देश सरकारको होइन, बाहुबलीहरूको रहेछ

- अश्विनी कोइराला

पुस ३, २०७२

    हरिनारायण बेल्बासे, निर्देशक, वाणिज्य विभाग

गएको दसैंयता नेपाल सरकारको वाणिज्य विभाग तथा यसका निर्देशक हरिनारायण बेल्बासे चर्चामा छन् । नाकाबन्दीसँगै देशमा बढेको कालोबजारी र त्यसलाई नियन्त्रण गर्ने क्रममा बढेको सक्रियताका कारण मात्र वाणिज्य विभाग एवं गुणस्तर तथा नापतौल विभाग चर्चामा आएका होइनन्, आफूले गरेका काम मिडियासम्म पुर्‍याएका कारण यी संस्थाहरूप्रति सार्वजनिक चासो बढेको हो । आयल निगमका उपल्लो तहका कर्मचारीहरूले नै पेट्रोलियम पदार्थको कालोबजारी गरेको समाचार चुहाउने होस् वा एकसाथ दर्जनौं पेट्रोल पम्पमा तालाबन्दी गर्ने काम गरेका कारण होस यी विभाग चर्चामा आउने गरेका छन् । वाणिज्य विभागमा सरुवा भए यता उनी लगातार कालोबजारी गर्नेहरूको टाउको दुखाइ भएका रहेछन् । उनले सँगालेको अनुभवबाट देशमा कालोबजारीको हविगत कस्तो छ भन्ने थाहा पाउन सकिन्छ । गएको साता धादिङमा भएका ४ वटा ग्याँस प्लान्टमा हुने अनियमितताको छानबिनमा बेल्बासे सक्रिय रहँदा साप्ताहिक प्रतिनिधिले पनि त्यसको अनुभव गरेको थियो । 

तपाईं बिहानदेखि रातिसम्मै असाध्यै व्यस्त देखिनुभयो । पत्रकारले चासो दिएका कारण हो कि अरू बेला पनि यस्तै हो ?

अहिले सामान्य जनताको चुल्हो बल्नसमेत गाह्रो भएकाले अलि बढी व्यस्त भइएको हो । जुन बेला जहाँ पनि अनियिमितताको खबर आउने र हामीले तुरुन्तै फिल्डमा पुग्नुपर्ने भएकाले यस्तो देखिएको हो । तैपनि हाम्रो ड्युटी अरू कार्यालयजस्तो १०–५ को हुँदैन । म मात्र होइन, तपाईंले देखिरहनुभएको यो पूरै टिम सधैं यसैगरी दिनरात नभनी खट्छ । मानिसहरू सरकारी कर्मचारी काम गर्दैनन् भन्छन्, तर तपाईं आफैं यर्थात देखिरहनुभएको छ । आजभोलि मात्र होइन, अरू बेला पनि हामी यसरी नै तयार रहनुपर्छ । तैपनि अहिले व्यस्तता अलि बढेको चाहिँ सत्य हो । 

अहिले (मंगलबार साँझ) धादिङको एसटिसी ग्याँस प्लान्टमा पुगेर आउनुभएको हो क्यार, के भएको रहेछ ?

धादिङको जुँगे खोलामा एसटिसीको ग्याँस प्लान्ट छ । धादिङमा यो कम्पनीका १० वटाजति डिलर छन् । तीमध्ये एउटाले गएको असोज महिनामा करिब ६ सयवटा तथा अर्कोले करिब १ हजार ५ सयवटा सिलिन्डर लगेको देखियो । बाँकी ८ वटाले नगन्य मात्रामा ग्याँस पाए । हामीले अनुसन्धान गर्दै जाँदा के फेला पार्‍यौं भने अघिल्लो वर्ष यी दुवै डिलरले केबल ५० देखि ६० वटा मात्र सिलिन्डर बेचेका रहेछन् । जुन डिलरले ग्याँस सजिलै पाउने अवस्थामा ५० वटा मात्र सिलिन्डर बेच्न सक्छ, उसले यो अभावका बेला त्यति धेरै ग्याँस कसरी बेच्यो ? यसमा दोषी को–को छन् र तिनलाई कसरी कारबाही गर्ने भन्ने विषयको अनुसन्धान गरेर हामी फर्किएका हौं । 

यसमा अनुसन्धान गर्नुपर्ने कुरा के छ र ? ग्याँस कम्पनीले ती डिलरलाई बढी पैसा लिएर आफूसँग भएको सबै ग्याँस दिएको भन्ने स्पष्ट हुँदैन र ?

