गणेश थापालाई फुटबल प्रेमीहरूले कसरी माफ गर्लान् र ?

- अश्विनी कोइराला

मंसिर १४, २०७२

कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष, एन्फा

२०५२ सालमा गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष हुँदा नेपालको फुटबल सार्कस्तरमा अब्बल थियो । समयक्रमसँगै नेपालको फुटबलको स्तर कमजोर मात्र भएन, फुटबल संरचनाभित्र भ्रष्टाचार र अनियमितताको बाढी नै आयो । ती घटनालाई बाहिर ल्याउने व्यक्तिहरूमध्ये एक थिए— कर्माछिरिङ शेर्पा । आफ्नै संस्थाका अध्यक्षले घोटला गरेका विभिन्न कार्य गोप्य रूपमा पर्दाफास गर्दै आएका एन्फाका उपाध्यक्ष कर्माछिरिङले पछिल्लो समय त्यसको खुलेरै विरोध गर्न थाले । उनकै नेतृत्वमा गठन भएको ‘फुटबल शुद्धीकरण अभियान’ले सरकार, अख्तियार र जनतासम्म राम्रै प्रभाव पार्‍यो । केही अघि गणेश थापालाई फिफाले घुस लिएको आरोपमा १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेपछि ‘फुटबल शुद्धीकरण अभियान’ नेपालमा मात्र होइन, फुटबलमा चासो राख्ने विदेशी निकायमा पनि चर्चित भएको छ । यही अभियानका प्रमुख कर्माछिरिङ शेर्पासँग साप्ताहिकले गरेको कुराकानी : 

तपाईंहरूले सुरु गर्नुभएको अभियानले सफलता पाएको छ, कस्तो लागिरहेको छ ?

म एन्फाको उपाध्यक्ष भएको १७ वर्ष भयो । सुरुमा गणेश थापाको कार्यशैली बुझ्न एक–दुई वर्ष लाग्यो । म झन्डै १५ वर्षदेखि एन्फाको गतिविधि ठीक भएन, यसको कार्यशैली गलत भयो भनेर लडिरहेको थिएँ । सुरुमा सत्यतथ्य बाहिर ल्याउँदा संस्थालाई अप्ठ्यारो पर्न सक्छ भनेर हामी भित्रभित्रै लड्यौं । उहाँले कार्यशैली सुधार गर्नुको साटो हामीलाई नै गलत ठहर्‍याउन थाल्नुभयो । त्यसपछि हामी बिस्तारै प्रेस, सरकार र अख्तियारतिर धाउन थालेका हौं । अहिले आएर हाम्रो अभियानले सफलता पाएको छ । फुटबल प्रेमीहरू खुसी हुनुहुन्छ । 

यो कुरा पर्दाफास हुन लामो समय लाग्यो, यसले नेपाली फुटबललाई रसातलमा पुर्‍यायो भन्नेहरू पनि छन्, के भन्नुहुन्छ ?

हामीले सबैतिर प्रयास गरेका हौं । संस्थाले गलत काम गरिरहेको छ भनेर गोप्य रूपमा सूचना दिएकै कारण कान्तिपुरले लगातार समाचार प्रकाशन गर्‍यो, अरूले पनि एन्फाको भ्रष्टाचारलाई स्थान दिए, तर उहाँ कति चतुर भने हामीले दिएको सूचना नै गलत हो भन्ने ढंगले प्रस्तुत हुनुहुन्थ्यो । थापामा पत्रकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय मात्र होइन सरकारलाई समेत प्रभावित पार्न सक्ने खुबी थियो । यही खुबीका कारण उहाँ २० वर्ष अध्यक्ष हुनुभयो । उहाँले आफ्नो पावर प्रयोग गरेर अख्तियारलाई समेत प्रभावित तुल्याउनुभयो । सुरुमा भ्रष्टाचारको मुद्दा नै दर्ता भएन । दर्ता भएपछि त्यसमा लामो समय लाग्यो । उहाँले यति ठूलो गेम खेल्नुभयो कि अख्तियारले समेत क्लिन चिट दियो । अहिले फिफाले कारबाही नगरेको भए उहाँ अझै शिर उठाएर हिँड्नुहुन्थ्यो । 

गणेश थापाले सरकार, खेलाडीदेखि अख्तियारसम्म प्रभावित गर्नुभयो, यो कसरी सम्भव भयो ?

