वर्ष २०१५ का खेलकुद विवाद

पुस १०, २०७२

खेलकुद सफलता र जितको मात्र हुँदैन, यसमा विवाद र काण्ड पनि उत्तिकै हुन्छ । सन् २०१५ पनि यसबाट अपवाद रहेन । यो वर्ष विश्व खेलकुदमा दुई ठूलो विवादले काण्डको रूप लियो । यो कति ठूला विवाद थियो भने यसले विश्व खेलकुदलाई सधैंका लागि परिवर्तन गर्ने तय छ । यसमा पहिलो विवाद अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई लिएर हो भने अर्को रुसी खेलाडीको डोपिङ प्रकरण हो । 

फिफा विवाद भने सन् २०१५ कै सबैभन्दा चर्चा गरिएको विषय रह्यो । पूरा वर्ष फिफा, यसका अध्यक्ष सेप ब्लाटर र फुटबलका अरू ठूला पदाधिकारीमाथि आर्थिक अनियमितता गरेको, आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरेको घटना र त्यसमाथि भएको छानबिनमा केन्द्रित रह्यो । फुटबलका पण्डितहरूले पनि सोचेका थिएनन्, विश्व फुटबलले यो वर्ष यस्तो कोल्टो फेर्नेछ र प्रत्येकपल्ट नयाँ–नयाँ रहस्य खोलिनेछ । 

वर्षको सुरुमा फिफाको केन्द्रीय पदाधिकारीको निर्वाचन भएको थियो र त्यसमा ब्लाटर फेरि अध्यक्ष चुनिए । त्यसपछि नै एकपछि अर्को नाटकीय घटना सुरु भयो । सुरुमा फिफाका केही ठूला पदाधिकारी घूस लिएको आरोपमा स्विट्जरल्यान्डमा समातिए । यसबीच ब्लाटर राजीनामा दिन बाध्य भए । उनको यो राजीनामा कहिलेदेखि लागू हुने हो, त्यसमा पनि विवाद भयो । 

ब्लाटरले अर्को निर्वाचन नभएसम्मका लागि आफू अध्यक्ष पदमै रहने दाबी गरे । यसैक्रममा पछिल्ला केही विश्वकप आयोजनाको अधिकार जित्न आयोजक देशले ठूलो रकम घूस दिएको र त्यसलाई फिफाका पदाधिकारीले स्वीकार गरेको समाचार पनि आयो । विश्वकप आयोजक देश दक्षिण अफ्रिका र जर्मनी मात्र होइन, अबका आयोजक रुस र कतार पनि यो विवादमा तानिए । त्यति बेलासम्म फिफाको नयाँ अध्यक्षका रूपमा मिचेल प्लाटिनीको नाम अगाडि आइरहेको थियो । प्लाटिनी युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष हुन् तर ब्लाटर र प्लाटिनी दुवैलाई गलत ढंगले ठूलो रकम लिएको आरोप लाग्यो । दुवैमाथि फिफाको एथिक्स कमिटीले ९०/९० दिनको प्रतिबन्ध लगायो । अहिले यो प्रतिबन्ध चलिरहेको छ र यसविरुद्ध अपिल पनि गरिएको छ । यसबीच उनीहरू दुबैलाई आठ आठ वर्षको प्रतिबन्ध समेत लागिसेकेको छ । 

अर्कातर्फ इन्टरनेसनल एमेच्योर एथलेटिक्स संघ (आईएएएफ) का अहिलेका अध्यक्ष लर्ड कोएले पनि मानेका छन्, अहिलेको संकट वास्तवमै ठूलो छ र यसको किनारासम्म पुग्दा को–को मुछिने हुन्, भन्न सकिँदैन । संकट कति गम्भीर छ भने यसले एथलेटिक्स खेललाई नै धराशायी बनाउन सक्छ ।

कोएभन्दा अघि आईएएफका अध्यक्ष थिए– लेमिनी डिक । उनले लगातार १६ वर्ष विश्व एथलेटिक्स चलाए । अहिले डिक ८२ वर्षका भैसके र उनीमाथि घूस खाएर डोपिङको आरोपमा मुछिएका खेलाडीको नाम बाहिर ल्याउन रोकेको आरोप छ । अहिले डिकमाथि छानबिन सुरु भैसकेको छ । केही समय अघि केही जर्मन पत्रिकाले दाबी गरेका थिए, पछिल्ला १० वर्षमा एथलेटिक्सका जति पनि ठूला प्रतियोगिता भए, विशेषत: ओलम्पिक र विश्व च्याम्पिनसिप, त्यसमा आधा पदक विजेता खेलाडीको डोपिङ प्रकरण लुकाउने प्रयास गरिएको छ । त्यसमा पदक विजेता आधाले प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग गरे पनि सबै बचे ।

लन्डन ओलम्पिकमा पनि एथलेटिक्सतर्फ पदक जितेका धेरै खेलाडीले प्रतिबन्धित शक्तिबद्र्धक औषधी प्रयोग गरेको र त्यसमा समातिनबाट जोगिएको तथ्य पनि बाहिर आएको छ । यसमा अधिकांश रूसी खेलाडी छन् । रूसी एथलेटिक्स संघ र लगभग पूरा देशले नै आफ्ना खेलाडीलाई जोगाउन तिनै डिकलाई घुस ख्वाएको आरोप लागेको छ । यस्तोमा एथलेटिक्सको विश्व शक्ति रूसमाथि नै अनिश्चित समयको प्रतिबन्ध लागेको छ । 

सन् २०१५ मा नेपाली खेलकुदसँग जोडिएका दुई घटनाले पनि अन्तर्राष्ट्रिय चर्चा पाए । पहिलो, नेपालका पाँच फुटबल खेलाडीमाथि लागेको खेल मिलोमतोको आरोप र तिनलाई एसियाली फुटबल महासंघले लगाएको आजीवन प्रतिबन्धको सजाय । यसमा फसेका थिए, सागर थापा, रितेश थापा, सन्दीप राई, अञ्जन अधिकारी तथा विकाससिंह क्षेत्री । एन्फा अध्यक्ष गणेश थापामाथि फिफाले लगाएको दस वर्षको प्रतिबन्धले पनि अन्तर्राष्ट्रिय खेलकुदमा राम्रै चर्चा पायो ।

 

प्रकाशित :पुस १०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्