सन् २०१६ का सम्भावित खेलकुद प्रतियोगिता

- साप्ताहिक संवाददाता

पुस २१, २०७२-

एएफसी यू–२३ च्याम्पियनसिप (१२–३० जनवरी, कतार)

एएफसी यू–२२ च्याम्पियनसिप दुई वर्षअघि ओमानमा आयोजना भएको थियो । यसलाई अहिले यू–२३ बनाइएको छ र यसको दोस्रो संस्करण कतारको चार सहरमा हुँदैछ । यसमा आयोजक कतार तथा छनौट पार गरेका १५ गरी कुल १६ देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन स्थानमा रहने टिम रियो ओलम्पिकका लागि छनौट हुनेछन् । पहिलो संस्करणमा इराक च्याम्पियन भएको थियो । यसपल्टको एएफसी यू–२३ च्याम्पियनसिपका लागि इरानमा भएको छनौट खेलमा सहभागी भएको नेपाली टिमले आफूले खेलेका चारै खेल हारेको थियो । त्यतिबेला १७ गोल खाएको नेपालले गोलको खाता खोल्न पनि सकेको थिएन ।

यू–१९ विश्वकप क्रिकेट (२२ जनवरी–१४ फेब्रुअरी, बंगलादेश)

आईसीसी यू–१९ विश्वकप क्रिकेटको ११ औं संस्करण बंगलादेशको विभिन्न सात स्थानमा आयोजना हुँदैछ । यसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का पूर्ण सदस्य १० र छनौट पार गरेका ६ सहित कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । २०१५ मा भएको छनौट खेल पार गरेको नेपालले पनि सातौंपल्ट युवा विश्वकप खेल्न लागेको छ । नेपालसहित अफगानिस्तान, नामिबिया, क्यानाडा, फिजी र स्कटल्यान्डले छनौट पार गरेर युवा विश्वकप खेल्न लागेका हुन् । डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिका, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्टइन्डिज र जिम्बाबेले टेस्ट मान्यता पाएको आईसीसीको पूर्ण सदस्यको हैसियतमा सीधै यो विश्वकप खेल्दैछन् ।

दक्षिण एसियाली खेलकुद (६–१६ फेब्रुअरी, गुवाहाटी/सिलोङ, भारत)

दक्षिण एसियाली खेलकुद सन् १९८४ मा काठमाडौंमा सुरु गर्दा प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको थियो तर हालसम्म यसको ११ संस्करण मात्र सम्भव भएको छ । ढाकामा ११ औं संस्करण सम्पन्न भएको ६ वर्षपछि २०१६ मा दक्षिण एसियाली खेलकुदको कुम्भ भारतले गुवाहाटी र सिलोङमा आयोजना गर्दैछ । दक्षिण एसियाका आठ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भुटान, माल्दिभ्स) सहभागी १२ औं सागमा २३ खेल समावेश गरिएको छ । ती खेल गुवाहाटीका १० तथा सिलोङका ४ स्थानमा सञ्चालन हुनेछन् । यो प्रतियोगितामा करिब २ हजार २ सय खेलाडी सहभागी हुने बताइन्छ । 

विन्टर युथ ओलम्पिक (१२–२१ फेब्रुअरी, नर्वे)

दोस्रो विन्टर युथ ओलम्पिक नर्वेस्थित लिलेहमरको चार सहरमा आयोजना हुँदैछ । यसमा ७० देशका १ हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ । यो ओलम्पिकमा १५ खेलका ७० स्पर्धा हुनेछन् ।

एसिया कप क्रिकेट (२४ फेब्रुअरी–६ मार्च, बंगलादेश)

निष्क्रिय बन्ने अवस्थामा पुगेको एसियाली क्रिकेट परिषद् (एसीसी) ले फेरिएको स्वरूपमा एसिया कप क्रिकेट–२०१६ मा सञ्चालन गर्दैछ । प्रत्येक दुई वर्षमा आयेजना हुँदै आएको यो प्रतियोगिताको अघिल्ला १३ संस्करण ५० ओभरको एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । यसलाई अहिले २० ओभरको (ट्वान्टी–२०) स्व्रप दिएर बंगलादेशमा आयोजना गरिँदैछ । आयोजक बंगलादेश, भारत, श्रीलंका र पाकिस्तानले टेस्ट मान्यता प्राप्तको हैसियतमा सीधै एसिया कप खेल्नेछन् । एक दिवसीय मान्यता पाएका अफगानिस्तान, हङकङ, ओमान र युनाइटेड अरब इमिरेट्समध्ये एक देशले पनि छनौटमार्फत् एसिया कपमा मौका पाउनेछ ।

