मजदुर मालिक हुन पाउने एक मात्र क्षेत्र हो पर्यटन

- अश्विनी कोइराला

मंसिर २५, २०७२

दीपक महत, अध्यक्ष, निट नेपाल 

२०४३ सालमा काठमाडौंका मुख्य स्थानमा रहेका झन्डै एक दर्जन प्रहरी चौकीमा बिहान तीन बजे तिर एक साथ ढुंगा–इँटा हानिएको थियो । पञ्चायती निर्वाचनको विरोधमा गरिएको उक्त आक्रमण नेपाली इतिहासमा ‘सेक्टर कान्ड’ का रूपमा प्रख्यात छ । अहिलेको एमाओवादी गठन हुनुअघिको एउटा हाँगोका रूपमा रहेको ‘मशाल’ ले त्यो काण्ड गराएको थियो, जसका प्रमुख योजनाकार मध्ये एक हुन्- दीपक महत । त्यही आक्रमण गरेको अपराधमा उनी दुई वर्ष जेल परे । यिनै व्यक्ति अहिले नेपालमा प्रख्यात पर्यटन व्यवसायी भएका छन् । टानका पूर्वअध्यक्ष एवं पर्यटन उद्योग प्रशिक्षक महत राष्ट्रिय पर्यटन व्यवसायी सघंका अध्यक्ष पनि हुन् । उनका समकालीन साथीहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीहरू ‘जनयुद्ध’ गरिरहँदा उनी भने डा. रामशरण महतको निकट रहँदै नेपालको पर्यटन क्षेत्रको भविष्य कोरिरहेका थिए ।

 

अहिले तपाईंका साथीहरू देशको भविष्य कोरिरहेका छन्, तपाईं पर्यटन क्षेत्रमा हुनुहुन्छ, कस्तो लाग्छ ?

अरूले के गर्नु भएको छ, यसै भन्न सक्दिनँ । म आफूले भने देशको भविष्य कोरिरहेको छु । हिजो जसले पर्यटकका भारी भोकेका थिए, आज ठूला पर्यटन व्यवसायी भएका छन् । नेपालका ९० प्रतिशत ट्रेकिङ व्यवसायीहरू हिजो मजदुर वा उनीहरूका सहयोगी थिए । तपाईंले यति एयरलाइन्सदेखि सामान्य ट्रेकिङ कम्पनीसम्मको इतिहास खोतल्नु भयो भने त्यही अवस्था पाउनु हुन्छ । यो मजदुरलाई मालिक बनाउने एकमात्र क्षेत्र हो । अहिले नेपालमा १ हजार २ सय ट्रेकिङ कम्पनी सक्रिय छन्, त्यसमध्ये १ हजार कम्पनीका मालिक कुनै बेला पर्यटक मजदुर थिए । एउटा सानो उदाहरण, अहिले नेपालमा जुत्ता कारखाना प्रशस्त छन् । त्यो जुत्ता कारखानाका मजदुरले जुत्ताको उद्योग लगाउँछु भन्यो भने कति पैसा लाग्छ, करोडौं रुपैंया जुटाउनु पर्छ । पर्यटन क्षेत्रमा त विदेशीहरूले नै ग्राहक ल्याइदिन्छन् । उनीहरूले नै कम्पनी खोलिदिन्छन् । दुवै तर्फलाई फाइदा हुन्छ । अरू क्षेत्रमा यस्तो अवसर आउँछ जस्तो लाग्दैन, मैले देखेको छैन ।

 

‘जनयुद्ध’’ तिर किन लाग्नुभएन ? साथी–भाइको तामझाम हेर्दा पश्चाताप लाग्दैन ?

जुन बेला हामीले सेक्टर कान्डको योजना बनायौं, त्यति बेला पार्टी नीति प्रहरी चौकीमा आक्रमण गर्ने भए पनि म त्यसको पक्षमा थिइन् । मलाई पार्टीले फिल्डको काम जिम्मा लगाएको थियो । मेरो नेतृत्वमा एक दर्जनभन्दा बढी साथी हुनुहुन्थ्यो । म साथीहरूलाई तालिम दिन्थें, आवश्यक तयारी गर्थें तर पार्टीभित्र यस्तो आक्रमण गर्नुहुन्न, हिंसा प्रयोग गर्नुहुन्न भनेर आफ्नो मत राख्थें । म जस्तो युवाले आक्रमणको विरोध गर्नुलाई कतै कायरताका रूपमा लिइन्छ कि भनेर काम फत्ते गरियो ।

