकै उत्तरप्रदेशले तृतीय स्थान हात पार्‍यो । गत संस्करणमा झैं नेपालगन्जिया दर्शकको मन जित्न सफल काठमाडौंको न्यू डायमन्ड एकेडेमी चौथो स्थानमा खुम्चियो, तर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने न्यू डायमन्डकी प्रतिभा माली घोषित भइन् । पहिलो संस्करणदेखि नै नेपालगन्जमा फ्यानहरू बटुल्ने पश्चिमान्चल टिम पोखराका लागि भने प्रधानमन्त्री कप सुखद रहेन । मञ्जु गुरुङ र अरुणा शाही सम्मिलित पोखरेली टिम यो वर्ष लिग चरणबाटै बाहिरियो । 


Sponsored

 


त्यस्तै, उत्कृष्ट स्पाइकरको उपाधि एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सर्भिस एपिएफकै नेविका चौधरी, ब्लकर रेल्वेकी अनुसी घोष, सेटर चम्पादेवी तथा उत्कृष्ट डिफेन्सको उपाधि डायमन्डकी सलिना श्रेष्ठले प्राप्त गरे । 

त्यसो त प्रधानमन्त्री कपले नतिजामा पूर्वानुमानलाई गलतसिद्ध गर्दै आएको छ । घरेलु प्रतियोगिताका सदाबहार प्रतिद्वन्द्वीलाई प्रधानमन्त्री कपले आमनेसामने हुन नदिएका उदाहरण छन् । हरेक वर्षका विजेता एवं उपविजेतामा गरिने सामान्य आँकलन गलत सिद्ध हुने गरेको छ । पहिलो संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले बाजी मारेको थियो । त्यतिबेला पश्चिमान्चल टिम पोखरा उपविजेता रह्यो । 

च्याम्पियन बन्ने लक्ष्यका साथ नेपालगन्ज आएको नेपाल एपीएफ क्लबले त्यतिबेला तृतीय स्थानमै चित्त बुझाएको थियो । दोस्रो संस्करणमा नेपाल एपीएफ क्लबले उपाधि चुम्यो । न्यू डायमन्ड एकेडेमी उपविजेता तथा नेपाल पुलिस क्लब तृतीय स्थानमा रहे । तेस्रो संस्करणमा कोलकाता टिम विजेता बन्दा नेपाली भलिबलको शीर्ष टोली नेपाल एपीएफ क्लब उपविजेतामै सीमित हुन पुग्यो । न्यू डायमन्डले तृतीय स्थान पनि सुरक्षित गर्न सकेन, उत्तरप्रदेश यतिबेला तेस्रो भयो । 

ब्रान्ड प्रवद्र्धनका लागि मास गेममा खर्च गरे पनि, हरेक कर्पोरेट गृहले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम एकद्वार प्रणालीबाट सबै खेलमा लगानी गर्ने वातावरण नबन्दासम्म ठूला प्रतियोगिताको आयोजना चुनौतीपूर्ण नै रहने आयोजक समितिका अध्यक्ष टिएस ठकुरी बताउ‘छन् । ‘सबै खेलको क्रमिक विकासका लागि कर्पोरेट साझेदारी आवश्यक छ,’ प्रधानमन्त्री कपका इभेन्ट डाइरेक्टर ठकुरीले भने– ‘नेपालगन्जको हकमा सुषुप्त रहेको खेलकुदलाई प्रधानमन्त्री कपले बिउँझाइदिएको छ । 

 

प्रकाशित :वैशाख १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्