गणितमा सूत्र घोकेर अभ्यास गर्नु राम्रो

- बलराम पराजुली

फाल्गुन १८, २०७२

बलराम पराजुली, गणित शिक्षक 

त्रिज्योति उच्च मावि, कपन (काठमाडौं)

गणित धेरैलाई गार्‍हो लाग्ने विषय हो । प्रवेशिका परीक्षा दिएका अधिकांश विद्यार्थी यही विषयमा अनुत्तीर्ण भएको पाइन्छ । मेरो विचारमा गणित त्यति कठिन छैन । यसका लागि निरन्तर अभ्यास आवश्यक छ । मज्जाले बुझेर अभ्यास गरियो भने यो विषयमा सहजै सफल हुन सकिन्छ । विशेषत: गणितका तीन खण्ड छन् । विद्यार्थीले बुझ्ने तीन खण्ड भनेको अंक गणित, बिजगणित र ज्यामिति हो । यिनै तीन खण्डबाट परीक्षामा प्रश्न आउँछन् । त्यसमध्ये तथ्यांक शास्त्र अर्थात स्टाटिक्सका सबै प्रश्न हल गर्न सक्ने हुनुपर्छ । मध्यम तथा निम्नमध्यम तहका विद्यार्थीले हल गर्नै पर्ने विषय पनि स्टाटिक्स नै हो । सबै प्रश्न हल गर्न सक्नेले त सबैलाई मिलाएर गरिहाल्छन्, अंक ल्याउन सकिहाल्छन् तर आफूलाई गणितमा कमजोर मान्ने विद्यार्थीले स्टाटिक्समा विशेष ध्यान दिनुपर्छ । प्रश्न नम्बर ‘थ्री–ए’, ‘थ्री–बी’, प्रश्न नम्बर १५ अनिवार्य रूपमा हल गर्नैपर्छ । त्यसमध्ये प्रश्न नम्बर २४ को ज्यामिति भित्रबाट ‘एक्पेरिमेन्टल भेरिफिकेसन’का समस्याहरू अनिबार्य रुपमा हल गर्न सक्ने हुनुपर्छ । २५ नम्बरको प्रश्न पनि हल गर्ने प्रयास गर्नुपर्छ । यति गर्न सकियो भने उत्तीर्ण अंक नजिक पुगिन्छ । त्यसपछि अन्य प्रश्नको समाधानतर्फ लाग्नुपर्छ । 

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले गणितका लागि दैनिक ४५ मिनेट देखि एक घण्टा समय छुट्टयाउनुपर्छ । विशेषत: ‘स्टाटिक्स’लाई बढी समय छुट्याएर तयारी गर्नुपर्छ । ‘मेन्सुरेसन’ भित्रबाट ‘फाइभ–ए’ र ‘फाइभ–बी’ देखि ‘सिक्स–ए’ र वि बाट हल गर्ने प्रयास गर्नुपर्छ । प्रश्न नम्बर १६ र १७ मध्यम स्तरका विद्यार्थीका लागि अनिवार्य छन् । पुस्तकभित्रको आयतन, वक्रसतह, भोल्युम आदिको सूत्र घोक्नुपर्छ । सूत्रहरू मात्र लेखियो भने पनि अंक आउँछ । विशेषत, गणित बुझेर मात्र भन्दा पनि सूत्र घोकेर अभ्यास गर्नुपर्छ । बाबु र छोराको उमेर निकाल्ने, तत्व विभाजन गर्ने, ‘एचएम/एलसिएम’ निकाल्ने च्याप्टरहरूको अभ्यास बढी गर्नु आवश्यक छ । परीक्षामा दुइ अंकका १८ वटा प्रश्न आउँछन् भने १६ वटा लामा प्रश्न अनिवार्य छन् । त्यसमध्ये सेट ४ सहजै हल गर्न सकिन्छ । परीक्षामा सोधिएका प्रश्नहरूमध्ये ज्यामितिको ‘एट–एबी’ र ‘नाइन एबी’ लाई खासै मेहनत नगरे हुन्छ । प्रश्न नम्बर १९, २० र २३ ले धेरै समय लिने भएकाले सामान्य विद्यार्थीका लागि कठिन हुन सक्छ । त्यसैले परीक्षामा उत्तर लेख्दा समयको ख्याल गर्नुपर्छ । 

विद्यार्थीहरूले च्याप्टरहरूका बारेमा राम्रोसँग बुझन सक्नुपर्छ । उदाहरणहरू बुझेर हेर्नुपर्छ अनि अभ्यास गर्नुपर्छ । अभ्यास गर्दा एकपटकले पुग्दैन पटक–पटक गरिरहनुपर्छ । शिक्षकले पढाएको अनि पुस्तकमा भएका उदाहरणहरू बुझेर अध्ययन गर्नुपर्छ । हेर्दै सार्ने बानी त्याग्नुपर्छ । उत्तर पुस्तिकामा लेख्दा लेखन प्रभावकारी र आकर्षक बनाउनुपर्छ । पुस्तिकाको पहिलो पृष्ठबाटै केरमेट गर्नुहुँदैन । अंक घट्ने कारण उत्तरपुस्तिका व्यवस्थापन पनि हो । त्यसैले यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । प्रत्येक उत्तर लेखिसकेपछि दुई लाइन छाड्नुपर्छ । प्रश्न नम्बर प्रष्ट लेख्ने बानीको विकास गर्नुपर्छ । गणित विषयका लागि उत्तर पुस्तिकाको एकापट्टिको किनारमा उदाहरण अनिवार्य लेख्नुपर्छ । 

गणितमा मौलिकता खासै हुँदैन तर झल्किनचाहिं झल्किन्छ । परीक्षाको तयारी गरिरहेका विद्यार्थीले गणितको अभ्यास दैनिक गर्नुपर्छ । बीचमा छाड्दै फेरि अभ्यास गर्ने बानी छ भने त्यस्तो बानी त्याग्नुपर्छ । समग्र विषयहरूमध्ये धेरै अंक तान्न सकिने विषय गणित नै हो । यसमा उत्तर मिलेको खण्डमा तोकिएकै अंक पाइने सम्भावना हुन्छ । च्याप्टर अनुसार पहिले बुझेर पढनुपर्छ । यो विषयमा चित्र बनाउने प्रश्नहरू पनि रहने भएकाले सफासँग सिसाकलमले चित्र बनाउने अभ्यास गर्नुपर्छ । प्रश्न नम्बर २२ देखि २५ को उत्तर चित्रबिना अघि बढ्दैन । यता १६ नम्बरको उचाइ र दूरी नाप्ने प्रश्नमा पनि चित्र अनिवार्य छ । 

प्रस्तुति : युवराज गौतम 

प्रकाशित :फाल्गुन १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्