कहिले उक्सिएला पर्यटन ?

- अश्विनी कोइराला

मंसिर २५, २०७२

नेपाली पर्यटनको अवस्था कस्तो छ बुझ्न धेरै मेहनत गर्नु पर्दैन, काठमाडौंको ठमेल क्षेत्र एकपटक फन्को मारे पुग्छ । पर्यटन उद्योग अकासिएका बेला ठमेल क्षेत्र विदेशी अनुहारको इन्द्रेणी मात्र देखिँदैन, व्यवसायीहरू भर्खरै प्रेममा परेको युवाझैं ओठमा मुस्कान नचाउँदै गुनगुनाइरहेका भेटिन्थे । विदेशीहरू बस्ने होटल र किनमेल गर्ने पसलमा मात्र चाप हुँदैन, युवतीहरूको फेसन र व्यवहारमा पनि परिवर्तन आउन थाल्थ्यो । ठमेल क्षेत्रका स–साना पसलदेखि ट्याक्सीसमेत भरिभराउ हुन्थे । 

भूकम्पयता ठमेल क्षेत्रमा अनौठो उदासी देखिन थालेको छ । त्यहाँ कार्यरत मजदुर, कर्मचारीहरू भर्खरै आफन्त गुमाएझैं उदास र उजाड देखिन्छन् । उनीहरूको भावभंगिमा हेर्दै सताउने खालको छ । नेपालमै बसेर देश बनाउँछौं भन्ने व्यवसायीहरू अहिले आफ्ना विदेशी मित्रहरूलाई फोन गरेर विदेशमा बस्ने र व्यापार गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्न थालेका छन् । 

हुन पनि ठमेल क्षेत्रमा ग्याँसको अभावका कारण पर्यटकहरू पाउरोटी चपाउँदै हिँडेको देखिनु सामान्य हुन थालेको छ । लोडसेडिङ बढेसँगै रेस्टुराँका मेनु छोट्टिंदै गएका छन् । होटलका कोठाहरू खाली हुँदै गएका छन् भने नेपाल आउने पर्यटकहरूले भ्रमण रद्द गरिरहेका छन् । ठूलो ऋण लिएर खोलिएका होटलहरूमा पर्यटकहरूले सोधपुछ गर्दैनन्, बरु बैंकका कर्मचारीहरूले ऋण कहिले तिर्नुहुन्छ भनेर फोन गर्न थालेका छन् । 

‘पर्यटन क्षेत्रमा यति चरम निराशाको अवस्था यसअघि मैले कहिल्यै देखेको थिइन ।’ पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडा भन्छन्, ‘लौ न सरकारले केही गरिहाल्छ कि भनेर मन्त्रालयतिर हेर्‍यो, ऊ नै ‘सक’ मा परेजस्तो देखिन्छ ।’ एमाओवादी निकट पर्यटन व्यवसायीहरूको संस्थाको प्रतिनिधित्व गर्ने गणेशले भूकम्पपछि पर्यटन क्षेत्रले ऋणमा लाग्ने ब्याज माफी गरिदिन सरकारसमक्ष अनुरोध गरेको थियो । त्यसको सुनुवाइ भैरहेको थिएन । ठीक यही बेला नाकाबन्दी भएपछि उनीहरू होटल नै बन्द गर्ने अवस्थामा पुगेका छन् । ‘सरकारले नै डिजेल, पेट्रोल र ग्याँसको कालोबजारीलाई प्रश्रय दिएको देखियो । थोरै आएका पर्यटकलाई महँगोमा किनिएका पेट्रोलियम पदार्थले सेवा दिन सकिएन ।’ गणेश भन्छन्, ‘भूकम्प र नाकाबन्दीले हजारौं बेरोजगार भएका छन् । त्योभन्दा ठूलो कुरा यो क्षेत्रमा राम्रो अनुभव कमाएका व्यक्तिहरू देश छाड्नुपर्छ कि भन्ने सोच्न थालेका छन् । यो ठूलो दुर्भाग्य हो ।’

