विवाह गर्दैछन् ८४ वर्षीय रूपर्ट मर्डोक

- एजेन्सी

फाल्गुन १२, २०७२-

विवाहका लागि उमेर बाधक हुँदैन भन्ने कुराको उदाहरण बनेका छन् मिडिया मुगलका रूपमा परिचित ८४ वर्षीय रूपर्ट मर्डोक । गत साता उनले आफूभन्दा २५ वर्ष कम उमेरकी मोडल जेरी हलसँग इन्गेजमेन्ट गरेको घोषणा गरेका छन् । 

गत साता अमेरिकाको द टाइम्स न्युजपेपरको ‘बर्थ, म्यारिज एन्ड डेथ सेक्सन’ मा त्यसैका मालिक रूपर्ट मर्डोकको इन्गेजमेन्टको घोषणा भयो । ८४ वर्षीय मर्डोकको यो चौथो विवाह हुनेछ, तर उनीसँग विवाह गर्ने भनिएकी ५९ वर्षीया जेरी हलको भने यो पहिलो औपचारिक विवाह हो । 

रूपर्ट मर्डोक र उनको परिवारको स्वामित्वमा अहिले ५ देशमा १ सय २० अखबार संचालित छन् जसमा बेलायतका सन र द टाइम्स समेत पर्छन् । उनको हार्पर कोलिन्स नामक पुस्तक प्रकाशन कम्पनी पनि छ । मर्डोक परिवारसँग अमेरिकाको फक्स च्यानललगायतको ठूलो केबुल टिभी नेटवर्क छ । उनी ट्वेन्टी फस्ट सेन्चुरी फक्स तथा स्काई ब्रोडकास्टरका समेत मालिक हुन् । 

अमेरिकामा बस्दै आएका रूपर्ट मर्डोकको जन्म अस्ट्रेलियामा भएको थियो । उनले स्कुल जीवन अस्ट्रेलियाकै मेलबर्नमा पूरा गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड युनिभर्सिटीबाट स्नातक गरे ।

उनका बुवा त्यतिबेलै अखबार निकाल्थे । स्नातक सकेपछि मर्डोकले त्यही अखबारको व्यवस्थापन सम्हाले । आफ्नो अखबारलाई अघि बढाउन मर्डोकले अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न अखबारको स्वामित्व खरिद गरे । अमेरिकी बजारमा आफ्नो व्यवसाय बढाउने उद्देश्यले सन् १९७४ मा न्युयोर्कमा अखबारको कार्यालय खोलेर राजनीतिसम्बन्धी विभिन्न समाचार सामग्रीहरू प्रकाशित गरे । 

रूपर्ट मर्डोकले सन् १९५६ मा अस्ट्रेलियाको मेलबर्नमा फ्लाइट एटेन्डेन्टका रूपमा कार्यरत प्याट्रिसिया बुकरसँग पहिलो बिबाह गरेका थिए । उनीहरूका एक छोरा प्रुडेन्स छन् । सन् १९६७ मा उनीहरूबीच पारपाचुके भएको थियो । त्यसपछि उनले अमेरिकाको ग्लास्गोमा जन्मिएकी पत्रकार अन्ना टर्भसँग दोस्रो विवाह गरे । उनीहरूको सम्बन्ध ३२ वर्षसम्म कायम रह्यो र सन् १९९९ मा पारपाचुके भयो ।

उनीहरूका एलिजावेथ, लचलान र जेम्स गरी तीन सन्तान छन् । त्यसपछि मर्डोकले चीनमा जन्मिएकी व्यवसायी वेन्डी डोङसँग तेस्रो विवाह गरे । सन् २०१३ मा वेन्डीसँग पनि सम्बन्धविच्छेद भयो ।

उनीहरूको सम्बन्ध १४ वर्षसम्म कायम रह्यो । उनीहरूका ग्रेस र क्लोइ गरी दुई सन्तान छन् । 

लामो समयसम्म मोडलका रूपमा कार्यरत जेरी हलले रक्स म्युजिक स्टार ब्रायन फेरीसँग सम्बन्ध बढाएकी थिइन् । पछि उनले ब्रायनसँगको सम्बन्ध समाप्त गरेर रोलिङ स्टोन फ्रन्ट म्यान सर मिक ज्यागरसँग सम्बन्ध कायम गरिन् । उनीहरूले सन् १९९० मा हिन्दू संस्कारअनुसार इन्डोनिसियाको बालीमा विवाह गरेका थिए । बेलायती अदालतले उक्त विवाहलाई अवैधानिक मान्यो । उनीहरूका एलिजावेथ, जर्जिया, ग्याब्रियल र जेम्स गरी चार सन्तान छन् । सन् १९९९ मा उनीहरूबीचको सम्बन्ध समाप्त भयो । 

सन् १९५६ मा अमेरिकाको टेक्सासमा जन्मिएकी जेरी हलले आफ्नो मोडलिङ करियरलाई अघि बढाउन किशोर अवस्थामै घर छोडेकी थिइन् । सन् ७० को दशकको अन्त्यतिर उनी सर्बाधिक तस्बिर खिचिने मोडलमा गनिन्थिन् । दर्जनांै म्यागजिनका कभरमा उनका तस्बिर प्रकाशित हुन्थे । न्युयोर्कको स्टुडियो ५४ जस्तो हटस्पटमा उनी विभिन्न प्रोडक्टको बिज्ञापनका लागि फोटोसुट गरिरहेकी हुन्थिन् भने प्रशस्तै म्युजिक भिडियोमा अभिनय गर्थिन् । हल विभिन्न टेलिभिजन, फिल्म र स्टेजमा विभिन्न भूमिकामा प्रस्तुत भएकी छिन् । उनी सन् २०१० मा सम्पन्न स्ट्रिक्टली कम डान्सिङको प्रतिस्पर्धि समेत थिइन् । हलसँग अनुमानित १५ अर्ब डलर सम्पत्ति छ । 

फोब्र्सका अनुसार सन् २०१५ मा रूपर्ट मर्डोक र उनको परिवारको सम्पत्ति ११ खर्ब २० अर्ब डलर छ । मर्डोक विश्वका सर्वाधिक धनी व्यक्ति मध्ये ७७ औं नम्बरमा छन् । 

 

प्रकाशित :फाल्गुन १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्