नेपालमा अधिकारको कुरा बढी नै भयो

- अश्विनी कोइराला

मंसिर २१, २०७२

पशुपति मुरारका, अध्यक्ष- उद्योग वाणिज्य महासंघ

कुनै बेला उनका बुवा आत्मराम मुरारका सानोतिनो व्यवसायबाट उद्योग क्षेत्रमा प्रवेश गरेका थिए । त्यसलाई छोरा पशुपति मुरारकाले उद्योग क्षेत्रको ठूलो साम्राज्यमा परिवर्तन गरिदिए । सिमेन्ट, मैदा, रंगरोगन तथा मोबाइलका चर्चित व्यवसायी पशुपति मुरारका एक वर्षयता उद्योग वाणिज्य महासंघका अध्यक्ष भएका छन् । उक्त पदमा निर्विरोध चयन भएका मुरारका आफ्ना स्पष्ट कुराकानीका कारण पनि चर्चित छन् । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण उद्योगधन्दामा परेको अप्ठ्यारोमा उनले स्पष्ट धारणा राख्दै आएका छन् । चारैतिरबाट निराश भएको अवस्थामा मुरारकाले साप्ताहिकसँग केही गम्भीर कुरा उठाए । 

यो वर्ष उद्योग व्यवसायको अवस्थाको विश्लेषण कसरी गर्नुहुन्छ ?

भूकम्प प्राकृतिक विपत् थियो । वर्षको सुरुवातमै भूकम्पले देशलाई अस्तव्यस्त बनायो । मृत्युको ताण्डव र ठूलो भौतिक क्षतिका कारण मानिसहरू निराश भए । त्यो क्षतिले ७ लाख जनतालाई गरिबीको रेखामुनि धकेलेको थियो । अहिले तराईको बन्द–हड्ताल र भारतको नाकाबन्दीले थप ८ लाख जनतालाई गरिबीको रेखामुनि धकेल्ने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । यस अर्थमा भूकम्पभन्दा अहिलेको समस्या विकराल हो । यसरी हेर्दा यो वर्ष १५ लाख मानिस थप गरिब हुने भए भने देशले १ खर्ब ४० अर्ब रुपैंयाँ नोक्सानी बेहोर्ने देखिन्छ । 

कसरी ?

जस्तोसुकै अवस्थामा पनि खाने–बस्ने काम त गर्नैपर्‍यो । भूकम्पका बेला र अहिले पनि धेरै मानिसले काम गर्न पाएनन् । घरमा जे जस्तो छ, त्यही बचत गरेको पैसा र अन्य सामग्री खाए–खाइरहेका छन् । काम नभएपछि यस्तो अवस्था आएको हो । भूकम्पका कारण मानिसको बस्ने घर भएन । धेरैले ऋण काढेरै टहरा बनाए । अहिलेको अवस्थामा लाखौं मजदुरदेखि लिएर साधारण व्यवसायीहरूसँग काम वा व्यापार छैन । जागिर हुनेहरूले पनि भरपेट खान पुरानो मौज्जाद खर्च गर्नुपर्ने स्थिति छ । महँगी बढेका कारण यस्तो भएको हो । मानिसहरू घरमा जे–जस्तो नगद–जिन्सी छ, त्यही बेचेर गुजारा गरिरहेका छन् । 

देश कसरी यो ऋणात्मक अवस्थामा पुग्यो ?

एक दिनको बन्दले २ अर्बको नोक्सानी हुन्छ । यो मेरो होइन, राष्ट्र बैंकको डाटा हो । हामीले अघिल्लो वर्ष साउनमा यो वर्ष ६ प्रतिशतका दरले आर्थिक वृद्धि गर्ने लक्ष्य राखेका थियौं । अहिले यो प्रगति ऋणात्मक भएर माइनस १ प्रतिशत घाटा हुने प्रक्षेपण भएको छ । यसको अर्थ हामी कुल गार्हस्थ्य उत्पादनमा प्रगति गर्नु त कता हो कता, १ प्रतिशत तल झर्ने अवस्थामा पुग्यौं । अब भन्नुहोस्, देशको अवस्था कहाँ पुग्यो ? 

