सम्बन्ध साथीको

- सुविन भट्टराई

पुस ५, २०७२

धेरै वर्षअघि कलेजको पढाइ सकिएपछि छुटेको एउटा साथी भेटियो । 

‘के छ यार ?’ भेटिनासाथ पहिलो प्रश्न उसले सोध्यो ।

‘एकदम राम्रो छ, अनि तिम्रो ?’ उत्तरको पुछारमा मैले प्रश्न टाँसिदिएँ ।

‘ठीक छ मेरो पनि ।’ उसले भन्यो ।

‘के हो फोनसोन पनि छैन । कलेजपछि त पूरै हरायौ त ।’असहज हुन थालिसक्या रहेछ सम्बन्ध । अलिकति सहजको वातावरण बनाउन खोज्दै जिस्किएँ ।

‘खै के–के भो यार.........।’ टाउको कन्याउन थाल्यो ऊ । अनुहार पढेँ । यस्तो बनाइरहेको थियो मानौँ उसले मलाई फोन नगरेर ठूलो भूल गरेछ । माफी मागूँ कि झैँ, केही भनूँ कि झैँ मा थियो तर सकिरहेको थिएन । 

मैले नै उसलाई भनेँ, ‘मैले पनि त यतिका वर्षमा तिमीसँग सम्पर्क गरिनँ नि ।’

उसको अनुहारमा अलिकति विजयको मुस्कान छायो ।

जीवनमा कति मित्र रातारात बने, कति मित्रता दिनदहाडै बिग्रिए, लेखाजोखा गरेर साध्य छैन । आज एउटा साथी बन्छ, भोलिदेखि ऊ निरन्तर सम्पर्कमा आइरहन्छ । फेरि कुन दिन कसको के स्वार्थ पर्छ । सक्ने अवस्थामा मागेकोले सहयोग पाउँछ । दिन सक्ने अवस्था नभएको खण्डमा सहायता माग्ने रिसाइदिन्छ । सम्बन्ध एउटा झीनो स्वार्थमा गएर टकराउँछ र चकनाचुर हुन्छ । के बिनास्वार्थ सम्बन्ध गाँसिँदैन ? के हरेक सम्बन्ध हाम्रो आवश्यकताहरूको पूर्ति गर्न मात्र आउनुपर्छ भन्ने छ ?

के कुनै सम्बन्ध नछोइने भएर आउन सक्दैन ?

मलाई लाग्छ, धेरै नछोइएको चीज नै ज्यादा सफा हुन्छ । धेरै नहिँडिएको बाटो सफा हुन्छ । धेरै मान्छे नथुप्रिएको ठाउँ बढी सुन्दर हुन्छ । हामी केही सम्बन्धहरूलाई पनि यस्तै चोखै छोड्न किन सक्दैनौँ ? मान्छे किन हरेक सम्बन्धमा व्यापार देख्छ ? के कुनै सम्बन्धलाई शोकेसमा झैँ सजाएर राख्न सकिँदैन ? जसले गर्दा सधैँभरि एउटा मुस्कानले त्यो सम्बन्धमा सफा नजर राख्न पाइराखियोस् ।

निमेषभरमै यी सब कुरा दिमागमा आए ।

अघिल्तिर उभिएका मेरा मित्रलाई यी सब कुरा सुनाएँ ।

मित्र हँसिलो अनुहार लाएर मेरा कुरा सुनिरहेका थिए । अक्सर साथीहरू यसैगरी बाटोमा भेटिरहन्छन् । ‘तैँले त माया मारिस्,’ वा ‘फोन गर्न छाडिस्,’ एउटाको आरोप हुन्छ तर कसैले आफैँले चैँ माया मारेको वा फोन नगरेको सत्य स्वीकार्दैन ।

एउटा मान्छेले जीवनभरिमा थुप्रै साथी बनाउँछ । स्कुल, कलेज, घर, अफिस धेरै ठाउँमा साथी बनाउँछ । यहाँसम्म कि साथीका साथीलाई समेत कसैले साथी बनाइरहेको हुन सक्छ । सबैलाई समय दिन सकिन्न । एउटा दूरी निश्चय पनि बन्छ । तर यसको माने यो हुन सक्दैन कि एउटा पक्ष अर्कोसँग रिसायो । धेरै समय दिइने साथीसँग बरु सम्बन्ध चिसिन्छ । कम समय दिइने साथीसँगको सम्बन्ध सधैँ चोखिन्छ । हप्तामा पाँचपटक भेटिने साथी कतिसँग सम्बन्ध चिसिएर पर भैसके । २० वर्षअघि चिनेको साथी अझै पनि बाटोमा भेटियो भने मुस्कुराएर जान्छ । मित्रतामा दूरी खराब चीज होइन । खराब चीज यदि केही हो भने मान्छेभित्रको स्वार्थ । 

मान्छेले कहिल्यै सोच्दैन, भैरहेको सम्बन्ध कसरी टिकाउने, मान्छे खाली यही मात्र सोच्छ कि हरेक सम्बन्धलाई कसरी भजाउने ?

प्रकाशित :पुस ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्