फुटबलको विकासका लागि विदेशबाट करोडौं रुपैयाँ आएको थियो । फुटबल खेल नेपालमा लोकप्रिय छ । यहीँ पनि टिकट बिक्रीबाट पनि लाखौं रुपैयाँ जम्मा हुन्थ्यो । त्यसबाहेक प्रायोजक कम्पनीबाट साढे ४ करोड रुपैयाँ आएको देखिन्छ । तीमध्ये कति फुटबलमा खर्च भयो, त्यो नै थाहा छैन । यसको अर्थ उक्त पैसामध्ये ठूलो रकम मानिसहरूलाई मिलाउन प्रयोग हुन्थ्यो । एन्फामा आर्थिक नियमावली नै छैन । हामीले आर्थिक नियमावली बनाएर त्यही अनुसार रकम खर्च गरौं भनेर आवाज उठाउँदै आएका थियौं, तर एन्फाभित्र उहाँका मानिस धेरै थिए । आफूलाई मन नपरेको मानिसलाई कारबाही गर्ने र आफ्ना मान्छे भर्ती गर्ने, विदेश पठाउने, विभिन्न किसिमका सुविधा दिने कारणले हामी दुई–चार जनाले मात्र नियामावली बनाउने, उहाँलाई हटाउने जस्ता नीतिगत निर्णय गर्न सकेनौं, त्यसैले उहाँलाई चलखेल गर्न सजिलो भयो । कति पैसा कहाँ गयो, कसरी गयो, त्यसको हिसाब राख्नुपर्ने जरुरी भएन । 

तपाईंको समूहभित्र को–को थिए ?

वियनारायण मानन्धर, किशोर राई र पंकजविक्रम । उहाँलाई चुनौती दिन गीता राणाको अध्यक्षतामा अर्को संस्था खोल्यौं तर अन्तर्राष्ट्रिय रूपमा देशको खेललाई नै अप्ठ्यारो पर्ने अवस्था आएपछि एकीकरण गर्न बाध्य भयौं । अर्को कुरा बाहिर बसेर उहाँका गलत क्रियाकलाप बाहिर ल्याउन सकिँदैनथ्यो । एन्फाभित्र ७२ जना सदस्यमध्ये ५० देखि ५८ जनालाई उहाँ सधैं पकेटमा राख्न सफल हुनुभयो । उहाँका पक्षमा सधैं दुईतिहाइ मत पुग्थ्यो । 

यही बेला म्याच फिक्सिङ गरेर खेलाडीहरूले लाखौं कमाएको कुरा बाहिर आयो । यसमा एन्फा पदाधिकारीहरूको मिलोमतो हुन सक्छ ?

खेलाडीहरूले मात्रले यति ठूलो अपराध गर्न सक्दैनन् । युवा खेलाडीहरू आफ्नो करियर बनाउन चाहन्छन् । उनीहरूलाई खेल राम्रो खेल्नुबाहेक एन्फासँग नजिक हुन मन लाग्छ । यस अर्थमा यसमा एन्फा पदाधिकारीहरू पनि संलग्न हुनुपर्छ भन्ने हाम्रो ठहर छ । सिंगापुरका एक जना व्यापारीले फिक्सिङको अपराध गरेका कारण जेल सजाय पाएका थिए । ती व्यक्तिले खेल पत्रकारहरूको सहयोगमा जेलमै बसेर ‘केलोङ किङ’ शीर्षकको आत्मकथा लेखे । त्यो पुस्तकमा विश्वभरि कसरी म्याच फिक्सिङ हुन्छ भन्ने कुरादेखि नेपालका खेलाडीहरूले कसरी र कहाँ–कहाँ त्यस्तो अपराध गरे भन्ने कुरा उल्लेख गरिएको छ । अनुसन्धानहरूले पनि नेपाली खेलाडीहरूले २३ वटा खेल पैसा लिएर हारेको देखाएका छन् । विश्वप्रसिद्ध खेल साइटको स्पोर्ट राडरको डाटाले पनि उक्त कुरा पुष्टि गरेको छ । यति ठूलो कुरा पदाधिकारीहरूलाई थाहा भएन, उनीहरूको संलग्नता थिएन भन्ने कुरा कसरी पत्याउने ?

यी अपराधबाहेक गणेश थापाविरुद्ध करोडभन्दा बढी घूस खाएको आरोप लागेको थियो । यही आरोपमा उनी निलम्बनमा पनि परे । यस विषयमा तपाईंको भनाइ के छ ?

