अध्यात्मको क्रेज

- अश्विनी कोइराला

फाल्गुन २५, २०७२

गएको माघ १ गते देशले राष्ट्रिय योग दिवस मनायो । माघको त्यो जाडोमा लाखौं मानिसले एकाबिहानै देशका सबैजसो नगर परिक्रमा गरे । हिन्दू मात्र होइन, बौद्ध धर्मावलम्बीहरूले समेत राष्ट्रिय योग दिवसको समर्थन गरे । सयौं संस्थाका लाखौं शुभेच्छुकले एकसाथ समर्थन गरेको योग दिवसमा युवाहरूको सहभागिता आश्चर्यलाग्दो थियो । 

यसपाली शिवरात्री नआउँदै पशुपतिको चहलपहल नै भिन्न छ । विभिन्न आध्यात्मिक संस्थाले शिवरात्रीलाई साधना शिविरका रुपमा भब्य कार्यक्रम आयोजना गरिरहेका छन् । स्कुल कलेज र कार्यालयहरु विदा भएकाले पनि यस्ता संस्थामा मानिसहरुको भिड छक्कलाग्दो छ । 

जमाना उल्टो भएको रहेछ । पहिले–पहिले धर्म र ईश्वरको खोजी पाका व्यक्तिहरू गर्थे, युवापुस्ता मस्ती गथ्र्याे । अहिले पाका व्यक्तिहरू बाहिरी दुनियाँमा मस्त छन्, युवापुस्ता ध्यान र योगमा रमाउन थालेको छ । कलेज पढ्ने पुस्तादेखि विवाहपछि हनिमुनमा रमाउने जोडीहरूसमेत आजभोलि ध्यान केन्द्रमा भेटिन थालेका छन् । पहिले धर्म भन्नेबित्तिकै मन्दिर जाने, कर्मकाण्ड गर्ने कुरा बुझिन्थ्यो । उनीहरू हिन्दू, बौद्ध, इस्लाम र क्रिस्चियनजस्ता भिन्न धार्मिक सम्प्रदायमा विभाजित थिए । आज पनि यस्ता सम्प्रदायको प्रभाव बलियो छ, तैपनि आजको युवापुस्ता परम्परागत विचारधाराबाट मुक्त हुन थालेको छ । देशमा धर्मनिरपेक्षताको घोषणा भएका कारण मात्र सबै धर्म एक हुन् भन्ने भाव बढेको होइन, युवापुस्ताले धर्म भनेको कुनै पनि वाद, नियम र संस्कारभन्दा माथि हुन्छ भन्ने बुझेका कारण पनि पढेलेखेका युवामा अध्यात्मको भोक जागेको हो ।

कलाकार दीपकराज गिरीदेखि मनोज गजुरेलसम्म, नायिकाहरू सोभिता सिम्खडादेखि गौरी मल्लसम्म ध्यान केन्द्रमा भेटिन्छन् । युवा नेताहरू रवीन्द्र अधिकारी र विश्वप्रकाश शर्मा पनि ध्यान गर्छन् । धेरै लेखक, शिक्षक तथा बैंकर्सहरूले अध्यात्मलाई जीवनको अभिन्न पाटो बनाउन थालेका छन् । बौद्धिक र धर्म अफिम हो भन्नेहरू पनि किन अध्यात्मतर्फ ढल्किए त ? विपश्यना ध्यानका विषयमा विद्यावारिधि गरिरहेका युवा नेत्र आचार्य भन्छन्, ‘केही अपवादबाहेक पहिले अध्यात्म भनेको शोषणको विषय हुन्थ्यो । आज पून्य गर, भोलि स्वर्गमा फल पाइन्छ भन्ने नैतिक शिक्षालाई नै मानिसले धर्म बुझेका थिए । जब मानिसहरूले अध्यात्ममा पाइला चाल्दा आफैंलाई फाइदा हुन्छ, जीवन सरल र सहज हुन्छ भन्ने कुरा बुझे, यसप्रति उनीहरूको आकर्षण बढ्दै गयो ।’