सुरुमा हामीलाई पनि त्यस्तै लागेको थियो । त्यसैले हामीले गएको कात्तिकमा कम्पनीलाई कारवाही गर्ने पत्र काटेर फर्किएका थियौं । यद्यपि कम्पनीले जे कुरा भन्यो र अनुसन्धानमा जे देखियो, त्यसबाट म पनि चकित भएँ । यसपटक हामीले नेपालमा सरकारको होइन, बाहुबलीहरूको शासन चल्दो रहेछ भन्ने कुरा देख्न पायौं । 

कस्ता बाहुबली ?

खासमा गुन्डा नायिकेहरूको बलियो समूह हुँदो रहेछ । ती गुन्डा नायिकेहरूले आफ्नो क्षमताले भ्याएसम्मका खाली सिडिन्डर जम्मा गर्दा रहेछन् । त्यसपछि ५०–१०० जना स्थानीय गाउँलेलाई ग्याँस आएको छ, घेराउ गर्न नगए तपाईंहरूले ग्याँस पाउनुहुन्न, सबै काठमाडौं जान्छ भनेर जम्मा पार्दा रहेछन् । आफ्ना समूहका १०–२० र स्थानीय गाउँलेको भिड जम्मा गरेर फ्याक्ट्री घेराऊ गरेपछि कम्पनी डराउने भैहाल्यो । अब कम्पनीका कर्मचारीहरू पनि कमाउने मौका हेर्छन् नै । यही मौकामा कम्पनीका कर्मचारीहरूले धनी आफन्तका नाममा ती ग्याँस पास गर्छन् । यसरी पास भएका आधा ग्याँस डिलरवालाले र आधा ग्याँस डिलरको नाममा बाहुबलीहरूले प्राप्त गर्छन् । घेराउ गर्न जानेबाहेक अरू ग्याँस काठमाडौं पठाएर महँगो मूल्यमा बेचिँदो रहेछ । यसमा स्थानीय प्रहरी, डिलर तथा ग्याँस कम्पनीमा काम गर्ने कर्मचारीहरूसमेतको भाग लाग्दो रहेछ । 

तपाईंका कारण यस्ता बाहुबलीले गरिखान पाएनन् भन्ने गुनासो छ, कुनै समस्या आएको छ कि छैन ? 

गएको महिना चितवनको एउटा पेट्रोलपम्पलाई कारबाही गरेर फर्किरहेको थिएँ । धादिङ पुगेपछि धार्केस्थित एचपी ग्याँस कम्पनीमा बाहुबलीहरूले कब्जा जमाएको खवर पाएँ । सिडियो र प्रहरीको सहयोगमा त्यो भीड तितरबितर गर्न खोज्दा मेरो गाडीमा आक्रमण भयो । तँ काठमाडौं पुग्नुअघि नै तेरो खुट्टा भाँचिदिन्छु भनेर मुख्य गुन्डा नाइकेले धम्की दियो । सार्वजनिक रूपमा प्रहरीकै अघि एउटा सरकारी कर्मचारीको मानमर्दन हुँदा प्रहरीले केही गर्न सकेन । त्यसको कारण बुझ्दा प्रहरी इन्स्पेक्टर स्थानीय बासिन्दा रहेछन् । घरपायक जागीर खाएका ती प्रहरीले मलाई बचाउन खोज्दा बाहुबलीको आँखी हुने डर भएछ । यस्ता घटना त दर्जनौं छन् । कतिले तेरा छोराछोरी कहाँ पढ्छन्, तेरो घर कहाँ छ हामीलाई थाहा छैन भनेर धम्की दिन्छन् । अरू भए जागिर छाडिसक्थे होला, मैले पचाइरहेको छु । 

बनेपामा पनि समस्या आएको सुनिएको थियो, के भएको थियो ?