यो अवस्थाको जिम्मेवार को हो ?

राजनीतिक दल, सरकार तथा सबै दलका शीर्ष नेतृत्व । प्रजातान्त्रिक संस्कारमा आफूलाई चित्त नबुझेको कुरा सरकारसँग माग्न पाइन्छ । त्यसका लागि बन्दको ‘आह्वान’ गर्नु पनि ठीकै हो तर कसैले म तिम्रो मागसँग सहमत छैन, म आफ्नो उद्योग बन्द गर्दिनँ भन्न पाइने अवस्था छैन । बन्द आह्वान गर्ने होइन, पूरै बन्द गराइदिने संस्कार विकसित भएर गयो । हामीकहाँ मसल्स, धम्की तथा जोर–जबरजस्तीको संस्कार स्थापित गरिएको छ । हिजो हामीले जुन संस्कार स्थापित गर्‍यौं, आज त्यही संस्कारले सरकारलाई झुकाउने काम भैरहेको छ । अब यही संस्कार भोलि पनि कायम रहने सम्भावना छ । किनभने आज जुन संस्कार स्थापित छ, भोलि पनि यसैलाई हतियारका रूपमा प्रयोग गरिनेछ । 

उद्योगी–व्यवसायीको नाताले यो अवस्थामा तपाईंको मनमा कस्तो भावना आउँछ ?

हुन त जसले आन्दोलन गरिरहनुभएको छ, जनताका लागि नै गरेको भनिरहनुभएको छ तर जनताको अवस्था कस्तो भैसक्यो, मैले माथि नै भनिसकें । यता सरकार, जसले यो अवस्था आउन नदिन जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो, त्यस्तो भूमिका निर्वाह गर्न सकिरहेको छैन । यस्तो बेला मनमा प्रश्न आइरहन्छ, अब मैले व्यापार गर्ने कि नगर्ने ? हामीले व्यापार गर्दा सरकारलाई कर तिर्नुपर्ने, सरकारका सबै नियम मान्नुपर्ने तर सरकारले व्यापार गर्न न्यूनतम वातावरण पनि तयार नगरिदिने अवस्थामा हामीले कसरी देशका लागि काम गर्ने ? मेरो छोरा विदेश पढ्न जाँदैछ । केही समयअघि मेरो छोरा विदेशबाट नफर्कने पो हो कि, मैले बुवाको बिँडो थामेर जुन उद्योगलाई यहाँसम्म ल्याएँ, छोराले यसलाई अघि नबढाउने पो हो कि भन्ने चिन्ता लाग्थ्यो । अहिले लाग्न थालेको छ, यस्तो देशमा फर्किएर छोराले कसरी काम गर्छ ? मनमा नकारात्मक भावना आउन थालेको छ । 

तपाईं यति ठूलो उद्योगी–व्यवसायी भएर त यस्तो सोच्नुहुन्छ भने युवापुस्ताले के सोचिरहेको होला ?

