दुई वर्षपछि मात्र तिमीलाई आमा बनाउँछु है
माघ २९, २०७२
व्यवसायिक रूपमा सफल चलचित्र ‘लूट’ को निर्देशन गर्दै नेपाली चलचित्रमा प्रवेश गरेका निश्चल बस्नेत यतिबेला बहुचर्चित निर्देशकका रूपमा चिन्छिनन् । नेपाली चलचित्रलाई नयाँ धार प्रदान गर्ने श्रेय पाएका ३० वर्षीय निश्चल यतिबेला सर्वाधिक व्यस्त छन् । निश्चल यही फागुन ५ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । ‘होस्टल रिटन्र्स’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा पदार्पण गर्ने तीनकुने, काठमाडौंकी स्वस्तिमा खड्कासँग एरेन्ज म्यारिज गर्न लागेका निश्चल विवाहको ठीक एक साताअघि तीनकुनेस्थित रोयल ब्यांक्वेटको एउटा टेबलमा कसैको प्रतीक्षा गरिरहेका थिए । करिब आधा घण्टापछि सोही ब्यांक्वेटमा स्वस्तिमा निश्चल बसेको टेबलतर्फ अघि बढिन् । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा रेस्टुराँमा भेटघाट गर्ने प्रेमि–प्रेमिकाकै हाउभाउमा निश्चल र स्वस्तिमाले एक–अर्कालाई अंकमाल गरे । निश्चलले आफ्ना लागि ब्ल्याक टि अर्डर गरिसकेका थिए, स्वस्तिमाले पनि कालै चिया अर्डर गरिन् । त्यसपछि उनीहरूको रोमान्टिक वार्तालाप प्रारम्भ भयो । साप्ताहिकका संवाददाताले उनीहरूको रोमान्टिक वार्तालापलाई जस्ताको तस्तै प्रस्तुत गर्ने अवसर पाए ।
निश्चल : सधैं मैले डाइलग खाइरहने एक घन्टा कुराउनु भयो, डेढ घन्टा कुराउनु भयो भनेर । आज उल्टै मलाई कुराइदिने ?
स्वस्तिमा : बीस मिनेट त कुराएँ नि ।
निश्चल : ढिलो त ढिलै हो नि । १० मिनेट भए पनि, २० मिनेट भए पनि ।
स्वस्तिमा : आउनुभन्दा अघि फोन गर्नुपथ्र्यो नि त ।
निश्चल : मैले घरबाट हिँड्ने बेलामा फोन गर्दा भरखर उठ्दैछु भनेको होइन ? आफैं आउँछु, लिन आउनु पर्दैन भनेर पो म सोझै यहाँ आएको त ।
स्वस्तिमा : हिँडेर आउन समय लाग्यो नि ।
निश्चल : हस्....मान्नै पर्यो नि । मैले तिमीलाई माफ गरेँ ।
स्वस्तिमा : साँच्ची हाम्रो विवाह पो आउन लाग्यो होइन, के–के तयारी गर्नुभएको छ ?
निश्चल : तयारी....ओहो...तयारीका बारेमा सोध्दै नसोध । यो एक बारको विवाहमा त नमज्जाले व्यस्त भइने रहेछ ।
स्वस्तिमा : यसो हेर्दा त तपाईं त्यति व्यस्त हुनुहोला जस्तो लाग्दैन ?
निश्चल : किन न हुनु नि । म एकातिर दौडिरहेको छु । घरमा बुवा एकातिर, आमा एकातिर अनि बहिनी अर्को तिर दौडिरहेका छन् । यो विवाहमा पनि के–के कुरा चाहिने रहेछ यार ।
स्वस्तिमा : हो नि । मेरो घरमा पनि त्यस्तै चटारो छ । त्यही चटारोको बीचमा अहिले भेट्न बोलाउनुभयो ।
निश्चल : अनि विवाहमा मैले लगाउने सुट लिन तिमी पनि जाने भनेको होइन ? त्यसैले त आज बोलाएको नि । भोलिदेखि यसरी डेटिङ गर्न भ्याइएला जस्तो लाग्दैन ।
स्वस्तिमा : नाईँ...विवाहको एक दिन अघिसम्म पनि हामी भेटिरहनुपर्छ । विवाहभन्दा अघि भेटेको मज्जै बेग्लै हुन्छ ।
निश्चल : भेट्न त मज्जा हुन्छ नि तर विवाहको कार्ड पनि त बाँड्नु छ । बाजा बजाउने समूहलाई भेट्नुपर्छ ।
स्वस्तिमा : आहा कस्तो रमाइलो । विवाहमा जन्ती आउँदा ब्यान्ड बाजा लिएर आउने कि पञ्चे बाजा ?
