फेसबुक

- प्रदीप सुवेदी

फाल्गुन १५, २०७२-
बिउँझिदा ‘म त हारेको मान्छे...’ गीत बजिरहेको थियो । मन अमिलो भयो अनायासै । अतीत रिल बनेर आँखाअगाडि घुमे, अनि चस्स मुटुमा घोचे । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक हो, ’ अमिलो मनलाई सम्हालें । ‘माघ २१’ यो मितिले मेरो दिमागमा खुब घोचिरहेको छ । अब हप्ता दिन बाँकी छ । 

औपचारिक रूपमै ऊ अरूकी बन्दैछे । सिन्दूर, पोते, चुरा सारी घुम्टो अनि अन्य गहनामा सजिएको ‘गट म्यारिड’ क्याप्सन लेखी फेसबुकमा तस्बिर अपलोड गर्नेछे । मेरो फेसबुक वालमा लाइक र सुखद दाम्पत्य जीवनको शुभकामना लेखेको कमेन्टको प्रतीक्षा गर्नेछ उक्त फोटोले । कस्तो होला त्यो क्षण ?

मैले लाइक अनि कमेन्ट गरूँला त ? यही फेसबुक हो उसलाई र मलाई भेट्टाउने, चिनजान गराउने, सपना बुनाउने । तर खै के भो केभो हाम्रो सम्बन्ध अब सम्बन्ध रहेन । भावना पैसाको अगाडि निरीह भो । चुपचाप स्वीकार गर्नुको विकल्प छैन । अब यो फेसबुकले दिएको साथीको नाता फेसबुकमै सीमित हुनेछ । मन फेरि अमिलो भयो । फेसबुकमा साथी रहनुको अब के अर्थ ? मनमा प्रश्न उठ्यो । फेसबुक खोलेँ । उनको प्रोफाइल हेरेँ । मुसुक्क हाँसेको फोटो छ । उसको त्यो हाँसोमा छल देखियो, कपट देखियो अनि स्वार्थ देखियो । रिस उठ्यो, दया पनि जाग्यो आफैंप्रति । मेरो पनि गल्ती छ नि केही । अनफ्रेन्ड गरौँ कि ब्लक गरौं । दोधार भयो । गुनासो गर्ली फेरि फोनमा, भेटमा । न अनफ्रेन्ड न ब्लक बरू आफ्नै फेसबुक डियक्टिभेट गर्छु । मनले यस्तो निर्णय गर्‍यो । सदर पनि भो मनबाटै । केही मुक्तानुभूति भयो । चङ्गा मन लिएर बाथरुम छिरेँ ।

 

प्रकाशित: फाल्गुन १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्