चेपाङ गाउँको हरियाली (यात्रा स्मरण)

- मीनराज वसन्त

कार्तिक १७, २०७२

असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई देखिसक्दासम्म पनि मैले चेपाङहरूलाई देखेको थिइन । जब भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ जिपमा सिद्धिको यात्रा गरे, त्यहीबेला मैले टेलिभिजनमा त्यहाँका चेपाङहरूलाई देखेको थिएँ । आखिर मान्छेको कुनै पनि जात, वर्ग, सम्प्रदाय मान्छेभन्दा भिन्न हुँदैन भन्ने कुरा ढिलै भए पनि बुझ्न पाएँ । 

हामीसँग कसैले उपलब्ध गराएको गाडी थियो । त्यसमा दीपक, विष्णु, यादव र म चितवनको पर्साबाट चेपाङ गाउँतर्फ रवाना भयौं । हामी यतिसम्म योजनाविहीन थियौं कि, थाहा पाउनुभयो भने तपाईं सोह्रै आना हाँस्नुहुन्छ । चेपाङ गाउँ घुम्ने रहर पालेर लगभग ३५ किलोमिटरको यात्रा गरिरहँदा पनि कुन ठाउँमा जाने भन्ने निश्चित थिएन । बरु सामूहिक सल्लाह थियो— ‘शक्तिखोर पुगौं पहिले अनि त्यहाँबाट बाँकी यात्राको नक्सा बनाऔंला ।’

‘मेरा सहयोगी र सहृदयी साथी पनि छन् शक्तिखोरमा’ यादवले भनेको थियो । हामी चारै जना ३० ननाघेका लाठे युवा थियौं । शरीरभर यात्राको तरङ्ग तरल बनिरहेको थियो । मेरो मस्तिष्कमा आँखाले धेरै अघि टेलिभिजनमा देखिएका चेपाङहरूको स्मृति सलबलाउन थाल्थ्यो । कतै उनीहरू भेटिन्छन् कि भन्ने मसिना आशाका डोराहरू चुँडिएका थिएनन् । आखिर, मान्छे आशावादी प्राणी नै त हो । 

 कच्ची बाटो । यसै धूलो उड्ने भैहाल्यो । गाडीमा एसी हुँदाहुँदै पनि कलिला सिसाहरू खोलेर बाह्य प्राकृतिक हावामा मिसिएको धूलो पचाउने मौखिक सहमति भयो साथीहरूबीच । 

साँघुरो बाटो त्यसमाथि ग्राभेल । सेलरोटीझैं फनक्क घुमेका घुम्तीहरू । पर्याप्त हरियाली । बाटाको तल्लोपट्टिबाट आकारमा ठूलो तर पानीका हिसाबले सानो खोला बग्दै थियो सुलुसुलु । यसलाई ‘कयर खोला’ भनिँदो रहेछ । यही खोला त हो जुन पर्सा हुँदै राप्तीसँगको मिलनमा अविच्छिन्न बगिरहन्छ । हामीहरू शक्तिखोर पुग्ने लक्षका साथ हुइँकिइरह्यौं । नयाँ स्थानको अवलोकनले गर्दा गाडीभित्र साथीहरूमाझ त्यतिधेरै संवाद भएन । बल्लतल्ल शक्तिखोरमा पुगेर हाम्रो खरानी रंगको गाडी रोकियो । किनभने खोलाका कारण त्यहाँभन्दा अघि गाडी जाँदैनथ्यो । खै, बाबुरामले कसरी पुर्‍याए कुन्नि विलासी मुस्ताङ । 

‘अब कहाँ जाने ?’ कुनै निर्जन बनमा हराएझैँ सोध्न थाल्दा भए केटाहरू । एउटाले अर्को, अर्कोले अर्कोसँग यही प्रश्न सोधिरहन्थ्यो । जवाफ कसैबाट आएन । त्यसपछि हामी सिद्धितिर नलागेर सोझै दर्बेटार जाने भयौं । 

यादवका दुई जना दोस्त भेटिए यहीँनेर । बाइकमा थिए उनीहरू । सिद्धितिरबाट आइरहेको खोला र दर्बेटारको ओरालो झरिरहेको खोला शक्तिखोरमा आएर मिल्थे । दुई खोलाको संगत अचेलका अमानवीय प्रवृत्ति हुने मान्छेसँग जोडेर हेरिरहेँ । कसैगरी सापेक्ष लागेन मलाई । 