सबै कुरा पत्रपत्रिकाहरूमा आइसकेको छ । उहाँको छोराको खातामा १ करोड र उहाँको खातामा १ करोड १५ लाख रुपैयाँ आएको पुष्टि भैसकेको छ । उहाँले फिफामा जोसँग पैसा लिनुभएको थियो, उसैलाई भोट दिएको पनि पुष्टि भैसकेको छ । हुन त उक्त रकम फुटबलका लागि सापटी लिएको भनेर थापाले आफ्नो बचाउ गर्नुभएको छ । फुटबलका लागि हो भने त्यो पैसा किन एन्फाको खातामा आएन, उहाँकै छोरा र उहाँको नाममा किन आयो ? यसमा थप कुरा भन्नुपर्छ जस्तो लाग्दैन । गणेश थापा र उनको समूहलाई फुटबलप्रेमीले कसरी माफ गर्लान् र ?

अन्तर्राष्ट्रिय खेलहरूमा उमेर समूहभन्दा बढी उमेरका खेलाडीहरू पठाइएको आरोप पनि छ, के भन्नुहुन्छ ?

आरोप होइन, पुष्टि नै भैसकेको छ । यसमा खेलाडी छनौट गर्नेदेखि एन्फा पदाधिकारीसम्म 

संलग्न छन् । यो देशमा सरकार छ, यो देशमा कानुन छ र यसले देशको बेइज्जत गर्‍यो भन्ने लाग्छ भने यी सबै अपराध गर्नेहरूलाई दण्ड हुनेछ भन्ने आशा गर्छु । सम्पूर्ण फुटबलप्रेमीहरूले पनि खोजेको त्यही हो । हिजो फुटबल कहाँ थियो ? हामीले भारतलाई समेत जितेका थियौं । दक्षिण एसियामा अब्बल र एसियामा पनि माथिल्लो र्‍याङ्कमा पुगिसकेका थियौं, आज अन्तर्राष्ट्रिय बेइज्जत भएको छ । अब कुन आशाले फुटबल हेर्न जान्छन् दर्शकहरू ? जुन खेलाडीको खेल हेर्न हामी मरिहत्ते गथ्र्यौ, त्यही खेलाडीले प्रशंसकहरूको विश्वासलाई लत्याउँदै र देशकै खेलको बेइज्जत गर्दै आज जेल जानुपर्ने अवस्था आयो । फुटबललाई स्वच्छ बनाउन पनि यी सबै किसिमको अपराध गर्नेहरूले सजाय पाउनुपर्छ । 

तपाईंको शुद्धीकरण अभियान करिब–करिब पूरा भयो । अब नयाँ बाटो कोर्न तपाईंहरूको समूह सक्षम हुन्छ ? तपाईंहरूलाई एन्फाका अन्य पदाधिकारीहरूले साथ दिन्छन् ?

एन्फा अहिले ४५ जिल्लामा सक्रिय छ । तीमध्ये २२ जिल्ला हाम्रो शुद्धीकरण अभियानमा छन् । ए डिभिजनका १० क्लबमध्ये ७ वटा क्लब पनि हाम्रो अभियानमा छन् । यसरी सिधै हाम्रो बहुमत देखिन्छ । गल्ती नगर्ने वा परिबन्दमा पर्नेहरूले पनि हामीलाई साथ देलान् । जो गलत छ, उहाँहरूको त हामीले विरोध गरेकै हो । उहाँहरूलाई कानुनले समात्छ । अब फुटबलको विकास नहुने कुनै कारण छैन । 

यतिबेला फुटबलका फ्यानहरू निराश छन् । उनीहरूलाई फुटबलले गति लिन्छ भन्ने विश्वास दिलाउने आधार के–के हुन् ?

हाम्रो शुद्धीकरण अभियानले धेरै कुरा संकेत गर्छ । त्यसमा पनि हामी व्यवसायिक फुटबलमा लागिरहेका छौं । ग्रासरुटदेखि नै काम गर्छौं । हरेक जिल्लामा उमेर समूहका खेलाडी उत्पादन गछौं । ती सयौं खेलाडीबाट राम्रा खेलाडी छान्दै जान्छौं । एन्फामा आएको सबै रकम पारदर्शी ढंगले खर्च गर्छौं । यहाँभित्रका विकृति–विसंगतिहरूलाई जरैदेखि निर्मूल गर्छौं । यति भएपछि केही वर्षभित्रै नेपाली फुटबलले २० वर्षअघिको लय पक्रन्छ । 

प्रकाशित :मंसिर १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्