विवाहको अर्थशास्त्र

- अविरल थापा

मंसिर २९, २०७२-
हजुरबुवाको पालामा विवाह गर्ने बेला केटो पल्टनमा छ भनेपछि ल हेर्नै पर्दैन, ढुक्क भएर छोरी दिए हुन्छ भन्थे रे ! बुबाको पालामा केटाको सरकारी जागिर भएपछि सजिलै कुलघरानकी केटी दिन्थे रे ! हिजोआज केटो विदेशमा छ, अझ युरोप, अमेरिकामा छ भनेपछि छोरी दिन पाए हुन्थ्यो भन्नेहरूको ताँती हुन्छ । 
जुग फेरियो तर तीनवटै पुस्तामा हेरिएको मुख्य कुराचाहिं केटाको आर्थिक हैसियत नै हो । आफ्नी छोरीलाई राम्रोसँग हेरचाह गर्ने कमाइ छ कि छैन भनेरै केटाको छनौट गरिन्छ । आजकाल युवाहरू काम वा अध्ययन गर्न विदेश जाने र केही वर्षपछि नेपाल आई विवाह गरी फर्कने लहर चलेको छ । प्रेम गर्ने बेलामा आफ्नै छनौट र रहरमा गरे पनि युवतीहरू विवाह गर्ने कुरामा परिवारको वा समाजको प्रत्यक्ष अप्रत्यक्ष दबाबमा आउँछन् । आफूले प्रेम गरिरहेको युवक यहाँ पढिरहेको वा कामकाजमा भर्खर लाग्न खोजेको वा लागेको हुन्छ । त्यही बेला विदेशमा केही वर्ष बसेर उतैको ग्रिनकार्ड वा पिआरधारी अधबैंसे केटो विवाहका लागि घरेलु नेपाली युुवती खोज्दै देश पस्छ र यहाँकी युवतीको मथिंगल हल्लाउन सफल हुन्छ । छिटो सुख–सयलको जिन्दगी जिउने व्यक्तिगत इच्छा–चाहना अनि परिवारको दबाबमा आखिर उक्त केटी आफ्नो प्रेमी छोड्न तयार हुन्छे । त्यसैले ख्यालठट्टामा भन्न थालिएको छ— सकेसम्म आफ्नै प्रेमीसँग विवाह गर्नुनभए अर्कैको प्रेमी पर्छ । आर्थिक सुरक्षा र प्रलोभनमा परेर बनाइएका कैयन् वैवाहिक सम्वन्धहरू स्वदेशमै अथवा विदेशमै पुगेर पनि छोटो अवधिमै टुटेका कैयन् घटना पनि बरोबर आइरहेकै छन् । जसले जेसुकै भने पनि नेपाली समाजमा विवाह गर्ने बेला केटी वा उसको परिवारले केटा वा उसको परिवार कति शिक्षित वा गुणवान भन्दा पनि आर्थिक रूपले कति सम्पन्न छन्–छैनन् हेरेर अन्तिम निर्णय लिन्छन् । 

त्यसैगरी केटाले पनि रूपवती र आधुनिक देखिने प्रेमिका भए पनि विवाह गर्ने बेलामा चाहिं सुशील, सोझी, घरेलु र व्यवहारिक युवती खोज्छ । यसको पछाडि पनि आर्थिक कारण नै जोडिएको हुन्छ । युवकहरू प्रेमिका आधुनिक जीवनशैली जिउने खालकी भए पनि श्रीमती समझदार एवं व्यवहारिक होस् भन्ने चाहन्छन् । 

विदेशमा भएको केटो पनि विदेश गएर पाश्चात्य रहनसहनमा ढल्किएका केटीसँग विवाह गर्नुभन्दा आफ्नै देशका केटी सोझा होलान् भन्दै यहाँ आइपुगेको हुन्छ । त्यसैले हिजोआज धेरैका प्रेमी र जीवनसाथी अलगअलग हुन थालेका छन् । केटाले नेपालमा आएर केटी खोज्दा सकभर प्राविधिक विषय पढेकी जस्तै नर्स, ल्याब प्राविधिक आदि खोज्छन् ताकि विदेश लगेपछि राम्रो कमाइ गरेर आर्थिक सहयोग पनि गरोस् । केटीहरू पनि हुनेवाला श्रीमान्को विवाह अगावै सकेसम्म सहरमै घर गाडी, व्यवसाय वा राम्रो कमाइ हुने पद होस् भन्ने चाहन्छन् । 

यसरी सम्बन्धहरू आर्थिक चक्रव्यूहमा परेर जेलिन थालेका छन् र यसले अनेक खालका सामाजिक समस्या उत्पन्न भैरहेका छन् । आपसी समझदारी, विश्वास र प्रेमले जीवन सुखी हुन्छ वा पैसाले किन्ने सुविधाले भन्ने भ्रममा सम्बन्धहरू विकृत हुन थालेका छन् । स्वच्छसम्बन्ध र पवित्र प्रेमसहित बन्धनमा बाँधिनेहरू अझै नभएका चाहिँ होइनन् । धनले सुविधा किन्न सक्ला तर सुख किन्न सक्दैन । विदेश जाँदैमा सुख पाइन्छ भन्ने भ्रम त्याग्न नसक्दा अलपत्र पर्नेहरू पनि धेरै छन् । बाबुआमाहरूले पनि अब जनावरलाई झैं मारे पाप पाले पुण्य भनेर कन्यादान गर्ने हीन मनोवृत्ति त्याग्नुपर्छ । आफ्नी छोरीलाई समझदारीपूर्वक जीवन बिताउनु, दुई जना नै भएर आफ्नै मेहनतले आर्जिएको कमाइले जीवनयापन गर्नु, जीवनसाथीका हरेक संघर्षमा साथ दिनु र आपसी मेहनतले कमाएको धनमा गर्व गर्नु भनेर दिक्षा दिन सके समाज र सम्बन्ध निर्माणमा ठूलो परिवर्तन आउन सक्छ । 

शास्त्रमा भनिएको छ, असल श्रीमतीको परीक्षा श्रीमान्सँग धन नभएको बेला हुन्छ । त्यसैगरी असल श्रीमान्को परीक्षा ऊसँग प्रशस्त धन हुँदा हुन्छ । सम्बन्ध धनले होइन प्रेमले निर्माण गरौं । विवाहको माला पछि गएर कसैको गलपासो नबनोस् । विवाहको चक्र सात जुनीसम्म चल्छ भनिन्छ, यही जुनी कसैका लागि भार नहोस् ।

प्रकाशित :मंसिर २९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्