नाकाबन्दीले काठमाडौंका जनता भोकभोकै परिरहेका छन् । उनीहरूलाई आधा सिलिन्डर भए पनि ग्याँस दिनुपर्छ भन्ने कुरा भयो । त्यसका लागि बनेपामा रहेका ४ वटा ग्याँस उद्योगलाई आधा सिलिन्डरका दरले काठमाडौंमा ग्याँस पठाउन हामी फिल्डमा खटियौं, तर ती ग्याँस उद्योगमा बाहुबलीहरूले स्थानीय व्यक्तिहरूलाई उचालेर काठमाडौंमा ग्याँस पठाउनुहुन्न भनेर घेराऊ गरेछन् । हो, स्थानीय बासिन्दाले पहिलो अधिकार पाउनुपर्छ तर बनेपा क्षेत्रमा काठमाडौं जस्तो धेरै डेरावाल छैनन् । इन्धनको विकल्प अरू पनि छ । काठमाडौंमा हाहाकार भैसक्यो भनेर कन्भिन्स गर्न खोजें तर भिडले मानेन । सिडियोको सहयोग लिन खोजेँ, सिडियोसहित प्रहरीहरू पनि लाचार देखिए तर मैले अडान छाडिनँ । सामान्य अवस्थामा त्यहाँ उत्पादन हुने धेरैजसो ग्याँस काठमाडौं पुग्थ्यो भने असहज हुँदा काठमाडौंले केही नपाउने भन्ने कुरा न्यायसंगत भएन । भीड प्रहरीमाथि नै जाइलाग्यो तर हामी पछि हटेनौं । करले, छलले, डन्डाले जसरी हुन्छ, ४–५ हजार सिलिन्डर काठमाडौं पठाइयो । कम्तीमा ५ हजारको घरको चुल्हो बल्यो । त्यतिबेला केही काम गरियो जस्तो लागेको थियो । 

चितवनको घटनाचाहिँ के हो ?

मंसिर ८ गते चितवनको अष्टभूजा फ्युल स्टेसनमा ६ हजार लिटर पेट्रोल आएको थियो । २ हजारभन्दा बढी मोटरसाइकल दुई दिनदेखि पेट्रोलको लाइनमा थिए, तर पम्पले १ हजार सवारी साधनलाई ३ लिटरका दरले पेट्रोल दिएपछि पेट्रोल सकियो भनेछ । मलाई फोन आयो । मैले स्थानीय वाणिज्य अधिकृत नेत्र शर्मालाई गोप्य अनुसन्धान गर्न लगाएँ । उनको अनुसन्धानले पम्पमा अझै तेल रहेको तर त्यो तेल कुनै अमूक व्यापारीलाई केही बढी मूल्यमा बेच्ने डिल भएको संकेत गर्‍यो । त्यति मात्र होइन, त्यसमा उनले स्थानीय प्रहरी एवं अरूको पनि मिलोमतोको संकेत गरे । म तुरुन्तै चितवन हान्निएँ । खोजी गर्दा १ हजार लिटरभन्दा बढी तेल अझै पम्पमा रहेछ । यसबाट पम्पको ठगी गर्ने नियत देखियो । मैले त्यसमा सिलबन्दी गरिदिएँ । 

तीन वर्षदेखि तपाईं पेट्रोलियम ठगीको अनुसन्धानमा हुनुहुन्छ, ठगी कसरी हुँदो रहेछ ?

