मध्यरातमा खानपान नगरी हुन्न

- कृष्ण भट्टराई

चैत्र १, २०७२

लामो समयदेखि टेलिभिजनकर्मीका रूपमा सक्रिय सुरजसिंह ठकुरी यतिबेला कान्तिपुर टेलिभिजनमा ‘हेड अफ प्रोडक्सन’ का रूपमा कार्यरत छन् । कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘कल कान्तिपुर’ मार्फत स्थापित भएका सुरज यतिबेला समसामयिक विषयवस्तुमा आधारित कार्यक्रम ‘परिर्वतन’ (प्रत्येक शनिबार राति ९:३० बजे) लिएर दर्शकमाझ पुगिरहेका छन् । टेलिभिजनकर्ममा व्यस्त छँदै सुरजले आफूलाई दुई भिन्न विधामा समेत स्थापित गराइसकेका छन् । करिब १ सय २० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका सुरज कुशल म्युजिक भिडियो निर्देशक हुन् भने चलचित्र ‘कर्कश’, ‘नाइँ नभन्नु ल–२’ तथा ‘नाइँ नभन्नु ल–३’ मा अभिनय गरेर अभिनेताका रूपमा समेत सुपरिचित छन् । सुरज प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जंगे’ मा शीर्ष भूमिका निर्वाह गरेका छन् । यो चलचित्र वैशाखको दोस्रो साता प्रदर्शनमा आउँदैछ । 

मध्यरातमा खानपिन

विगत आठ वर्षदेखि एउटा नराम्रो बानीले सताएको छ । म हरेक राति २:३० बजे ब्युँझन्छु । मस्त निद्राबाट ब्युँझिएपछि मैले केही न केही खानैपर्छ । बिहानीपख करिब ४ बजेतिर म पुन: सुत्छु तर सुत्नुभन्दा अघि मेरा लागि श्रीमतीले केही न केही खानेकुराको व्यवस्था गरिदिएकी हुन्छिन् । खानामा यही कुरा हुनुपर्छ भन्ने छैन, तर खानेकुरा खानैपर्छ । 

फेसबुक होइन ट्विटर 

मैले अहिलेसम्म फेसबुक र इन्स्टाग्राममा एकाउन्ट बनाएको छैन, न त फ्यान पेज नै खोलेको छु । बिहान बाथरुममा ब्रस गरेदेखि राति बेडरुममा सुत्न पुगेसम्मका तस्बिर पोस्ट गरेर आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सञ्चालमा छताछुल्ल बनाउनु मुर्खता हो जस्तो लाग्छ । पछिल्लो समय म ट्विटरमा चाहिं छु । 

गिटारवादन

म संगीतकर्मी होइन, तर गिटारवादन मेरो सबैभन्दा ठूलो सौख हो । मसँग अहिले पनि चारवटा गिटार छन् । घरमा तीनवटा अनि अफिसमा एउटा । अफिसमा कामको बीच फुर्सद भयो भने १५–२० मिनेट गिटार बजाएर फ्रेस हुन्छु ।  

गीतकार 

म भर्खरै गीतकारसमेत भएको छु । राति साढे दुई बजे उठेर चार बजे सुत्ने बानी त छँदैछ, तर कहिलेकाहीं बिहानैसम्म निद्रा लाग्दैन । त्यसक्रममा मनमा विभिन्न कुरा खेल्छन् । गीतकार, कविहरू प्राय: यस्तै बेला गीत/कविता रचना गर्छन् होला जस्तो लाग्थ्यो, हालैको एक बिहान मैले पनि गीत रचना गर्ने प्रयास गरें । करिब १० मिनेटकै अवधिमा ‘आज अचानक कता कता...’ शीर्षकको एउटा गीत रचना पनि भयो । अफिस आएर साथीभाइलाई सुनाएँ । उनीहरूकै हौसलाले अहिले यो गीत रेकर्डिङको क्रममा छ, जसमा गायक प्रमोद खरेलको स्वर तथा बिनायक विक्रम शाहको संगीत रहने निश्चित भैसकेको छ । 

जन्मदिन 

बाल्यकालमा म आफ्नो जन्मदिन आयो कि मामाघरतिर भाग्थें किनभने जन्मदिनको दिन छरछिमेकका महिलाहरू थालीमा केराउ, चामल, केराजस्ता सामग्री लिएर मेरो पूजा गर्न आउँथे । आफ्नै जन्मदिनमा लजाउनुपर्ने एउटै कारण हो— म कागतिहारको दिन जन्मिएको हुँ । कागतिहारको दिन जन्मिएकाले काग पूजाको दिन मेरै पूजा गर्न उनीहरू मेरो घरमा आउँथे । जन्मिने बेलामा म कागजस्तै कालो थिएँ रे, ठूलो हुँदै गएपछि म गोरो हुन थालें अनि मलाई ‘गोरो काग’ भनेर समेत जिस्क्याइन्थ्यो । 

जिम

२०५२ सालदेखि आजको मितिसम्म म कुनै न कुनै जिमखानासँग आबद्ध छु अर्थात् विगत २० वर्षदेखि म प्रत्येक दिन जिम गरिरहेको छु । अहिले म एकान्तकुनास्थित प्लाटिनम जिममा प्रत्येक साँझ ५:३० देखि ८:३० सम्म जिम गर्छु ।  

रक्सी

विगत ६ वर्षदेखि मेरो मुखमा रक्सीको एक थोपा परेको छैन । त्यसअघि पनि म बियरबाहेक अन्य कुनै मदिरापान गर्दिनथेँ । मोटाइने डरले मैले बियर पनि पिउन छाडेको हुँ । मदिरापान गर्ने बेला भनेको प्राय: साँझपख हो, त्यति बेला म जिममा व्यस्त हुन्छु । त्यसैले मलाई मदिराको तलतलसमेत लाग्दैन । 

प्रकाशित :चैत्र १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्