आक्रमणपछि लामो समय पार्टीले त्यसको जिम्मेवारी लिएन । हामी पक्राउ परेपछि मात्र घटनाको रहस्य खुल्यो । नीति र व्यवहार फरक देखियो । यो चरित्र मलाई ठीक लागेन । प्रजातन्त्र आएपछि म विस्तारै पार्टीमा निष्क्रिय हुन थालें । जब पार्टीले ‘जनयुद्ध’मा जाने निर्णय गर्‍यो, त्यसबाट अलग हुनु नै ठीक हो भन्ने लाग्यो । ‘जनयुद्ध’ले गति लिँदै गएपछि केटाहरूले गर्छन् कि क्या हो भन्ने नलागेको होइन तर आज मैले जे गरेँ ठीक गरेको रहेछु भन्ने लागेको छ । 

तपाईं अहिले पर्यटन क्षेत्रको महत्वपूर्ण व्यक्तित्व बन्नु भएको छ । राजनीतिक दृष्टिकोणले हेर्दा पर्यटन र राजनीतिबीच कस्तो सम्बन्ध देख्नुहुन्छ ?

राजनीतिक स्थायित्वले देशका सबै कुरालाई राम्रो गर्छ । प्रजातन्त्रपछि देशले पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्‍यो । डा. रामशरण महतको पालामा खुला अर्थनीति लागू भएपछि निजी एयरलाइन्स खुले, पर्यटन व्यवसाय गर्न राजपरिवारका मानिस नै हुनुपर्ने वा प्रभावशाली व्यक्तिलाई आफ्नो पार्टनर बनाउनु पर्ने बाध्यताको अन्त्य भयो । पर्यटनलाई नेपालको प्रमुख आयस्रोतका रूपमा स्वीकार गरेर पर्यटन बोर्ड गठन भयो । ठूलो सम्भावना देखा परेपछि हजारौं मानिस पर्यटन व्यवसायतर्फ आकर्षित भए । हजारौं होइन, लाखौंको रोजगारी थपियो । यसरी हेर्दा राजनीतिले लिएको नीतिले ठूलो प्रभाव पार्छ भन्ने देखिन्छ । 

राजनीतिकै कारण पर्यटन क्षेत्रले कष्ट भोगेका उदाहरण पनि त छन् नि, होइन ?

यो क्षेत्र सेयर बजार जस्तै छ । राजनीति सुध्रदा यो माथि जान्छ, खराब हुँदा बिग्रन थाल्छ । प्रजातन्त्रले केही राम्रा काम त गर्‍यो तर राष्ट्रिय ध्वजाबाहक विमान टाट पल्टन पुग्यो । कुनै बेला नेपाल एयरलाइन्ससँग १४ वटा विमान थिए, त्यो दुईवटामा झर्‍यो । जे प्रगति भयो, त्यो निजी क्षेत्रको मेहनत ले नै भयो । सरकारले मेहनत गरेन । यो प्रगतिलाई ‘जनयुद्ध’ले ब्याकमा लग्यो । पर्यटकलाई ‘युद्ध’ शब्ददेखि नै डर लाग्छ । युद्ध भएको ठाउँमा मानिस आउने कुरै भएन । त्यसमाथि कम्युनिस्ट भनेपछि युरोपियन–अमेरिकी, जापानी तथा भारतीय नागरिक त्यसै हच्किन्छन् । नेपालमा ‘सिभिलवार’ भैरहेको सुनेपछि र ठूल्ठूला आक्रमण हुन थालेको खबर पश्चिमा मिडियामा पुगेपछि त यो क्षेत्र थला नै पर्‍यो । त्यति बेला पर्यटन क्षेत्रमा ठूल्ठूला लगानीका होटलहरू सञ्चालन हुन थालेको थियो । सगरमाथा र नेपालको सौन्दर्यका बारेमा जोडतोडका साथ प्रचार हुन थालेको थियो । ठीक यही बेला ‘जनयुद्ध’ पिकमा पुग्यो । माओवादीहरूले पर्यटकलाई कहिल्यै आक्रमण गरेनन् तर पर्यटक डराएरै आइदिएनन् ।

