कहाँ हिरो भएको छु र ?

- शिव मुखिया

फाल्गुन ७, २०७२

चलचित्रवृत्तमा ‘पशुपतिप्रसाद’ले तरंग ल्याइरहेका बेला त्यसका मुख्य पात्र खगेन्द्र लामिछाने थिएटर भिलेजमा नयाँ नाटक ‘दाँतको डोब’को रिहर्सलमा व्यस्त थिए । उनले आफू अभिनीत नाटक हेर्न पहिलो पटक स्याङ्जाबाट बुबालाई समेत निम्याएका रहेछन् । यद्यपि उनलाई बुबासँग भलाकुसारी गर्ने फुर्सदसमेत थिएन । खगेन्द्रलाई पशुपतिप्रसादको ह्याङ्ओभरले पच्छ्याइरहेका बेला साप्ताहिककर्मीले सोधेको थियो– ‘स्याङ्जाबाट काठमाडौं छिर्दा यसरी हिरो हुन्छु भन्ने लागेको थियो ?’ प्रत्युत्तरमा उनी मज्जाले हाँसे । ‘म कहाँ हिरो भएको छु र ?’ खगेन्द्रले पशुपतिप्रसादकै हाउभाउमा विस्फारित आँखा दौडाउँदै भने– ‘हिरो हुन त चिप्लो–चाप्लो अनुहार, हलक्क हुर्केको ज्यान अनि हट्टाकट्टा पो हुनुपर्छ ।’ उनको यो कटाक्ष नेपाली चलचित्रले वर्षौंदेखि पछ्याउँदै आएको ‘बलिउड ट्रेन्ड’प्रति लक्षित थियो । उनै लामिछानेसँग साप्ताहिकले गरेको कुराकानी :

पछिल्ला केही चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ, तैपनि आफूलाई हिरो होइन भन्नुहुन्छ ?

हाम्रो बुझाइमा हिरो भनेको अग्लो, हट्टाकट्टा र चकलेटी अनुहार भएको व्यक्ति हुनुपर्छ । के म त्यस्तो देखिन्छु र ? बरु मलाई अभिनेता भन्नुहोस् न । 

चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नेलाई हिरो नै भनिन्छ, होइन र ? 

विश्व परिवेशमा तपाईंको कुरा सही हुन सक्छ । चाहे इटालीयन चलचित्र हेर्नुहोस् वा फ्रेन्च, त्यसमा गरिब एवं निर्धो मानिस, टीठलाग्दो बूढो, सानो बच्चा जो पनि हिरो हुन सक्छ । 

तपाईं आफूलाई चाहिँ के भनेर चिनाउन मन लाग्छ ? 

मैले वधशाला, टलकजंग भर्सेस टुल्के तथा पशुपतिप्रसादमा मुख्य भूमिकामा अभिनय गरें । त्यही भएर मलाई अहिले चलचित्रसँग जोडेर हेरिन्छ । यद्यपि म चलचित्रमा साहित्य हुँदै रंगमञ्चबाट आएको हुँ । त्यसैले मेरो कलाको उद्गम बिन्दु भनेको साहित्य हो । 

साहित्यमा कसरी आउनुभयो ?

अल्लारे उमेरदेखि नै मलाई साहित्यमा रुचि थियो । पोखरामा क्याम्पस पढ्न आएपछि उपन्यास पनि लेखेको थिएँ । अहिले फर्केर हेर्दा त्यतिबेला म आलोकाँचो नै थिएँ, तर आफूलाई ठूलो साहित्यकार सम्झन्थें । उपन्यासको शीर्षक थियो– परदेसिएका नेपाली । धेरै पटक नमस्कार ठोकेर सरुभक्तसँग चिनजान बढाएको थिएँ । उहाँलाई उपन्यासको भूमिका लेखाएँ । उपन्यास छापियो । गाउँमा दौतरीबीच प्रिय भएँ । यो २०५४ सालतिरको कुरा हो । 

उपन्यास बिक्री पनि भयो ? 

कति त बाँडेरै सिध्याएँ । बाँकी रहेको उपन्यास पुस्तक पसलमा पुर्‍याएर छाडिदिएको थिएँ । घर गएका बेला पसलमा बुझ्न गएँ, बिक्री भएकै रहेनछ । घरमा ल्याएर थन्काइदिएँ । एक दिन बुबाले कुँडो पकाउन भन्नुभयो । मैले दाउरा भेटिनँ, त्यही उपन्यासको चाङ ल्याएर बालिदिएँ । 

भनेपछि साहित्यप्रति मोहभंग भयो ? 