सन् २०१३ मा नेपालमा पर्यटक आगमनको संख्या ८ लाख पुगेको थियो । सन् २०१४ मा यो संख्या अलिकति घटेर ७ लाख ६७ हजार पुग्यो । यद्यपि उनीहरूको बसाइ केही लामो भएकाले व्यवसायीहरूको आम्दानीमा खासै फरक परेन । जसै सन् २०१५ मा संविधान बन्ने र देशमा शान्ति स्थापना हुने अवस्था सिर्जना भएको कुराको प्रचार–प्रसार भयो, पर्यटन आगमन करिब १० लाख पुग्ने अनुमान गरिएको थियो तर अचानक आएको भूकम्प र त्यसले संसारभरि पुगेको नकारात्मक प्रचारका कारण नेपाल भ्रमणको तयारीमा रहेका पर्यटकहरूले धमाधम भ्रमण रद्द गर्न थाले । 

‘भूकम्पको मनोवैज्ञानिक असर यति ठूलो भयो कि ५० प्रतिशतले आफ्नो भ्रमण रद्द गरे ।’ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष ध्रुव रिजाल भन्छन्, ‘भूकम्पले देश नै तहतनहस भएको, कुनै पनि होटल बस्न लायक नभएको, धेरै बाटा–घाटा हिँड्नै नमिल्ने भएको र ठूला पहिरो गएको कुरा बाहिर पुग्यो । यसले गर्दा पर्यटकलाई नेपाल भ्रमण गर्ने हिम्मत नै भएन ।’ एमाले निकट पर्यटन व्यवसायीहरूको संगठनको प्रतिनिधित्व गर्ने ध्रुवले विदेशसम्म पुगेको नकारात्मक प्रभाव घटाउन विशेष पहल थालेका थिए । सबैलाई विश्वासमा लिएर काम अघि बढाइरहेका बेला भारतले गरेको नाकाबन्दीले अर्को बज्रपात थपिदियो । त्यसयता उनी आफैं कहाँबाट काम सुरु गर्ने भनेर बिलखबन्दमा छन् । 

‘हामीले कछुवाको गतिमा भैरहेको प्रगतिमै सन्तोष गरेका थियौं । कुनै दिन यो क्षेत्र यसरी लरबराउला र धराशायी नै होला भन्ने कल्पना पनि गरेनौं ।’ रिजाल भन्छन्, ‘अहिले जसरी चीनका ७ वटा नाका खोल्न सरकारले चासो देखाएको छ, त्यसैगरी पर्यटन क्षेत्रमा पनि भ्यागुतो उफ्रिएजस्तो प्रगति गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।’

 

विश्वमा नेपालको पर्यटन 

‘नेपाल संसारको सबैभन्दा सुन्दर देशमध्ये एक हो ।’ यो कुरा सम्भवत: सबैभन्दा बढी सुनिएको वाक्य हो । व्यवसायीहरूका अनुसार नेपालको सौन्दर्यका सम्बन्धमा जति हल्ला सुनिन्छ, त्योअनुसारको पर्यटकीय विकास यो देशमा भएको छैन । वल्र्ड इकोनोमिक फोरमले विश्वका १ सय ४० राष्ट्रमा गरेको सर्वेक्षणअनुसार ट्राभल एन्ड टुरिज्म सूचीमा नेपाल १ सय १२ औं स्थानमा छ । नेपाल संसारको सबैभन्दा सुन्दर देशमध्ये एक हो भने पर्यटकहरू किन यति कम ? यसको जवाफमा पर्यटन व्यवसायीहरू सरकारतर्फ औंला देखाउँछन् । उनीहरूका अनुसार नेपाल संसारको सुन्दरतम देशमध्ये एक हो भन्नेमा दुईमत छैन, तर यसको प्रचार जुन प्रकारले गरिनुपथ्र्याे, त्यो गर्न नसक्नु नै मुख्य कमजोरी हो । प्रतिवेदनले पनि त्यही कुरा देखाउँछ । प्रतिवेदनअनुसार एसिया–प्रशान्त क्षेत्रका २५ राष्ट्रमध्ये नेपाल २२ आंै स्थानमा छ । छिमेकी मुलुक चीन १० र भारत ११ औं स्थानमा छन् । यो तथ्यांकले नेपाल सुन्दर देश हो भन्ने कुरा अस्वीकार गरेको छ । एसियामा सबैभन्दा उत्कृष्ट मुलुक सिंगापुर हो भने विश्वभरिमा स्विट्जरल्यान्ड । नेपालभन्दा पछाडि ताजकिस्तान, पाकिस्तान र बंगलादेश रहेको रिपोर्टमा उल्लेख छ । एसिया–प्रशान्त क्षेत्रको उत्कृष्ट पर्यटकीय मुलुक सिंगापुर विश्व वरियतामा भने १० औं स्थानमा छ ।