निश्चल : पञ्जे बाजा नि....पाँपाँर पाँपाँर धुम....मैले पञ्चे बाजा बजाउने टोलीलाई खबर गरिसकेको छु ।
स्वस्तिमा : अनि दुलाहा राजा सुटमा सजिने कि दौरा सुरुवालमा नि ?
निश्चल : दौरा–सुरुवालमा नि । मैले अस्ति तिमीलाई दौरा–सुरुवालमा ट्रयाल गरेको फोटो पठाएको थिएँ त ।
स्वस्तिमा : त्यो त सेतो रंगको छ, ढाकाको चाहिँ लगाएर आउनु है । अँ...साँच्ची...बग्गीमा आउने कि कारमा ?
निश्चल : मलाई त घोडामा ढक ढक ढक...गर्दै आउन मन थियो नि तर त्यो दिन धेरैवटा विवाह परेकाले घोडा, बग्गी सबै प्याक भैसकेछन् । म त कारमै आउने हो...।
स्वस्तिमा : अनि जन्तीमा त टन्नै कलाकार आउनु हुन्छ होला होइन ?
निश्चल : कलाकार साथीहरूलाई निम्ता दिन्छु । धेरै जनाले चलचित्रको सुटिङ पर्छ भन्दै हुनुहुन्छ । तिमीलाई म स्वयं दुलाहा नै आए पुगेन, जन्तीमा को–को आउँछ भनेर पो सोध्छ यार ।
स्वस्तिमा : अनि तपाईं विवाहको दिनका लागि कत्तिको एक्साइटेड हुनुहुन्छ ?
निश्चल : म त एकदमै एक्साइटेड छु । डर पनि लागेको छ, बलीको बकरा बन्ने दिन पो हो त ?
स्वस्तिमा : बलीको बोका रे, किन त्यसो भनेको ?
निश्चल : होइन...मैले जोक गरेको । मलाई एउटा कुरा भन त, हाम्रो पहिलो भेट कहाँ भएको थियो, थाहा छ ?
स्वस्तिमा : ठ्याक्कै मिति त थाहा छैन तर अस्तिको असारको ४–५ गते हो । हजुरलाई सम्झना थियो ?
निश्चल : मलाई इन्गेज्मेन्टको डेट त सम्झना छैन, हाम्रो पहिलो भेटको डेट कसरी सम्झना गर्नु ? तर हामीले फेसबुकमा चाहिँ दुई तीन–वर्षअघिदेखि कुराकानी गरेका चाहिँ हौं ।
स्वस्तिमा : तपाईं त एक नम्बरको भुलक्कड भैहाल्नु भयो नि । विवाहपछि चाहिँ यस्तो भुलक्कड बानी त्याग्नुपर्छ है ।
निश्चल : मैले पहिलो पटक तिमीलाई खाजा खाने प्रस्ताव राख्दा स्वीकार गर्यौ हैन ?
स्वस्तिमा : मलाई भोक लागिरहेको थियो, तपाईंले खाजा खान जाउँ भन्नुभयो । मैले पनि हुन्छ भनेँ ।
निश्चल : हाम्रो विवाह त हाम्रो परिवारले पो निश्चित गरिदिनुभयो हैन ?
स्वस्तिमा : त्यही त । पहिलेदेखि नै चिनजान भए पनि हाम्रो विवाह त एरेञ्ज म्यारिज जस्तो पो हुने भयो ।
निश्चल : त्यही त । मलाई घरबाट तिमीलाई भेट कि भेट भन्ने दवाव आएपछि नै मैले तिमीप्रति इन्ट्रेष्ट देखाएको हो ।
स्वस्तिमा : तपाईं त कस्तो छुच्चो । त्यसो भए म तपाईंलाई मन पर्दिनथँे ?