मैले कुनै यस्तो पेट्रोल पम्प भेटिनँ, जहाँउपभोक्ताले पूरा तौल भएको तेल पाऊन् । हरेक उपभोक्ताले ५ लिटर तेल किन्दा २ सय मिलिलिटर तेल कम पाउँदा रहेछन् । म नयाँ–नयाँ छँदा २०७० साल साउनमै एकसाथ १४ वटा पम्प सिल गरेको थिएँ । पछि–पछि त अवस्था यस्तो आयो कि कारबाही गर्नु नपर्ने कुनै पम्प नै बाँकी नरहने भयो । पम्प मालिकहरूले के भन्न थाले भने हामीले नै डिपोबाट कम तेल पाउँछौं । कारबाही गर्ने भए आयल निगमका कर्मचारीहरूलाई नै गर्नुहोस् । पूरा तेल पाउने हो भने हामी उपभोक्तालाई पूरै तेल दिन्छौं, त्यसको प्रत्याभूति गर्नुहोस् । यो कुरा मैले आयल निगमको नेतृत्वसँग उठाएँ । सञ्चारमाध्यमले पनि यो कुरा उठाए । त्यसपछि अनुगमनमा आयल निगमकै वरिष्ठ कर्मचारी करुणा क्षेत्रीलाई लिएर हिँडे । उहाँसँगै पम्पवालाहरूले पूरा तौल नपाएको बताएपछि त्यसले आयल निगमभित्र हंगामा मच्चायो । प्रहरीले आज आयल निगमका माथिल्ला कर्मचारी पक्राउ गर्नुको कारण पनि नियमभित्रै हुने यस्तै चलखेल र अनियमितता नै हो । यति ठूलो अपराध हुन्छ, आयल निगम भित्र । त्यसकारण व्यापारीहरूले ठगे भन्नुको कुनैतुक छैन । जबसम्म मूल नै स्वच्छ हुँदैन, अरूतिर औंला ठड्याउनुको अर्थ हुँदैन । यस्ता कुराको अनुसन्धान अघि बढाउन मलाई गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ठूलो नैतिकबल दिनुभएको छ । उहाँले आयल निगममा हुने चलखेल रोक्न मलाई विशेष अधिकार दिनुभएको थियो । हाम्रो समूहले अमलेखगन्जदेखि थानकोटसम्म कसरी तेलको चलखेल हुन्छ र थानकोटबाट पम्पसम्म आइपुग्दा तौलमा कसरी गडबडी गरिन्छ भन्ने कुराको गहकिलो अनुसन्धान सुरु गरिसकेका थियौं । त्यो काम चलिरहेकै बेला अचानक नाकाबन्दी सुरु भयो, जसले गर्दा जनताको चुल्हो कसरी बाल्ने भन्ने कुरामै हाम्रो सारा शक्ति लगाउनुपरिरहेको छ । अवस्था सामान्य हुनासाथ आयल निगम भित्रका धेरै क्रियाकलापमा अनुसन्धान सुरु हुन्छ । 

पेट्रोलपम्पले उपभोक्तालाई पूरा तौल डिजेल–पेट्रोल दिएजस्तो लाग्छ, मेसिनले कसरी ठगी गर्छ ?

डिजिटल पम्पहरूमा रिमोटबाटै कति तेल दिने भन्ने कुरा निर्देशन गर्ने विशेष मेसिन जडान हुँदो रहेछ । यो कुरा हालै मात्र पत्ता लाग्यो । हामीले पटक–पटक त्यसको अनुसन्धान गरेका थियौं । धेरै पटक छड्के गर्दा पनि हामीले कुन प्रविधिबाट यो काम भैरहेको छ भनेर पत्ता लगाउन सकेका थिएनौं । बल्ल यो रहस्य खुलेको छ । अपराध गर्नेहरू पक्राउ परेका छन् । यो पम्पवालाहरूले उपभोक्तामाथि गरेको डरलाग्दो ठगी हो । म्यानुअल पम्पहरूले भने तारको कैंची हालेर ठगी गर्ने गरेका छन् । त्योचाहिँ अनुगमन गर्दा पत्ता लाग्छ तर समस्या कस्तो छ भने वाणिज्य र गुणस्तर विभाग अनुगमन गर्न हिँडे भन्ने सूचना कता–कताबाट चुहिदो रहेछ । सूचना चुहिएकै कारण धेरै पटक हामीले खाली हात फर्कनुपरेको छ । केही समययता हामी गोप्य रूपमा र विभिन्न आइडिया लगाएर सूचना दिनेहरूलाई झुक्याउन सफल भएका छौं । 