अर्को कुरा बन्द–हड्तालको परम्परा यसरी बढ्यो कि त्यसले यहाँ आइपुगेका पर्यटकमा पनि नकारात्मक प्रभाव पार्‍यो । यसरी राजनीतिले हामीलाई माथि पनि पुर्‍याएको छ, तल पनि झारेको छ । ढिकी कुटे जस्तो यो कहिले तल झरको छ, कहिले माथि पुगेको छ । हामी पर्यटन व्यवसायीहरू यो क्षेत्रलाई माथि लान कम्मर कसेर लागेका थियौं, त्यो अवसर पछिल्लो राजनीतिक घटनाक्रमले नदिएकै हो । 

संविधानसभाको निर्वाचनपछि पर्यटन क्षेत्र उकासिएको हो ?

नेपालमा शान्ति सम्झौता भयो भन्ने म्यासेज गएपछि त्यसले संसारभरि नै सकारात्मक प्रभाव पार्‍यो । पर्यटकहरूमा उत्साह बढ्यो । फेरि लगानी थपिए । सरकारको ध्यान संविधान बनाउने, जनताका अधिकार सम्बोधन गर्ने कुरामा यसरी अल्झियो, अरू कुरामा खासै ध्यान दिन सकेन । जे जति प्रयास गर्‍यो, निजी क्षेत्रले नै गर्‍यो र प्रगति पनि राम्रै भयो । वास्तवमा नेपाल यस्तो क्षेत्र हो, यहाँ अलिकति वातावरण राम्रो हुँदा पनि सबै कुरा राम्रो हुँदै जान्छ । अलिकति कानुनमा सुधार गर्ने, भएका संस्थालाई व्यवस्थित गरिदिँदा मात्र पनि हामी माथि पुग्छौं । यसरी हेर्दा संविधानसभापछि सरकारले पर्यटन क्षेत्रमा खासै ध्यान दिन नसकेको तर पर्यटकहरू संसारभरिबाट ओइरिएको देखिन्छ । 

सरकारले केही गरेन भनेर केही उदाहरणहरू दिनसक्नुहुन्छ ?

नेपालमा पर्यटनको ठूलो सम्भावना छ भनेर सन् १९७५ मा जर्मन सरकारको सहयोगमा एउटा गुरु योजना तयार गरिएको थियो । यसलाई पर्यटन क्षेत्रमा जर्मन मास्टरप्लानका रूपमा चिनिन्छ । ४० वर्षअघि विदेशीले तयार पारिदिएको मार्गचित्रअनुसार पर्यटकीय गन्तव्य र यसमा गर्न सकिने कामहरू अहिले पनि भैरहेका छन् । त्यस यता कुनै पनि गुरु योजना बनाइएको छैन । एक वर्षअघि पर्यटन मन्त्रालयले ५ वर्षे रणनीति तयार नपारेको होइन तर त्यसको काम राजनीतिका कारण अघि बढिरहेको छैन । नेपालमा अझै धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन्, जसको अध्ययन, अनुसन्धान गरेर त्यसलाई मूलधारको पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्नुपर्ने छ । पश्चिमा देशले बनाएको मास्टर प्लान भएकाले यसमा धार्मिक पर्यटनको विकास परेको छैन । उदाहरणका लागि हिन्दू धर्मभित्रका शैवहरूका लागि पशुपतिनाथ र मुस्ताङको मुक्तिनाथ जति महत्वपूर्ण छ, वैष्णब धर्मालम्बीहरूका लागि मुस्ताङको दामोदर कुण्ड उत्तिकै महत्वपूर्ण छ । त्यसलाई हामीले मूलधारमा पार्नै सकेनौं । जसले गर्दा भारतका करोडौं वैष्णब यस्तो महत्वपूर्ण सम्पदा भ्रमण बञ्चित छन् । यस्ता दर्जनौं गन्तव्य छुटेका छन्, जसलाई दोहोर्‍याएर विचार गरेर त्यही अनुसारको योजना बनाउनु पर्छ । निजी क्षेत्रले यति ठूलो काम गर्न सक्दैन, सरकारले नै गर्नुपर्छ ।

अहिले भूकम्पछि नेपालको पर्यटन क्षेत्र ध्वस्त भएको कुरा गरिंदैछ, सत्य कुरा के हो ?