प्रतिवेदनले सिंगापुर, थाइल्यान्ड र हङकङलाई सुन्दर देश मानेको छैन । तैपनि ती देशमा वर्षको १ करोडभन्दा बढी पर्यटक पुगेको देखिन्छ । त्यसैले प्रतिवेदनले यी देशलाई नेपालभन्दा माथि राखेको छ । हुन पनि विश्वको सुन्दर देश भए पनि विभिन्न आन्दोलन, बन्द–हड्ताल, सुरक्षा र उत्कृष्ट होटलहरूका कारण नेपालमा पर्यटकको संख्या अपेक्षा गरिएजस्तो छैन । २० वर्षअघि नेपालमा ३ लाख ६३ हजार ३ सय ९५ विदेशी पर्यटक आएका थिए । २० वर्षपछि यो संख्या दोब्बर मात्र भएको छ । जबकि २० वर्षभित्र पर्यटन क्षेत्रमा अर्बौं लगानी भित्रिएको छ भने प्रचार–प्रचार गर्ने शैलीमा पनि ठूलो परिवर्तन आएको छ । 

पहिले पर्यटकहरू हिमाली क्षेत्रको अवलोकन र यहाँको संस्कृति हेर्न मात्र आउँथे, अहिले माउन्टेन बाइकिङ, बन्जी जम्पिङ, जिपलाइनिङ, रक क्लाइम्बिङ, माउन्टेन क्लाइम्बिङ, ट्रेकिङ, बर्ड वाचिङ, प्याराग्लाइडिङ तथा जंगल सफारीजस्ता कार्यक्रम थपिएका छन् । पहिले धार्मिक पर्यटकहरूको संख्या निकै कम थियो, अहिले विदेशी पर्यटकहरूका लागि काठमाडौँमा रहेका पशुपतिनाथ, प्युठानको स्वर्गद्वारी, रसुवाको गोसाइाकुण्ड देवघाट, मनकामना, पाथिभरा मन्दिर, पाल्पाको महामृत्युञ्जय शिवासन, बुद्ध जन्मभूमि लुम्बिनी, स्वयम्भूनाथजस्ता अनेकौं विकल्प छन् । त्यसबाहेक केही व्यवसायीहरूले काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा कलात्मक दरबार, मन्दिर विभिन्न कला, वेशभुषा, रहनसहन, बाजागाजा, संस्कृति, मनोरम दृश्यलाई नै मार्केटिङ गरेर पर्यटक बढाइरहेका छन् । तैपनि जुन रफ्तारमा पर्यटकहरूको संख्या बढ्नुपर्ने हो त्यो रफ्तारमा नबढ्नुमा पश्चिमा मुलुकमा नेपालको राजनीतिका बारेमा भैरहेको नकारात्मक प्रचारलाई बढी जिम्मेवार मानिएको छ ।

इतिहास पनि अनौठो 

नेपालमा पर्यटनको व्यवसायिक सुरुवात गर्ने व्यक्ति विदेशी हुन् । वेलायती सेनाको कर्णेल जिमी रवर्ड नेपाल आएपछि यहाँको सौन्दर्य देखेर चकित भएका थिए । उनले आफ्नो आत्मकथामा आफ्नो सैनिक जीवनमा संसारका धेरै देश घुमेको तर नेपाल जस्तो सुन्दर देश नदेखेको कुरा उल्लेख गरेका छन् । यही सौन्दर्यले वशिभूत भएपछि उनले सन् १९६२ मा नेपालमै बसेर पर्यटनलाई व्यवसायिक रूप दिए । पहिलो पटक सन् १९६६ मा उनले बेलायतबाट ६ जना पर्यटक लिएर नेपाल घुमाए । उनको पहिलो टुर ४५ दिनको थियो जसमा बोराभरि पैसा बोकेर पर्यटकलाई यात्रा गराउनुपरेको स्मरण जिमीले गरेका छन् । 