निश्चल : मन त पथ्र्यो नि, तर त्यसरी घरबाटै विवाहको कुरा चल्ला भन्ने त मैले कल्पनासम्म गरेको थिइन् । काममा व्यस्त भएकाले अलि पछि नै विवाह गर्ने कि भन्ने लागेको हो । तर, जे भयो राम्रै भयो । हामी दुई जनाकै परिवारबाट विवाहको टुंगो लागेपछि नै हामीले राम्रोसँग भेट्न थालेको चाहिँ पक्का हो ।
स्वस्तिमा : तपाईं मलाई माग्न मेरो घर आएपछि चाहिँ हाम्रो नियमित भेट हुन थालेको हो नि ।
निश्चिल : मलाई चाहिँ हाम्रो पेसा, उमेर समूहका कारण हाम्रो विवाह होला कि नहोला जस्तो लागेको थियो । मलाई त तिमी अलि फुच्ची नै छौ जस्तो लागेको थियो । संगत गर्दै गएपछि तिमी मेरै हुन जन्मिएकी रहेछौं जस्तो लाग्यो ।
स्वस्तिमा : हो नि । म पनि तपाईंको कम्पनी इन्जोय गर्न थालेकी थिएँ । संगत गर्दै गएपछि मन पर्न थालेको हो ।
निश्चल : ल त्यसो भए मलाई एउटा कुरा बताउ त । तिमीलाई मेरो पाँचवटा मनपर्ने बानी के–के हुन् ?
स्वस्तिमा : पहिलो कुरा त मलाई धेरै माया गर्नुहुन्छ जस्तो लाग्छ ।
निश्चल : ए बाबा...विवाह हुन एक साता पनि बाँकी छैन, माया गर्नुहुन्छ होला जस्तो पो लाग्छ ?
स्वस्तिमा : होइन, होइन । मलाई धेरै माया गर्नुहुन्छ । अब चारवटा मनपर्ने बानी भन्छु है । दोस्रो बानी, झुटो बोल्नु हुन्न, जे हो त्यही भन्नु हुन्छ । तेस्रो जिम्मेवार हुनुहुन्छ ।
निश्चल : हुनेवाला श्रीमान्को जाबो पाँचवटा राम्रा बानी भन्न पनि कति गाह्रो परेको ?
स्वस्तिमा : पख्नु न, सबैभन्दा राम्रो बानीका बारेमा सोच्दैछु क्या । जे काम गर्नुहुन्छ, त्यसमा शतप्रतिशत एफर्ट लगाउनु हुन्छ ।
निश्चल : भनेपछि मैले राम्रा बानीको संख्या अझ बढाउनु पर्ने भएछ ।
स्वस्तिमा : अनि...के छ अरू ?
निश्चल : मेरो गुण मलाई नै कसरी थाहा हुन्छ ? ल अब मेरो नराम्रो बानी पनि भनी देउन न प्रिय ?
स्वस्तिमा : सबैभन्दा नराम्रो बानीचाहिँ चुरोट पिउने नै हो । अहिले म आउँदा पनि धुवाँ उडाएर बस्नु भएको थियो । दोस्रो कुरा रिसाएको बेला नबोल्ने बानी ।
निश्चल : अनि रिसाएको बेला कसरी बोल्नु त ? गाली गर्नु तिमीलाई ?
स्वस्तिमा : गाली गर्नु भनेको होइन, रिसाएको बेला बोल्दै बोल्नु हुन्न । के कुरामा रिसाएको हो भन्ने कुराचाहिँ मैले कसरी थाहा पाउनु ?
निश्चल : बच्चामा पढाइयो नै त्यही । झगडा भएका बेला मुखमा पानी हालेर बस्नु भन्ने पढिएको थियो । अहिले मुखमा पानी हाल्ने कुरा भएन, रिसाएको बेला मुखमा हावा भरेर बसेको नि ।
स्वस्तिमा : भनेको कुरा नगर्ने बानी पनि मन पर्दैन ।
निश्चल : के रे ? मैले कुन कुरा मानिन ? ए अस्ति एउटा बडी स्प्रे ल्याइदिन भनेको हो ?
स्वस्तिमा : त्यो त होइन । त्यति बेला बडी स्प्रे बजारमा नपाउने भएर ल्याइदिनु भनेको मात्र हो । ल अब मेरो राम्रो बानी भन्नु त ?