भूकम्प प्राकृतिक प्रकोप भएकाले यसले तत्काल असर पार्नु स्वभाविक हो । विश्वका चर्चित पर्यटकीय स्थलहरूमा यस्ता समस्या आउँछन् । समस्या आउनु ठूलो कुरा होइन, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ठूलो हो । हामी कहाँ भूकम्प अघि हुड हुड आँधी आयो । त्यसले ५० बढी पर्वतारोहीको ज्यान लियो । विश्वमा आएको वातवरणीय प्रदूषणको असर हिमालमा पर्‍यो र त्यत्रो ठूलो दुर्घटना भयो । यो संसारकै ठूलो समाचार बन्न पुग्यो । यो गम्भीर दुर्घटना भएकाले विश्वभर यसको प्रचार भयो तर हामीले घाइतेहरूको उद्धार गर्न सकेनौं, मृत्यु भएका व्यक्तिहरूको शव समयमा उनीहरूका आफन्तको जिम्मा लगाउन सकेनौं अर्थात् हाम्रा स्रोत साधन र तत्परताको अभावले यो समाचार नकारात्मक रूपमा फैलियो । अरुतिर यस्ता घटनालाई तुरुन्तै व्यवस्थापन गर्ने क्षमता छ । त्यसैले यस्ता नकारात्मक घटना उनीहरूका लागि अवसर बन्न पुग्छ । हामीकहाँ स्रोत एवं साधनको अभाव छ, केही अप्ठ्यारो परे मानिसको ज्यानमै खतरा हुन्छ भन्ने सन्देश पुग्यो । हाम्रो देशमा भएको त्यत्रो अन्तर्राष्ट्रिय घटनालाई हामीले जोडतोडका साथ उठाउन सकेनौं । व्यवस्थित रूपले कुरा उठाएको भए पनि विश्व मञ्चमा हामी हिरो हुन्थ्यौं । 

भूकम्प पनि त्यस्तै कुरा हो । भूकम्प जानु, त्यसले जन–धनको क्षति गर्नुलाई सामान्य रुपमा लिइन्छ । भूकम्प गएर सुन्दर नेपाल ध्वस्त भएको कुरा फैलँदा यसको प्रचार नै भयो तर सँगसँगै पुनर्निर्माणका कुरा, नेपाल फेरि बन्न थालेको कुरा बाहिर जान सकेन । बरु दाताले दिएको रकम खर्च हुन नसकेको र लाखौं मानिस अहिले पनि पालमै बसिरहेको खबर फैलिरहेको छ । यसले पर्यटक आगमनमा ठूलो प्रभाव परेको सत्य हो । 

अनि महिनौं लामो तराई आन्दोलन र भारतको नाकाबन्दीको असरलाई चाहीँ कसरी लिनुहुन्छ ?

भूकम्पको असर विस्तारै कम हुन थालेको थियो । हामीले भूकम्पपीडितलाई व्यवस्थित गरेर ध्वस्त भएका संरचनालाई नै पर्यटकीय स्थलका रुपमा विकसित गर्न सक्थ्यौं तर तराई आन्दोलन र नाकाबन्दीले थप असर गर्‍यो । अहिले होटलहरू सून्य छन् । गत वर्षको यही महिना जति पर्यटक नेपाल आएका थिए, त्यसको तुलना गर्दा आधाभन्दा बढी पर्यटक घटेका छन् । हो, व्यवसायीहरूले यो महँगीमा पनि पर्यटकहरूलाई महँगो मूल्यमा पेट्रोलियम पदार्थ किनेर सेवा प्रदान गरिरहेका छन् । यसले उनीहरूको आम्दानी त घट्यो नै, पर्यटक नै कम आएपछि यो क्षेत्रको अवस्था निकै चिन्ताजनक भएको छ । कतिपयले त यो क्षेत्रमा अब केही हुँदैन कि भन्ने पीर गर्न थालेको देखेको छु । 

तपाईंलाई चाहिँ कस्तो लागिरहको छ ?