जिमी रवर्डको मृत्युपछि राजपरिवारका सदस्यहरू र पञ्चायत राजनीतिमा प्रभाव जमाउने व्यक्तिहरूले नेपालको पर्यटनमा हात हाले । २०४६ सालको परिवर्तनपछि भने ती संस्थामा काम गर्ने मजदुरहरू नै मालिक बन्ने अवस्था आयो । थोरै पुँजी तर धेरै अनुभव भएको यो पुस्ताले एक डेढ लाख मात्र भएको पर्यटकको संख्यालाई तीन लाख माथि पुर्‍यायो । जब पढेलेखेका, युवा पुस्ता पर्यटन क्षेत्रमा आए, यसको प्रचार बलियो रूपमा हुन थाल्यो । यही कारणले गएको २० वर्षमा पर्यटकको संख्या करिब ८ लाख पुगेको छ । घोषित रूपमा पर्यटन क्षेत्रले नेपालको ३ प्रतिशत भार बोकेको मानिन्छ तर विज्ञहरू यो क्षेत्रले नेपालको १० प्रतिशत भार बोकेको अनुमान गर्छन् । ‘नेपालजस्तो सुन्दर मुलुकमा पर्यटकहरूको संख्या १ करोड हुनुपथ्र्यो ।’ युवा पर्यटन व्यवसायी एवं समाजसेवी प्रेम खत्री भन्छन्, ‘हामीले राम्रोसँग मार्केटिङ गर्न नसक्नु र राजनैतिक स्थायित्व नहुनु नै हाम्रोमा धेरै पर्यटक नआउने कारण हुन् ।’ खत्रीको विचारमा राजनीतिक स्थायित्व मात्र हुने हो भने पनि नेपालको पर्यटन उद्योगले अहिलेको तुलनामा दोब्बर विदेशी मुद्रा भित्राउने ताकत राख्छ । 

अब के गर्ने ?

भूकम्प र नाकाबन्दीका कारण नेपालको पर्यटन पुन: २० वर्षअघिको अवस्थामा पुगेको छ । त्यतिबेला १ लाख मानिस प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पर्यटनसँग गाँसिएका थिए । अहिले ५० लाखभन्दा बढी मानिस पर्यटनमा आश्रित छन् । पहिले यो क्षेत्रमा लगानी नगन्य थियो । अहिले पर्यटन क्षेत्र मौलाउने आशामा अर्बौं रुपैयाँ लगानी भैसकेको छ । भोलिका दिनमा पर्यटन क्षेत्र मौलाउने आशाकै कारण काठमाडौं र पोखरा जस्ता सहरमा ७ तारे होटलसमेत खुल्न थालेका छन् । यस्तो अवस्थामा अचानक आएको मन्दीले व्यवसायीहरूको सातो उड्नु स्वभाविक पनि हो । ‘आन्तरिक पर्यटन पहिलेभन्दा केही बलियो भएका कारण मात्र भयावह अवस्था बाहिर नआएको हो ।’ कलाकार तथा पर्यटन व्यवसायी आरपी पन्त भन्छन्, ‘अन्यथा कतिले आत्महत्या गरेको खबर सुन्नुपर्ने थियो ।’ 

यो क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि पर्यटनकर्मीहरू चुप लागेका छैनन् । सरकारी निकायलाई लगातार दबाब दिने र आफैं पनि आफ्ना ग्राहकलाई एक पटक नेपाल आइदिन अनुरोध गर्न थालेका छन् । अहिले पर्यटनकर्मीहरू गन्तव्य कार्यक्रमहरूका प्याकेज आह्वान गर्न थालेका छन् भने विदेशस्थित नेपाली दूतावासहरूमार्फत कार्यक्रम सञ्चालन गराउन थालेका छन् । यसका लागि उनीहरूले सरकारसँग समन्वय गरिरहेका छन् । विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई पर्यटन प्रवद्र्धन गर्न–गराउन प्रोत्साहित गरिरहेका छन् । जसरी गैरआवासीय नेपालीहरूले संसारभरि नाकाबन्दीको प्रचार गरे, त्यसैगरी नेपालको पर्यटनलाई माथि उकास्ने प्रयास जारी छ ।

