चीलको कथा र नाकाबन्दीको मार

- सुविन भट्टराई

मंसिर २०, २०७२

नाकाबन्दीले हामी निराश छौँ, उदास छौँ, हतास छौँ । इन्टरनेटमा भाइरलजस्तो भएको यो कथाले सबैलाई ऊर्जा देला । कथाको जैविक विश्वनीयतालाई भुलेर आख्यानात्मक मनन मात्र गरौँ । कहिलेकाहीँ निराधार र तथ्यहीन कुराले पनि जीवनमा ठूलो ऊर्जा दिन सक्छ ।

कतिले सुन्नु’भा होला । कतिलाई नयाँ लाग्ला । ज–जसलाई जे लाग्ला, पक्कै राम्रोचाहिँ सबैलाई लाग्ला ।

यो चीलको कथा हो । 

चीलको औसत आयु ५० वर्षजति हुन्छ । जब चीलको उमेर ३० वर्ष पुग्छ, तब उसको शारीरिक स्थिति निकै कमजोर हुन्छ । बाँच्नै गाह्रो पर्ने गरी । यतिबेला चीलको पञ्जाले आफ्नो लचकता गुमाउँछन्, सिकार गर्न पनि अप्ठेरो पर्ने गरी । चुच्चो पनि बांगो र भुत्ते हुन्छ । पखेटाका प्वाँखहरू थेग्नै नसकिने गरी भारी हुन थाल्छन् । उड्न पनि नसक्ने स्थिति सिर्जना हुन्छ ।

या त मर या त केही गर, अर्थात् परिवर्तनको प्रक्रियाबाट जाऊ— यो दुइटाबाहेक अरू विकल्प हुँदैन चीलसँग । परिवर्तनको प्रक्रियामा जान मर्नुभन्दा पनि बढी कठिन हुन्छ । चील करिब पाँच–छ महिनासम्म यो प्रक्रियाबाट गुज्रन्छ ।

यस्तो बेला चील कुनै पहाडमा ढुंगा भएको ठाउँमा जान्छ र बस्छ । त्यहाँ उसले संघर्ष गर्न थाल्छ । ढुंगामा निरन्तर उसले चुच्चो ठोक्काउँछ र झार्छ र नयाँ चुच्चो नपलाउञ्जेलसम्म कुर्छ । पलाएको नयाँ चुच्चोले आफ्नो पञ्जा उखेल्न थाल्छ र त्यसपछि पलाएको नयाँ पञ्जा र चुच्चोको सहायताले उसले आफ्ना पुराना प्वाँखहरू उखेल्छ र फ्याँक्छ अनि फेरि नयाँ प्वाँख नपलाउन्जेल कुर्छ ।

त्यसपछि चीलले नयाँ जीवन पाउँछ । स्वस्थ जीवन पाउँछ अनि बाँकीको २०–३० वर्ष आरामले जिउँछ । माथि नै भनिसकेँ, यसको वैज्ञानिक आधार छैन तर संसारभरि धेरै मान्छेले यो कुरा सुनेर आफ्नो जीवनमा नयाँ आयाम भने थपेका छन् ।

नयाँ कुरा पाउन पुराना कुराहरू फ्याँकिनुपर्छ । यही हो क्रान्ति भनेको । पुराना, थोत्रे पात झरेपछि नै बोटबिरुवामा नयाँ र सुन्दर पात पलाउँछन् ।

हामी निराश र हताश हुनु पनि स्वभाविक हो । क्षणभरलाई परिस्थितिको प्रभाव झेल्न गाह्रो पनि हुन्छ, तर परिवर्तन नै हुँदैन, केही राम्रो हुँदैन । सब खत्तम भयो भनेर उपल्लो तहमै पुगेर हताश पनि हुनु हुँदैन । निराशा भनेको पनि परिवर्तनको प्रक्रिया हो । रातपछि दिन आएझैँ ।

अहिले हाम्रो देशको स्थिति पनि ठ्याक्कै त्यही चीलकै जस्तो छ । 

निराशाको कुनै आयु हुँदैन । यो सदियौँदेखि विद्यमान छ । ०७ सालमा प्रजातन्त्र आउँदैन भन्नेहरू पनि थिए । ०४६ सालमा पनि प्रजातन्त्र आउने कुरामा शंका व्यक्त गर्नेहरूको कमी थिएन । माओवादी जनयुद्ध चलिरहेका बेला युद्धविराम होला कि नहोला भन्ने कुरामा शंकैशंका थियो । हामीले गणतन्त्र र संविधानसभाको कल्पना गरेका थियौँ । साकार भएरै छाड्यो । देशमा संविधान बने कान काट्छु भन्नेहरू अहिले कानसहित फरार छन् । निराशाका बाबजुद पनि आशाको ज्योति हाम्रै अनुकूलतामा प्रज्वलित भैरहेका छन् ।

नयाँ संरचना यसै बन्दैन । पुराना संरचनाहरू ढल्छन् । ध्वस्त हुन्छन् । च्यातिन्छन् । चुँडिन्छन् ।

हामी धेरै नै ध्वस्त भयौँ । भूकम्प र नाकाबन्दीका नाउँमा । च्यातियौँ । चुँडियौँ । धुजाधुजा भयौँ । यो सबै प्रक्रियापश्चात् हामी त्यही चीलजस्तै नयाँ चुच्चो, प्वाँख र पञ्जा लिएर आकाशमा मस्त उड्ने नै छौँ । यसका लागि हामीमा धैर्य र हिम्मत कायम रहनुपर्‍यो । परिवर्तन पक्कै हुन्छ । राम्रो पक्कै हुन्छ ।

 

प्रकाशित :मंसिर २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्