चितवनमा ज्योतिको धमाका

- विमल खतिवडा

फाल्गुन ५, २०७२-

औद्योगिक प्रदर्शन मैदान भरतपुरमा आयोजित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलामा दर्शकको भीड थियो । माघ २५ देखि चलेको मेलामा केही दिन गीत संगीतको मज्जाबाट दर्शकहरू वञ्चित रहे । कारण थियो पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन । बिहीबारदेखि भने दर्शकले कलाकारको उपस्थितिमा रमाउने अवसर पाए ।

सुरुका दिनमा स्थानीय कलाकारको नृत्य, गायन एवं प्रहसनमा रमाएका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने काम भने चर्चित कलाकारले गरे । 

निलम ढुंगानाको एक खुट्टाको नृत्यले दर्शकको मन जित्यो । कलाकार राजा राजेन्द्रले गीत, फेसबुक, नाकाबन्दी आदि विषयमा गरिएको ब्यंग्यले दर्शक एकोहोरो हांस्न बाध्य भए । श्रीमती अनिता तथा छोरा संगीतराजका साथ उपस्थित भएका गायक सत्यराजले आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकलाई भुलाउने काम गरे । उता गायक भुवन प्यासीको गीत तथा कलाकार किरण केसी र शिवहरि पौडेलले समसामयिक विषयमा प्रहसन प्रस्तुत गर्दै दर्शकलाई हाँस्न बाध्य पारे । 

तन्नेरी पुस्ताको रोजाइमा भने गायिका ज्योति मगर परिन् । चितवन उद्योग संघको आयोजनामा चलेको मेलाको प्रमुख आकर्षण ज्योति नै रहिन् । छोटो पहिरनमा मञ्चमा देखा परेकी ज्योतिलाई हेर्न र छुन युवादर्शकहरूबीच प्रतिस्पर्धा नै चल्यो । भीड नियन्त्रण गर्न प्रहरीले सहयोग गरेको थियो । उक्त अवसरमा ज्योतिले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकहरूलाई छमछमी नचाइन् । 

 

प्रकाशित :फाल्गुन ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्