Teej banner

भारतीय दाबी, पूर्ण तयारी

- साप्ताहिक संवाददाता

माघ ११, २०७२

दक्षिण एसियाली खेलकुदको इतिहास पल्टाउने हो भने एउटा साझा तथ्य बाहिर आउँछ र त्यो हो, खराब व्यवस्थापन । भारतका दुई उत्तर–पूर्वी सहर गुवाहाटी र सिलोङले यसपल्ट १२ औं दक्षिण एसियाली खेलकुदको आयोजना गर्दैछन् र आयोजकको दाबी मान्ने हो भने यसपल्ट त्यस्तो खराव व्यवस्थापनको झलक देख्न पाइने छैन । यसपटक पूर्ण तयारी भएको छ । 

प्रतियोगिताको आयोजकका तर्फबाट यसमा सहभागी हुने अरू सात दक्षिण एसियाली देशमा उच्च पदाधिकारीसहितको भारतीय प्रतिनिधि मण्डलले भ्रमण गरेको थियो । यसक्रममा एउटा समूह काठमाडौं पनि आएको थियो र उक्त प्रतिनिधि मण्डलले नेपाललाई प्रतियोगितामा सहभागिताका लागि आधिकारिक रूपमा निम्तो मात्र दिएन्, सबै खालको व्यवस्थामा उच्च सतर्कता अपनाइएको हुँदा पाहुनाका रूपमा ढुक्क हुन विश्वास समेत दिलायो । 

आयोजकको दाबी थियो, दक्षिण एसियाली देशलाई एक स्थानमा आएर काम गर्न जुन मित्रता, विश्वास र समझदारीको आवश्यकता छ, त्यसको आधार तयार पार्ने काम यही दक्षिण एसियाली खेलकुदले गर्नेछ । यो क्षेत्रमा बन्धुत्वको भावना बढाउने उद्देश्यका लागि सबैभन्दा ठूलो भूमिका खेल्ने यही दक्षिण एसियाली खेलकुद नै हो । त्यसैले यो अवसरबाट सबैले फाइदा उठाऔं । 

प्रतियोगिताको उद्घाटन पनि दुई अवसरमा हुनेछ । फेब्रुअरी ५ मा असमको गुवाहाटीमा पहिलो औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ भने त्यसको भोलिपल्ट फेब्रुअरी ६ मा मेघालयको सिलोङमा अर्को चरणको उद्घाटन समारोह हुनेछ । दक्षिण एसियाली खेलकुद पहिलो पल्ट दुई फरक सहरमा सञ्चालन हुन लागेको हो । 

कुल २३ खेल २ सय २८ स्पर्धा

आयोजकका तर्फबाट पहिलो पल्ट २३ खेलमा २ सय २८ स्पर्धा समावेश गरिएको घोषणा भएको छ । यी स्पर्धामा २ सय २८ स्वर्ण, २ सय २८ रजत तथा ३ सय ८ कांस्यका लागि चर्को प्रतिस्पर्धा चल्नेछ । प्रतियोगितामा कुल १ हजार ५ सय ५ पुरुष खेलाडी तथा १ हजार १ सय ६७ महिला खेलाडीको सहभागिता रहनेछ । यस आधारमा यसपल्टको दक्षिण एसियाली खेलकुद अहिलेसम्मकै सबैभन्दा बृहत् हुनेछ । 

सहभागी टिममध्ये भारत सबैभन्दा ठूलो हुनेछ । उसले सबै २३ खेलमा भाग लिनेछ । उसका २ सय ७५ पुरुष तथा २ सय ४४ महिला खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । यस्तै सबै खेलमा भाग लिने अन्य देशमा श्रीलंका र नेपाल छन् । श्रीलंकाका तर्फबाट २ सय ५७ पुरुष तथा २ सय २७ महिलाले प्रतिनिधित्व गर्नेछन् । नेपालका तर्फबाट २ सय ११ पुरुष तथा १ सय ८७ महिला खेलाडीको सहभागिता रहनेछ ।

यस्तोमा नेपाल प्रतियोगितामा सहभागी हुने तेस्रो ठूलो टिम हुनेछ । नेपालपछि चौथो ठूलो टिम बंगलादेशको हुनेछ भने त्यसपछि पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स छन् । सबैभन्दा सानो टिम भुटानको हुनेछ । भुटानका ५९ खेलाडीले पुरुषतर्फ नौ खेलमा सहभागिता जनाउने छन् भने महिलातर्फ छ खेलमा २८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

लोगो र मस्कट

प्रतियोगिताका लागि तयार लोगोले दक्षिण एसियाली क्षेत्रको शान्ति, विकास एवं समृद्धिको प्रतिनिधित्व गर्नेछ । यसमा बाहिरतर्फ निस्किएका आठ भाग छन्, जसका प्रत्येक भागले दक्षिण एसियाका आठ देशको प्रतिनिधित्व गर्छन् । प्रत्येक भाग सम्बन्धित देशको झण्डाको रंगअनुसार तयार पारिएको छ । प्रतियोगिताको मस्कट भने एक सिंगे गैंडा हो र जसको नाम तिखोर छ । 

यो एकसिंगे गैंडाको स्वभाव तिखो, चञ्चल, आधुनिक र खेलकुदमय भएको बताइन्छ । प्रतियोगिताको आधिकारिक गीतका रूपमा यो क्षेत्रका प्रख्यात गायक भुपेन हजारिकाको त्यो गीत छानिएको छ, जसले भन्छ, ‘ई पृथ्वी एकोन क्रिरागन’ । यो गीतलाई दक्षिण एसियाका आठै मुलुकका राष्ट्रिय भाषामा पनि रूपान्तर गरेर बजाइनेछ । 

 

प्रकाशित :माघ ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्