बादशाहले आजको पुस्ताको प्रतिनिधित्व गर्छ

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७२

हिन्दी चलचित्रमा अहिले एक जना र्‍यापरको ठूलो नाम छ– बादशाह । उनका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’ जस्ता गीत संसारभर हिट लिस्टमा छन् । बादशाहले हम्प्टी शर्माकी दुल्हनियादेखि बजरंगी भाइजान र हालै कपुर एन्ड सन्स जस्ता चर्चित चलचित्रमा काम गरिसकेका छन् । यी र्‍यापरलाई २१ वर्षमुनिका युवा–युवतीहरूले अत्यधिक रुचाएका छन् । युवा पुस्तालाई सिनेमा हलसम्म तान्न पनि नयाँ हिन्दी चलचित्रमा उनका गीतलाई प्राथमिकता दिइन्छ । नयाँ दिल्लीको एउटा साधारण पन्जाबी परिवारमा जन्मिएका बादशाह सिभिल इन्जिनियरिङ गरेपछि १० वर्षअघि संघर्ष गर्न मुम्बई पुगेका थिए । होलीको रमझममा काठमाडौंका युवाहरूलाई मनोरञ्जन प्रदान गर्न बादशाह नेपाल आएका थिए । नाज्जी इन्टरनेन्टमेन्ट तथा युहान इन्टरनेसनल इभेन्टको संयुक्त आयोजनामा उनले सानो गौचरणमा सयौं युवालाई मनोरञ्जन प्रदान गरे भने साँझ आफ्ना डाइहर्ट फ्यानहरूसँग भेटघाट गरे । यही व्यस्तताका बीच बादशाहले साप्ताहिक प्रतिनिधि अश्विनी कोइराला तथा रोजिन शाक्यसँग अन्तरंग कुराकानी पनि गर्न भ्याए । 

तपाईंको नाम आदित्य सिंह रहेछ, बादशाह भनेर चिनाउनुको कारण के हो ?

आदित्य स्कुल–कलेजको नाम हो । आदित्य बाहिरबाट हेर्दा पढ्न्ते, सोझो, आमाबुवा र शिक्षकहरूको प्रिय विद्यार्थी हो । ऊ घरको राम्रो सदस्य पनि हो । यद्यपि आदित्यभित्र एउटा चकचके केटो पनि थियो । ऊ समाजले गर्नु हुँदैन भनेको काम गर्न चाहन्छ । लुकेर डान्स पार्टीमा सहभागी हुन चाहन्छ । स्कुल–कलेज बंक गर्न चाहन्छ । केही मस्ती पनि गर्छ । त्यस्ता युवाहरूका लागि म बादशाह हुँ । 

यो नाम कहिले राख्नुभयो ?

८ क्लासमा पढ्दा मैले शाहरूख खानको चलचित्र ‘बादशाह’ हेरेको थिएँ । उक्त चलचित्रमा गन्जीमाथि कोट लगाउने एउटा गरिब केटोले आफूलाई बादशाह भनेर चिनाउँछ । बादशाहको अर्थ मनको राजा । ऊ समाज र परिवारको बन्धन तोडेर अघि बढ्न चाहन्छ । उक्त चलचित्रमा शाहरूख खानको यति राम्रो एक्टिङ थियो कि मैले त्यो पात्रलाई नै आफ्नो आदर्श मानें । आमा–बुवाको नियमले थिचिएको एउटा युवकलाई त्यसले ठूलो प्रभाव पार्‍यो । त्यसपछि नै मैले भविष्यमा आमा–बुवाले रोजेको होइन, आफूले रोजेको काम गर्छु भनेर निर्णय गरेँ ।

सिभिल इन्जिनियरिङ गरेपछि र्‍यापर हुनुभयो, किन ?

आमा–बुवाको इच्छाका कारण म इन्जिनियर भएँ, किनभने म उहाँहरूको चित्त दुखाउन चाहन्नथेँ । हरेक सन्तानले आफ्ना अभिभावकको सपना पूरा गरिदिनुपर्छ । उहाँहरूको सपना पूरा भएपछि तपाईं 

आफ्नो इच्छा पूरा गर्न स्वतन्त्र हुनुहुन्छ । मैले त्यहीँ गरेँ । पहिले उहाँहरूलाई खुसी दिएँ त्यसपछि आफ्नो सपना पूरा गर्न मुम्बईतिर हान्निए । 

र्‍यापर हुन्छु भनेर कहिले सोच्नुभयो ?