कहाँ हुनु ? यता पोखरामा साथीहरू नाटक देखाउन लागिरहेका रहेछन्, पश्चिमाञ्चल क्षेत्रीय प्रतियोगिताका लागि । उनीहरूले मलाई पनि एउटा भूमिका दिए । त्यतिबेलासम्म मैले नाटक कस्तो हुन्छ हेरेकै थिइनँ, तैपनि खेलिदिएँ । हाम्रो नाटकले दोस्रो स्थान प्राप्त गर्‍यो । त्यसपछि त मलाई नाटकको ह्याङओभरले छाड्दै छाडेन । म नाटककार बन्ने बाटोमा लागें । 

कसरी ? 

पोखरामा अनुप बरालले तालिम दिनुहुन्थ्यो, तालिम लिएँ । अभिनयका सम्बन्धमा केही जान्ने भएपछि अब काठमाडौं जानुपर्छ भन्ने लाग्यो । बुबाले त सुरुदेखि नै काठमाडौंमा बसेर पढ् भन्नुभएको थियो । त्यसैले मैले काठमाडौं आउन अर्को बहाना बनाउनुपरेन । 

काठमाडौं आएपछि पनि नाटकमा लाग्नुभयो ? 

नाटकमा अहिलेजस्तो क्रेज त थिएन । यद्यपि मलाई त्यही विधा मन पर्ने भएकाले अभिनय सिक्न थालें । त्यतिबेला सुनिल (पोखरेल) सरले साह्रै सहयोग गर्नुभयो । रिहर्सल भएको ठाउँमा बोलाएर छेउमा राख्नुहुन्थ्यो । पछि गुरुकुल थिएटर पनि स्थापना भयो । 

त्यतिबेला नाटकमा लागेर खान, बस्न त पुग्दैनथ्यो होला ? 

अहिलेजस्तो व्यवसायिक भैसकेको थिएन । पछिल्लो समय नाटक हेर्ने संस्कृतिको जग बसाएकै गुरुकुलले हो । 

अनि खर्चचाहिँ घरबाटै ल्याउनुहुन्थ्यो ? 

सबै घरबाट उहाँ (छेवैमा बसिरहेको बुबालाई इंगित गर्दै) ले पठाइदिनुहुन्थ्यो । त्यही भएर यसपालिचाहिँ मैले अभिनय गरेको नाटक हेर्न बुबालाई यहाँ (काठमाडौं) बोलाएँ । 

पछि त नाटकबाट आफैं कमाइ गर्ने हुनुभयो हैन ? 

गुरुकुलको स्थापनापछि नाटकहरू मञ्चन हुन थाले । मैले महेशविक्रम शाहको कथा ‘खुमा’लाई नाटकीकरण गरें । अनुप बरालले त्यसलाई निर्देशन गर्नुभयो । त्यसपछि सोलो ड्रामा गरें, ‘पीडा गीत’ । यो म आफैंले लेखेको तथा निर्देशन एवं अभिनय गरेको नाटक थियो । त्यसले राम्रो प्रतिक्रिया पायो । ‘अटलबहादुरको आतंक’ र ‘पानी फोटो’मा अतिथि लेखक/निर्देशकको काम गरें । ‘हजुरबुको कथा’, ‘राजनीति’, ‘जार’, ‘टलकजंग भर्सेस टुल्के’ नाटक लेख्ने तथा निर्देशन गर्ने क्रममै बीबीसीको ‘कथा मीठो सारंगीको’ नाटक श्रृंखलामा अनुबन्धित भएँ । त्यसपछि मैले घरबाट खर्च माग्नु परेन । 

बीबीसी एक्सन मिडियामा कतिवर्ष काम गर्नुभयो ? 

त्यहाँ ७ वर्षजति काम गरियो । उक्त संस्थाअन्तर्गत हामीले २ सयभन्दा बढी नाटक बनायौं । पछि उक्त परियोजना सकियो र हामी सबै लाखापाखा लाग्यौं । 

त्यसमा कसरी छनौट हुनुभएको थियो ? 

