जाग्नुहोस् प्रिय युवा मनहरू

- सुविन भट्टराई

मंसिर १४, २०७२

दुई महिना नाघ्यो नाकाबन्दीको । गरिखानेहरू अब के खाने ? भन्दै कष्टपूर्ण जीवन बिताइरहेका छन् । न तेल, न ग्याँस । सबै निराश । सबै उदास । खै कोसँग पो होला यो निराशाको निकास ? सरकार सत्ताको नशामा लिप्त । जनता तप्त, विरक्त अनि विक्षिप्त ! 

भन्थे जहाँ पहिरो जान्छ, त्यहाँ गएको गयै हुन्छ । यसपालि भूकम्प काफी थिएन र यत्रोविधि हुनुपर्‍या ?

यो स्थिति आउनुमा धेरै त हामी स्वयं पनि जिम्मेवार छौँ । मैले गर्ने कुरा थोत्रे हुन् । डेट एक्स्पायर्ड, रद्दीमा फाल्ने बेला भएका, थुक्ने बेलाको चुइँगमझैँ । यद्यपि सत्य पनि यही हो । 

हामी सधैँ राजनीति फोहोरी खेल हो भनेर पन्छिरह्यौँ । यो सबै पार्टीको, बूढाखाडाहरूको, अझ सेतै फुलेकाहरूको काम भनेर ढुक्कै छाडिदियौँ । अहिले तिनै सेतै फुलेकाहरूले गरेको राजनीतिले कालोबजारी फस्टाएको हो । 

कांग्रेस, एमाले, माओवादी वा अन्य नयाँ, पुराना शक्तिको भागमा छाडिदिएर सधैँ आफूलाई जिम्मेवारीबाट पन्छाइरह्यौँ । मानौँ देशमा आफ्नो कुनै भूमिका छैन । मानौँ हामी केही रात बिताउन आएका टुरिस्ट मात्र हौँ ।

राजनीति कुनै पद र ओहदाका लागि मात्र गरिँदैन । यो कुरा युवाहरूले बुझेर पनि बुझ पचाए । राजनीतिलाई फोहरी खेल भनियो । त्यसलाई सफा गर्ने हिम्मत कम्तीमा सफा नियत भएका मानिसहरूले कहिल्यै देखाएनन् ।

यतिका वर्षमा के भयो ? कुनै एउटा पार्टी आयो, कोसी बेच्यो । अर्कोले महाकाली बेच्यो । अर्कोले इमान बेच्यो । अर्कोले स्वाभिमान बेच्यो । आफ्नै आमाको चोक्टा बनाएर यी पार्टीहरूले देशलाई कौडीको भाउमा बेचिरहे । अनि हामीले तिनै दलाललाई पटक–पटक भोट हालिरहने गल्ती गरिरह्यौँ ।

चाहे डाक्टर, चाहे लेखक, चाहे पत्रकार चाहे ठेकेदार, चाहे कर्मचारी, जुनसुकै पेसामा किन नहौँ कि त कांग्रेस भयौँ, कि एमाले कि त माओवादी । आफूले समर्थन गरेको पार्टीले अनुमोदन गरेका नाजायज सन्धि र सम्झौताहरूलाई पार्टीसँगको निकटता एवं आफ्नो व्यक्तिगत स्वार्थका आधारमा चुपचाप सहिरह्यौँ । हाम्रो सबैभन्दा ठूलो कमजोरी यही भयो ।

मैले देखाइदिने समस्या सबैले देख्नुभएको छ । भोग्नुभएको छ । उसोभए अब के गर्ने त ? नेपाललाई साँच्चिकै सुन्दर कसरी बनाउने ? मेट्रो रेल कसरी कुदाउने ? लोडसेडिङ कसरी घटाउने ? देशलाई आत्मनिर्भर कसरी बनाउने ?

यी प्रश्न सजिला छैनन् तर असम्भव पनि होइनन् ।

युवावर्ग, जसलाई कुनै पनि दलको हावाले छोएको सम्म नहोस् उनीहरू राजनीतिमा आउनुपर्‍यो । पढेर के गर्ने ? भन्दा राजनीति गर्छु र सक्दो सफाइ गर्छु भन्नेहरूको संख्या बढ्नुपर्‍यो । 

कुनै पनि ठाउँमा सफा कुराको जमात बढ्दै गयो भने, फोहोर आफैँ बढारिँदै जान्छ । ‘एउटा आलु कुहिएको बोरामा सबै आलु कुहिन्छ’ को थ्योरी सबै ठाउँमा लागू हुँदैन ।

सुरु गर्नुहोस् न केही न केही । देशको विकास गर्न सत्तामै पुग्नुपर्छ भन्ने छैन । जनतासँग प्रत्यक्ष संवाद गरेर, जनतालाई कन्भिन्स गरेर, जनताको साथ लिएर धेरै थोक गर्न सकिन्छ । सबै पार्टी थोत्रिइसके । थोत्रिइसकेको चीजको सही स्थान डस्टबिन हो । पार्टीसँगको निकटता त्याग्नुहोस् । व्यक्तिगत स्वार्थलाई तत्काललाई बिर्सिदिनुहोस् । समाजमा आफ्नो स्वस्थ उपस्थिति जनाउनुहोस् । देशको स्वार्थ हेर्नुहोस् । समय लाग्छ, तर परिवर्तन पक्कै हुन्छ । कुनै निश्चित पार्टीको झन्डा ओढेर त केवल आङ मात्र बिटुलो हुने रहेछ ।

यसपालिको नाकाबन्दीबाट त थाहा पाउनुभयो होला देशको हित भन्ने कुराले आफ्नो जीवनमा कति प्रभाव पार्दो रहेछ । कुनै पार्टीको समर्थन पाएर जति लाखको टेन्डर पार्नुहोस् । कुनै नेताको सोर्स लाएर जति ठूलो जागिर खानुहोस्, तपाईं बिरामी हुँदा देशमा गुड्ने एम्बुलेन्समा हाल्ने तेल भएन भने, त्यसको के अर्थ ? जनता धनी तर गरिब देशको हालत यस्तै हो ।

अब कुनै दलको भर नपर्नुहोस् । आफ्नो बुद्धि, विवेक र बलको कदर गर्नुहोस् । अब जाग्नुहोस् प्रिय युवा मनहरू । राजनीतिलाई हेर्ने दृष्टिकोण बदल्नुहोस् । आत्मनिर्भरता बढाउन प्रेरित गर्नुहोस् । अब पालो युवाहरूको हो । देशलाई ब्युँताऔँ । हामी सक्छौँ ।

facebook.com/subinbhattarai

 

प्रकाशित :मंसिर १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्