हलिउडमा घटेका चर्चित स्क्यान्डल

- एजेन्सी

पुस १८, २०७२-
विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योग हलिउडमा हरेक दिन कुनै न कुनै सेलिब्रेटी व्यक्तिगत आचरण तथा क्रियाकलापका कारण चर्चामा आउँछन् । हलिउड सेलिब्रेटीका गतिविधिहरू वर्षभरि नै गसिपका रूपमा सार्वजनिक भैरहन्छन् । वर्ष २०१५ पनि हलिउडमा सयौं गसिप बने, दर्जनौं कलाकार विवादमा आए । तीमध्ये केही प्रमुख विवाद : 

किम रिचार्ड्स 
‘द रियल हाउसवाइफ्स अफ ब्रेभरी हिल्स’ की स्टार किम रिचर्ड्स यो वर्ष सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेका कारण चर्चामा आइन् । किम डा. फिलसँगको एक टेलिभिजन अन्तर्वार्तामा दिइएको अभिव्यक्तिका कारण पनि चर्चाको विषय बनिन् । मादक पदार्थ सेवन गरेकै कारण किमले केही समय सुधारगृहमा बिताउनुपर्‍यो । छोरी ब्रुकको मेक्सिकोमा सम्पन्न वैवाहिक समारोहमा सहभागिता जनाउन मात्र किमलाई सुधारगृहबाट केही दिनका लागि रिहा गरिएको थियो । अहिले पनि उनी सुधार गृहमै छिन् । 

फेसन पुलिस 
हलिउडको चर्चित टेलिभिजन कार्यक्रम ‘फेसन पुलिस’ का विभिन्न श्रृंखला चर्चा र विवादमा पर्ने क्रम वर्ष २०१५ मा पनि जारी रह्यो । खासगरी हलिउडका दुई सेलिब्रेटी केली ओस्बर्न र क्याथी ग्रिफिन सहभागी भएको एक कार्यक्रमले त दर्शकलाई आश्चर्यमै पार्‍यो । कार्यक्रमकी प्रस्तोता जिउलियाना रान्किकले ती नायिका तथा गायिकाको हेयरस्टाइलप्रति टिप्पणी गर्दै केशमा प्रयोग गरिएको तेल दुर्गन्ध फैलाउने खालको भएको प्रतिक्रिया दिएपछि नायिकाद्वयले कार्यक्रमको छायांकनस्थलमै त्यसको प्रतिवाद गरेका थिए । 

 ब्लर्ड लाइन्स 
‘ब्लर्ड लाइन्स..’ एउटा गीतको शीर्षक हो, जुन गीत चोरिएको आरोप लाग्यो । मार्भिन गाएले सन् १९७७ मै रेकर्ड गरिएको आफ्नो गीत ‘गट टु गिभ इट अप...’ बाट नक्कल गर्दै रोबिन थिक तथा फरेलले ‘ब्लर्ड लाइन्स’ तयार पारेको आरोप लगाए । यो विषयले चर्को बहस निम्त्याएपछि मार्भिन गाएको परिवारले करिब ७५ लाख डलर क्षतिपूर्ति पायो । यद्यपि थिक र फरेलले उक्त गीत कुनै पनि गीतबाट नक्कल नगरिएको तथा आफ्नो मौलिक भएको दाबी गरिरहे ।

रोजी ओ’डोनेल 
टेलिभिजन कार्यक्रम ‘द भ्यू’ की पूर्व कार्यक्रम सञ्चालिका रोजी ओ’डोनेल पनि यो वर्ष विवादमा तानिइन् । रोजीले पूर्वप्रेमी माइकल राउन्डबाट जन्मिएका सन्तान आफूले पाल्न पाउनुपर्छ भन्ने कुरालाई अदालतसम्म पुर्‍याइन् । अदालतले उनीहरूका सन्तानलाई दुवैले ५०–५० प्रतिशत पाल्न पाउने निर्णय गरिदियो । उक्त निर्णयमा चित्त नबुझेपछि राउन्ड आफ्नी दुई वर्षीया छोरी डाकोटालाई आफूले मात्र हुर्काउन पाउनुपर्ने माग गर्दै पुन: अदालत पुगे । वास्तवमा रोजी पनि आफ्नी छोरीलाई आफैंले मात्र हुर्काउन पाउनुपर्छ भन्ने चाहन्छिन् । यतिबेला यो विषय विचाराधीन अवस्थामा छ । 

