भ्यालेन्टाइन डे मेकअप

- रोजिन शाक्य

माघ २९, २०७२

भ्यालेन्टाइन डेको विशेष अवसरमा विशेष एवं आकर्षक देखिन निम्न लुक्समा आफूलाई तयार पार्न सकिन्छ । 

स्ट्रबेरी भेनिला लुक 

यो लुक प्राप्त गर्न मनतातो पानीले मुहार सफा गरेपछि मुहारमा लाइट फाउन्डेसन वा लाइट क्रिम लगाउने । त्यसपछि ब्लसरले स्ट्रबेरी सेड्सलाई गालामा हल्का हात प्रयोग गरी फैलाउनुपर्छ । यो अवसरमा मुहारमा ब्राइट सेड्स नै प्रयोग गर्नु उपयुक्त हुन्छ । ओंंठलाई सुन्दर बनाउन लिपअनुसार लिप लाइनर प्रयोग गर्नुपर्छ । त्यसपछि बेबी पिंक सेड्सको लिप बाम लगाउनुपर्छ । यो विशेष दिनमा सेल्फीका लागि ओठको पाउट पोज दिनुछ भने ओठमा प्राइमरले टचअप गर्नु उपयुक्त हुन्छ । त्यसले लिपस्टिक बग्नबाट मात्र जोगाउने नभै ओठलाई समेत चहकिलो देखाउँछ । 

आई मेकअपका लागि भने यो अवसरमा सेतो र भेनिला रंगको पेस्टल सेड्स उपयुक्त हुन्छ । यो सेड्सलाई आँखाको भित्री रिममा गाजलसरह प्रयोग गर्नुपर्छ भने बाहिरी रिममा बेज कलर्स म्याच गर्छ । आँखाको माथिल्लो भागमा भने पहेंलो सेड प्रयोग गर्नुपर्छ । आइल्यासेजको प्रयोगपछि आँखालाई हाइलाइट गर्नुपर्छ । आँखाको सुन्दरता बढाउन ट्रान्सपरेन्ट मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । आफ्नो पहिरनअनुरूप आइलाइनर पनि प्रयोग गर्न सकिन्छ । 

रोमान्टिक भिन्टेज लुक

भ्यालेन्टाइन डेलाई रोमाञ्चक बनाउन भिन्टेज मेकअप गर्न सकिन्छ । यो लुकका लागि सर्वप्रथम लिक्विड फाउन्डेसनलाई स्पन्जको सहयोगले आफ्नो मुहारमा राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । त्यसपछि गालामा लाइट ब्राउन सेड लगाएर राम्रोसँग फैलाउनुपर्छ । भिन्टेज लुकका लागि डार्क सेड्स प्रयोग गर्नुपर्छ । भिन्टेज लुकमा ओठलाई सबैभन्दा बढी हाइलाइट गरिन्छ । यसका लागि ग्लसी पिंक लिपस्टिक प्रयोग गर्नुपर्छ । जसमा लिपग्लसले टचअप गर्नुपर्छ । आँखाको मेकअपका लागि आँखाको माथिल्लो भागमा हल्का बेज रंगको श्याडो प्रयोग गर्नुपर्छ । आँखाको आधा भागमा पहिलेको सेड्सभन्दा एक टोन गाढा सेड प्रयोग गरी सेट गर्नुपर्छ । त्यसपछि वाटरप्रुफ पेन्सिलले आउटलाइनिङ गर्नुपर्छ । अन्तमा मस्कारा प्रयोग गरी आर्टिफिसियल आइल्यासेज प्रयोग गर्न सकिन्छ । 

ग्लसी गोल्डेन लुक 

यो लुकका लागि मुहारलाई राम्रोसँग सफा गरेर मुहार सुहाउँदो फाउन्डेसन प्रयोग गर्नुपर्छ । स्पन्ज प्रयोग गरी फाउन्डेसनलाई मुहारमा राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । गालालाई हाइलाइट गर्न पिंक र गोल्डेन सेड्स सम्पूर्ण मुहारमा लगाउनुपर्छ । ओठलाई सुन्दर एवं आकर्षक देखाउन रातो रंगको सेड्स प्रयोग गर्नुपर्छ । यदि रातो रंगबाट बोर भइएछ भने सुन्तला रंगको सेड्स प्रयोग गर्न सकिन्छ । त्यसपछि ग्लसले ओठलाई टचअप गर्नुपर्छ । आँखाको हकमा यस्तो अवसरमा स्मोकी आइज उपयुक्त हुन्छ । यसले मुहारमा थप निखार ल्याउँछ । त्यसपछि आँखामा गोल्डन स्याडो प्रयोग गर्नुपर्छ । अन्तमा गाजल, मस्कारा तथा आइलाइनर प्रयोग गर्न सकिन्छ । 

एवरग्रिन पिंक लुक 

यस्तो लुक प्राप्त गर्न ब्लसरको सहयोगले हल्का पिंक सेड्स सम्पूर्ण मुहारमा प्रयोग गर्नुपर्छ । त्यसपछि गालामा एक टोन गाढा सेड प्रयोग गर्नुपर्छ । पिंक लुकमा डार्क पिंक सेड्स वा रेड लिपिस्टिक सुहाउन सक्छ । ओठमा लिपिस्टिकको स्थानमा बेबी पिंक कलरको लिप बाम वा ग्लस प्रयोग गरेर पनि आफ्नो व्यक्तित्वमा आकर्षण थप्न सकिन्छ । आँखाको हकमा सबैभन्दा पहिले एलो टोनको सेड आँखामा फैलाउनुपर्छ । त्यसपछि आँखाको आधा भागमा पिंक स्याडो लगाएर परेलामा गोल्डेन सेड्स प्रयोग गर्नुपर्छ । त्यसपछि गाजल लगाउन बिर्सनु हुँदैन । यस्तो अवसरमा आइलाइनरको पनि प्रयोग गर्न सकिन्छ भने मस्कारा ट्रान्सपरेन्ट नै हुनुपर्छ । 

यसबाहेक यस पटकको भ्यालेन्टाइन डेका अवसरमा अरेबियन ओवरल्यापिङ, पोनी विद फ्रेन्च नोट, साइड मेसी लुक, फिनिसिङ हेयरडु तथा स्टाइलिस हाई वान स्टाइलमा पनि आफूलाई सिँगार्न सकिन्छ ।

 

प्रकाशित :माघ २९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्