निश्चल : मलाई एकदमै माया गर्छौं । मान्छे हँसिली छौं । चुपचाप बसिरहने मानिसलाई पनि बोलौं–बोलौं बनाउँछौं । म अलि रिजर्भ मान्छेलाई सबैसँग घुलमिल हुने बनाइसकेकी छौं । जाँड–रक्सी नखाने, राति पार्टी नजाने बानी पनि मनपर्छ । कतै जाउँभन्दा सजिलै मान्छौं, त्यो बानी पनि मनपर्छ । तिमी व्यवहारिक पनि छौ । घरको काम पनि गर्छौं जस्तो लाग्छ ।
स्वस्तिमा : राम्रो बानी भन्न कति गाह्रो हुँदो रहेछ हैन ?
निश्चल : यति धेरै राम्रा बानी छन् कि कुन भनौं कुन भयो ?
स्वस्तिमा : व्यवहारिक चाहिँ कसरी छु जस्तो लाग्छ ?
निश्चल : स–साना काम पनि गर्ने । घरको काम गर्ने ?
स्वस्तिमा : म घरको धेरै काम त गर्दिन । हजुरलाई थाहा छ नि म घरको कुनै पनि काम गर्दिन ।
निश्चल : अस्ति तिम्रो घरमा आउँदा मलाई चिया पकाएर ख्वाएकी थियौं त ?
स्वस्तिमा : त्यो जाबो चिया बनाएर ख्वाउनु पनि घरको काम हो त ?
निश्चल : जाबो होइन, तिमी मेरो घरमा आउँदा त म त्यही चिया पकाएर पनि ख्वाउन सक्दिनँ । तिमीले नै पकाएर मलाई ख्वाउनुपर्छ ।
स्वस्तिमा : यति नै हो मेरो राम्रो बानी ?
निश्चल : ए ए...सम्झिएँ । केटी मान्छे भएर पनि तिमीले मलाई यो किन्देऊ, त्यो किन्देऊ भनेकी छैनौं । मलाई यो तिम्रो बानीचाहिँ असाध्यै मनपर्छ । मेरो पैसा जोगाइ रहेकी छौं । योचाहिँ मलाई असाध्यै मनपर्छ है ।
स्वस्तिमा : त्यो त विवाहपछिका लागि साँचेर राखेकी नि । हेर्दै जानु न विवाहपछि के–के किनाउँछु ।
निश्चल : यो त झेली कुरा भैहाल्यो नि । अहिले चाहिँ मैले यो किनिदिन्छु, उ किनिदिन्छु भन्दा पनि पर्दैन भन्छौ । विवाहपछिलाई पो साँचेर राखेको ?
स्वस्तिमा : ल भयो । विवाहपछि पनि किनिदिनु भन्दिनँ । अब मेरो नराम्रो बानी भन्नु त ।
निश्चल : नराम्रो बानी ? सनक्क सन्किएर झनक्क भैहाल्छौ । झनक्क रिस उठ्छ तिमीलाई । सानो कुरामै फायर भैहाल्छौ । अर्को एउटा बानी छ, त्यसलाई राम्रो भन्ने कि नराम्रो म कन्फ्युज छु ।
स्वस्तिमा : कस्तो बानी हो त्योचाहिँ ?
निश्चल : अहिले म यो चिया खाइरहेको छु नि, मैले कति मीठो चिया रहेछ भने भनेँ ‘योभन्दा त म नै मीठो चिया बनाउँछु’ भन्छौ, हो कि होइन ?
स्वस्तिमा : त्यो त हो नि । योभन्दा मीठो चियो त म आफैं बनाउँछु नि ।
निश्चल : धेरैजसो खानेकुरालाई चाहिँ तिमी त्योभन्दा म मिठो बनाउँछु भन्छौ, तर ती चिजचाहिँ बनाएर ख्वाएकी छैनौ । अर्को कुरा, तिमीलाई मन परेको कुरामा आपत्ति जनायो भने रिसाइहाल्छौं ।
स्वस्तिमा : त्यो त मानवीय स्वभाव नै हो नि । आफूलाई मन परेको कुरामा आपत्ति जनाउँदा त जसलाई पनि रिस उठ्छ नि । मलाई एउटा कुरा भन्नु त, विवाहपछि हाम्रो प्लान के छ ?
निश्चल : विवाहपछि हनिमुन जाने ।
स्वस्तिमा : हनिमुनका लागि पोखराचाहिँ नजाने है । त्यहाँ गएपछि तपाईं चलचित्रकै काममा व्यस्त हुनुहुन्छ भन्ने मलाई थाहा छ ।
निश्चल : ठीकै छ, दमौलीसम्म पुगेर फर्कौंला नि त । तिमी अहिलेसम्म पोखरा गएकै छैनौ । झन् बूढाबुढीसँगै पोखरा जाउँला, हनिमुन मनाउला भनेको त ?
