भारतीय राजदूतसँग नेपालीमा कुराकानी

- मनोज गजुरेल

पुस ११, २०७२

सभामुख ओनसरी घर्तीले बोलिन्, यो ठूलो कुरा होइन । भारतीय राजदूतसँग बोलिन्, त्यो पनि ठूलो कुरो रहेन । राजदूतसँग नेपालीमै बोलिन्, यसलाई पनि ठूलो मान्न सकिँदैन, तर नेपाल–भारत सम्बन्धको पुनव्र्याख्या हुनुपर्ने चर्चा चलिरहेका बेला भारतीय राजदूतसँग नेपालीमा संवाद जुन गरिन्, त्यसलाई एउटा सांकेतिक अर्थमा लिनु र दिनुपर्छ । आउनोस्, आज यसैका बारेमा गजुरियल विश्लेषण गरौं ।

भनाइको मतलब, खस नेपाली भाषा बोल्नासाथ त्यो ठूलो राष्ट्रवादी कार्य भयो भन्ने होइन । किनभने यो भाषा मात्र नेपाली भाषा होइन । नेपालमा बोलिने सम्पूर्ण भाषाहरू राष्ट्रिय भाषा हुने कानुनी प्रावधान छ । उनले मगर खाम भाषामा बोलेको भए पनि उनी गलत हुने थिइनन्, तर आजसम्मको सम्पर्क भाषा नेपाली नै मानिएकाले उनले खस भाषामा बोलिन् । यसलाई सबै राष्ट्रभाषाहरूको प्रतिनिधत्व गर्दै केही महत्त्वपूर्ण सन्देश दिएको गजुरियल अनुमान छ ।

यसलाई अमहत्त्वपूर्ण मान्ने आधार पनि थुप्रै छन् । अंग्रेजी नजानेका कारणले नेपालीमा बोलिन् होला । अंग्रेजीभन्दा नेपाली सजिलो भएर पनि होला । हिन्दीमा दख्खल नभएका कारण पनि हुन सक्छ । नेपालीको पहिचान दिएको पनि होला । पहिलो पटकको भेट भएकाले कुन भाषामा बोल्ने भन्ने अन्योल पनि भएर होला । कारण जे भए पनि सभामुखको यो प्रस्तुतिलाई गजुरियल सन्देशका रूपमा विश्लेषण गर्दैछ ।

मेरो पहिलो सन्देश हो, आफूसँग दख्खल नभएको भाषामा जबर्जस्ती बोलिरहनु पर्दैन, जुन भाषामा बोल्दा आफूलाई सजिलो लाग्छ, त्यही भाषामा प्रस्तुत हुनु उपयुक्त हुन्छ । दोस्रो कुरा, देशप्रेम, जातिप्रेम, भाषाप्रेम भन्ने कुरा सिद्धान्त मात्र होइन, स–साना कुरामा पनि देखाउनु र देखिनुपर्छ । जस्तो कि विदेशीसँग प्रस्तुत हुँदा आफ्नो देशको पहिचान हुने पोसाक लगाउनुपर्छ । कूटनीतिज्ञसँग भेट हुँदा नेपाल झल्कने संस्कारमा प्रस्तुत गरिनुपर्छ । उनीहरूसँग बोल्दा उनीहरूजस्तै होइन कि, आफ्नै देशको प्रतिनिधित्व रहनुपर्छ ।

तेस्रो सन्देश, अबका नेपाली राजनीतिज्ञहरूले नेपाली पहिचान देखाउनुपर्छ । नेपाली पहिचान भन्नाले विदेशीहरूसँगको भेटमा आफू जुन पार्टीको मान्छे भए पनि म नेपालको प्रतिनिधित्व गर्दैछु भन्ने कुरा ख्याल राख्नुपर्छ । कूटनीतिज्ञहरूसँग मिलाइने हात, गरिने व्यवहार, चयन गरिने शब्द, बोलिने भाषा र प्रस्तुत गरिने संस्कारले सिंगो नेपालको प्रतिनिधित्व गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

चौथो सन्देश, अबका नेपाली नेताहरूले विदेशी कूटनीतिज्ञहरूसँग कस्तो व्यवहार गर्दा खुसी हुन्छन् भन्नेतिर भन्दा पनि मैले कसरी उपस्थित हुनुपर्छ भन्नेतिर ध्यान दिन जरुरी छ । अबको नेपालले भारतसँग मैत्रीपूर्ण सम्बन्ध बढाउन चाहन्छ, पहिलेका नेताजस्तो नतमस्तक रूपमा होइन भन्ने सन्देश सानो रूपमै भए पनि दिइएको गजुरियल ठम्याइ छ । सभामुखले त्यो अर्थमा नलिएको भए पनि आगामी दिनमा यस्तै गरे राम्रो हुन्छ ।

चिनियाँ नेताहरू भारत आउँदा कहिल्यै हिन्दीमा बोल्दैनन् । अमेरिकी मन्त्रीहरू चीन जाँदा चाइनिजमा बोलेको सुनिएको छैन । भलै मोदीजी कहिलेकाहीं अरूको भाषामा बोलिटोपल्छन् तर त्यो क्षणिक मनोरञ्जनभन्दा फरक होइन । त्यसैले हाम्रा नेताहरूले पनि बोल्ने, हिंड्ने, खानेजस्ता मसिना कुरामा म सिंगो नेपालको प्रतिनिधित्व गरिरहेको छु भन्ने कुरा बिर्सनु हुँदैन भन्ने गजुरियल अनुरोध छ ।

यसको अर्थ नेपाली भाषामा बोल्दामात्रै राष्ट्रवाद बाँच्छ भन्ने होइन । समय, काल र परिस्थितिअनुसार जुन भाषामा सजिलोसँग सम्प्रेषण हुन्छ, त्यही भाषामै बोल्ने हो । जुन कपडा लगाउँदा बस्न, हिंड्न सजिलो हुन्छ, त्यही कपडा लगाउने हो । हातले खाँदा आनन्द आउँछ भने हातैले खाने हो । चम्चा प्रयोग गर्दा सजिलो हुन्छ भने चम्चा नै प्रयोग गर्ने हो तर राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले व्यक्तिगत सजिलो र निजी अप्ठेरोलाई भन्दा देशको पहिचान र राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने गजुरियल ठम्याइ छ । 

प्रकाशित :पुस ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्