पत्रिकामा विज्ञापन निकालिएको थियो । मैले आवेदन दिइनँ, किनभने त्यसका लागि अंग्रेजी भाषामा राम्रो दख्खल भएको हुनुपर्ने कुरा उल्लेख थियो । मलाई अंग्रेजी त्यति नआउने, त्यसैले यो मेरा लागि होइन भन्ने लाग्यो । यता साथीहरू भोला सापकोटा र जीवेश रायमाझीले विज्ञापनको कटिङ ल्याएर, आवेदन हाल्न कर गरे, मैले मानिनँ । जीवेश आफैंले मेरो आवेदन दिएछ । म सर्टलिस्टमा परेछु । मलाई बोलाइयो र अन्तर्वार्ता लिइयो, छनौट भएँ । त्यसपछि सिनियर प्रोड्युसर राइटर हँुदै कार्यक्रम प्रमुखसम्म भएर काम गरें । 

कसरी तयार हुन्थ्यो, त्यो नाट्य श्रृंखला ?

कथा लेखेर, स्क्रिप्ट, संवाद तयार गर्ने खालको थिएन । विषय छनौट गरिसकेपछि अन द स्पट नाटक रेकर्ड गराइन्थ्यो, जुन ठाउँका लागि विषय छनौट गरिएको हो, त्यहीं पुगिन्थ्यो अनि नाटकको विषय बताएर स्थानीय बासिन्दाहरूलाई नै आफैं संवाद बोल्न लगाइन्थ्यो । एक किसिमले चलचित्र छायांकन गरेजस्तै हुन्थ्यो । जे होस्, त्यो रमाइलो अनुभव थियो । 

चलचित्रमोहचाहिँ कसरी जाग्यो नि ? 

मैले चिनियाँ लेखक लू सुनको एउटा कथाबाट प्रभावित भएर त्यसलाई नाटकमा रूपान्तरण गरेको थिएँ, टलकजंग भर्सेस टुल्के । त्यो नाटक मञ्चन गर्ने बेला बीबीसी मिडिया एक्सनमा काम पाइयो । नाटक गर्ने कि जागिर खाने भन्ने द्विविधा पनि भएको थियो । मैले जागिर रोजें, नाटक छुट्यो । यद्यपि टलकजंगमा अभिनय गर्ने रहर मेटिएको थिएन । पछि यसैमा चलचित्र बन्ने कुरा भयो, यो नै मेरो थाँती रहेको इच्छा पूरा गर्ने मौका थियो । मैले त्यसलाई गुमाउन चाहिनँ र चलचित्रमा अभिनय गरें । हुन त यसअघि मैले वधशालामा पनि मुख्य भूमिका पाएको थिएँ, तर त्यसमा धेरैजसो समय कालो बर्कीले अनुहार छोप्नुपर्ने भएकाले दर्शकले मलाई मार्क गरेनन् । 

पशुपतिप्रसादजस्तो फरक शैलीको चलचित्र बनाउने सोचचाहिँ कसरी जन्मियो ? 

यो मेरो होइन, दीपेन्द्र के खनालको सोच हो । त्यही कन्सेप्ट बोकेर हामी पशुपति आर्यघाट गयौं, त्यहाँको दृश्य हेर्‍यौं, चुम्बकले पैसा टिप्नेदेखि लास जलाउनेहरूसँग सम्म संगत गर्‍यौं । उनीहरूको अन्तर्कथा टिप्यौं र स्क्रिप्ट तयार गर्‍यौं । 

पशुपतिप्रसाद सुपरहिट भयो, के थियो यसमा ? 

हामी धेरैजना पशुपतिनाथ दर्शन गर्न पुग्छौं । त्यस आसपासका दृश्य हाम्रो नजरमा पर्छ । कोही लास जलाइरहेका हुन्छन्, कोही हनुमान बनेर घुमिरहेका हुन्छन्, कोही बाग्मतीको फोहरमा डुबेर पैसा टिपिरहेका हुन्छन्, कोही लास पोल्ने दाउरा घिसारिरहेका हुन्छन् । यद्यपि उनीहरू किन र कसरी त्यहाँ पुगे, उनीहरूको सपना के होला ? हामीले त्यो गहिराइसम्म पुगेर खोज्ने प्रयास गरेका हुँदैनौ । पशुपतिप्रसादले त्यही कुरा खोज्यो, यसलाई दर्शकले पनि रुचाइदिए । 

कसैले नखोजेको विषयमा बनेकै कारण यो चलचित्र चलेको हो त ? 

राम्रो विषय हँुदैमा चलचित्र पनि राम्रो हुन्छ भन्ने होइन । यसलाई राम्रो बनाउन, निर्देशक, कलाकारलगायत सबैको भूमिका हुन्छ । कथालाई प्रस्तुत गर्ने शैली, अभिनय, संवाद, दृश्य सबै कुरा मिल्नुपर्छ । 

पछिल्लो समय पशुपतिप्रसादजस्ता चलचित्र, मल्टिप्लेक्समा धूमधामसँग चलेका छन् । यद्यपि यस किसिमका चलचित्रले सबै वर्गको दर्शकलाई चाहिँ आकर्षित गरेको छैन, हो ? 