सौराहालाई आन्तरिक पर्यटनले बचायो 

आरपी पन्त एवं शेरबहादुर परियार, सौराहाका पर्यटन व्यवसायी

भूकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्रले ठूलो दु:ख बेहोर्नुपरेको छ । सौराहामा पर्यटकहरूको चहलपहल हुँदा अकुपेन्सी रेट ८० देखि ९० प्रतिशतसम्म हुन्थ्यो । अहिले झरेर २० प्रतिशत पुगेको छ । सौराहामा वर्षमा करिब २ लाख पर्यटक पुग्छन् । त्यसमध्ये १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक हुने गरेका छन् । भूकम्पले बाह्य पर्यटक आउन छाडे, तैपनि हामीलाई आन्तरिक पर्यटनले टेको दिए । जब तराई आन्दोलनसँगै नाकाबन्दी थपियो, यसले आन्तरिक पर्यटनलाई समेत असर गर्‍यो । अहिले त सौराहा पुगेका पर्यटकलाई खाना ख्वाउन सक्ने अवस्था पनि छैन । सौराहामा साना–ठूला गरी १ सय १३ वटा होटल छन् । तीमध्ये अधिकांश होटल बन्द हुने अवस्थामा पुगेका छन् । यो क्षेत्रको पर्यटनमा १० हजार मानिस आश्रित छन् । सयौं हात्ती पालेका होटल तथा स्थानीय व्यवसायीहरूको स्थिति नाजुक हुँदै गएको छ ।

भूकम्पले सुरुमा ठूलो असर गरेको थियो, तर हामीले भूकम्पको असर सौराहामा नपरेको कुरा प्रचार गर्‍यौं । नेपालमा पनि केही क्षेत्रमा मात्र अप्ठ्यारो अवस्था आएको तर त्यो सामान्य हुँदै गरेको प्रचार गर्‍यौं । यो प्रचारले काम गर्‍यो र विस्तारै पर्यटन क्षेत्र उठ्न थालेको थियो । पर्यटकहरू आउन थालेका थिए तर नाकाबन्दीका कारण हामीकहाँ आएका पर्यटकहरूलाई राम्रोसँग खान दिन सक्ने स्थिति रहेन । हामीले बुकिङ गर्दा जुन मूल्य तोकेका हुन्छौं, त्योभन्दा बढी लिन मिल्दैन, तर ग्याँस र पेट्रोलको भाउ ५ सय प्रतिशतसम्म बढेका कारण हामीले धान्न सक्ने अवस्था भएन । 

यही अप्ठ्यारोले नै हामीलाई माथि पुर्‍याउँछ

प्रेम खत्री, पर्यटन व्यवसायी एवं समाजसेवी

युवा भएका कारण हुन सक्छ, म पर्यटन क्षेत्रमा आएका समस्याबाट रत्तिभर विचलित छैन । भूकम्पपछि पर्यटक आगमन ठप्पजस्तै भयो । मैले यो फुर्सदको अवसरलाई गाउँको सेवामा लगाएँ । भूकम्प गएपछि दसौं वर्ष भेट नभएका पर्यटकले मसँग सम्पर्क गरे । नेपालका भूकम्प पीडितहरूलाई सहयोग गर्ने इच्छा देखाए । उनीहरूकै सहयोगमा मैले २ करोडको खाद्यान्न, लत्ताकपडा वितरण गरें । त्यसपछि भत्किएका ५ वटा विद्यालय बनाउने रकम जम्मा भयो । आज गोर्खामा भूकम्पपछि निर्माण भएका विद्यालयका तस्बिरहरू अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा छापिएका छन् । जसले नेपालको सकारात्मक सन्देश गएको जस्तो लाग्छ । मेरो विचारमा भूकम्पले नेपालको प्रचार गरिदिएको छ । यसलाई क्यास गर्न सक्नु नै हाम्रो सफलता हो । 