त्यसो त ध्यान र योगको जालो फैलाउन सञ्चारमाध्यमहरूले पनि ठूलो भूमिका खेलेका छन् । पश्चिमा राष्ट्रहरूमा भएका ठूला शोध एवं अध्ययनहरूले योग र ध्यानले मानव जीवनमा सकारात्मक प्रभाव पारेको तथ्य सार्वजनिक गर्न थालेको धेरै भैसकेको छ । विश्वप्रसिद्ध जर्नल तथा सञ्चारमाध्यमहरूमा एवं युट्युब जस्ता माध्यमहरुले पनि अध्यात्मलाई ठूलो महत्व दिन थालेका छन् ।  धेरै खालका गुरुहरुले भिन्न किसिमका ध्यान पद्धति र योग सिकाउन थालेपछि ठाउँ–ठाउँमा एकाबिहानै योग कक्षाहरू सञ्चालन हुन थाले । ती पद्धतिले शरीर र मनमा सकारात्मक परिणाम दिन थालेपछि घर–घरमा यसको चर्चा हुन थाल्यो ।  सबैले एक स्वरमा अध्यात्मले शारीरिक एवं मानसिक रोगको निदान हुने अचुक बाटो हो भन्न थालेपछि मानिसहरू स्वत: यसतर्फ आकृष्ट हुन थालेका हुन् । योगले स्मरणशक्ति बढाउने र जीवनमा सफल हुन योग अनिवार्य भएको तर्क बाहिर आउनु नै योगप्रति युवा आकर्षणको मुख्य कारण मानिन्छ । 

‘पहिले मानिस बाध्यतामा धर्मका कुरा गर्थे । अहिले यसमा स्वत: स्फूर्त बग्न थालेका छन् । त्यसमा पनि युवापुस्ताको वर्चश्व बढेको छ ।’ आफूलाई ओशो संन्यासी बताउने राष्ट्र बैंकका एक उच्च कर्मचारीले साप्ताहिकसँग भने, ‘मेरो घरनजिकै बालुवाटारमा ओशोधारा ध्यान केन्द्र छ । त्यहाँ पहिले युवाहरूको बाक्लो उपस्थिति देख्दा अनौठो लाग्थ्यो । त्यहाँ पुगेपछि मैले किन ध्यानको महत्व बुझ्न ढिला गरेँ भनेर आफैंसँग प्रश्न गर्छु ।’

को–को छन् सारथि : कहाँ–कहाँ छन् केन्द्र 

नेपालमा दुई थरी आध्यात्मिक संगठन छन् । एकथरी प्रचार–प्रसार गरेर अध्यात्मलाई पनि ग्ल्यामराइज गरी मानिसहरूलाई आकर्षित गर्छन् । यस्ता संस्थाहरू पत्रपत्रिकामा विज्ञापन, टेलिफोन, फेसबुक, भाइबरमार्फत सन्देश दिन्छन्, टेलिभिजनमा कार्यक्रम चलाउँछन् । आफ्ना गुरुहरूको प्रवचन सुनाउँछन् । तीमध्ये केही व्यवसायिक संस्था पनि छन् तर अधिकांशको उद्देश्य आध्यात्मिक प्रवचन र योगका माध्यमले आम मानिसमा फाइदा पुगोस् भन्ने देखिन्छ । यही कारण  यस्ता संस्थाहरूप्रति मानिसमा सकारात्मक धारणा जन्माएको हो । 

केही संस्थाले भने गोप्य रूपमा कार्यक्रम सञ्चालन गर्छन् । यस्ता व्यक्तिहरूले अध्यात्मका भोकाहरूलाई मात्र प्रवेश दिन्छन् । उनीहरू कोही व्यक्ति सोध–खोज गर्दै आए पनि उसको मानसिक अवस्था अध्यात्म बुझ्ने खालको छ की छैन भन्ने परीक्षण गरेर मात्र आध्यात्मिक शिक्षा दिन्छन् । यस्ता संस्थाहरू सकेसम्म आफ्ना गतिविधि गोप्य रूपमा सञ्चालन गर्छन् । उनीहरूका गुरुहरू भूमिगत हुन रुचाउँछन् । निश्चित साधकहरूसम्म मात्र उनीहरूको पहुँच हुन्छ । विशेषगरी गम्भीर प्रकारका बौद्ध भिक्षु एवं साधकहरू यो कोटीमा पर्छन् भने हिन्दू धर्मका गम्भीर साधकहरू पनि लुकेर साधना गर्छन् । उनीहरूको साधना पद्धति खासै सार्वजनिक हुँदैन । 

