कृषि विकास बैंकले माग्यो २ सय ९८ कर्मचारी

- साप्ताहिक संवाददाता

माघ १, २०७२-

कृषि विकास बैंकले चौथो तथा पाँचौं तहका लागि २ सय ९८ सिटमा जागिरका लागि आवेदन माग गरेको छ । सूचना प्रकाशित गरेर बैंकले उक्त आवेदन माग गरेको हो । 

कृषि विकास बैंकले प्रशासन सेवाअन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रथम श्रेणीमा ४० जना, लेखापाल सहायकस्तर द्वितीय श्रेणी तह ४ मा २ सय ५८ जना स्थायी पदपूर्ति गर्न लागेको हो जसमा द्वितीय श्रेणी तह ४ मा क्षेत्रीय कार्यालय काठमाडौंका लागि १ सय १४ जना, विराटनगरका लागि ७३ जना तथा नेपालगन्जका लागि ७१ जनाको पदपूर्ति गर्ने भएको छ ।

व्यवसाय सहायक स्तरको पाँचौं तहका लागि ४० जनाको पदपूर्तिका लागि आवेदन माग गरिएको छ जसमा खुला २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ तथा पिछडिएको क्षेत्रबाट १ जनाका लागि आवेदन खोलिएको हो । यो तहमा आवेदन दिन व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ अथवा मानविकी संकाय पढ्नेले अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने आधारभूत कम्प्युटर तालिम पनि लिएको हुनुपर्नेछ । 

यसैगरी लेखापाल सहायक स्तर द्वितीय श्रेणीका लागि २ सय ५८ जना माग गरिएको छ । जसका लागि व्यवस्थापन संकायमा प्रमाणपत्र वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गर्नुका साथै आधारभूत कम्प्युटर तालिम पनि लिएको हुनुपर्नेछ । तह ५ को लिखित परीक्षा काठमाडौंमा हुनेछ । आउँदो चैत ६ गते प्रथम पत्रको परीक्षा बिहान १० बजेदेखि तथा द्वितीय पत्रको २ बजेदेखि हुने बताएको छ ।

तह ४ को भने विराटनगर, काठमाडौं र नेपालगन्ज परीक्षा केन्द्रमा परीक्षा हुनेछ । आगामी फागुन २९ गते प्रथम पत्रको परीक्षा बिहान १० बजेदेखि तथा द्वितीय पत्रको परीक्षा २ बजेदेखि हुने बैंकले बताएको छ ।

यी पदमा दरखास्त दिनेहरूले परीक्षा दस्तुर ४ सय रुपैयाँ बुझाउनुपर्नेछ । एकभन्दा बढी समूहमा सम्मिलित हुन चाहनेहरूले प्रत्येक समूहका लागि २ सय ५० रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ । समावेशीतर्फ फारम भर्ने उम्मेदवारहरूले आदिवासी र जनजाति, मधेसी दलित अपाङ्गता भएको तथा पिछडिएको क्षेत्रको सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने बैंकले जनाएको छ । 

सबै पदका लागि आवेदन दिन माघ १६ गते सम्मको समय तोकिएको छ । दोब्बर दस्तुर तिरेर २३ माघसम्म दरखास्त दिने पाइनेछ । दरखास्त काठमाडौंमा बैंकको मुख्य कार्यालय, क्षेत्रीय कार्यालय विराटनगर, क्षेत्रीय कार्यलय काठमाडौं तथा क्षेत्रीय कार्यालय नेपालगन्जमा बुझाउन सकिनेछ । थप जानकारी बैंकको वेवसाइट धधध।बमद।िनयख।लउर मा बुझ्न सकिन्छ । 

 

प्रकाशित :माघ १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्