आतंकवादी आक्रमणमा परेको ट्वीन टावर हेर्न लाखौं मानिस अमेरिका पुग्छन् भने हामीकहाँ भएको सिभिल वारका घटनालाई किन हामी बेच्न सक्दैनौं ? ताइवानमा गएको भूकम्पले क्षतिग्रस्त संरचना हेर्न पर्यटक पुग्छन् भने हामी भूकम्पलाई नै किन मार्केटिङ गर्न सक्दैनौं ? नेपालीहरू चाँडै धनी हुने ठाउँ खोज्छन् । यही कारण कतिपयले भूकम्पबाट पीडित भएको भन्दै आफ्ना ग्राहकबाट रकम असुले । हामीले दीर्घकालीन सोच राखेर काम गर्नुपथ्र्याे । 

मेरो विचारमा स्थायी सरकार, सकारात्मक सोचले काम गर्ने राजनीतिज्ञ तथा देशका बारेमा चिन्तित कर्मचारी हुने हो भने नेपालमा अर्को वर्षदेखि नै १० लाख पर्यटक आउन थाल्छन् । एउटा पर्यटकले १ दिनमा ९ जनालाई रोजगारी दिन्छ । एउटा पर्यटक सरदर ११ दिन नेपाल बस्छ । यसरी हिसाव गर्दा १ करोड जनतालाई यसले सजिलै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पाल्छ । अब यो नाकाबन्दी र तराई आन्दोलन चाँडै टुङ्गिन्छ । त्यसपछि सबै मिलेर देश बनाउने तिर लाग्ने हो भने पर्यटन क्षेत्रले पनि गति लिन थाल्छ । माथि नै भनियो, यो क्षेत्र राजनीतिसँग प्रत्यक्ष जोडिएको छ । तराई आन्दोलनको अन्त्यले पनि संसारभरि सकारात्मक खवर फैलन्छ तर केही कुरामा सुधार भने गर्नैपर्छ । 

कस्तो सुधार ?

अहिले पनि कतिपय कम्पनी झोलामा चलेका छन् । दर्ता भएका कम्पनीमा पनि सरकारको पूर्ण नियन्त्रण र व्यवस्थापन छैन । कतिपय कानुनमा सुधार गर्नुपर्ने छ । विशेषगरी उपल्लो मुस्ताङमा जान अहिले पनि ठूलो शुल्क तिर्नुपर्ने बाध्यता छ । पर्यटन क्षेत्र कृषि र शिक्षापछि सरकारले महत्व दिनुपर्ने क्षेत्र हो, तर पर्यटन मन्त्रालयको बजेट यति न्यून छ कि पर्यटन बोर्ड बाहेक यो क्षेत्रलाई सघाउने अर्को कुनै उपाय नै छैन । बजेट कम हुनु र यही कारणले नयाँ गन्तव्यको अध्ययन, अनुसन्धान गर्न नपाउनु अर्को समस्या हो । अर्को महत्वपूर्ण समस्या भनेको पर्यटक भनेका विदेशी मात्र हुन् भन्ने कुरा सरकारी क्षेत्रमा परेको देखिन्छ । जबकि यो क्षेत्र आन्तरिक पर्यटनबाट मात्र व्यवस्थित हुन्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई नेपाल घुम्न प्रोत्साहन गर्ने वातावरण हुनुपर्छ । जुन देशका बौद्धिक वर्गले देश नै घुमेको छैन भने कसरी हुन्छ प्रगति ?

अहिले पर्यटन क्षेत्रमा पनि राजनीति घुस्न थालेको देखियो । सबै दल निकट भएर पर्यटकीय संस्था खोलेको र त्यसलाई राजनीतिले संरक्षण गरेको देखियो, के भन्नुहुन्छ ?

यस्तो व्यवसायिक संस्थामा राजनीति घुस्नु भनेको यसमा धमिरा लाग्नु हो । हिजो एउटै छातामा सबै व्यवसायी अटेका थिए, अहिले पार्टीपिच्छे मात्र होइन, प्रभावशाली नेताले नै संस्था खोल्न लगाएर उद्घाटन गरेका उदाहरण देखिन थालेको छ । यसले विज्ञ मानिसको सल्लाहभन्दा दल निकट व्यक्तिहरूको सल्लाहले काम गर्न थाल्छ । विज्ञ व्यक्ति राजनीतिमा जाँदैनन्, अवसरवादीहरू विज्ञ हुनतिर लाग्दैनन् । यसले अन्तत्वगत्वा देशको पर्यटनलाई नै असर पर्छ । हाम्रो देशमा राजनीतिले सपारेको क्षेत्र कुन छ र पर्यटन त्यसबाट अछुतो रहला ? 

प्रकाशित :मंसिर २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्