त्यो उमेर

- सुविन भट्टराई

मंसिर २८, २०७२

एक जना वृद्ध देख्छु । ती वृद्ध सधैँ मेरो घर अगाडिको बाटो भएर हिँड्छन् । तिनका छाला आगोमा परेको प्लास्टिकझैँ कच्याककुचुक देखिन्छन् । आँखामा पावरवाला चस्माको पर्खाल लगाएका छन् । ढाड केही कुप्रिएको छ । दमको रोगी । अलिकति हिँड्यो कि स्वाँस्वाँ गर्ने । लट्ठीको सहाराले मात्र ठीकसँग हिँड्छन् । उनलाई देख्न थालेको ठ्याक्कै पच्चीस वर्ष भयो अर्थात् म केटाकेटी छँदादेखि नै उनलाई देखिरहेछु । फरक यति रह्यो, म बाल्यावस्थामा हुँदा यी वृद्ध वृद्ध थिएनन्, पचासको हाराहारी थिए । ठमठम हिँड्ने, हट्टाकट्टा, सम्भवत: कतै नोकरी गर्थे । गाउँतिर सबैले उनको आदर गर्थे, सरसल्लाह लिन्थे ।

अहिले उनलाई कसैले गन्दैनन् । कतै उनले आफ्नो विचार व्यक्त गर्न लागे भने पनि बेवास्ता गरेर हिँडिदिन्छन् । एउटा बूढो शरीर कुनै दिन मूढोझैँ ढल्छ र घाटमा गएर बल्छ । मान्छेको जीवन आखिर यत्ति त हो ! धेरैजसो बूढाबूढीलाई छोराछोरीले दुव्र्यवहार गरेको कुरा समाजमा धेरै सुनिन्छ । बिचरा बूढा, कति खिन्न मान्दा हुन्, कति बिरक्तिँदा हुन् । यस्तो सोचले मलाई खिन्न बनायो । सम्भवत: म पनि एक दिन त्यस्तै बूढो हुनेछु, कतै ढल्नेछु र आर्यघाटमा बलेर सिद्धिनेछु ।

मलाई ती बूढा मान्छेको असाध्यै माया लागेर आयो । मलाई थाहा थियो कि मैले तिनलाई होइन, आफ्नो भविष्यलाई माया गरेको थिएँ । बूढाको अनुहारमा आफ्नो भविष्यको अनुहार कल्पना गरेको थिएँ । त्यसैको प्रतिविम्ब ठोक्किएर फर्किएको थियो, मलाई त्यही प्रतिविम्बको माया लागेर आयो । एक दिन मनले आफैँलाई प्रेरणा दियो, बूढासँग कुरा गर्न । पच्चीस वर्षअघि कैलेकाहीं बूढाले स्नेहले कपाल मुसार्दै मलाई चकलेट दिन्थे । उनी अरू पनि थुप्रै केटाकेटीलाई त्यसरी चकलेट दिन्थे ।

एक दिन बूढालाई घरमै बोलाएँ । एक कप चिया बनाएर दिएँ । उनलाई मेरो घर कुन हो ? थाहा थिएन, मलाई चिनेनन् । मैले निकै बेर लाएर आफूलाई चिनाएँ । केही बेरपछि मैले बूढालाई नजिकै गएर उनको चाउरी परेको हात मुसार्दै भनेँ, ‘हजुरबुवा निकै बूढो हुनुभो हगि । हिँड्न पनि सक्नुहुँदो रहेनछ ।’ यो भन्दा अनुचित नहोला कि बूढालाई दिनदिनै बूढो हुँदै गएको देख्ने थुप्रै मान्छेमध्ये म पनि एउटा थिएँ । त्यसैले यो कुरा मेरो मुखबाट फुत्कियो ।

बूढाले आफ्नो हात मेरो हातबाट छुटाए । अनि अलिकति कडा हुँदै भने, ‘बाबु । यो आवश्यक छैन कि हरेक बूढो मान्छे दु:खी नै हुन्छ, मृत्युको भयले ग्रसित हुन्छ । जसै मान्छे बूढो हुँदै जान्छ उसले मृत्युको अनिवार्यतालाई राम्रोसँग बुझेको हुन्छ र त्यसलाई आत्मसात् गर्न तयार भएको हुन्छ । मैले यो उमेरमा मृत्यु कुर्नु र तिमीले आफ्नो जवानी जिउनुमा म केही फरक देख्दिनँ ।’

‘मेरो आशय त्यस्तो थिएन हजुरबुवा,’ म केही लज्जित भएँ । बूढाले भने, ‘मान्छे यसै पनि मर्छ उसै पनि मर्छ । मलाई थाहा छ, म कुनै पनि बेला मर्न सक्छु तर थाहा छ, म पछाडि फर्केर जब जीवनलाई हेर्छु नि मलाई एकदमै खुसी मिल्छ । मैले मेरो जिन्दगी सफलतापूर्वक बाँचें । मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन । बूढो भएकोमा कुनै खेद छैन । म मात्र बूढो भएको हो र ? प्रकृतीको नियमसँगै छु म । खान नपाएको कुरामा पश्चाताप गर्नुभन्दा खान पाएको कुराको स्वाद लिएर मुख मिठ्यायौँ भने त्यसले सन्तोष दिन्छ । म सन्तोषमा छु बाबु । मलाई प्रेम गर । दया गरिरहनु पर्दैन । तिमी पनि एक दिन बूढो हुन्छौ । मेरो आशिष लागोस् तिमीलाई कि त्यो उमेरमा पुगेपछि जीवनलाई पछाडि फर्केर हेर्दा तिमीले पछुताउनु नपरोस् ।’

म झनै लज्जित भएँ । बूढा उठेर घरबाट लट्ठी टेक्दै बाहिर गए । म जहाँ थिएँ त्यहीँ उभिइरहेँ । म पनि बूढो हुन्छु एक दिन । यी हजुरबुवाजस्तै जीवनलाई पछाडि फर्केर हेर्दा सन्तोष मान्न सक्ने ठाउँ र क्षमता आओस् । उनको आशिष लागोस् । मर्ने भय पालेर बस्नुभन्दा बाँचेको जीवनको स्मृतिमा सुख मान्ने शक्ति सबैलाई मिलोस् ।

प्रकाशित :मंसिर २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्