धेरै महिलासँग यौनइच्छा हुने समस्या छ

- करुणा कुँवर

पुस ८, २०७२

ममा यौन उत्तेजना र धेरै महिलासँग यौनइच्छा हुने समस्या छ । जब मेरी श्रीमतीसँग पहिलो भेट भएको थियो तबदेखि विवाह गरेको तीन वर्षसम्म हामीबीचको यौनसम्बन्ध निकै राम्रो थियो । किन हो हिजोआज उनीसँगको यौनसम्बन्धमा मलाई कुनै रुचि हुँदैन । एक जना महिलासँग हामी दुवैको सहमतिमा यौनसम्बन्ध रहँदै आएको छ । पहिले त मेरो उमेरका कारणले हो कि जस्तो लाग्यो, तर पछि ममा केही समस्या छ कि जस्तो लाग्न थाल्यो । यद्यपि मलाई यो सम्बन्ध धेरै समयसम्म रहँदा श्रीमतीसँगको सम्बन्ध थप बिग्रन सक्ने र अन्य समस्या उत्पन्न हुने डर लाग्छ । मलाई किन यस्तो भएको होला ? 

बी.

तपाईंको यो प्रश्न पढ्नेबित्तिकै मुसामा गरिएको एक अध्ययनको सन्दर्भ जोड्न मन लाग्यो । भाले मुसालाई धेरै पोथी मुसा भएको एउटा बक्सामा बढी तापक्रम मिलाएर राखिएको थियो र भाले मुसाले पालैपालो हरेक पोथी मुसासँग यौनसम्पर्क गथ्र्याे । केही समयपछि ऊ थाकेको देखिन्थ्यो, तर नयाँ पोथी मुसालाई पठाउनेबित्तिकै उसको चासो बढ्न थाल्थ्यो र यौनसम्पर्क गर्न थाल्थ्यो । मस्तिष्कमा भएको डोपामाइन बढ्दा यस्तो खालको असर देखिन्छ । यस्तै असर मानव जातिमा हुन्छ कि हुँदैन भनेर पनि अनुसन्धान गरिएको छ । विभिन्न अनुसन्धान भए पनि तपाईंले उल्लेख गर्नुभएजस्तो समस्या बेला–बेलामा सुनिँदै आएको हो । यस्तो खालको समस्या सबै पुरुषमा हुँदैन । केही व्यक्ति एउटै पार्टनरसँग वर्षौंसम्म उत्तिकै र उस्तै खालको यौनचाहना भएको बताउँछन् र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र धेरै आनन्द आउँछ । मानव यौनिकतामा धेरै विविधता छ र कुनै एउटा उदाहरणलाई शतप्रतिशत सही हो भनेर भन्न सकिँदैन ।

अब तपाईंको जिज्ञासातर्फ लागौं । यदि तपाईंहरू दुवै जना एक–अर्कासँग मात्र यौनसम्बन्ध कायम गर्ने हो भने तपाईंहरूले आफ्नो यौन जीवनमा यौनसम्पर्कका नयाँ विधिहरूका सम्बन्धमा छलफल गर्न सक्नुहुन्छ । वास्तवमा धेरै जोडी जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन् । तपार्इंहरूको जीवनमा उत्साह र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ । नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ । अर्कातिर धेरै युवतीसँगको सम्पर्कले तपार्इंको शारीरिक तथा समाजिक जीवनमा असर पर्न सक्छ । यौनरोगहरूको संक्रमण हुने खतरा हुन्छ । यसले गर्दा तपाईंमा पछि पश्चात्तापको भावना विकसित हुन सक्छ । बाहिरबाट अरू व्यक्तिले तपाईंको मानसिकताका बारेमा बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन, कानुनी झन्झटमा परिने खतरा पनि हुन्छ । तपाईंको यौनचाहनाको तीव्रता बारम्बार आउने भएको पनि हुन सक्छ, जुन असामान्य होइन । 

आफ्नी श्रीमतीबाहेक अरूसँगको यौनसम्बन्धले तपाईंमा डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ । यस्तो भावनाले तपाईंहरूबीचको यौन सम्बन्धमा मात्र होइन, तपाईंको दैनिक क्रियाकलापमा पनि असर गर्न थाल्छ । यसको निवारण छिटो हुनुपर्छ । अहिले तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुन आवश्यक छ । एक–अर्काप्रतिको आकर्षणमा कमी आएको हुन सक्छ । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ । हाम्रो समाजमा धेरै मानिस दुई दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, समाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एकअर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिइएको पाइँदैन । एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह उत्पन्न हुन्छ । त्यसले प्रत्यक्ष असर यौनसम्बन्धमा पनि गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । 

चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने कुरामा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विवाहपछिको यौन सम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन्, यी अध्ययनहरूका अनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधिसम्म भनेको एकअर्काप्रतिको आकर्षण, रमाइलोपन कायम रहने अवस्था हो । त्यसकारण तपाईंमा यौन निष्क्रयतासम्बन्धी कुनै समस्या पनि भएको हुन सक्छ । हरेक व्यक्तिले बुझ्नैपर्ने कुरा के हो भने समयअनुसार आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन ? लामो समयसम्म समस्यालाई कायम राख्दा ग्लानि, हीनताबोध र दम्पतीबीचको बुझाईमा कमी आउन थाल्छ । त्यसैले मनोविद् वा मनोचिकित्सकसँग आवश्यक परामर्श लिनु उपयुक्त हुन्छ । 

 

प्रकाशित :पुस ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्