भारतीय गुरुहरूमध्ये नेपालमा सबैभन्दा ठूलो संस्था पतञ्जली योगपीठ हो । हरिद्वारमा केन्द्रीय कार्यालय भएको यो पीठका प्रमुख स्वामी रामदेव हुन् । रामदेवका निकट सहयोगी आचार्य बालकृष्णका कारण पनि नेपालमा यो संस्थाको विकास तीव्र भएको हो । यो संस्थाले आफ्नो संघठनभित्र नेपालमा मात्र ५० हजार योग शिक्षक बनाएको छ भने बिहान योग गर्ने साधकहरूको संख्या लाखौं छ । यो संस्थाबाट उत्पादित पतञ्जली आयुर्वेदका सामग्रीहरू नेपालमा पनि निकै लोकप्रिय छन् । यो संस्थाले योगका साथमा व्यापार बढाइरहेको भनेर आलोचना पनि खेप्ने गरेको छ । यद्यपि हजारौं योग शिक्षकले प्रमुख स्थानहरूमा हरेक दिन बिहान नि:शुल्क योग शिविर लगाएका कारण त्यस्ता आलोचना मत्थर हुने गरेको छ । नेपालभरि सयौं कार्यालय स्थापना गरेको यो संस्थाका ७५ प्रतिशत शिक्षक युवा छन् ।

योग शारीरिक क्षमता प्रदर्शन गर्ने विधा पनि भएकाले यो संस्थाप्रति युवाहरूको आकर्षण बढेको बताइन्छ । यसको नेपाल कार्यालय काठमाडौंको मण्डिखाटारमा छ । 

नेपालको आध्यात्मिक क्षेत्रमा अर्को ठूलो प्रभाव श्री श्री रविशंकरको छ । यो संस्थाले पनि हजारौं शिक्षक उत्पादन गरिसकेको छ । रविशंकरको ‘सुदर्शन क्रिया’ गर्नेहरूको संख्या पनि लाखौं पुगिसकेको छ । ठाउँ–ठाउँमा क्षेत्रीय कार्यालय स्थापना गरेको यो संस्थाले शुल्क लिएर सुदर्शन क्रियाको शिक्षा दिन्छ । सुदर्शन क्रिया गरेका व्यक्तिहरू यो शिक्षाका कारण आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको दाबी गर्छन् । त्यसैले यो संस्थाले लिएको शुल्कको विरोध हुँदैन । यो संस्थामा पनि युवा पुस्ताको ठूलो संलग्नता छ । स्कुले विद्यार्थीलाई समेत आकर्षित पार्ने विभिन्न किसिमका कोर्स बनाएका कारण यो कार्यक्रममा स्कुल–कलेजका विद्यार्थीहरू पनि सामेल हुन्छन् भने ‘सुदर्शन क्रिया’ को कोर्स गरेका अभिभावकहरूले पनि आफ्ना सन्तानलाई यो संस्थामा पठाउने गरेका छन् । यसको केन्द्रीय कार्यालय बानेश्वरमा छ । 

भारतीय गुरुहरूमा फरक खालको प्रभाव भने ओशोको देखिन्छ । नेपालमा ओशोबाट प्रभावित भएर धेरैले संस्था खोलेका छन् । ती संस्थाहरूमध्ये सबैले आफूलाई आधिकारिक रूपमा ओशोको ‘भक्त’ का रूपमा व्याख्या गर्छन् । तीमध्ये बालाजुबाट ४ किलोमिटर उत्तरमा रहेको ‘ओशो तपोवन’ छ, जसका प्रमुख आनन्द अरुण हुन् । यो संस्थामा युवाहरूको ठूलो आकर्षण छ, तैपनि कामकाजी मानिसहरू साताव्यापी शिविरमा सहभागी हुन बढी उत्सुक देखिन्छन् । यो संस्थामा विदेशमा बस्ने नेपाली (गैरआवासीय नेपाली) तथा विदेशीहरूले बढी कोर्स गरेको पाइन्छ । यसले देशभरी आफ्नो शाखा विस्तार गरेको छ । 