नेपालको सन्दर्भमा भूकम्पपछि करिब ७५ प्रतिशत पर्यटक घटेका छन् । यही बेला नाकाबन्दीले ग्याँस एवं पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । पर्यटकलाई महँगो मूल्यमा ती सामग्री किनेर सेवा प्रदान गरिरहेका छौं । उनीहरूले पाएको सेवा देखेर मलाई भन्ने गरेका छन्, ‘तिमेरु भारतले नाकाबन्दी गरेको छ भन्छौं तर हामीले त्यस्तो केही महसुस गरेनौं ।’ विदेशमा नकारात्मक सन्देश नजाओस् भनेर म र मजस्ता धेरै व्यवसायीले जस्तो सुकै अप्ठ्यरो सहेर पनि सेवा सुचारु राखेका छौं ।

पर्यटक नआएर मधेसीलाई बढी घाटा छ 

बरुनिमा शेर्पा, सगरमाथा क्षेत्रका होटल व्यवसायी 

भूकम्पअघि खुम्बु क्षेत्र पर्यटकले भरिभराउ हुन्थ्यो । सर्वोच्च शिखर सगरमाथा मात्र होइन, यहाँको राष्ट्रिय निकुञ्ज र आधारशिविरसम्म पुग्नेहरूको लर्को लाग्थ्यो । भूकम्पले खुम्बु क्षेत्रलाई तहसनहस बनायो । त्यहाँ १८ जना मानिस मरे । करोडौं मूल्यका होटल, रेस्टुराँ तथा घरहरू ढले । यो घटना संसारभर फैलिएपछि पर्यटकहरू स्वात्तै घटे । रोएर बस्ने कुरा भएन, काम त गर्नैपर्‍यो । ढलेका होटल बनाउन फेरि ठूलो लगानी गर्नुपर्‍यो । भूकम्पले खुम्बु क्षेत्र केही भएको छैन भनेर प्रचार–प्रसार गर्न हामीले विदेशबाट टुरिस्ट एजेन्टहरू बोलायौं । उनीहरूले संसारका ठूला मिडियालाई आफ्नै खर्चमा यो क्षेत्रमा ल्याए । यो समाचार ठूला मिडियामा प्रसारण भएपछि डराई–डराई पर्यटकहरू आउन थालेका थिए । ठीक यही बेला मधेसी आन्दोलन र भारतको नाकाबन्दी भयो । यसले पर्यटकमा फेरि नकारात्मक असर पार्‍यो । 

मधेसीहरूलाई हिमालमा आम्दानी घटेर के भो र ? भन्ने लाग्न सक्छ । हामीलाई असर परेको छैन भन्ने लाग्न सक्छ, तर नेपालको आम्दानी घट्नु भनेको उनीहरूलाई पनि असर पर्नु हो । आज पर्यटकले नेपालका बारेमा नराम्रो सोचे भने हामीले सधैंका लागि आम्दानी गुमाउँछौं । यो पैसा सरकार हुँदै मधेससम्म पनि पुगेको छ, मधेसी राष्ट्रपतिदेखि सांसदसम्मले भत्ता खाएका छन् । हामीले १ सय रुपैयाँ कमायौं भने उनीहरूलाई ९० रुपैयाँ दिन्छौं । किनभने यहाँका धेरैजसो अन्न, फलफूल त उतैबाट आउँछ । हामीले चीनबाट सामान ल्याउन थाल्यौं भने उहाँहरूलाई घाटा हुँदैन, किन कुरा नबुझेको ?

यो देशमा शान्ति हुने हो भने लाखौं पर्यटक नेपाल आउँछन् । उनीहरूले भनेजति पैसा खर्च गर्छन्, यसरी नै देश बनाउन सकिन्छ । चाँडै नाकाबन्दी नखोल्ने हो भने यसले हामीलाई त अप्ठ्यारो पर्छ नै, उहाँहरूलाई पनि पर्छ ।

प्रकाशित :मंसिर २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्