बील कोस्बी 
७७ वर्षीय कमेडियन बील कोस्बीले वर्ष २०१५ मा सोच्दै नसोचेको आरोप सहनुपर्‍यो । उनीमाथि वर्ष २०१४ मै यौनहिंसाको आरोप लागेको थियो । वर्ष २०१५ मा पनि उनलाई उक्त आरोपले पछ्याइरह्यो । विवाद कतिसम्म बढ्यो भने विरोधीहरूले उनको कार्यक्रम नै बन्द गर्ने प्रयास गरे । 

निक कानन र मारिया केरी 
निक कानन र मारिया केरी विवादमा आइरहने जोडी हो । कतिसम्म भने उनीहरू पारपाचुके गरेर पनि चर्चा र विवादमा आइरहन्छन् । पारपाचुकेपछि मारियाले ब्रेकअप गीत भन्दै ‘इन्फिनिटी...’ सार्वजनिक गरिन् । मारियाले उक्त गीतका केही शब्दमा आफ्ना पूर्वप्रेमीलाई गालीसमेत गरिन् । ‘ब्वाइ यू एक्टिङ सो कोनी लाइक फ्रिटोस...’ भन्ने लाइनले निकलाई निकै तनाव दियो । तनावमा आए पनि निकले कुनै आपत्तिजनक क्रियाकलाप देखाएनन् । ट्विट गर्दै उनले भने— ‘म मारियाप्रति कहिल्यै नकारात्मक छैन, म उनका विरुद्ध एक शब्द पनि बोल्दिनँ ।’ 

ब्रायन विलियम्स 
ब्रायन विलियम्स लोकप्रिय समाचारवाचक हुन् । वर्ष २०१५ मा उनी एउटा रिपोर्टिङका कारण विवादमा परे । एनबिसी नाइट्ली न्यूजको नक्कल गर्दै तयार पारिएको एउटा रिपोर्टिङले ब्रायनलाई विवादमा तानेको हो । ब्रायनले सन् २००३ मा इराकमा भएको आक्रमणमा आफू पनि पीडित भएको झूटो दाबी पेस गरेका थिए । कार्यक्रमलाई मनोरञ्जक बनाउने क्रममा आफूले नक्कल गर्न खोजेको भनेर आफ्नो बचाउ गर्न खोजे पनि ब्रायनलाई उक्त कार्यक्रमबाट निष्कासित गरिएको छ । 

बबी क्रिस्टिना ब्राउन 
बबी क्रिस्टिना ब्राउन सन् २०१२ मा निधन भएकी ह्वीट्नी हड्सनकी छोरी हुन् । हड्सनको निधन भएको तेस्रो वार्षिक तिथिको अघिल्लो दिन बबीलाई एउटा बाथ टबमा बेहोसी अवस्थामा फेला पारियो । उनलाई तत्काल अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखियो । उनकी हजुरआमा किसी हड्सनका अनुसार उनले पहिलो पटक नातिनीलाई बाथ टबमा भेट्दा उनको अवस्था निकै दयनीय थियो । किसीले नातिनीको अवस्थाका बारेमा अझै पनि केही भन्न सक्ने अवस्था नरहेको दावी गरेकी छिन् । बबी कसरी बेहोसी अवस्थामा बाथ टबमा पुगिन् भन्ने कुराको रहस्य खुल्न सकेको छैन । 

प्रकाशित: पुस १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्