ओशोकै नाममा खोलिएको अर्को संस्था ‘ओशोधारा’ बालुवाटारमा छ । सहरको नजिक भएका कारण यो संस्थाले शनिबार आयोजना गर्ने ध्यान शिविरमा ठूलो भीड लाग्छ । ओशोका भाइ–बुहारी तथा ओशोका तत्कालीन नजिककका चेला ओशो सिद्धार्थले भारतमा सुरु गरेको यो संस्थाको दोस्रो केन्द्र नेपाललाई बनाइएको छ । यो संस्थाको नेपाल प्रमुखका रूपमा आनन्द मैत्रेय हुन् । यो संस्थाले सामान्य ध्यानदेखि समाधिको अनुभव गराउनेसम्मका गम्भीर साधनाको अभ्यास गराउँछ । यस्ता गम्भीर साधना गर्ने साधकहरूको संख्या पनि ५० हजार नाघिसकेको छ । यो संस्थाले काठमाडौं र चितवनमा आफ्नो शाखा विस्तार गरेको छ । ओशोकै नाममा जीवन विज्ञान केन्द्र तथा मातातीर्थमा ओशो पनि सञ्चालनमा आएको छ । 

नेपालीहरूले रुचाएको अर्को महत्वपूर्ण ध्यान केन्द्र विपश्यना हो । उद्योगपति रूप ज्योतिले यसलाई नेपाल भित्र्याएका हुन् । काठमाडौंमा दुई र देशका प्रमुख स्थानहरूमा यसका शाखा खोलिएका छन् । बुद्धको ध्यानलाई बर्मामा जन्मिएका भारतीय मूलका व्यापारी एसएन गोयंकाले संसारभरि फैलाउँदै जाँदा यो ध्यान केन्द्र नेपालमा पनि विस्तार भएको हो । प्रचार–प्रचार नगर्ने र नयाँ व्यक्तिहरूबाट दान पनि नलिने भएकाले बाहिर यसको खासै चर्चा छैन । ध्यानीहरूले नै यसको प्रचार गर्दै आएका छन् । यो ध्यान गर्नेहरूको संख्या पनि लाखौं पुगेको दाबी गरिन्छ । 

राधा–कृष्ण सम्प्रदायअन्तरगत ‘राधे–राधे’ पनि नेपालमा निकै चलेको सम्प्रदाय हो । यहाँ पुरुषभन्दा महिलाको संख्या बढी छ । राधाकृष्ण सम्प्रदायका दर्जनौं केन्द्र नेपालमा सक्रिय छन् । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पनि नेपालमा चलेको आध्यात्मिक संस्था हो । देशभरि यसका केन्द्र र उपकेन्द्रको संख्या सयौं छ । राजस्थानमा मुख्य कार्यालय भएको यो संस्था संसारभरि फैलिएको छ । यसको नेपाल कार्यालय भने ठमेलमा छ । यो संस्थामा संलग्न हुनेहरूको संख्या पनि लाखौं पुगिसकेको बताइन्छ । 

नेपाली गुरुहरू 

त्यसो त भारतीय परम्पराबाहेक नेपालमा आफ्नै सम्प्रदाय सक्रिय छन् । जसमध्ये मनोक्रान्ति अभियानका डा. योगी विकासानन्द, स्वामी सच्चिदानन्द विशुद्धदेवद्वारा बनेपा सुरु भएको योग केन्द्र (स्वामी पञ्चशील) देवघाटमा रहेका गुरु डा. रामानन्द गिरी, स्वामी ज्ञानानन्द, महेश गुरुकुल प्रमुख छन् । मातातीर्थस्थित ओशो पथिक, जीवन विज्ञान केन्द्र आदि पनि नेपालकै भूमिमा सुरु भएका नयाँ ध्यान केन्द्र हुन् । बानेश्वरस्थित सहज ध्यान, स्वामी चन्द्रेशले बूढानीलकण्डमा सुरु गरेको बूढानीलकण्ठ आश्रम, थानकोटमा सञ्चालन भैरहेको अरविन्द आश्रम पनि अध्यात्मका फरक खालका अभ्यास भैरहेका संस्था हुन् । 

डा. हरि पोखरेलले स्थापना गरेको योग तथा आध्यात्मिक संस्थाले पनि राम्रो ख्याती कमाइरहेको छ । माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्ने व्यक्ति पनि उनै हुन् । उनको सक्रियतामा बाल्मिकी संस्कृत महाविद्यालयमा योगका कक्षा खुलेको हो । प्रवेशिका उतिर्ण भएका जो सुकैले पनि अध्ययन गर्न पाउने यो शिक्षा लिनेहरूको संख्या पनि २२ हजार पुगिसकेको छ । 

के हो अध्यात्म ?

