क्रिकेटमा चलचित्र बनाउने सपना पूरा गरेको छु

- कृष्ण भट्टराई

फाल्गुन २०, २०७२

बीबी फुयाँल, निर्देशक 

अन्तिम अवस्थामा च्याम्पियनको प्रदर्शन कसरी रोकियो ? 

विकास बोर्डमा एक जना कलाकारले उजुरी हालेपछि अन्तिम अवस्थामा सेन्सर हुन नसकेपछि रोकिएको हो । 

उजुरी हाल्नु पर्ने कारण के थियो ? 

क्रिकेट खेल्न नआउने थाहा पाएपछि पूर्व निर्धारित कलाकारलाई हामीले अन्तिम अवस्थामा परिवर्तन गरेका थियौं, उनैले बोर्डमा उजुरी हालेका रहेछन् । 

अब कहिले हुन्छ त प्रदर्शन ? 

सबै समस्या समाधान भएपछि फागुनको अन्तिम साता प्रदर्शन गर्ने योजना छ । 

अभिनेता बन्न आएको मान्छे कसरी निर्देशक बन्नुभयो ? 

करिब एक दशकअघि कलाकार बन्न आएको हो, तर कसैले पत्याएनन् । 

कलाकार बन्न नपाएपछि के–के गर्नुभयो ? 

चलचित्र क्षेत्रका प्राय: सबै विधामा काम गरें । प्रारम्भमा प्रोडक्सन, त्यसपछि मेकअप आर्टिस्टका रूपमा काम गरें । त्यसपछि भिजुअल एडिटरसमेत भएँ । सहायक निर्देशक तथा मुख्य सहायक निर्देशनको काम गरेपछि मात्र निर्देशक बनेँ । 

अहिलेसम्म कतिवटा चलचित्र निर्देशन गर्नुभयो ? 

मैले अहिलेसम्म द लास्ट किस, लभ यू म्यान, रोमान्स, स्पर्श, रक्तभोग तथा च्याम्यिन गरी जम्मा ६ वटा चलचित्र निर्देशन गरें । 

आफ्ना चलचित्रमा प्राय: यौनलाई फोकस गर्नुहुन्छ नि ? 

केही चलचित्रमा यौनले प्राथमिकता पाएको हो । दर्शकको चाहना तथा बदलिँदो सामाजिक अवस्थालाई चित्रण गर्न बाध्यतावश यो विषयमा प्रवेश गरेको हुँ । 

तपाईंका केही चलचित्र त विवादमा पनि आए नि ? 

पुरुष समलिंगीहरूको प्रेमकथामा आधारित चलचित्र ‘लभ यू म्यान’ विवादमा आएको हो । नेपालमा पहिलो पटक यो विषय समावेश भएकाले पनि विवादमा पारियो । 

‘च्याम्पियन’ कस्तो चलचित्र हो ? 

नेपाली क्रिकेटले पाएको लोकप्रियतालाई चलचित्रमा कैद गर्ने प्रयास गरिएको छ । यो चलचित्रमार्फत क्रिकेटलाई सरकारले नै प्रवद्र्धन गर्नुपर्छ भन्ने सन्देश दिएका छौं । 

क्रिकेटको विषयमा चलचित्र तयार पर्दा कुनै समस्या आयो कि ? 

पहिलो कुरा त विषयवस्तुका लागि करिब १ वर्ष क्रिकेटर तथा कोचहरूसँग संगत गर्नुपर्‍यो । क्रिकेटरको भूमिका निर्वाह गर्ने कलाकार छनौट गर्नु पनि चुनौती नै थियो । 

दिक्पाल कार्कीलाई क्रिकेटरको भूमिकामा प्रस्तुत गर्ने निर्णय कसरी गर्नुभयो ? 

प्रारम्भमा त हामीले पारस खड्कालाई नै प्रस्ताव राखेका थियौं । उहाँले अभिनय गर्न नआउने बताएपछि अन्य युवा क्रिकेटर समक्ष पनि प्रस्ताव राख्यौं । क्रिकेटरले राम्रो क्रिकेट खेल्ने तर अभिनय र नृत्य गर्न नजान्ने भएकाले दिक्पाल कार्कीलाई नै क्रिकेटर बनाइयो । 

दिक्पाललाई क्रिकेटर बनाउन कत्तिको मेहनत गर्नुपर्‍यो ? 

दिक्पालले चलचित्रमा बलरको भूमिका निर्वाह गरेका छन् । त्यसका लागि उनले करिब दुई महिना मैदानमा नेपाली खेलाडी तथा क्रिकेटका कोच जगत टमाटासहितको समूहसँगै प्रशिक्षण लिए । 

प्रकाशित :फाल्गुन २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्