यौनसम्वन्ध नराख्दा बेवस्ता गर्नुभो

- डा. राजेन्द्र भद्रा

पुस ७, २०७२

म २० वर्षीया युवती हुँ र प्रेममा छु । उहाँ मभन्दा ८ वर्ष जेठो हुनुहुन्छ । हामी दुवैले एक–अर्कालाई गत २ वर्षदेखि माया गर्दैछौं । २ महिनाअघि उहाँले यौनसम्पर्क गरौं भन्नुभयो तर मैले त्यसलाई स्वीकार गरिनँ । त्यसपछि उहाँले मप्रति बेवास्ता गर्न थाल्नुभयो । त्यसपछि उहाँले त्यसका बारेमा कुनै कुरा गर्नुभएन । मलाई लाग्छ, मैले केही गल्ती गरें । म उहाँसँग विवाह गर्न चाहन्छु तर उहाँ विवाह गर्न चाहनु हुन्न । 

२६९३

मोह अनि प्रेमका कुरा 

युवा अवस्थामा स्वभाविक रूपमै विपरीतलिङ्गीप्रति आकर्षित भइन्छ । हाम्रो यौनिकताको एक महत्वपूर्ण पक्ष अर्को व्यक्तिसँगको सम्बन्ध हो । किशोरावस्थादेखि नै प्रेम वा भनौं मायाका भावनाहरू आउँछन् । यो स्वभाविक प्रक्रिया हो । यसो भए पनि यी भावनाहरूको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि आवश्यक हुन्छ । माया वा प्रेमका यी भावनाहरू कसरी हाम्रो मन–मस्तिष्कमा आउँछन् भन्ने कुराको निकै खोज गरिए पनि यकिनका साथ यसै हो भन्न गाह्रो छ । एकातिर कामदेवको प्रभावले हुन्छ भनिएको पनि पाइन्छ । वंशको विकासका लागि वंशाणुको विविधता एकातिर महत्वपूर्ण थियो भने अर्कातिर विकासवादको कुरा हेर्ने हो भने प्रेमले गाँसेको सम्बन्धले गर्भावस्था अनि शिशुको हेरचाहलाई मद्दत पुग्नु महत्वपूर्ण हुन गएको देखिन्छ ।

यो वास्तविक प्रेम हो वा आकर्षण वा भनौंं मोह (Infatuations) छुट्टयाउनु निकै महत्वपूर्ण हुन्छ । क्षणिक यौन आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ । किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ । उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा सीमित हुने सम्भावना कम हुन्छ । किशोरावस्थामा रागरस (हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीतलिङ्गीप्रति आकर्षित हुनु वा आकर्षित गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरितलिङ्गीको समीप बस्न वा स्पर्श गर्न चाहनुजस्ता भावनात्मक (मानसिक) परिवर्तनहरू पनि हुन्छन् । यो उनीहरूको विकाससम्बन्धी प्राकृतिक कुरा हो र मानव वंशजको निरन्तरताका लागि आवश्यक छ । किशोरावस्थामा विपरीतलिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो अवस्थामा यस्ता आकर्षण बारम्बार पैदा हुन्छन् । 

यहाँ तपाईंले एउटा कुरा सोच्नु आवश्यक छ । कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह (Infatuations) लाई नै वास्तविक प्रेम मान्छन् । प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ । यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्ने प्रयत्न गरिन्छ । 

तपाईं किशोरावस्था पार गरेर २० वर्ष पुगिसक्नुभएकाले केही परिपक्वता पक्कै आउन थालेको हुनुपर्छ । अर्को कुरा, तपाईंहरूको सम्बन्ध पनि २ वर्षदेखिको भएकाले एक किसिमले यो क्षणिक होइन कि भन्ने संकेत मिल्छ ।

यौनसम्पर्क गर्न नमानेर कतै गल्ती गरें कि ?