नेपालमा सञ्चालन भएका सयौं आध्यात्मिक संस्थामा लाखौं मानिस भक्ति र सेवाका साथ संलग्न छन् । आखिर यस्ता संस्थामा मानिसको भीड किन हुन्छ ? यो कुरा खोजी गर्दै साप्ताहिक प्रतिनिधि ठाउँ–ठाउँ पुगेको थियो । ती संस्थामा भेटिने साधकहरूलाई साप्ताहिकले कलिलै उमेरमा साधना केन्द्र आउनुको कारण सोधेको थियो । संस्था फरक भए पनि साधकहरूको उत्तर भने करिब–करिब उस्तै थियो । उनीहरू भन्दै थिए, ‘साधना गरेपछि मानसिक तनावमा कमी आउँछ । स्मरणशक्ति बढ्छ । अपूरा काम बन्छन् । खान–पिन र निद्रामा सुधार आउँछ । 

धेरैजसो युवाले प्रेम र अध्ययनमा असफल भएपछि साधना गर्न पुगेको बताउने गरेका छन् । उमेरमा प्रेम हुनु सामान्य भए पनि अप्रत्याशित रूपमा प्रेमी वा प्रेमिकाले धोका दिएपछि साधना गर्न आइपुग्ने युवाहरूको संख्या ठूलो हुँदोरहेछ । यस्ता युवाहरू अभिभावकहरूले भन्दा पनि साथी–भाइले दिएको सुझावका आधारमा यस्ता ध्यान केन्द्रमा पुग्छन् । स्मरणशक्ति बढाउन ध्यान गर्नुपर्ने सुझाव भने स्कुल–कलेजका शिक्षकहरूले दिने गरेका छन् भने थप प्रगतिका लागि ध्यान गर्ने सुझाव दिने व्यक्ति भने आफ्नै प्रेमी–प्रेमिका हुने गरेको पाइएको छ । यसरी हेर्दा ध्यान केन्द्रमा अध्यात्मको खोजीमा आएको देखिए पनि ईश्वर प्राप्ति वा ज्ञानको खोजीमा आउनेहरूको संख्या भने न्यून पाइन्छ । 

के ध्यान गर्नु भनेको भौतिक प्राप्ति मात्र हो ? आध्यात्मिक अगुवाहरूका अनुसार ध्यान वा साधनाले कुनै शारीरिक वा मानसिक रोग निको हुनु, कुनै भौतिक काममा सफलता प्राप्त गर्नु सामान्य कुरा हो । ध्यान र साधनाले मानिसको मन, बुद्धि र सोचभन्दा धेरै पर मानिसको अस्तित्व के हो भन्ने कुरा बुझाउँछ । जुन व्यक्ति यहाँसम्म पुग्छ, उसले भौतिक वस्तुप्रति सजिलै विजय प्राप्त गर्छ । उसलाई सांसारिक कुरा सामान्य लाग्छन् । 

सबै आध्यात्मिक संघ–संस्थाले सरल जीवन बाँच्न प्रोत्साहित गर्छन् । खानपानमा शुद्धता, शरीर र विचारमा शुद्धता कायम राख्ने व्यक्तिलाई सजिलै आध्यात्मिक उपलब्धि हात पर्ने भएकाले केही नीति नियम बनाइएको हुन्छ । यस्ता नीति–नियमहरु ध्यान र साधनालाई सजिलो बनाउने साधन हुन् तर धेरै मानिसलाई यस्ता नीति–नियम नै अध्यात्म हो भन्ने भ्रम परेको छ । 

ईश्वरको अनुभव गर्ने धेरैवटा बाटा भएकाले प्रत्येक गुरुले आफ्नै शैलीका साधना विकास गरेका छन् । एउटा साधना अरू साधनाभन्दा भिन्न भएकाले एउटा सम्प्रदायका मानिसलाई अर्को सम्प्रदायले गर्ने बाह्य क्रियाकलाप अनौठो लाग्छ । ‘साधना फरक भए पनि बाटो एउटै हो । व्यक्तिअनुसार, मानिसको प्रवृत्तिअनुसार र कहिलेकाहीँ ठाउँअनुसार साधनाको मार्ग फरक हुन सक्छ ।’ डा. योगी विकासानन्द भन्छन्, ‘हिमालमा मासु खाएर पनि गम्भीर साधना गर्ने र बुद्धत्व प्राप्त गरेको मानिस भेटिन सक्छ ।