अवस्था निकै चिन्ताजनक छ । सुरुमा हामी नेपालीहरूमा जागिरे प्रवृत्ति थियो । अलिअलि पढ्ने, जागिर खाने, जेनतेन जीवन चलाउने । पछिल्लो समयमा इन्टरप्रेनर जन्माउने लहड बढेर गएको थियो । २०४६ सालमा जब प्रजातन्त्र आयो, त्यसपछि देशमा उद्योग–व्यवसायको वातावरण बढेर गयो । त्यसपछि युवाहरू पनि उद्योग–व्यवसायको क्षेत्रमा आउन थाले । आज धेरै युवा यो क्षेत्रमा बडो मजबुतीका साथ उपस्थित छन् । बन्द–हड्तालको संस्कार नआएको भए, विभिन्न किसिमका राजनीतिक आन्दोलन र युद्ध नभएको भए हामी धेरै माथि पुगिसक्थ्यौं । गएको २५ वर्षमा देशमा २५ वटा सरकार फेरिए । सरकार परिवर्तन हुनेबित्तिकै कर्मचारीहरू पनि सरुवा हुने, आफ्नै मान्छेलाई राम्रो ठाउँमा राख्नुपर्ने, देशको होइन, दलको स्वार्थमा काम गर्ने प्रवृत्ति देखियो । यसरी सरकारमा भएकाहरूले देशका लागि होइन, आफ्नो पार्टीको स्वार्थमा मात्र काम गरे अनि जो सत्ताबाहिर छन्, उनीहरूले आन्दोलन र हड्ताल गरेर सरकार गिराउनदेखि लिएर देशलाई नै कमजोर बनाउने काम गरे । सरकारमा हुँदा चुप लाग्ने, बाहिर हुनेबित्तिकै आन्दोलन चर्काउने, अनौठो रोग छ नेपालमा । यस्तो स्थितिमा ३ सय ६५ दिनमा १ सय दिन पनि उद्योग चल्ने अवस्था छैन । त्यसैले देश धेरै माथि जान सकेन । तैपनि प्रगति भैरहेकै थियो । हामी त संसारभरको प्रगति देखिरहेका मान्छे । संसारभर प्रगति भैरहेको छ । सरकारले काम गर्ने वातावरण बनाइरहेको छ । हामी भने स–साना स्वार्थमा रुमल्लिरहेका छौं । यो देख्दा निकै दु:ख लाग्छ । धेरै युवा पलायन हुनुको कारण पनि यही हो । 

यो वर्ष देशले १ खर्ब ४० अर्ब गुमायो । यो नोक्सान ठूलो हो कि युवाहरूमा उत्पन्न निराशा ?

हो, यो वर्ष हामीले गुमाएको १ सय ४० अर्ब रुपैयाँ देशमा शान्ति भयो भने केही वर्षमा कमाउन सकौंला । पैसाको मूल्य ठूलो होइन तर देशबाट पलायन भएका युवाको मूल्यको हिसाब लगाउन सकिँदैन । ती युवाले विदेशलाई धनी बनाइरहेका छन्, बनाउनेछन् । यो सबैभन्दा ठूलो नोक्सानी हो । यो पलायनको पूर्ति गर्न धेरै गाह्रो छ । 

भनेपछि हामी गम्भीर अवस्थाबाट गुज्रिरहेका छौं, होइन ?

हो, हामी ठूलो भड्खालोमा परेका छौं । आर्थिक रूपमा पनि हामी गम्भीर मोडमा आइपुगेका छौं । 

यो मोडबाट फर्कने अवस्था छैन ?

जे सत्य हो, त्यो हामीले बोल्नैपर्छ । मैले नबोले पनि सबैले देखेकै कुरा हो । आमजनताले डाटा नपढ्नु अलग कुरा हो तर यथार्थ यही हो । यति हुँदाहुँदै पनि हामी कुन अर्थमा भाग्यमानी छौं भने हाम्रो देश जति तल पुगे पनि माथि आउने सम्भावना बोकेको क्षेत्र हो । हामीले देशको माया भएको नेता मात्र नपाएका हौं । ठूलो भिजन भएको, सबैलाई मिलाएर हिँड्ने र दलगत स्वार्थभन्दा माथि उठ्ने नेतृत्व नपाएका मात्र हौं । नत्र हामी यस्तो अवस्थामा पुग्ने मानिस होइनौं । हामी चाँडै नै प्रगति गर्न सक्छौं । 

धेरै वर्षदेखि यस्तै कुरा मात्र सुनिँदै आएको छ । अब त यस्ता कुरा कल्पनाजस्ता मात्र लाग्छन् नि ?