सम्बन्धको विकास अनि यौनसम्पर्क दुवैको सहमतिमा हुने कुरा हो । यहाँ तपाईंको शरीरमाथि तपाईको अधिकार छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । तपाईंले यौनसम्पर्क राख्न तयार नभएकाले त्इसलाई अस्वीकार गर्नुभएको कुरामा म कुनै गल्ती देख्दिनँ । मेरो विचारमा तपाईंले मानसिक तथा सामाजिक रूपमा तयार नभै यौनसम्पर्क राख्दिनँ भन्नु नै बुद्धिमानी वा परिपक्वता हो ।

तपाईंले तपाईंहरू दुवैले एक–आपसमा प्रेम गर्ने कुरा गर्नुभएको छ । कसैले शब्दमा भन्ने कुराले होइन कि, व्यवहारका कुराले मायाको गहिराई देखिन्छ । हुन त तपाईं दुई वर्षदेखि यो सामीप्यतामा हुनुहुन्छ । त्यसैले पनि तपाईंलाई उहाँका बारेमा अनि उहाँ र तपाईंको सम्बन्धका बारेमा धेरै कुरा थाहा होला । 

अर्कातिर पनि सोचौं, यो वास्तविक प्रेम नै हो त ? तपाईंको प्रेमीले तपाईंलाई साँच्चिकै प्रेम गर्नुभएको हो भने तपाईंलाई कुनै पनि किसिमको हानि पुर्‍याउने कुरा गर्नु हुन्न । यौनसम्पर्कको प्रस्ताव अस्वीकार गर्दा पनि उत्तिकै माया हुन्छ र तपाईंको भावनाको कदर गरिन्थ्यो । 

समाधान के हुन सक्ला ?

तपाईंले यौनसम्पर्क राख्न अस्वीकार गर्नु भएपछिको कुरालाई लिएर यसरी व्यवहारमा परिवर्तन आएको छ भने त्यसको कारण पत्ता लगाउनु जरुरी हुन्छ । यो सम्बन्ध प्रेमपूर्ण थियो कि थिएन अनि छ कि छैन भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ताकि सम्बन्धलाई अघि बढाउने वा टुङ्ग्याउने निर्णय लिन सकियोस् । त्यसैले यहाँ विवाहको कुरा गर्नु आवश्यक पनि छैन र सान्दर्भिक पनि । 

यसका लागि तपाईंले उहाँसँग स्पष्टसँग कुराकानी गर्नुपर्छ, हिचकिचाउनुपर्ने कुरा केही छैन । यो जिन्दगीको प्रश्न हो । यस्तो सम्बन्ध विश्वासको जगमा मात्र बलियोसँग अडिन सक्छ । अविश्वासको स्थिति भयो भने यो सम्बन्धलाई अघि बढाउने आधार रहँदैन । अर्कातिर तपाईंको यो सम्बन्ध कतै एकोहोरो वा भनौं एकतर्फी प्रेम त होइन भन्ने कुरा पनि सोच्नुपर्छ । 

तपाईंले स्पष्टसँग कुराकानी गरेपछि परिस्थिति के होला र अनि त्यस्तो परिस्थितिमा उहाँको प्रतिक्रिया के होला भनेर त्यसपछि नै भन्न सकिने स्थिति हुन्छ । उहाँको प्रतिक्रिया तपाईंले सोचे वा चाहेअनुरुप नै भयो भने खासै फरक परेन तर त्यस्तो नहुन पनि सक्छ । तपाईंसँगको सम्बन्ध वा सामीप्यता वा भनौं प्रेमसम्बन्धलाई अघि बढाउन नसकिने स्थिति आयो भने के गर्ने भन्ने कुरामा पनि ध्यान पुराउनुपर्छ । 

सामान्यत: सम्बन्धले स्थायित्व पाउनुभन्दा पहिले कतिपय व्यक्तिसँग नजिक हुने अनि टाढिने काम हुन्छ र सबैभन्दा मिल्दो व्यक्ति भेटेपछि मात्र सम्बन्ध प्रगाढ रूपमा अघि बढ्छ । त्यसैले अनावश्यक चिन्ता बोकेर सम्बन्ध रहने स्थिति रह्यो भने आफ्नो जीवनलाई नयाँ रूपमा अघि बढाउनु बेस हुन्छ । 

 

प्रकाशित :पुस ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्