मेरो सांगीतिक व्यस्तता बढेको छ

- साप्ताहिक संवाददाता

माघ ११, २०७२

प्रशंसा श्रेष्ठ, गायिका

  

सांगीतिक व्यस्तता कस्तो छ ? 

दोस्रो एकल एल्बम ‘भाम्पायर’ सार्वजनिक भएदेखि सांगीतिक व्यस्तता बढेको छ । यो एल्बमका केही गीत लोकप्रिय भएपछि कन्सर्टमा समेत व्यस्त हुन थालेकी छु । 

एल्बमका कुन कुन गीत लोकप्रिय भए ?

 ‘करेन्ट लाग्ला....’ शीर्षकको गीत अत्यधिक लोकप्रिय भएको छ । दर्शक तथा श्रोताले मलाई अचेल ‘करेन्ट लाग्लाकी गायिका’ का रूपमा चिन्न थाल्नुभएको छ । ‘तिमी तिमी छौ’ तथा ‘बन्द आँखामा’ गीत पनि मन पराइएको छ । 

‘करेन्ट लाग्ला...’ को भिडियोमा आफैंले नृत्य गर्नु भएछ नि ? 

सांगीतिक बजारमा अहिले स्टेजमा राम्रो प्रस्तुति दिन सक्ने गायक–गायिकाको डिमान्ड छ । म आफैं पनि स्टेजमा राम्रो प्रस्तुत दिने प्रयास गर्छु । कन्सर्टलाई सहयोग पुग्छ भनेर पनि प्रसन्न पौडेलद्वारा निर्देशित यो भिडियोमा आफैंले नृत्य गरेकी हुँ । 

संगीतमा सक्रिय भएको कति भयो ? 

करिब ६ वर्षदेखि सांगीतिक क्षेत्रमा छु । संगीतकर्मी संगीता राना प्रधानसँग संगीतको औपचारिक प्रशिक्षण लिएर म यो क्षेत्रमा आएकी हुँ । अहिले पनि गायक तथा संगीतकार उदय सोताङसंग संगीतको प्रशिक्षण लिइरहेकी छु । 

अहिलेसम्म कतिवटा गीत गाइयो ? 

रेकर्डिङ नै गरेका गीतको संख्या दुई दर्जनभन्दा बढी छ । पहिलो एल्बम ‘प्रशंसा : द म्युजिकल जर्नी’ देखि ‘भ्याम्पायर’ सम्म आइपुग्दा विभिन्न कलेक्सन एल्बममा पनि स्वर दिएकी छु । 

प्रशंसाका लागि संगीत करियर कि सौख ? 

संगीत मेरा लागि करियर बनिसकेको छ । म अधिकांश समय सांगीतिक वातावरणमै हुन्छु । प्रत्येक बुधबारदेखि शनिबारसम्म साँझ साढे सातबजेपछि उदय–मनिला सोताङसँग दरबारमार्गको ‘मधुशाला’ मा गीत–संगीत प्रस्तुत गरिरहेकी छु । 

कन्सर्ट तथा चलचित्रको पाश्र्व गायनको अवस्था कस्तो छ ? 

विगतका वर्षको तुलनामा अहिले कन्सर्ट कम भैरहेका छन् । काठमाडौंमा आयोजना हुने कन्सर्टमा सहभागिता जनाइरहेकी छु । हप्ताको चार दिन लाइभ कन्सर्टमै व्यस्त हुने भएकाले काठमाडौंबाहिरको कन्सर्टमा सहभागिता जनाउन भ्याएकी छैन । चलचित्रको पाश्र्व गायनमा भने अहिलेसम्म मौका पाएकी छैन । मौका पाएँ भने पाश्र्व गायनमा पनि सक्रिय हुनेछु । 

प्रकाशित :माघ ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्