अटोमोबाइलमा लोभलाग्दो करियर

- शिव मुखिया

चैत्र २४, २०७२-

सन् २०११ र १२ मा गरिएको आर्थिक सर्वेक्षणअनुसार एक वर्षको अवधिमा रोजगारी प्रदान गर्ने उद्योगमा अटोमोबाइल उद्योग तेस्रो स्थानमा थियो । यो विश्व बजारको अवस्था हो । नेपाली परिवेशमा नौलो लागे पनि यो क्षेत्र विश्व बजारका लागि सुरक्षित, भरपर्दो एवं आकर्षक ‘रोजगार गन्तव्य’ हो । अटोमोबाइल उद्योगमा प्रशिक्षित जनशक्तिको माग उच्च छ । 

अटोमोबाइलको डिजाइन, विनिर्माण, परीक्षण तथा रेखदेखजस्ता काममा दक्षता हासिल गरेकाहरूका निम्ति रोजगारीको ढोका खुला छ । यसका लागि पार्टपुर्जाको डिजाइन, त्यसको चयन र प्रयोग विधिका बारेमा आवश्यक ज्ञान भए ‘सुनमा सुगन्ध’ हुन्छ । 

नेपालमा गाडी निर्माण गर्ने कम्पनी नभए पनि आधिकारिक बिक्री केन्द्र, त्यसका सर्भिस सेन्टरहरू छन् । यहाँ टोयटा, होन्डा, फोर्ड, हुन्डाई, मारुती, टाटा, महिन्द्र एन्ड महिन्द्रा जस्ता थुप्रै कम्पनीका बिक्री कक्ष छन् । यसमा मानव संसाधन, बिक्री र सेवा, वित्त, ग्राहकको हेरचाह, आइटी र अनुसन्धानजस्ता क्षेत्रमा रोजगारी गर्न सकिन्छ भने मर्मत वर्कशप, ग्यारेज आदिमा पनि काम गर्न सकिन्छ ।

 

विश्व बजारमा सम्भावना 

अटोमोबाइल क्षेत्रमा करियर बनाउन चाहनेहरूले नेपाली बजारमै निर्भर रहनुपर्छ भन्ने पनि छैन । आवश्यक सीप, दक्षता र ज्ञान भए विश्व रोजगार बजारमा प्रवेश गर्न सकिन्छ । यसका निम्ति सैद्धान्तिक तथा व्यवहारिक दुवै ज्ञान आवश्यक छ । 

अटोमोबाइल इन्जिनियरिङको छुट्टै कोर्स छ जसअन्तर्गत अटोमोबाइल डिजाइनर, प्रोडक्सन इन्जिनियर, ड्राइभर इन्स्ट्रुमेसन इन्जिनियर, क्वालिटी इन्जिनियर, अटोमोटिभ टेक्निसियन र पेन्ट्स स्पेसलिस्टजस्ता विषयमा दक्षता हासिल गर्न सकिन्छ । अटोमोबाइल इन्जिनियरिङमा अनुसन्धानको संभावनायुक्त क्षेत्रमा एरोडायनामिक्स, वैकल्पिक इन्धन, चेसिस, इलेक्ट्रिोनिक्स, विनिर्माण, सामग्री, मोटर स्पोर्ट, पावर ट्रेन, र्‍यापिड प्रोटोटाइपिङ, सवारी वा पैदल यात्री सुरक्षा र सप्लाई चेन म्यानेजमेन्टजस्ता क्षेत्र सामेल छन् ।

अटोमोबाइल इन्जिनियरिङमा डिप्लोमादेखि पिएचडीसम्मको पाठ्यक्रम उपलब्ध छ । यो क्षेत्रमा करियर बनाउन इच्छुक विद्यार्थीले अटोमोबाइल इन्जिनियरमा बीई वा बीटेक कोर्सबाट सुरुवात गर्न सक्छन् । उनीहरूले मेकानिकल इन्जिनियरिङमा बीई वा बीटेक कोर्स गरेपछि अटोमोबाइल इन्जिनियरिङमा एमटेक गर्न सक्छन् । 

अटोमोबाइल इन्जिनियरिङअन्तर्गत पढ्नुपर्ने केही विषयमा थर्मोडायनामिक्स, एरोडायनामिक्स, इलेक्ट्रिकल मोसन, कम्बश्चन इन्जिन, भेइकल चेसिस, इलेक्ट्रिक सिस्टम, कन्ट्रोल सिस्टम, फ्लुइड मेकानिक्स, एमिसन्स, वर्कसप प्रौद्योगिकी, सप्लाई चेन म्यानेजमेन्ट, मेसिन डिजाइन, कम्प्युटर एडिट डिजाइन तथा प्रोटोटाइप क्रिएसन सामेल छन् । 

यी सबै पाठ्यक्रमको सैद्धान्तिक अध्ययन, व्यवहारिक प्रयोग एवं स्वयं आफ्नो हातले काम गरेर अनुभव लिनुपर्ने प्रशिक्षण सम्मिश्रण हुन्छ । अधिकतम विद्यार्थी इन्टरसिपलाई नै यो पाठ्यक्रमको सवैभन्दा उपयोगी हिस्सा मान्छन् । यस क्रममा उनीहरूले आफ्नो हातबाट काम गरेर अनुभव प्राप्त गर्ने अवसर प्राप्त गर्छन् । यो कार्यमा कुनै कारको हाइस्टमा     माथि उठाउने, एयर फिल्टर, इन्धन फिल्टर, इन्जिन आयल, स्पार्क प्लग बदल्ने, टायर पन्चर लगाउनेदेखि डिजाइनिङ सफ्टवेयरमा काम गर्ने अवसर पाउँछन् । इन्जिनियरिङ मेकानिक्स, अप्लाइड थरमोडायनामिक्स, मेकानिकल इन्जिनियरिङ, रोबोटिक्स तथा अटोमोसन आदि विषयमा प्रमाणपत्र एवं डिप्लोमा पाठ्यक्रम     उपलव्ध छ । 

अटोमोबाइल इन्जिनियरिङमा उत्कृष्टता हासिल गर्न गणित र विज्ञानको राम्रो जानकारी आवश्यक छ । यो क्षेत्रमा सफलता हासिल गर्ने अर्को हतियार हो– मौलिकता । त्यसैले युक्तिसंगत सोच, वस्तुनिष्ठ दृष्टि, परिश्रमी स्वभाव एवं स्वअध्ययनजस्ता गुणयुक्त व्यक्ति हुनु आवश्यक छ । 

स्केचिङ र ड्रइङको कौशलसहित सुदृढ प्रविधि प्रशिक्षणका साथै अभिव्यक्ति कौशल, टिमको भावनामा काम गर्ने, समस्या समाधानमा निपूर्ण हुनुपर्छ, जसले गर्दा आफ्नो व्यवसायप्रति न्याय गर्न सकियोस् ।

अटोमोबाइल विनिर्माण कम्पनी तथा अटोमोबाइल कम्पोनेन्ट कम्पनीका साथै सर्भिस स्टेसन एवं पारवहन कम्पनीले पनि यस्ता जनशक्ति प्रयोग गर्छन् । अटोमोबाइल सफ्टवेयर परियोजना सञ्चालन गर्ने, आइटी एवं सूचना प्रविधि कम्पनीमा पनि यस्ता जनशक्ति खपत हुन्छन् । 

प्रकाशित :चैत्र २४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्