देउसी–भैलो

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७२

नीराजन प्रधान, मोडल

तिहार आएपछि मेरो मनमा उमंग छाउँछ । मलाई तिहार निकै मनपर्छ । झिलिमिली र रंगीचंगी हुने भएकाले मलाई सानैदेखि तिहारको रौनकले लोभ्याउँथ्यो । सानोमा विशेषगरी पटाका पड्काइन्थ्यो । म पटाका पड्काउन डर नमानी अघि बढ्थेँ । म आफूसँग भएका पटाका सकियो भने साथीहरूको पटाका पड्काउन अघि सर्थे । म सानैदेखि ख्यालठट्टा गरिरहने र उपद्रो पनि निकै गरिरहने खालको थिएँ । 

देउसी–भैलो खेल्न घरबाट राति अबेर निस्किन अनुमति थिएन । यदि सम्साँझै घरबाट निस्किएको रहेछु भने पनि ८ बजेभित्र घर फर्किसक्नुपथ्र्यो । ८ बजेसम्म हाम्रो देउसी–भैलो कहाँ सकिन्थ्यो र ? साथीहरूसँग रातभरि खेल्ने योजना बन्थ्यो । कोही रातभरि सँगै बसेन र घर फर्कियो भने देउसीबाट उठेको पैसामा हकदाबी गर्न नपाइने नियम थियो । त्यसैले म देउसी खेल्दाखेल्दै एकैछिन ब्रेक लिएर घर आउँथे र आठ बजे नै सुतेको नाटक गर्थे । बुबामुमा निदाएपछि झ्यालबाट हाम फालेर फेरि साथीहरूले देउसी खेलिरहेको घरमा पुग्थेँ र देउसी खेल्न थाल्थेँ । 

देउसी खेल्दा मसँग टन्नै पटाका हुन्थे । साथीहरू देउसी खेलिरहँदा म पटाका पड्काउँदै देउसिरे भनिरहेको हुन्थे । एकपटक एउटा घरमा देउसी खेलेर अर्को घरमा जाने क्रममा बाटोको बीचमा कसैले बियरको बोतल फालेको भेटियो । त्यो भेटेपछि मेरो दिमागमा पटाकालाई बोतलभित्र राखेर पड्काउने उपद्रो कुरा आयो । म बोतलमा पटाका भर्दै थिएँ । परबाट प्रहरी गस्ती आइरहेको देखियो । पटाका पड्काउनु गैरकानुनी भएकाले प्रहरीले हामीलाई लखेट्न थाले । हामी बोतल र पटाका छाडेर कुलेलाम ठोक्यौं । प्रहरीले कुनै ठूलै अपराधीलाई खेदेजस्तो गरी हामीलाई धेरै बेरसम्म लखेटिरह्यो, तर पक्रन सकेन । त्यो रात हामी प्रहरीको फन्दामा परेको भए भन्ने सम्झेर अहिले पनि आङसिरिङ हुन्छ । त्यसपछि मैले त्यस्तो उपद्रो गर्ने काम बन्द गरे । तिहारलाई उत्साह र उमंगपूर्वक मनाउने क्रममा उपद्रो गर्दा अरुलाई बाधा त पुग्छ नै आफूलाई पनि हानी हुनसक्छ । यसपटक भने देशको बिग्रिएको अवस्थाले गर्दा देउसी–भैलो खेल्न उत्साह जागेको छैन ।

प्रकाशित :कार्तिक २४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्