ट्वान्टी–२० विश्वकप क्रिकेट (८ मार्च–३ अप्रिल, भारत)

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको छैटौं संस्करण भारतका विभिन्न सात सहरमा आयोजना हँुदैछ । यो कान्छो संस्करणको विश्वकप क्रिकेट नेपालले दुई वर्षअघि खेलेको थियो । तर, यसपल्ट नेपाल छनौटमै असफल भयो । डिफेन्डिङ च्याम्पियन श्रीलंका, भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले आईसीसी वरीयतामा शीर्ष दसमा रहेकाले सीधै विश्वकप खेल्ने अवसर पाएका छन् । बंगलादेश, जिम्बाबे, स्कटल्यान्ड, आयरल्यान्ड, हङकङ, नेदरल्यान्ड्स, अफगानिस्तान र ओमानले भने छनौट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् । स्कटल्यान्ड र आयरल्यान्डमा सन् २०१५ मा भएको छनौट खेलमा नेपालले लज्जास्पद प्रदर्शन 

गरेको थियो ।

कोपा अमेरिका (३–२६ जून, अमेरिका)

दक्षिण अमेरिकी महादेशको फुटबल च्याम्पियनसिप कोपा अमेरिका सन् १९१६ देखि सुरु भएको हो । सन् २०१६ मा यो प्रतियोगिताले शतवार्षिकी मनाउँदैछ । त्यसैले ४४ औं संस्करण सकिएको अर्को वर्ष नै कोपा आयोजना गर्न लागिएको हो । यसैपाली कोपा पहिलोपल्ट दक्षिण अमेरिकाबाहिर आयोजना गरिँदैछ । विश्वकै सबभन्दा पुरानो महादेशीय प्रतियोगिताको ४५ औं संस्करण अमेरिकामा हुनेछ । यसमा दक्षिण अमेरिकी १० टिम त हुने छन् नै, त्यसबाहेक आयोजक अमेरिका, मेक्सिको, कोस्टारिका, जमैकासहित उत्तर तथा मध्य अमेरिकी क्षेत्रका उत्कृष्ट ६ देश गरी कुल १६ टिमले कोपा खल्नेछन् ।

युरोपियन च्याम्पियनसिप (१० जुन–१० जुलाई, फ्रान्स)

युरोपेली फुटबलको सर्बोच्च प्रतियोगिता युरोपियन च्याम्पियनसिप ४–४ वर्षमा आयोजना हुँदै आएको छ । यसको १५ औं संस्करणमा २०१६ मा फ्रान्समा हुँदैछ, जसमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो संस्करणमा १६ टिम सहभागी भए पनि यसपाली सहभागी संख्या बढाइएको हो । खेल १० सहरमा सञ्चालन हुनेछ । विश्वकपपछि सर्वाधिक लोकप्रिय मानिने यो प्रतियोगितालाई ‘मिनी वल्र्डकप’ पनि भनिन्छ । अल्बानिया, स्लोभाकिया, वेल्स, उत्तरी आयरल्यान्ड तथा आइसल्यान्डले पहिलोपल्ट युरोपियन च्याम्पियनसिप खेल्दैछन् । डिफेन्डिङ च्याम्पियन स्पेन, जर्मनी, फ्रान्स, चेक रिपब्लिक, इटाली र रूस पूर्वविजेता हुन् । यसपल्ट युक्रेन, स्वीडेन, आयरल्यान्ड, हंगेरी, 

टर्की, क्रोएसिया, पोल्यान्ड, रोमानिया, बेल्जियम, स्वीटजरल्यान्ड, पोर्चुगल, अस्ट्रिया र इंग्ल्यान्ड छन् ।

ग्रीष्मकालीन ओलम्पिक (५–२१ अगस्ट, रियो, ब्राजिल)