म ९ कक्षामा पढ्दै थिएँ । टेलिभिजनमा दुई जना अफ्रिकन युवाले गीत गाएको साह्रै मन पर्‍यो । खोजी गर्दा त्यो रिदम एन्ड पोएट्री नामको ब्यान्ड रहेछ । उनीहरू गीतको माध्यमबाट आफ्ना कथा र दु:ख सुनाइरहेका थिए । उनीहरूको कथा भन्ने स्टाइल हामी युवाहरूलाई मन पर्ने खालको थियो । भारतमा यसैगरी कथा भन्ने मान्छेको खाँचो थियो । बस्, त्यही बेला मैले आफू स्टोरी टेलर बन्न जन्मिएको हुँ भन्ने कुरा बुझिहालेँ । कतिपय मानिसहरू लेखेर आफ्नो कथा भन्छन्, कोही डायलगमा पनि आफ्नो कथा भन्छन् । मैले डायलग र गीतलाई एकै ठाउँ राखेर फरक शैलीले आफ्नो कथा भन्न थालेको हुँ । नभन्दै हेर्नुस्, आज लाखौं युवालाई मेरो शैली मन परेको छ । 

युवाहरूलाई यस्तै गीत मन पर्छ भनेर कसरी थाहा पाउनुहुन्छ ?

मैले मुम्बईमा संघर्ष गर्ने क्रममा डिजे भएर काम गरेँ । त्यति बेला कुन संगीतले युवाहरूलाई क्रेजी बनाइरहेको छ, कुन कुरा गर्दा युवा पुस्ता रुन्छ, हाँस्छ वा प्रेम गर्छ अथवा इमोसनल हुन्छ भन्ने कुरा बुझेँ । म ३–४ मिनेट सबै कुरा बिर्सन बाध्य तुल्याउने संगीत सिर्जना गर्न चाहन्थेँ । त्यति बेला उसले बाहिरी कुरा नसम्झियोस्, केवल मेरो कथा र संगीत मात्र उसको ध्यानमा आओस् । त्यसका लागि मैले युवाहरूको मुड बुझ्नुपथ्र्यो । वर्षांैपछि मैले यो कुरा थाहा पाएँ, त्यसपछि त्यस्तै गीत तयार गर्न थालेँ । 

संसारभरिका युवालाई एकसाथ तपाईंको संगीत मन पर्‍यो, यसको कारण के हो ?

किनभने संसारभरिका युवाको भावना एउटै छ । देश फरक हुनसक्छ, समाज फरक हुनसक्छ तर उनीहरू एउटै दु:खमा दु:खी हुन्छन्, एउटै खुसीमा रमाउँछन् । धेरै कुरा फरक छैन । प्रेममा खुसी हुने र पीडामा रुने कुरामा उनीहरू खासै फरक छैनन् । 

तपाईंले स्टाइल पनि आफ्नै खालको बनाउनुभएको छ, होइन ?

हो, कुनै पनि स्रष्टाले अर्काको नक्कल गर्नु हुँदैन । ऊ आफूजस्तै हुनुपर्छ । म प्राय: चस्मा लगाउँछु, मेरो कोट र पहिरन शैली पनि आफ्नै प्रकारको छ । मेरो आँखीभौं र दाहिने कानतिर तपाईंले चिरिएजस्तो देख्नुहुन्छ । धेरैले मलाई चोट लागेको हो कि भनेर सोध्छन् । मैले त्यो चोट जस्तो देखियोस् भनेर बनाएको हुँ । मेरो स्टाइल नायक अक्षय कुमार र क्रिकेटर विराट कोहोलीलाई मन परेछ । उनीहरूले पनि अहिले त्यसको कपि गरेका छन् । यस्तो देख्दा खुसी लाग्छ । 

नेपाल आउने अफर पाउँदा कस्तो लाग्यो, नेपालका बारेमा सुन्नुभएको थियो ?

स्कुलमा मेरा एक जना सर हुुनुहुन्थ्यो आईक्यू पढाउने । उहाँले संसारका युनिक झन्डाहरूका बारेमा बताउँदा नेपालको नाम लिनुभएको थियो । त्यो झन्डा हेर्दा मलाई अनौठो लागेको थियो । संसारका अन्य झन्डाभन्दा अलग यो झन्डा किन यस्तो भयो, ममा जिज्ञासा थियो, तर सरले पनि त्यो कुरा बताउन सक्नुभएन । पछि थाहा भयो, माउन्ट एभरेस्ट पनि नेपालमै छ । यी दुई कुरा थाहा भएपछि नेपालका बारेमा थप जिज्ञासा जाग्यो । जब नेपालमा फर्फमेन्स गर्ने अफर आयो, मैले ती दुवै कुरा सम्झिएँ । 

नेपाल आउनेबित्तिकै के महसुस गर्नुभयो ?

