हलिउडमा २०१६ को सम्भावना

- एजेन्सी

पुस २२, २०७२-
वर्ष २०१६ मा हलिउडमा दर्जनौं चलचित्र प्रदर्शन हुँदैछन् । त्यसरी प्रदर्शन हुने चलचित्रमध्ये निर्देशक, ब्यानर, कलाकार तथा बजेटका कारण केही चलचित्रलाई दर्शकले प्रतीक्षाको सूचीमा राखेका छन् । २०१६ मा प्रदर्शन हुने सम्भावना बोकेका केही चलचित्र : 

कुङ फु पाण्डा ३
निर्देशक : जेनिफर यूह नेल्सन तथा अलेसान्द्रो चार्लोनी 
कलाकार : ज्याक ब्ल्याक, एन्जेलिन जोली, डस्टिन होफम्यान, ज्याकी च्यान, सेथ रोजेन, लुसी लिउ, डेभिड क्रस आदि । 
प्रदर्शन मिति : जनवरी २९ 
यो थ्रीडी चलचित्रलाई कम्प्युटर एनिमेटेड एक्सन कमेडी मार्सल आर्ट्स चलचित्रका रूपमा प्रचार गरिएको छ । यो अमेरिकी–चाइनिज चलचित्र हो । सन् २०११ मा प्रदर्शनमा आएको ‘कुङ फू पाण्डा–२’ को यो सिक्वेलमा हलिउडका लोकप्रिय कलाकारको आवाजमा एनिमेटेड चरित्रलाई प्रस्तुत गरिएको छ । 

डेडपूल 
निर्देशक :
टिम मिलर 
कलाकार : रायन रेनोल्ड्स, मोरेना बाकारिन, एड स्क्रेइन, जिना कारानो तथा ब्रियाना हिल्डेब्रान्ड । 
प्रदर्शन मिति : फेबु्रअरी १२ 
यो पनि एउटा अमेरिकी सुपरहिरो चलचित्र हो, जुन मार्भल कमिक्समा आधारित छ । कमिक्सका पात्र डेडपूलमै आधारित यो चलचित्र ‘एक्स–मेन’ श्रृंखलाको आठौं श्रृंखला हो । 

ब्याटम्यान भर्सेस सुपर म्यान : डाउन अफ जस्टिस 
निर्देशक :
ज्याक सिन्डर
कलाकार : बेन एफ्लेक, हेन्सी काभिल, एमी एडम्स, जेसी इसेनबर्ग, डायना लेन आदि ।
प्रदर्शन मिति : मार्च २६ 
‘ब्याटम्यान भर्सेस सुपरम्यान’ पनि अमेरिकी सुपरहिरो चलचित्र हो । यो चलचित्रमा डिसी कमिक्सका पात्रहरू ब्याटम्यान तथा सुपरम्यानलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । सन् २०१३ मा प्रदर्शनमा आएको ‘म्यान अफ स्टिल’ को विस्तारितरूप भनिएको यो चलचित्रलाई ब्याटम्यान तथा सुपरम्यानको लाइभ–एक्सन समावेश गरिएको पहिलो चलचित्रका रूपमा प्रचार गरिएको छ । 

क्याप्टेन अमेरिका : सिभिल वार 
निर्देशक :
एन्थोनी रुस्सो तथा जोय रुस्सो 
कलाकार : क्रिस इभान्स, रोबर्ट डोनी जुनियर, स्कार्लेट जोहन्सन, सेबास्टियन स्टन, एन्थोनी मार्की आदि ।
प्रदर्शन मिति : मे ६ 
हलिउडको यो सुपरहिरो चलचित्रमा मार्भल कमिक्सको पात्र क्याप्टेन अमेरिकालाई चित्रण गरिएको छ । मार्भल स्टुडियोको यो चलचित्रलाई वाल्ट डिज्नीले विश्वव्यापी वितरण गर्दैछ । यसअघि प्रदर्शन भैसकेका ‘क्याप्टेन अमेरिका : द फस्र्ट एभेन्जर’ तथा ‘क्याप्टेन अमेरिका : द विन्टर सोल्जर’ पछि यो तेस्रो सिक्वेल हो । यो चलचित्रमा अघिल्ला दुई चलचित्रमा झैं क्याप्टेन अमेरिकाले विश्वलाई नै सुरक्षित बनाउने अभियानलाई अघि बढाउने छन् ।

एक्स–मेन : एपोकलिप्स 
निर्देशक :
ब्रायन सिंगर 
कलाकार : जेम्स म्याकएभोए, माइकल फासबेन्डर, जेनिफर लरेन्स, ओस्का इसाक, निकोलस हल्ट, रोज ब्रायन आदि ।
प्रदर्शन मिति : मे २७ 
सुपरहिरोका चलचित्रहरूको दौडमा ‘एक्स—म्यान: एपोकलिप्स’ पनि थपिएको छ । चलचित्रमा मार्भल कमिक्सका लोकप्रिय पात्रहरूमध्येका एक्स–मेनको चरित्र प्रस्तुत गरिएको छ । सन् २०१४ मा प्रदर्शन भएको ‘एक्स–मेन : डेज अफ फ्युचर पाष्ट’ को सिक्वेल तथा ‘एक्स—मेन’ श्रृंखलाको यो नवौं चलचित्र हो । यो चलचित्रमा नयाँ विश्वको कल्पना गरिएको छ ।
 
