तीन पत्र डायरीका

- हिमाल घिमिरे

मंसिर २८, २०७२

पहिलो पत्र

प्रिय पूर्वप्रेमिका सुसाना!

पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनुपथ्र्यो/पर्छ । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगोजस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगोजस्तै लाग्छ । शान्त पोखरीमा गिट्टी फालिरहेको छु । तरङ्ग उठिरहेको छ । यो पत्र पढेर तिमी तरङ्गित छौ । तिमीलाई पक्कै पनि विरसिलो लागेको हुनुपर्छ । वास्तवमा म यही थाहा दिन चाहन्छु कि तिमीले छोडी गएपछि म एक्लो छैन । तिम्रा सम्झनाहरू साथमा छन् । हो, यति नै पनि पुग्दो छ तिमीभित्र बेचैनी रोपिदिन । यद्यपि म उसै/त्यसै किन छोड्थे र तिमीलाई !

(तिमीले छोडेको सात दिनपछिको डायरीबाट)

प्रिय सुसाना !

अविश्वासनीय र अकल्पनीयको संयोग हो रहेछ जिन्दगी । तिमी मेरी पहिली थियौ, यो हृदयलाई छुने, मलाई स्त्री र पुरुषको भिन्नता बुझाउने । तिमी त मेरी बाल्यकालकै साथी थियौ । मेरा निक्कै अनुभवहरू तिमीसित साझा छन् । मैले उनै कुरा फेरि गर्दा तिमीलाई सम्झिएको छु र यो कुरा मैले कामिनालाई भन्नु उचित मानेको छैन । ऊ मलाई असाध्यै प्रेम गर्छे जस्तो म तिम्रो प्रेममा बौलाउँछु, तर पनि ऊ र मबीच केही दूरी अवश्य छ । त्यो हो तिम्रो सम्झना । म कामिनासित रात बिताउँछु । खै के–के गरेर बित्छ रात पनि ! तर तिमीलाई आरोपित उसमा गरेरै बित्छ । साँच्चै जब हामी साथै रात कटाउथ्र्यौं मलाई उज्यालो चाहिन्थ्यो । तिम्रो मादक यौवनलाई आाखाहरूले पिई बस्थे, तर कामिनाप्रति ममा त्यस्तो सोच छैन । अँध्यारोमा पक्कै पनि निक्कै कुराहरू हुन्छन् नै, तर म तिमीलाई पाउँछु कामिनामा/अँध्यारोमा ।

(तिमीसित नभेटको ६ महिनापछिको डायरीबाट)

प्रिय !

सम्भवत: अब तिमी मसित आउनेछैनौं । म यो समयमा नितान्त एक्लो छु । किनभने कामिनासित पनि छुटेको अब धेरै दिन भयो । तिमीले छोडी गएको बेलाझैँ दु:खी छु । कोही भेट्नुअघिको एक्लोपन र छुट्टिएपछिको एक्लोपन धेरै विसंगत कुरा हुन् । अन्त्यमा यही आशा गर्छु कि तिमी अब पहिले जस्ती घमन्डी र जिद्दी छैनौ ।

पोखरीमा गिट्टी फाल्ने मान्छे! 

(कामिनासित छुटेको एक महिनापछिको डायरीबाट)

प्रकाशित :मंसिर २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्