खोजी ग्याँसको विकल्पको

- रामजी बलामी

मंसिर ७, २०७२

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति सहज नभएपछि सर्वसाधारणको दैनिकी कष्ठकर बन्दै गएको छ । डिजेल, पेट्रोलको अभावले आवतजावतमा समस्या छ भने मट्टीतेल र खाना पकाउने ग्याँसको अभावले धेरैको चुलो निभ्न थालेको छ । 

त्यसो त कोही सर–सापटीमा चुलो बालिरहेका छन भने कोही ग्याँसका विभिन्न विकल्प प्रयोग गरिरहेका छन् । ग्याँसको अभावले होटल व्यवसायीहरू थप मारमा छन्, कतिपयले व्यवसाय नै बन्द गरिसकेका छन् भने कतिपयले महँगो मूल्यमा ग्याँस किनेर व्यवसाय टिकाइराखेका छन् । केहीले दाउरा प्रयोग गर्न थालेका छन् । ग्याँसको अभावसँगै यसका विकल्पहरूको खोजी हुन थालेको छ । एकातिर ग्याँसको अभाव हुनु र अर्कातिर लोडसेडिङले गर्दा दुई छाक खाना पकाउन पनि धौ–धौ हुने अवस्था छ । बजारमा ग्याँसको विकल्पमा विभिन्न स्रोत–साधन उपलब्ध छन् जुन आफ्नो आवश्यकता र क्षमताअनुसार प्रयोग गर्न सकिन्छ ।

दाउरा

ग्याँसको अभावसँगै दाउरा प्रयोग गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । विशेषत: सहरी क्षेत्रमा दाउराको माग बढेपछि मूल्यसमेत वृद्धि भएको छ । राजधानीमा अहिले प्रतिकिलो २० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा दाउराको कारोबार भैरहेको छ । ठूला होटल तथा अस्पतालहरूमा समेत दाउरा प्रयोग हुन थालेपछि फर्निचर कारखाना र दाउरा व्यवसायीहरूको गोदाम चहार्दै हिँड्नेहरू थुप्रै छन् । आफ्नै घर भएका र बाहिर पर्याप्त ठाउँ भएकाहरूले यसलाई विकल्पका रूपमा प्रयोग गर्न सक्छन् ।

 

ब्रिकेट चुलो

ग्याँसको विकल्पका रूपमा ब्रिकेट चुलो प्रयोग गर्न सकिन्छ । यसका लागि एउटा चुलो किन्नुपर्ने हुन्छ । त्यसपछि अरू बेला ब्रिकेट मात्र किने पुग्छ । नेपाली बजारमा दुई प्रकारका बिक्रेट उपलब्ध छ । एउटा गोलो जसलाई बिहाइभ बिक्रेट भनिन्छ भने अर्काे दाउराकै आकारको लामो जसलाई पेलेट बिक्रेट भनिन्छ । सामान्य बजारमा प्रतिब्रिकेटको मूल्य २० देखि ३० रुपैयाँ पर्छ । प्याकिङमा प्रतिप्याकेट १ सय रुपैयाँसम्म पर्न सक्छ । एउटा ब्रिकेटले एउटा सानो परिवारलाई एक छाक खाना बनाउन पुग्ने व्यवसायीहरू बताउँछन् । होटलहरूका लागि पनि ठूलो ब्रिकेट बजारमा उपलब्ध छ जुन ५ सय रुपैयाँसम्म पर्छ । ब्रिकेटमा दाउरामा जस्तो धूवाँ ननिस्किने भएकाले सहरी क्षेत्रमा यसको प्रयोग उपयुक्त हुन्छ । विगतमा जाँडोमा आगो ताप्न मात्र प्रयोग गरिए पनि अहिले धेरैले खाना पकाउनसमेत यसको प्रयोग गर्न थालेका छन् ।

कोइला

खाना पकाउन कोइला पनि प्रयोग गर्न सकिन्छ । परम्परागत चुलोमा आगो बालेर निस्किएको कोइला अथवा बजारमा बिक्रीका लागि राखिने कोइलाका लागि पनि चुलो आवश्यक हुन्छ । दाउराको तुलनामा यसबाट त्यतिधेरै धूवाँ र गन्ध आउँदैन ।

इन्डक्सन चुल्हो

३ हजारदेखि ५ हजारसम्म पर्ने इन्डक्सन चुल्हो इलेक्ट्रिकल प्लेट हो । बिजुलीमा जोडेर यो प्लेटमा भाडा बसाइ जे पनि पकाउन सकिन्छ । यो प्लेटमा पकाइने भाडा भने भिन्दै हुन्छ, घरमा भएका भाडा यसमा नमिल्न सक्छन् ।

इलेक्ट्रिक हिटर

ग्याँसको उत्तम विकल्प हो इलेक्ट्रिक हिटर जुन नेपालमै बनाइन्छ । माटोको यो हिटरमा सबै किसिमका परिकार बनाउन सकिन्छ । बिजुलीबाट चल्ने भएकाले लोडसेडिङको तालिका हेरेर मात्र यसको प्रयोग गर्नुपर्ने हुन्छ । सामान्यत: यसको मूल्य प्रतिगोटा २ सय ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्छ । 

राइसकुकर

खाना पकाउन राइसकुकरको प्रयोग पहिलेदेखि नै हुँदै आएको छ । ग्याँसको अभावसँगै यसको प्रयोग ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन् । बजारमा क्षमता र गुणस्तर अनुसार १ हजार रुपैयाँदेखिका राइसकुकर उपलब्ध छन् ।

 

स्टोभ

खाना पकाउन स्टोभ पनि प्रयोग गर्न सकिन्छ । ग्याँस भन्दा डिजेल र मटीतेल केही सहज रूपमा पाइन थालेको छ । यसले गर्दा पनि स्टोभ उत्तम विकल्प बन्न सक्छ । परिवार सानो छ भने राइसकुकरमा खाना पकाएर स्टोभमा दाल र तरकारी पकाउन सकिन्छ । 

इलेक्ट्रिक ग्याँस स्टोभ

यो अलि महँगो विकल्प हो । ग्याँसजस्तै चुलो भएको यो स्टोभ पनि बिजुलीले चल्छ । यसको मूल्य कम्पनी र गुणस्तरअनुसार न्यूनतम २ हजार रुपैयाँदेखि १० हजार रुपैयाँभन्दा बढी पर्न सक्छ ।

स्मार्ट स्टोभ

यसको आकार करिब–करिब ब्रिकेट चुलोजस्तै हुन्छ । आल्मुनियम र स्टिलबाट बनाइने यो स्टोभले २५ किलोसम्मको भारी थेग्न सक्छ । यो चुलोमा दाउरा, ब्रिकेट, कोइला आदि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित :मंसिर ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्