भट्टीको पेट्रोल

- अश्विनी कोइराला

मंसिर १८, २०७२

मधेस आन्दोलन १ सय दिन पुगेको उपलक्ष्यमा बृहत् सभा हुँदै थियो । काठमाडौंसहित पहाडमा मधेस आन्दोलनको औचित्यमाथि प्रश्न गर्दै भारततिर औंला ठड्याइँदै थियो । ठीक यही बेला कीर्तिपुरबाट बल्खुतिर आउने एउटा भट्टीमा अचानक आगो लाग्यो । हामीमध्ये केही यो कोलाहलबाट बेखबर घाम तापेर बदाम खाइरहेका थियौं ।

०००

संविधान राम्रोसँग पढेका र बुझेकाहरू मधेसको आन्दोलनप्रति आश्चर्य प्रकट गर्छन् । आन्दोलन अपरिहार्य नै हो भने मधेस र थारु मात्र होइन, आदिवासी–जनजाति र दलितहरूले पनि आन्दोलन गर्नुपर्छ । खोज्ने नै हो भने संविधानमा कमजोरीहरू प्रसस्त छन् । संविधानले अन्यायमा पारेको कुनै वर्ग छ भने त्यो समूह पहाडे बाहुन–क्षेत्री र अन्य खसहरू हुन् । उनीहरूले खाइपाइ आएको राज्यका धेरै सेवा–सुविधा यो संविधानले राम्रैसँग खोसिदिएको छ । तैपनि यो वर्गले संविधानलाई ह्दयदेखि नै स्वागत गर्‍यो ।  यो संविधान ती व्यक्तिहरुरूका लागि बनेको छ, जसले यसअघि चाहेजस्तो अवसर पाएनन् । 

०००

नजिकै आगो लागेको कुरा एम्बुलेन्सको एकोहोरो आवाज आएपछि मात्र हामीले थाहा पायौं । मानिसहरू आगलागी भएको घरतर्फ कुदिरहेका थिए । यसले हामीलाई पनि त्यता जान उक्सायो । एउटी २०–२१ वर्ष जतिकी सुन्दर युवती जलेकी थिइन् । नजिकै एक जना युवा ट्याक्सी ड्राइभर रोइरहेका थिए । उनी भन्दै थिए, ‘हिजो मात्र हामीले विवाह गर्ने योजना बनाएका थियौं । सबै बरबाद भयो । मेरै कारणले यो सब भयो । मैले राखेको पेट्रोलका कारण यो सब भयो । मलाई जेल हालिदेऊ । मलाई पनि जलाइदेऊ ।’ उनको रुवाइ ह्दयविदारक थियो । युवतीको स्थितिभन्दा ती ड्राइभरको रुवाइले मानिसको ध्यान तानिरहेको थियो । 

००००

नाकाबन्दी कायम छ तर केही अगुवा नै भारतले नाकाबन्दी गरेको होइन भनेर छिमेकीको पक्षपोषण गरिरहेका छन् । आन्दोलन जारी छ तर यसरी सम्पूर्ण नेपालीलाई नै अप्ठ्यारोमा पार्नुपर्ने संविधानमा के त्रुटि भयो, स्वयं संविधानविद्हरू पनि राम्रोसँग भन्न सकिरहेका छैनन् । निरक्षर र संविधान नपढेका वा बुझ्न नसक्ने ठूलो समूह  ‘हामीलाई संविधानले अन्याय गर्‍यो’ भनिरहेका छन् । यसो भनिने वातावरण र अफवाह कसले फैलायो, स्पष्ट छैन । सरकार छ तर यो सरकार के गरिरहेको छ, कसैले भेउ पाएका छैनन् । छिमेकी देशका राजदूत प्रतिपक्षी नेताजस्तो सरकारको आलोचना गरिरहेका छन् र आन्दोलनकारीहरू आफ्नै परिवारका सदस्यहरूको आलोचना सुनेर खुसी भैरहेका छन् । 

०००

जलेकी युवती लिएर एम्बुलेन्स अस्पतालतिर गयो । ट्याक्सी ड्राइभर पनि गाडी लिएर एम्बुलेन्सको पछि लागे । सबै लाखापाखा भए । हामी फेरि पहिलेकै ठाउँमा आएर घाम ताप्दै बदाम खान थाल्यौं । लाग्यो, माथिका कुनै घटना घटेकै छैनन् ।

प्रकाशित :मंसिर १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्