हामीले पेट्रोलियममा हुने ठगी र बाहुबलीको कुरा त गर्‍यौं, अरू क्षेत्रमा उपभोक्ता ठगी हुने सम्भावना कत्तिको छ ?

मैले एउटा तीतो सत्य भन्नैपर्छ । त्यो के भने, उपभोक्ताहरूले प्रयोग गर्ने कुनै यस्तो वस्तु छैन, जसमा उनीहरूले उचित मूल्य तिरेका हुन् । उपभोक्ताहरूले लगाउने कपडाको वास्तविक मूल्य र तिरेको मूल्यमा आकाश–पातालको फरक हुन्छ । जुन कपडाको मूल्य २ सय पर्छ, त्यसलाई उपभोक्ताहरूले २ हजार तिरिरहेका छन् । मोटर पाट्स, जुत्ता, विभिन्न किसिमका विलासी साधन आयात गर्दा व्यापारीले तिरेको भन्सार मूल्य र उपभोक्ताहरूले तिरेको मूल्यमा यति ठूलो अन्तर हुन्छ कि कहिलेकाहीँ त विश्वासै गर्न कठिन हुन्छ । अरू त धेरै परको कुरा, नेपालमै तयार भएको मिनरल वाटरको लागत मूल्य र उपभोक्ता मूल्य नै अविश्वनीय छ । सामान्य धाराको पानी भरेर बेचिने मिनिरल वाटर र ठूलो लगानीमा साँच्चिकै मिनिरल वाटरको मूल्य संसारमा कहीँ–कतै एउटै हुँदैन । यद्यपि नेपालमा सामान्य बोतल बन्द पानी र गुणस्तरीय मिनिरल वाटरको मूल्य एउटै छ । अब भन्नुस्, उपभोक्ताहरू कति ठगिएका होलान् ?

एउटा व्यक्तिगत प्रश्न । तपाईंका कारण धेरैको बाहुबलीलाई अप्ठ्यारो परेको छ । उनीहरूको पावरले सरुवा भइएला भन्ने पिर लाग्दैन ?

जब कुनै लोभ हुँदैन, डर पनि हुँदो रहेनछ । म त तुरुन्तै सरुवा हुन चाहन्छु तर यहाँ को आउने ? मेरो लेभलको मान्छे यहाँ आउनै चाहँदैन । यसका केही कारण छन् । जस्तो, यहाँ कर्मचारीहरूकै गाली खानुपर्छ । व्यवसायीको तारो हुनुपर्छ, बाहुबलीहरूको धम्की सहनुपर्छ । यो अरू कार्यालयजस्तो १०–५ को मात्र ड्युटी हुने कार्यालय होइन, रातदिन खट्नुपर्छ तर अतिरिक्त भत्ता पाइँदैन । यहाँ खट्न नसक्ने मानिस आफैं साइड लाग्छ । सधैं ढिलो आएको देखेर घर परिवारका सदस्यहरू तपाईंको सरकारी जागीर हो कि प्राइभेट भनेर प्रश्न गर्छन् । सबैभन्दा ठूलो कुरा, तैंले राम्रो गरिछस्, स्याबास भन्ने मानिस हुँदैनन् । न त विदेश भ्रमणको अवसर नै पाइन्छ । यस्तो कार्यालयका हाकिमहरू २ वर्ष कहिले पुग्ला र सरुवा हुने भनेर चिन्तन गर्न थाल्छन् । म भने ३ वर्षदेखि के गरिरहेको छु भनेर कहिलेकाहीँ आफैंसँग प्रश्न सोध्छु । 

प्रकाशित :पुस ३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्