प्रभात सुवेदीले ल्याए प्रभात

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७२-

गीतकार प्रभात सुवेदीद्वारा रचित आधुनिक गीतहरुको पहिलो एकल एल्बम ‘प्रभात’ सार्वजनिक भएको छ । सुवेदीको पहिलो गीति एल्बम ‘प्रभात’मा संगीतकार प्रल्हाद बोगटीको एकल संगीत रहेको छ ।

एल्बममा राजेशपायल राई, अञ्जु पन्त, दिपक लिम्बु, प्रमोद खरेल, दुर्गा परियार तथा युवराज चौंलागाइँको स्वरमा कुल ६ वटा गीत रहेका छन् । गीतकार तथा रेडियोकर्मी लोकराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ गीतकार रमेश पौडेलले एल्बममा समावेश गीतहरुको समिक्षा गरेका थिए भने वरिष्ठ संगीतकार राजु सिंहले एल्बमका गीतहरुको संगीतमाथि आफ्नो विचार राखेका थिए । 

सम्पूर्ण श्रष्टा तथा सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष तथा गीतकार शान्तिप्रिय र चलचित्र निर्देशक नवल नेपालले एल्बमका श्रष्टाहरुलाई शुभकामना व्यक्त गरे भने निर्देशक सुव्रत आचार्य निर्देशित दुई म्युजिक भिडियोहरु पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक म्युजिक भिडियोहरु मध्ये गायिका अञ्जु पन्तले गाएको ‘तिम्रो आफ्नै मान्छे हुँ म’ मा नायिका नीता ढुंगानाका साथ मोडलद्वय निराजन प्रधान र कृति खरेलले अभिनय गरेका छन् । गायक दिपक लिम्बु तथा गायिका दुर्गा परियारको युगल स्वर रहेको गीत ‘जिन्दगीको लामो यात्रा’ मा नायक गजित बिष्ट र नायिका निष्मा घिमिरेका साथ बालकलाकार साइएरा आचार्यको अभिनय छ । म्युजिक भिडियोलाई छायांकार अर्जुन तिवारीले छायांकन तथा भरत रेग्मीले सम्पादन गरेका हुन् । 

 

प्रकाशित :चैत्र २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्