त्यो त मलाई भन्दा तपार्इंहरूलाई नै बढी थाहा होला । 

एउटा पूर्ण चलचित्र बन्न त्यसमा विभिन्न तत्व आवश्यक हुन्छन्, जुन कुरा अहिले बन्ने चलचित्रमा पाइँदैन भन्छन् नि ?

मलाई चलचित्र मात्र होइन, कुनै पनि कुरा सूत्रबद्ध हुनुपर्छ भन्ने लाग्दैन । मेरो गाउँमा पढेपछि लोकसेवा आयोगको परीक्षा दिनुपर्छ भन्ने मान्यता छ । बुबा, काकाहरू मलाई शिक्षक बन्नुपर्छ भन्नुहुन्थ्यो । उहाँहरूको त्यो धारणालाई तोड्दै मैले अर्कै क्षेत्रमा हात हालें । मलाई आफ्नो मनले जे भन्छ, त्यो स्वच्छन्द ढंगले गर्नुपर्छ भन्ने लाग्छ । चलचित्रमा कसैले वर्षौं अघि बनाइदिएको फम्र्याटलाई अहिले पनि अनुसरण गर्नुपर्छ भन्ने लाग्दैन । यसलाई स्वच्छन्द ढंगले बनाउन सकिन्छ । 

नेपाली चलचित्रको पुरातन धार तोडिँदै गएको हो ? 

सधंै एकैखालको भएर पनि त हुँदैन । अहिले हिन्दी मात्र होइन, अंग्रेजी, कोरियन, फ्रेन्च, इटालीयनजस्ता विश्वभरका चलचित्रको प्रभाव र पहुँच नेपालमा छ । यस्तो परिवेशमा पुरानै ढर्राको चलचित्र बनाउनु भनेको आफैं उल्लू बन्नु हो । त्यसैले अहिले नेपाली चलचित्र निर्माताहरूले दर्शकले हेर्न खोजेकै खालको चलचित्र बनाउन थालेका छन् । 

विगतमा यस्तो चलचित्र बनेनन् ? 

पहिले पनि यस्ता चलचित्र नबनेका होइनन् । यद्यपि त्यतिबेला स्क्रिप्टमा ध्यान दिने चलन थिएन । स्क्रिप्ट भनेको सबैभन्दा कम महत्वको कुरा हो भनेर बुझिन्थ्यो । कतिसम्म भने सुरुमा तयार गरिएको स्क्रिप्ट, सुटिङ स्पटसम्म पुग्दा काम नै नलाग्ने भैसकेको हुन्थ्यो । स्क्रिप्टकै महत्व नभएपछि चलचित्र कसरी राम्रो बन्छ ?

भनेपछि अहिलेचाहिँ स्क्रिप्टमा बढी ध्यान दिइन्छ ? 

स्क्रिप्टले नै पूरा चलचित्रलाई डोर्‍याउने हो । स्क्रिप्ट जति सशक्त भयो, चलचित्र त्यति जीवन्त बन्ने हो । पहिले पूरा चलचित्रको बजेटमध्ये थोरै अंश स्क्रिप्टका लागि छुटाइन्थ्यो । यो मैले अनुभवका आधारमा भनिरहेको छु । किनभने मलाई पनि चलचित्रको स्क्रिप्ट लेख्ने अफर आउँछ । एक दिन एक जना निर्माताले मलाई बोलाएर ‘स्क्रिप्ट लेखिदिनुपर्‍यो’ भने । मैले ‘कस्तो कथामा चलचित्र बनाउन चाहनुभएको हो ?’ भनेर सोधें । उनले अलि हात फिँजाएर भने– ‘त्यो छ नि, सलमान खानको, वान्टेटजस्तो स्क्रिप्ट तयार पार्नुहोस् ।’ उनले स्क्रिप्टलाई २ लाख रुपैयाँ बजेट छुट्याएका रहेछन् । मैले सोझै त्यसलाई अस्वीकार गरें । यसबाट के थाहा हुन्छ भने चलचित्र निर्माताहरू नै स्क्रिप्टको महत्व बुझ्ने खालका छैनन् । 

प्रकाशित :फाल्गुन ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्