भित्री पहिरनको फेसन

- युवराज गौतम

माघ १०, २०७२

जाडो मौसममा कस्तो भित्री वस्त्र लगाउने भन्ने चिन्ता सबैलाई हुन्छ । त्यसमाथि फेसनेबल र स्टाइलिस भित्री पहिरन रोज्ने युवाहरू धेरै छन् । बजारमा चल्तीमा आएका भित्री कपडाले व्यक्तित्व झल्काउने मात्र होइन, स्मार्ट पनि देखाउँछन् । यस्ता कपडा लगाउनु भनेको जाडोबाट जोगिनु मात्र होइन, फेसनमा रमाउनु पनि हो । भित्री कपडा न्यानो र कसिलो भयो भने बाहिरबाट उकुसमुकुस हुने गरी बाक्लो स्विटर वा ज्याकेटहरू लगाइरहनु पर्दैन । हल्का र छरितो कपडा बाहिरबाट लगाउँदा हिंडडुल गर्न सहज हुन्छ । 

नेपाली बजारमा धेरै किसिमका भित्री पहिरन उपलब्ध छन् । जाडो मौसम सुरु हुनासाथ यस्ता कपडाको माग बढ्छ । ठूला व्यापारिक मल वा कम्प्लेक्सहरूमा ब्रान्डेड भित्री पहिरनका छुट्टै पसलहरू सञ्चालित छन् । थर्मल (थर्मकोट), मोजा, हाइनेक, स्टकिङ, नाइट गाउन साथै इनरवेयरजस्ता पहिरन जाडोमा धेरै बिक्री हुन्छन् । पसिना नगन्हाउने तथा एलर्जीको समस्या नहुने भएकाले फेसनेबल पुस्ताले ब्रान्डेड पहिरन बढी रुचाउने व्यवसायीहरू बताउँछन् । 

नेपाली बजारमा यस्ता कपडा बढी मात्रामा भारत, चीन तथा थाइल्यान्डबाट आउने गरेका छन्, जसमध्ये चीनमा उत्पादित कपडा बढी बिक्री हुने सोर्‍हखुट्टेका विक्रेता महेश गौतम बताउँछन् । गौतमका अनुसार चीनबाट ६ सय ५० मा आउने भित्री कपडा जाडो मौसममा १५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । यता फुटपाथमा पाइने भित्री कपडा रुचाउनेहरूको संख्या पनि उत्तिकै छ । 

थर्मल

बजारमा उपलब्ध थर्मल जाडो मौसममा धेरै बिक्री हुने पहिरन हो । बजारमा पाइने जक्की, डलर, अमूल, रोबर आदि ब्रान्डका यस्ता पहिरन लगाउन सजिला तथा न्याना हुन्छन् । महिलाहरूका लागि रातो, गुलाबी र प्याजीका साथै पुरुषहरूका लागि खैरो, कालो र सेतो रंग बढी बिक्री हुन्छ । थर्मलको सेटलाई न्यूनतम १ हजारदेखि १ हजार ८ सय रुपैयाँसम्म पर्छ । 

स्टकिङ

महिलाहरू जाडो महिनामा विशेष गरी स्टकिङ किन्न रुचाउँछन् । सजिलो र न्यानो भएकाले स्टकिङ लगाउने युवतीहरूको संख्या बढी छ । कतिपय व्यापारी स्टकिङको बजार जाडोमा ५० प्रतिशतले बढेको बताउँछन् । स्टकिङ जाडोमा न्यानो हुने मात्र नभै फेसनेबलसमेत देखिन्छ । यो लङबुट, लङ्गहाइनेक र कोटसँग म्याच हुन्छ । आकर्षक डिजाइनका स्टकिङ बजारमा ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ । 

हाइनेक

हुनत बाहिरै लगाउन मिल्ने हाइनेकहरू पनि बजारमा उपलब्ध छन् । यद्यपि भित्र लगाउन मिल्ने र न्यानो हाइनेक पनि जाडो मौसममा सबैको रोजाइमा पर्छ । चीन तथा भारतबाट आयात गरिएका हाइनेकहरू सस्ता र न्याना हुन्छन् । फुटपाथमा पनि राम्रा हाइनेकहरू पाइन्छन् । सामान्य हाइनेकको मूल्य ५ सय रुपैयाँभन्दा माथि पर्छ । 

जाडो महिनामा इनरवेयर पनि धेरैको रोजाइमा पर्छन् । जक्की, अमुल, रोबर, भिक्टोरिक आदि ब्रान्डका इनरवेयर बजारमा उपलब्ध छन् । स्टाइलिस र रङ्गीविरङ्गी कलर महिलाहरूले रोज्छन् भने पुरुषहरू ब्रान्डलाई प्राथमिकता दिन्छन् । त्यसबाहेक पेन्टी, ब्रा, गन्जी तथा मोजाहरू पनि जाडोका लागि फरक डिजाइनमा उपलब्ध छन् । भित्र लगाइने ट्राउजरहरू विभिन्न डिजाइनमा पाइन्छन् । काठमाडौंका दरबारमार्ग, ठमेल, न्यूरोड तथा विभिन्न व्यापारिक मलमा यस्ता ब्रान्डेड पहिरनका छुट्टै पसल खुलेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका यस्ता पहिरप्रति युवाहरूको आकर्षण बढ्न थालेको छ । 

प्रकाशित :माघ १०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्