स्वस्तिमा : त्यो त हनिमुन नै भएन नि । त्यत्तिकै घुम्न गए जस्तो पो भयो त ? हनिमुनचाहिँ कहाँ जाने भन्नु न ?
निश्चल : मैले लाने हो र ? त्यो त हामी दुवै जना सल्लाह गरेर फिक्स गरौंला नि, हुन्न ?
स्वस्तिमा : तै पनि कहाँ लाने मन छ ?
निश्चल : मलाई जान मन लागेको ठाउँ त अस्ट्रेलिया हो । पहिले मजदुरका रूपमा अस्ट्ेरलिया गएको थिएँ, अब चट्ट श्रीमतीसहित नेपाली चलचित्रको निर्देशकका रूपमा जाने नि । त्यहाँ थुप्रै साथीभाइ पनि हुनुहुन्छ, घुम्न पनि हुन्छ, हनिमुन पनि हुन्छ ।
स्वस्तिमा : विवाहपछिका अरू योजना के–के छन् ?
निश्चल : विवाहपछि चलचित्र निर्देशनलाई कन्टिन्युटी दिने । तिम्रो पढाइलाई अघि बढाउने । भविष्यमा कुनै दिन तिमीलाई नायिका बनाएर चलचित्र निर्देशन गर्ने धोको पनि छ । मैले लेखेको कुन चाहिँ स्क्रिप्ट तिमीलाई फिट हुन्छ भन्ने कुरा सोच्न थालेको छु । केही वर्षपछि यो धोको पनि पूरा गर्नेछु ।
स्वस्तिमा : विवाहपछि मैले चलचित्रमा अभिनय गर्ने कि नगर्ने ?
निश्चल : गर्ने नि ? किन नगर्ने । अबको केही वर्ष तिमीले टिनएजर्सहरूको विषयमा आधारित चलचित्रमा काम गर्नु उपयुक्त हुन्छ । केही वर्ष अभिनय गरेर परिपक्व भएपछि बल्ल म तिमीलाई लिएर चलचित्र निर्देशन गर्छु ।
स्वस्तिमा : त्यसका लागि धन्यवाद तर तपाईंको घरमा बुवा–आमालाई आपत्ति हुने हो कि ?
निश्चल : आमाले त बुहारीले चलचित्रमा काम गर्छे कि गर्दिन भनेर सोध्न थालिसक्नु भयो । मैले त गर्छे नि, किन गर्दिन भनेको छु ।
स्वस्तिमा : आमाले अरू के–के भन्नुहुन्छ मेरो करियरका बारेमा ?
निश्चल : बुहारीले नायिकाका रूपमा कुनै अर्कै नायकसँग अंगालो मारेको कसरी हेर्नु, बरु तैंले बनाएको चलचित्रमा मात्र अभिनय गराउँदा हुँदैन भन्नु हुन्छ नि ।
स्वस्तिमा : ला...हो र ? अनि तपाईंले के भन्नुभयो ?
निश्चल : तिमी जुन युनिटमा गए पनि त्यहाँ मेरा साथीभाइ नै हुन्छन्, त्यस्तो कुनै समस्या पर्दैन भनेको छु ।
स्वस्तिमा : अनि बुवाले के भन्नुहुन्छ ?
निश्चल : बुवाले ? उहाँले त के भन्नु ? मलाई नै तैंले कस्तो हावादारी चलचित्र बनाएको भन्नुहुन्छ तर पछिल्ला केही चलचित्र हेरेपछि चाहिँ मेरो कामको प्रशंसा पनि गर्न थाल्नुभएको छ । तिम्रा बारेमा चाहिँ केही सोध्नु भएको छैन । बरु अचेल बुवाले ‘तैंले बनाउने चलचित्रमा मैले पनि लगानी गर्नुपर्छ कि क्या हो’ भन्न थाल्नुभएको छ ।
स्वस्तिमा : विवाहपछि मबाट के–के कुरा एक्स्पेक्ट गर्नुभएको छ ?