नाउ यू सि मि २
निर्देशक :
जोन एम.चु 
कलाकार : मार्क रुफालो, जेसी इसेनबर्ग, उडी हारेलसन, लिजी काप्लन, डेभ फ्रान्को, डेनियल रेडक्लिफ तथा मोर्गान फ्रिम्यान ।
प्रदर्शन मिति : जून १० 
यो एउटा थ्रिलर चलचित्र हो जसलाई अमेरिकामा ‘नाय यू सि मि : द सेकेन्ड एक्ट’ शीर्षकबाट पनि प्रचार गरिएको छ । सन् २०१३ मा प्रदर्शनमा भएको ‘नाउ यू सि मि’ को यो दोस्रो सिक्वेल हो ।

फाइन्डिङ डोरी
निर्देशक :
एन्ड्रिउ स्टान्टन
कलाकार : इलेन डेजेनेरस, अल्बर्ट ब्रुक्स, हेडेन रोलेन्स, डायना किटन, इयुगेन लेभी आदि ।
प्रदर्शन मिति : जून १७ 
‘फाइन्डिङ डोरी’ थ्रिडी कम्प्युटर–एनिमेटेड कमेडी एड्भेन्चर चलचित्र हो । पिक्सर एनिमेशन स्टुडियोले निर्माण गरेको यो चलचित्रलाई वाल्र्ट डिज्नी पिक्चर्सले प्रदर्शन गर्नेछ । सन् २००३ मा प्रदर्शन भएको ‘फाइन्डिङ नेमो’ को यो सिक्वेलमार्फत निर्देशक स्टान्टन लामो समयपछि निर्देशन विधामा फर्किएका छन् । यो चलचित्रमा पहिलो चलचित्रका मुख्य पात्र डोरी, नेमो, मार्लिन तथा ट्याक ग्याङलाई नै मुख्य भूमिका प्रस्तुत गरिएको छ । 

इन्डिपेन्डेन्स डे : रिसर्जेन्स 
निर्देशक :
रोनाल्ड इम्मेरिच 
कलाकार : जेफ गोल्डब्लम, बिल फुलम्यान, लियाम हेम्सवर्थ, जेसी उसर, माइका मोन्री आदि ।
प्रदर्शन मिति : जून २४ 
सुपर हिरो चलचित्रहरूको बाहुल्यता रहने हलिउडको वर्ष २०१६ मा प्रदर्शन हुने यो पहिलो साइन्स फिक्सन चलचित्र हो । सन् १९९६ मा प्रदर्शन भएको चलचित्र ‘इन्डिपेन्डेन्स डे’ को यो सिक्वेलमा राजनीतिक विषयवस्तु उठान गरिएको छ । चलचित्रमा अमेरिकामा भएका आतंककारी आक्रमणका केही प्रसंग पनि समावेश छ । 

घोष्टबस्टर्स 
निर्देशक :
पउल फेग 
कलाकार : क्रिस हेम्सवर्थ, क्रिष्टेन विग, मेलिसा म्याककार्थी आदि ।
प्रदर्शन मिति : जुलाई १५ 
चलचित्रको शीर्षकअनुसार यो चलचित्रमा भूतलाई मुख्य विषय बनाइनु पर्ने हो तर निर्देशक फेगले यसमा चलचित्रका पात्रमार्फत भूतमा आधारित पुस्तक लेखाएका छन् । चलचित्रका दुई मुख्य पात्रले भूतहरू वास्तविक हुन्छन् भन्ने कुरा उल्लेख गरेर एउटा पुस्तक लेख्छन् । पुस्तक लेख्ने दुईमध्ये एक पात्र विश्वविद्यालयको प्रोफेसर भएपछि चलचित्रको कथाले नाटकीय मोड लिन्छ । एक्सन, कमेडी तथा साइन्स फिक्सन विधामा पर्ने यो चलचित्रले भूत हुन्छ कि हुँदैन भन्ने कुरामा अन्तर–द्वन्द्व सिर्जना गर्नेछ । 

सुसाइड स्क्वाड 
निर्देशक :
डेभिड ऐयर 
कलाकार : विल स्मिथ, जारेड लेटो, मार्गोट रोबी, जोएल किन्म्यान, जे कर्ट्नी, कारा डेलेभिन्जेन, भिओला डेभिस आदि ।
प्रदर्शन मिति : अगष्ट ५ 
यो पनि अमेरिकी सूपरहिरो चलचित्र हो । डिसी कमिक्सका पात्रहरूमा आधारित यो चलचित्र निर्माण गर्न वार्नर ब्रो पिक्चर्सले सन् २००९ को फेब्रुअरीमै तयारी गरेको थियो तर निर्देशक ऐयरले सन् २०१४ को सेप्टेम्बरमा मात्र यो चलचित्रको निर्देशन गर्ने जिम्मेवारी पाए । क्यानाडामा छायांकन गरिएको यो रोमाञ्चक चलचित्रले दर्शकको मन जित्ने कुरामा निर्देशक ऐयर ढुक्क छन् ।

प्रकाशित: पुस २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्