अनुभव

- सुविन भट्टराई

मंसिर ९, २०७२

अरूलाई चिन्न संगत गर्नुपर्छ, आफूलाई चिन्न अनुभव गर्नुपर्छ, तर यहाँ हामी, संगतै नगरी अरूप्रति धारणा बनाउन र अनुभवै नगरी आफ्नो क्षमता विश्लेषण गर्न माहिर छौं ।

एकजना मित्र छन् जो एकदमै राम्रो, सुनिरहूँझैँ लाग्ने गरी बोल्छन् । फेसबुकमा राम्रा–राम्रा स्ट्याटस लेख्छन् । हरेक कुरालाई सूक्ष्म दृष्टिले हेर्छन् । पुस्तक धेरै पढ्छन् । प्रसस्त घुम्छन् । भावुक पनि छन् । मलाई भित्रैदेखि लाग्छ ती मित्र एकदमै राम्रो लेखक बन्न सक्छन् ।

एकदिन मैले उनीसँग भनें, ‘म तिमीमा एउटा गजबको लेखक देख्छु । तिमी लेख्ने प्रयास किन गर्दैनौं ?’

‘किनभने म लेख्न जान्दिनँ,’ मित्रले यसरी जवाफ दिए मानौं मैले उनलाई बाघ मार्न भनेको हुँ ।

‘लेखेका छौं कहिल्यै एकान्तमा बसेर ?’

‘छैन,’ उनको उत्तर ।

‘एकै पेज भए पनि लेखेर प्रयास गर ।’

‘म सक्दिनँ होला यार ।’

‘प्लिज,’ मैले हातै जोडेँ, ‘कमसेकम मेरा लागि ।’

मेरा लागि भन्ने शब्दले मित्र गले । उनले एक पन्नाजति आफ्नै अनुभव लेखेर मलाई देखाए । म ईष्र्याले भुतुक्कै भएँ । त्यति राम्रो ।

अहिले उनी उपन्यास लेखिरहेका छन् । 

प्रतिभा भनेको पानीको मुहानजस्तै हो । जो हरेक मान्छेभित्र त हुन्छ तर मूल फुटाइदिने तत्व पनि चाहिन्छ ।

सक्दिनँ होला ।

आउँदैन होला ।

भ्याउँदिनँ होला ।

खै कसरी पो गर्ने होला ? यी र यस्ता संदिग्ध वाक्यले हामीभित्रको प्रतिभाको मूल कहिल्यै फुट्न सक्दैन ।

बलिउडका प्रख्यात नायक ऋतिक रोशन एकदमै राम्रो नृत्य गर्छन् । अभिनय क्षेत्रमा आउनुअघि उनले नृत्यको कुनै तालीम वा क्लास लिएका थिएनन् । पहिलो चलचित्रका लागि काम गर्दा आफूले नाचेको देखेर उनी आफैं छक्क परे । 

ऋतिक भन्छन्, म अझै बुझने प्रयास गरिरहेको छु यो कसरी सम्भव भयो । हरेक मान्छे जन्मदै केही न केही प्रतिभा लिएर आएको हुन्छ । कुनै बेला मान्छेले त्यसलाई चिन्छ तर त्यतिमात्र पर्याप्त हुँदैन । त्यसलाई बुझेर आफूमा अझ निखार ल्याउने प्रयास भने सधैं गरिरहनुपर्छ । हामीसँग के नराम्रो छ भन्नेतिर सोच्नुभन्दा आफ्नो विशेषता के हो भनेर पहिल्याउनु एकदमै जरुरी हुन्छ ।

यो कुराबाट हामी सिक्न सक्छौं । कतिपय गायक छन् देशमा जो घाँस काट्न जाँदा वा बाथरुममा मात्र गाएर आफ्नो प्रतिभा खेर फालिरहेका छन् । कतिपय लेखकहरू मैले माथि भनेझैँ सक्दिनँ होला को संदिग्धतामा आफ्नो प्रतिभा गुम्स्याइरहेका छन् । कतिपय पेन्टर होलान्, जो तँ राम्रो चित्र बनाउँछस् भन्दिने मान्छे नभएकाले आफूले बनाएका उत्कृट कलालाई कौडीजति पनि महत्व दिँदैनन् । कतिपय मान्छेभित्र राम्रो फोटोग्राफर लुकेको होला, जो क्षमता र इच्छा भैकन पनि अल्छी गरिरहेछन् । कतिपय अभिनयमा दक्ष होलान् जो मलाई कसले पत्याउने भन्दै निराशा लिएर प्रतिभालाई सबैका अगाडि देखाउन चाहँदैनन् ।

एक कदम त अघि बढ्नैपर्छ । एउटा सिँगो पुस्तक लेख्न चाहनेले पहिले एक लाइन त लेख्नैपर्छ । चौरमा गएर लात्ताले फुटबल नहिर्काएसम्म थाहा हुँदैन कसैले खेल्न सक्छ कि सक्दैन भन्ने कुरा । बोल्ने कला छ कि छैन भनेर थाहा पाउन माइक अघि गएर बोल्नै पर्छ । अनुभव त्यो हो । फेल भए पनि केही हुँदैन भन्दै परीक्षा दिनु अनुभव हो । त्यसो त अनुभव कुनै परीक्षा होइन, जसको पास, फेल वा डिस्टिङ्सन हुन्छ । हार्नसँग डराएर वा जितको मात्र लोभ गरेर केहीगर्न खोज्नु अनुभव होइन । अनुभव गर्नु भनेको जीवन जीउनु हो । अनुभव, मात्र अनुभव हो । अनुभवले मानिसलाई एउटै बाटो देखाउँछ— कर्मको बाटो ।

प्रकाशित :मंसिर ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्