भूकम्पले गर्दा हो कि केले हो, केही मिसिङ भैरहेको महसुस भयो । मलाई आयोजकहरूले उत्साहका साथ स्वागत गर्नुभयो । तर म उहाँहरू अझै पीडामा हुनुहुन्छ भन्ने कुरा महसुस गरिरहेको थिएँ । मैले नेपाल आउनुअघि यहाँका बारेमा जे–जति कुरा सुनेको थिएँ, त्यो खुसीमा केही कमी महसुस गरेँ । 

यसको अर्थ तपाईंको कार्यक्रममा दर्शकहरू धेरै खुसी हुन सकेनन् भन्ने लाग्यो ?

त्यसो होइन, पटक्कै होइन । दर्शक–श्रोताहरूलाई मेरा सबै गीत सम्झना थिए । उहाँहरू मसँगै नाच्दै गाइरहनुभएको थियो । मेरो पूरा हिस्ट्री उहाँहरूलाई थाहा थियो । मैले आफ्नो कार्यक्रमको कुरा गरेको होइन, सबैतिरको अवस्था बुझेपछि त्यस्तो लागेको हो । 

नेपालमा सबैभन्दा अनौठो लागेको कुराचाहिँ के हो ?

मैले यहाँ युवतीहरू फ्री भएर हिँडेको देखेँ । भारतीयभन्दा नेपाली युवतीमा बढी आत्मविश्वास देखेँ । यो नेपालमा महिलाहरू सुरक्षित छन् भन्ने प्रमाण हो । म दिल्लीमा हुर्किएको मान्छे, त्यहाँ महिलाहरू यसरी खुला रूपमा हिँड्न डराउँछन् । आत्मविश्वासको कमी देखिन्छ । यहाँ युवाहरूभन्दा युवतीहरू बढी फरासिला छन् र उनीहरूलाई आफू सुरक्षित छु भन्ने विश्वास छ । कुन देश कति माथि छ भन्ने कुराको प्रमाण त्यो देशका महिला कति सुरक्षित छन् भन्ने कुराले पनि निर्धारित गर्छ । 

नेपाली र्‍याप सुन्नुभएको छ ?

नेपाल आउनुअघि युटुबमा हेरेको थिएँ । नेपाली र्‍यापरको अवस्था कस्तो छ, मैले स्टेजमा कसरी दर्शक–श्रोताहरूलाई सम्बोधन गर्न सक्छु भन्ने कुराले म चिन्तित पनि थिएँ । युटुबमा गिरीश–प्रनिल र अन्य धेरै र्‍यापरका राम्रा प्रस्तुति रहेछन् । मैले त एक–दुई जनासँग भेट्ने इच्छा पनि गरेको थिएँ । यसपालि समय मिलाउन सकिएन । म एक–दुई जना नेपाली र्‍यापरसँग मिलेर दुई–चारवटा गीत नै तयार पार्न चाहन्छु । 

तपाईंको लभ स्टोरी इन्टरनेटमा निकै चर्चित रहेछ, त्यसका बारेमा केही बताउनुस् न ।

सबै लभ स्टोरी आफैंमा युनिक हुन्छन् । जस्तो मैले पार्टीमा उनलाई भेटेको हुँ । हाम्रो प्रेम भएपछि उनका अभिभावकले हाम्रो प्रेमलाई राम्रो मानेनन् । किनभने उनीहरूलाई र्‍यापर मन पर्दैनथ्यो । उनको एक जना दाइ प्रहरी अफिसर र एकजना मार्सल आट्र्सका खेलाडी हुन् । दुवै जना आएर मलाई धम्क्याए पनि, तर म डराइन । प्रेम भएको ७ वर्ष र विवाह भएको ४ वर्ष भयो तर उनको तेस्रो दाजुलाई मैले अहिलेसम्म भेटेको छैन । संसारले मलाई रुचाउँछ तर ससुरालीलाई म मन पर्दिनँ, रमाइलो लाग्छ (हाँसो) । 

नेपालका युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?

कसैको कपि नगर्नुहोला । जे गर्न चाहनुहुन्छ हृदयबाट गर्नुहोस् । जसले आफ्नो मनले भनेको काम गर्छ, ऊ अवश्य सफल हुन्छ । 

प्रकाशित :चैत्र १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्