होइन यथार्थ हो । नेपालका दुई–चार कुरा यस्ता छन्, जसलाई अस्वीकार गर्नै सकिँदैन । जस्तो : हामी दुई विशाल मुलुकबीचको स्वतन्त्र राष्ट्र हौं । भारत र चीन जोड्ने पुल हुनु आफंैमा प्लस प्वाइन्ट हो । हामीले उत्पादन गरेको कुराको बजार खोज्दै भौंतारिनु पर्दैन । 

नजिकै हाम्रा लागि बजार छ । कुनै पनि उद्योगी–व्यवसायीका लागि यो निकै ठूलो कुरा हो । दोस्रो महत्वपूर्ण कुरा, १ सय ४० किलोमिटर उत्तर–दक्षिणमा अनौठो हावापानी छ । ४० डिग्री तापक्रमदेखि माइनस ४० डिग्री तापक्रममा हामीले संसारभरिका मानिसलाई सेवा–सुविधा उपलब्ध गराउन सक्छौं । मौसमका हिसाबले हाइ भ्यालु कृषि उपज लगाउन सक्छौं । विश्वप्रसिद्ध फलफूल र पर्यटकीय सुविधा दिन सक्छौं । जलविद्युत्को ठूलो सम्भावनालाई प्रयोग गर्न सक्छौं । पानीको राम्रो मूल्य लिन सक्छौं । बुद्ध र पशुपतिनाथको नाम बेचेरै पनि देशको कायापलट हुन सक्छ तर काम नै गर्न नपाएपछि कसरी देश अघि बढ्छ ?

यति हुँदाहुँदै पनि हामी किन अघि बढ्न सकेनौं ?

सधैंभरि आन्दोलन, सधैभरि बन्द–हड्ताल र असमझदारीका कारण हामीले काम गर्न पाएनौं । सरकारले पनि वातावरण बनाएन । सरकारका कर्मचारीलाई राष्ट्र सेवक भनिन्छ । के हामी राष्ट्रसेवक होइनौं ? हामीले सधैंभरि कर, भ्याट तिर्नेदेखि लिएर गर्नुपर्ने दायित्व निर्वाह गरिरहेका छौं तर बन्द–हड्ताल हुँदा सरकारले क्षतिपूर्ति दिनुपर्दैन ? म त के भन्छु भने, हामीलाई राम्रोसँग काम गर्ने वातावरण बनाइदेओस्, पूर्वाधारको विकास गरिदेओस्, हाम्रा अप्ठ्याराहरू खुलाइदेओस् । हामी पाँच वर्षमै देश बनाउन सक्षम छौं । हामीले तिरेकै करबाट देश कायापलट हुन्छ । 

निजी क्षेत्र अहिले के चाहन्छ ?

हाम्रो नेतृत्वमा आर्थिक भिजन त परको कुरा आर्थिक क्षेत्रको सामान्य ज्ञान पनि छैन । निजी क्षेत्रलाई शंकाको नजरले हेरिन्छ । सिद्धान्तको कुरा धेरै भयो । जनताको अधिकारको कुरा पनि अब बढी नै भयो । अब नेतामा आर्थिक क्षेत्रको ज्ञान हुनुपर्छ, भिजन हुनुपर्छ । सकारात्मक सोचका साथ आर्थिक प्रगति गर्छु भनेर नेतृत्वमा कोही आयो भने निजी क्षेत्र धेरै खुसी हुन्छ । हाम्रो काम नै उद्योगधन्दा लगाउने, कर्मचारीलाई बढीभन्दा बढी सेवा–सुविधा दिने र सरकारलाई बढीभन्दा बढी कर तिर्ने हो । यसो गर्दा हामीलाई धेरै खुसी लाग्छ । हामीलाई वातावरण बनाइदिनुपर्छ । हाम्रो कामलाई नोटिस गर्नुपर्छ । बन्द–हड्ताल धैरे भए, अब काम गर्न दिनुपर्छ । त्यति भए देश बन्छ, अरू धेरै कुरा चाहिँदैन ।  

प्रकाशित :मंसिर २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्