इसाईहरूमा रक्सी खाएर पनि ईश्वरसम्म पुग्न सकिन्छ भन्ने धारणा छ, तर त्यही रक्सी इस्लामले वर्जित गरेको छ । उनीहरूलाई मासु खान बन्देज गरिएको छैन । यसरी हरेक धर्मका आ–आफ्नै विधि–विधान छन् । एकले अर्को धर्मको ठीक विपरीत विधि र पद्धति पच्छ्याएको देखिन्छ ।’ ठाउँ र अवस्थाअनुसार फरक विधि हुनु सामान्य कुरा हो । यसलाई माथिल्लो स्तरका गुरुहरूले स्वीकार गरे पनि आममानिसमा एक–अर्काप्रति अविश्वास पलाएको देखिन्छ ।

‘एक शब्दमा भन्ने हो भने ‘ध्यान’ नै मानिसको धर्म हो ।’ ओशो मैत्रेय भन्छन्, ‘मानिसबाहेक अरूले ध्यान गर्न सक्दैनन् । ध्यान गर्न थालेपछि मानिसमा भएका गलत कुरा आफैं सुधार हुँदै जान्छ । त्यसैले ओशोले धर्मलाई एक शब्दमा ब्याख्या गर्नुभएको छ— ध्यान ।’

हामी फरक खालको ध्यान गराउँछौं 

रमेश नेपाल, आचार्य, जीवन विज्ञान

पाँच वर्षअघि स्थापना भएको जीवन विज्ञान केन्द्रको स्थापना रमेश नेपाल तथा एलपी भानु शर्मा मिलेर गरेका हुन् । वर्षौं भारत तथा नेपालका आध्यात्मिक केन्द्रहरू धाएपछि फरक खालको आध्यात्मिक केन्द्र बनाउन जीवन विज्ञान केन्द्र खोलेको दाबी यसका संस्थापकहरूको छ । 

नेपालमा यति धेरै आध्यात्मिक संस्था छन्, फेरि नयाँ संस्था किन ?

 हामीले पनि धेरै अध्ययन–अनुसन्धानपछि अर्को संस्था आवश्यकता छ भन्ने महसुस गर्‍यौं । मुख्य कुरा के हो भने नेपाल–भारत जहाँ पनि ध्यान र योगको शिक्षा दिइन्छ, ती संस्थाहरूमा एउटा चक्रलाई आधार मानेर त्यसैलाई महत्व दिइन्छ ।  जबकी सबै मानिसलाई फरक–फरक ध्यानले प्रभाव पार्छ । 

उदाहरण दिएर बताइदिनुस् न ।

जो शारीरिक काम गर्न रुचाउँछ, उसको मूलाधार चक्र सक्रिय हुन्छ । जसको स्वाधिष्ठान चक्र सक्रिय हुन्छ, ऊ आँटिलो स्वभावको हुन्छ । यस्ता मानिस मस्तले मनोरञ्जन गर्ने खालका हुन्छन् । जो प्रेमिल र भक्त खालको छ, उसको ह्दय चक्र सक्रिय हुन्छ । जसको मणिपुर चक्र सक्रिय हुन्छ, उसमा विशेष खालको प्रतिभा हुन्छ । जसको अनाहद चक्र सक्रिय हुन्छ, ऊ कवि, कलाकार प्रतिभाशाली वैज्ञानिक वा इन्जिनियर हुन्छ । जसको विशुद्धि चक्र सक्रिय हुन्छ, ऊ भोक–प्यास रोक्न सक्ने र विभिन्न कलायुक्त व्यक्ति हुन्छ । यस्ता व्यक्तिले मानिसलाई विशेष रूपमा प्रभावित तुल्याउन सक्छन् । यसरी अन्य माथिल्ला चक्र खुलेका व्यक्ति अझ माथिल्लो कोटिका हुन्छन् । यी सबै किसिमका व्यक्तिका चक्रहरू अझ खुलाउने खालको ध्यान गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । 

कुन व्यक्तिको कुन चक्र सक्रिय भएको छ भनेर कसरी थाहा पाउने ?

