विदेशमा नेपाली साहित्यको ठूलो बजार छ

- अश्विनी कोइराला

पुस ६, २०७२

निष्प्रभ सजी, साहित्यकार

अष्ट्रेलियाको सिड्नी सहरमा एउटा नर्सिङ होममा व्यवस्थापकका रूपमा काम गरिरहेका निष्प्रभ सजी मूलत: साहित्यकार हुन् । नेपाल छँदै उनले ‘भूपरिवेष्टित खुट्टाहरू’ शीर्षकको कविता–संग्रह सार्वजनिक गरेका थिए । अस्ट्रेलिया पुगेपछि अर्को कविता–संग्रह ‘इजलासमा लाहुरे फूल’ सार्वजनिक गरेका निष्प्रभ आठ वर्षदेखि उतै छन् । नेपाली साहित्यलाई अष्ट्रेलियाको बजार उपलब्ध गराइरहेका सजीको समूहले ‘साताको साहित्य’ नाममा वेबसाइट पनि सञ्चालन गरिरहेको छ । उक्त साइटले प्रत्येक वर्ष नवप्रवेशी साहित्यकारलाई पुरस्कृत पनि गर्दै आएको छ । यो वर्षको चाड–पर्व मान्न नेपाल आएके बखत सजीले ‘डार्लिङ हार्बर’ उपन्यास सार्वजनिक गरे जुन उपन्यासले युवा पुस्तामा राम्रो छाप छाडेको छ । साप्ताहिकले सजीसँग गरेको कुराकानी : 

तपाईंको नाम किन अनौठो ?

खासमा मेरो नाम माधवराज पौडेल हो । केही समय मैले यही नाममा कविता लेखेँ । सम्मेलनहरूमा पनि माधवकै नाममा कविता वाचन गरेँ र पुरस्कृत पनि भएँ । यद्यपि यो नाममा मैले लेख्ने कविताको स्वर मिलेजस्तो लागेन । सबै मानिस भिडबाट अलग देखिन चाहन्छन् । अलि फरक नाम खोज्दै जाँदा निष्प्रभ सजी जुर्‍यो । 

के हो निष्प्रभ सजीको अर्थ ?

निष्प्रभको अर्थ अँध्यारो हो । मानिस उज्यालो मन पराउँछ तर मलाई जीवनको अँध्यारो पक्ष मन पर्छ । म राति एक्लै गुनगुनाउन मन पराउँछु । यो शब्दले मेरो भावनाको प्रतिनिधित्व गर्ला जस्तो लाग्यो । अनी सजी अरबिक शब्द हो, जसको अर्थ शान्त हुन्छ । म जीवनका अँध्यारा पक्षमा पनि शान्त रहन सक्छु । मैले एउटा अरबिक कथा पढ्ने मौका पाएको थिएँ । त्यसको एउटा पात्रको नाम सजी थियो । त्यो पात्रले मलाई ठूलो प्रभाव पारेको थियो । 

दुईवटा कविता–संग्रहपछि उपन्यास प्रकाशन गर्नुको अर्थ ?

कथाले जे भन्न सक्छ, कविताले भन्न सक्दैन । मैले आफ्नो बाल्यकाल कास्कीको हेम्जामा बिताएको थिएँ । त्यो ग्रामीण परिवेशमा म र हामीजस्ता साथीभाइले यौन के हो भन्ने बुझ्न सकेनौं । यौनका बारेमा जुन कौतूहल थियो, अरूले गरेका यौन व्यवहार बुझ्न नसक्दा परेका जुन अप्ठ्याराहरू थिए, ती अनौठा थिए । पछि थाहा भयो, यस्तो समस्या ग्रामीण क्षेत्रमा सबैले भोगेका हुँदा रहेछन् । त्यसलाई कथामा उतार्नुपर्छ भन्ने लागिरहेको थियो । त्यसैको उपज हो, यो उपन्यास । 

यो तपाईंको आत्मकथा हो ?

होइन, मेरा केही अनुभव त छन् तर यसमा अरूका कथा धेरै छन् । उपन्यास पोखरा, म्याग्दी, पर्वत, नेपालगन्ज हुँदै सिड्नीसम्म पुग्छ । म ती सबै ठाउँमा पुगेको हुनाले त्यहाँका स्थानीय लवज, स्थान र पात्रहरू छन् । उपन्यासलाई सजीव बनाउन मैले ती कुरा प्रयोग गरेको हुँ । 

युवालाई मात्र लक्षित गरेर लेख्नुभएको हो ?

जब कुनै वस्तु बजारमा पठाइन्छ, त्यसका लक्षित वर्ग हुनुपर्छ । मैले यो उपन्यासलाई युवाप्रति नै लक्षित गरेको हुँ । यो उपन्यासमा प्रेमलाई केन्द्रमा राखिएको छ । तैपनि यसमा माओवादी द्वन्द्वको प्रभाव, नेपाली समाज र बिदेसिएका युवाहरूको मनोदशा आदि पनि प्रकट भएको छ । 

उपन्यासको भाषामा नयाँपन छ, यो भाषा कसरी विकसित गर्नुभयो ?

अष्ट्रेलियाबाट एउटा साप्ताहिक पत्रिका निस्कन्छ, ‘नेपालीपत्र’ । उक्त पत्रिकामा मैले तीन वर्षसम्म ‘ट्रेनभित्र आधा घण्टा’ स्तम्भ लेखें । त्यो निकै लोकप्रिय भयो । मेरो भाषा त्यसले अझ परिष्कृत बनाएको हुनुपर्छ । 

कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

नकारात्मक प्रतिक्रिया अहिलेसम्म पाएको छैन । सबैले राम्रो भन्नुभएका कारण म यसको कमजोर पक्ष के हो खोजिरहेको छु । तेरो उपन्यासमा यो कमजोरी छ भनिदिऊन् भन्ने लागिरहेको छ । अहिलेसम्म युवा पाठकले मात्र पढिरहनु भएकाले विज्ञहरूको प्रतिक्रिया नआएको हुनसक्छ । 

अस्ट्रेलियामा नेपाली साहित्यको बजार विस्तार गरिरहनु भएको छ, अवस्था कस्तो छ ?

 विदेशमा भएका नेपालीलाई नेपाली भाषा बिर्सौंला भन्ने पीर लागिरहन्छ । आख्यानले भाषालाई ताजा मात्र बनाउँदैन, त्यसमा रहेका कथाबस्तुले नेपालसँग साइनो पनि जोडिरहन्छ । यही कारण अस्ट्रेलियामा साहित्यको बजार बढिरहेको छ । अस्ट्रेलियामा मात्र होइन, देशबाहिर बस्ने सबैजसो नेपालीले यो पुस्तक पढिरहनुभएको छ । विदेशमा नेपाली साहित्यको ठूलो बजार छ । 

 

प्रकाशित :पुस ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्