खेलकुदको महाकुम्भ ओलम्पिकको ३१ औं संस्करण ब्राजिलको रियो डे जेनेरियोमा हुँदैछ । ग्रीष्मकालीन ओलम्पिक दक्षिण अमेरिकामा पहिलोपल्ट आयोजना हुन लागेको हो । १७ दिन चल्ने यो प्रतियोगितामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का २ सय ६ सदस्य देशका करिब १० हजार ५ सय खेलाडी सहभागी हुनेछन् । कुल ४२ खेल समावेश गरिएको यो ओलम्पिकमा यसपल्ट गल्फ र रग्बी थपिएका हुन् । कुल ३ सय ६ स्वर्णपदक राखिएको यो ओलम्पिकमा पुरुषतर्फ १ सय ६१, महिलातर्फ १ सय ३६ तथा मिश्रिततर्फ ९ स्वर्ण छन् । खेल ब्राजिलका चार क्षेत्रका ३२ स्थानमा सञ्चालन हुनेछन् । 

ग्रीष्मकालीन पारा ओलम्पिक (७–१८ सेप्टेम्बर,रियो, ब्राजिल)

ग्रीष्मकालीन ओलम्पिक जुन सहरमा आयोजना हुन्छ, त्यसैले पारा ओलम्पिक पनि आयोजना गर्दै आएको छ । यो प्रचलनले निरन्तरता पाउँदा ग्रीष्मकालीन पारा ओलम्पिकको १५ औं संस्करण रियो डे जेनेरियो (ब्राजिल) मा हुनेछ । यसमा १ सय ७६ देशका शारीरिक रूपले असक्षम ४ हजार ३ सय ५० खेलाडी सहभागी हुनेछन् । २३ खेल समावेश गरिएको यो ओलम्पिकमा कुल ५ सय २८ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एएफसी यू–१६ च्याम्पियनसिप (१५ सेप्टेम्बर–२ अक्टोबर, भारत)

१६ वर्षमुनिको महादेसीय फुटबलको सर्वोच्च प्रतियोगिताको १७ औं संस्करण भारतले २०१६ मा आयोजना गर्दैछ । एएफसी यू–१६ मा आयोजक भारत, डिफेन्डिङ च्याम्पियन उत्तर कोरियासहित एसियाका उत्कृष्ट १६ देश सहभागी हुँदै छन् । यो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टिमले फिफा यू–१७ विश्वकप खेल्न पाउनेछन् । बिस्केक (किर्गिस्तान) मा भएको छनौटमा समूह ‘बी’ बाट उपविजेता हुँदै नेपालले पनि एएफसी यू–१६ मा स्थान सुरक्षित गरेको थियो तर, छनौटका तीनै खेलमा बढी उमेरका खेलाडी खेलाएको प्रमाणित भएपछि नेपालले सबै खेलको नतिजा ०–३ ले गुमाउनुपरेको थियो । यसैकारण एएफसीले एन्फालाई १४ हजार ५ सय अमेरिकी डलर जरिबाना गर्ने निर्णय पनि गरेको थियो ।

एसियन बीच गेम्स (२४ सेप्टेम्बर–३ अक्टोबर, डा नाङ, भियतनाम)

एसियनबीच गेम्सको पाँचौं संस्करण भियतनामले आयोजना गर्दैछ । यसमा एसियाली ओलम्पिक परिषद (ओसीए) का सदस्य ४५ देशका करिब २ हजार ३ सय खेलाडी सहभागी हुने बताइएको छ । २०१४ मा फुकेट (थाइल्यान्ड) मा आयोजित चौथो संस्करणमा २६ खेल समावेश गरिएको थियो ।

एएफसी यू–१९ च्याम्पियनसिप (१३–३० अक्टोबर, बहराइन)

एसियाली फुटबल महासंघ (एएफसी) ले सबैभन्दा धेरै आयोजना गरेको प्रतियोगिता नै एएफसी यू–१९ च्याम्पियनसिप हो । यसको ४८ औं संस्करण यही वर्ष बहराइनले आयोजना गर्दैछ । आयोजक र छनौट पार गरेसहित कुल १६ देशले यसमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टिम अर्को वर्ष हुने फिफा यू–२० विश्वकपका लागि छनौट हुनेछन् । एएफसी यू–१९ को छनौटमा नेपालले दुई हार र एक बराबरी नतिजा निकालेको थियो । कुवेतसँग १–१ को बराबरी गर्नुनै नेपालका लागि सबैभन्दा राम्रो नतिजा थियो । छनौट खेलमा नेपालले जम्मा १ गोल गरेर १४ गोल खाएको थियो ।

 

प्रकाशित :पुस २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्