निश्चिल : मैले धेरै कुरा केही एक्स्पेक्ट गरेको छैन । हामी दुई जना कसरी सुखी हुन्छौं, कसरी खुसी हुन्छौं भन्ने कुरा महत्वपूर्ण हो । आमाले चाहिँ अब तैंले घरकै भात खाने भइस् भनेर जिस्काउनु हुन्छ ?
स्वस्तिमा : किन नि, घरमा भात खानु हुन्न र ?
निश्चल : मलाई घरमा पकाएको भात मिठै लाग्दैन ।
स्वस्तिमा : मलाई पनि मीठो खाना बनाउन त कहाँ आउँछ र ?
निश्चल : मीठो होला कि भन्ने आशा त छ नि अहिलेसम्म, अहिलेसम्म तिमीले बनाएको खाना चाख्न त पाएको छैन ।
स्वस्तिमा : त्यसो भए दिनमा एक पटक खाना पकाउनु पर्ने भयो । म आजैदेखि खाना बनाउन सिक्छु ल ।
निश्चल : तिमीले चाहिँ विवाहपछि मबाट के एक्स्पेक्ट गरेकी छौं नि ?
स्वस्तिमा : मैले पनि धेरै कुराको एक्सपेक्ट गरेकी छैन । श्रीमान्का रूपमा हजुरसँग एउटा राम्रो कपलका रूपमा बस्न पाउने आशा गरेकी छु । मलाई घरको धेरै काम गर्न आउँदैन, त्यसैले विवाहपछि मलाई घरको धेरै काम अराउनु हुने छैन भन्ने एक्स्पेक्ट गरेकी छु । म अलि अल्छी छु भन्ने कुरा हजुरलाई थाहा छ नि
निश्चल : विवाहपछिको एउटा कुरा सोध्छु ल ? म कति वर्षपछि बुवा बन्ने हो ?
स्वस्तिमा : हजुरले चाहिँ यस विषयमा के सोच्नु भएको छ, भन्नु त ?
निश्चल : मेरो विचारमा त दुई वर्षपछि योजना बनाउनु पर्ला, कि कसो ? तिम्रो विचार के छ ?
स्वस्तिमा : म त चार वर्षपछि मात्र आमा बन्ने ?
निश्चल : एउटा सन्तानको आमा बन्ने कि दुई वटा ?
स्वस्तिमा : कम्तीमा दुई वटा त चाहियो नि, होइन र ?
निश्चल : छोरा कि छोरी ?
स्वस्तिमा : पहिले छोरा अनि छोरी । हजुरलाई पनि पहिले छोरा नै जन्मियोस् भन्न लागेको छ हैन ?
निश्चल : छोरा भए पनि, छोरी भए पनि आफ्नै सन्तान हो । राम्रो सन्तान जन्मिओस्, जन्मिएर, हुर्किएर एउटा बाटो समातेको हेर्न पाउँ भन्ने चाहिँ लागि हाल्छ । छोरा अथवा छोरी जे भए पनि उसँग साथीको जस्तो व्यवहार गर्न पाइयोस् ।
स्वस्तिमा : मैले त अस्तिसम्म पनि सन्तानका बारेमा सोचेकी थिइन् । अहिले आएरचाहिँ तपाईं पनि घरको एक्लो छोरा भएकाले पहिलो सन्तान छोरा नै होस् जस्तो लाग्नथालेको छ ।
निश्चल : कहाँ अहिलेदेखि छोरा–छोरीको कुरा गरिरहेको ? पर्सि आइतबार त भ्यालेन्टाइन्स डे पो हो, कसरी मनाउने योजना बनाएकी छौं ?
स्वस्तिमा : योजना ? मैले त त्यही दिन हाम्रो विवाह परोस् भन्ने चाहेकी थिएँ, त्यो दिन साइत नै रहेनछ । विवाह आउन चार दिनमात्र बाँकी हुन्छ, खै कसरी मनाउने होला ? साँझ कतै भेटेर केही समय बिताउनु पर्ला है ।
निश्चल : हो हो...त्यो दिन भेटेर यसो तिमीलाई मीठो–मीठो कुरा ख्वाउनु पर्ला । ल हेर..मेरो फोन आयो । सुट तयार भयो रे । तिमी पनि मसँग जाने भनेको होइन, ल हिँड जाउँ ।
स्वस्तिमा : ल...ल, आज त दिनभरि तपाईंसँगै घुम्न पाउने भएँ ।
प्रकाशित :माघ २९, २०७२




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्