एक दिनको ध्यानबाटै हामी थाहा पाउन सक्छौं । जुन व्यक्तिले जुन चक्रमा ध्यान गर्दा उसमा विशेष आनन्द घटित हुन्छ, त्यो चक्र सक्रिय छ भन्ने कुरा बुझिन्छ । हामीले साधकलाई डायरी दिएका हुन्छौं । त्यसमा प्रत्येक चक्रको ध्यानबाट प्राप्त अनुभव लेख्न लगाउँछौं । त्यही आधारमा हामी थप ध्यानका लागि सिफारिस गर्छौ । यसो गर्दा ती व्यक्तिको चाँडै आध्यात्मिक उन्नति हुन्छ र उसले समाजलाई विशेष योगदान दिन सक्छ । 

आत्मिक विकासका लागि ७ वटै चक्र खुल्नुपर्छ भन्ने मान्यता छ । तपाईंहरूले एउटा चक्रलाई मात्र महत्व दिँदा यात्रा अपुरो हुँदैन ?

सबै संस्थाले एउटा चक्रलाई सक्रिय बनाउन ध्यान वा योग गराइरहेका हुन्छन् । धेरैजसो मानिसलाई मेरा लागि कुन ध्यान वा योग उपयुक्त छ भन्ने थाहा हुँदैन । जसले गर्दा आध्यात्मप्रति अरुचि पैदा हुन्छ । हामी व्यक्तिमा त्यो निराशा उत्पन्न हुन दिँदैनौं । आध्यात्मिक यात्रा नितान्त व्यक्तिगत यात्रा हो । बुझेकाहरूले केवल बाटो देखाउने हो । हामी त्यहि बाटो देखाउने प्रयास गर्छौ । 

विज्ञान भएन भने त्यो कर्मकाण्ड मात्र हुन्छ

डा. योगी विकासानन्द

२०५५ सालमा स्थापना भएको मनोक्रान्ति अभियानका प्रमुख हुन्– डा. योगी विकासानन्द । ३५ वर्षअघिदेखि अध्यात्मिक गतिविधि सञ्चालन गर्दै आएका विकासानन्द परम्परागत कुरालाई नमानेर वैज्ञानिक पद्धतिका मात्र कुरा गर्छन् ।  

तपाईंले आफ्नी आमाको क्रिया गर्नु भएन र शरीर पनि अस्पताललाई दान दिनुभयो, किन ?

आमा–बुवालाई जीवितै छँदा माया गर्नुपर्छ । उपचार गर्नुपर्छ । उहाँहरूको जीवन सार्थक बित्यो भनेर स्मरण गराउनुपर्छ तर मृत्युपछिका संस्कार त्यति महत्वपूर्ण छैन । हजारौं वर्षअघिको फुर्सदको लाइफ स्टाइलमा बनेका ती संस्कारको उद्देश्य पनि मृत आत्मप्रति श्रद्धा नै गर्नु थियो । अहिलेको व्यस्त समयमा हामीले फरक तरिकाले पितृहरूप्रति श्रद्धा व्यक्त गर्नुपर्छ । हाम्रो संस्थाको उद्देश्य बाँचुन्जेल हाम्रो श्वास खेर नजाओस्, मरेपछि हाम्रो लास खेर नजाओस् भन्ने छ । त्यही नाराअन्तर्गत आमाको मृत शरीर अस्पताललाई दान दिइएको हो ।

मनोक्रान्तिको मुख्य उद्देश्य के हो ?

संसार बदल्नु छ, सुरु आफैंबाट गर्नु छ । हामी समाज र राजनीतिक परिवर्तनका कुरा गर्छौं तर आफैं भ्रष्ट हुन्छौं, त्यो आध्यात्मिक यात्रा होइन, सामाजिक यात्रा पनि होइन, यो त नरक यात्रा हो । समाज जस्तो होस् भन्ने चाहन्छौं, हामी आफैं त्यस्तै हुनुपर्छ । 

लुकेर गरिने साधनालाई तपाईंले आममानिसको बीचमा ल्याउनुभयो भन्ने आलोचना हुने गरेको छ, के भन्नुहुन्छ ?

हो, अहिले म कुण्डलिनी योगको प्रशिक्षणमा छु । यो साधना विशेष गुरुको सानिध्यमा कठिन सेवा गरेपछि मात्र प्राप्त हुने विद्या हो । म आफैंले भारत छँदा धेरै दु:ख गरेर यो विद्या सिकेको हुँ तर अब जमाना फेरियो । मानिसहरू अध्यात्म भनेपछि परम्परागत धर्म–कर्मकाण्ड मान्ने धेरै भए । त्यसका लागि प्रत्यक्ष देखिने साधना गराउनुपर्छ । कुन्डलिनि साधनाले त्यो पुरा गर्छ ।

प्रकाशित :फाल्गुन २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्