गाडी रोकिएको ठाउँबाट पारी पुग्न झोलुङ्गे पुल थियो । हामीहरू माथिसम्म पाइन्ट सारेर खोलो तर्नुको अलौकिक आनन्दमा हरायौं । बाइकहरू वारिपट्टि नै राखिए । 

खोलो तर्नेबित्तिकै किनारको सतहदेखि अलिकति उचाइमा एउटा पातलो गाउँ देखियो । माथिपट्टि अग्लो पहाड कुनै पृथ्वीपतिको शालिक जसरी उभिइरहेको थियो । ‘चेपाङ गाउँ हो कि त ?’ त्यहाँका स्थानीय साथीले जिज्ञासा मेटाइदेलान् भन्ने अपेक्षाका साथ सोधेँ । ‘यतातिर सबै चेपाङ र यिनकै बस्ती छन्’ साथीले बतलाए । 

‘के नेपाली भाषा बोल्न जान्दछन् यहाँका चेपाङहरू ?’ फेरि सोधिहालेँ । ‘तपाईँ–हामीभन्दा शुद्ध बोल्छन्,’ साथीको जवाफ थियो । मलाई लाग्यो— हामीले बोल्ने भाषाभन्दा पनि शुद्ध भाषा छ र अर्को जो चेपाङहरूले बोल्छन् । 

घडीले बिहानको पौने १० बजाइसकेको थियो । बिस्तारै घामलाई घुम्टो ओढाउँदै थियो कुहिरोले । बजारमा बस्दा अत्यधिक गर्मी महसुस गरेको ज्यान पहाडतिर आउँदा आंशिक जाडोको आभाष भयो । चितवनमा छौं जस्तै नलाग्ने त्यहाँ पुग्दा । 

अब हामी प्रतिस्पर्धात्मक रूपमा पैदल हिन्न थाल्यौँ । शक्तिखोरका साथीले पारीपट्टि खोलाको किनारा देखाउँदै भने—‘चुनखानीसम्म पुग्न ट्रयाक्टर गुड्ने गज्जपको बाटो थियो । बाढीले सप्पै लग्यो । त्यही कारणले चुनखानीसमेत बन्द छ अहिले । यो देशको सरकार मरेको छ’ बाटो देखेर रुष्ट भएका उनीहरू आवेशमा आइहाल्थे । 

एउटै खोला, धेरै ठाउँमा तर्‍यौं । स–साना पहाडका डाँडाहरू । प्रशस्तै निर्झर झरना, ठिहिराउने चिसो पानी, बाटो भन्न नि लाज लाग्ने खालको अव्यवस्थित बाटो र ठाडो उकालो चढ्दै हामी एउटा घुम्ती पसलमा आइपुग्यौं । जहाँ आइपुगेर पानी, खाजा खाइ केही बेर लामो सास फेर्‍यौँ । जम्माजम्मी पाँच किलोमिटर हिँडिएछ पहाडको त्यो अप्ठ्यारो पथमा । 

सबै जना धकिरहेका थिए गोरुझैँ । उक्त घुम्ती पसलबाट दश मिनट ठाडै उकालो उक्लिएपछि एउटा मात्र घर भएको ठाउँ दर्बेटार आइपुग्यो । तल हेर्दा भुवँरे देवीको सुन्दर मन्दिर देख्न सकिन्थ्यो । साथीको सहयोगमा त्यहाँस्थित चेपाङ परिवारलाई भेट्यौँ । हामी शहरिया जस्तै सुकिला मुकिला देखिन्थे उनीहरू पनि । किनभने खोला–खोल्सामा पानी बग्थ्यो तर पिउने पानीको अभाव । ओहोर–दोहोर गर्ने बाटोको असुविधा । मैले अनुमान लगाउन सकिनँ— कतिपटक यो देशको सरकार र राज्यव्यवस्थालाई थुके होलान्, सरापे होलान् यिनीहरूले । 

तलतिर पातलो चेपाङ गाउँ देखिए पनि जति उक्लिँदै गयो बस्ती उत्तिकै पातलो रहेछ । एउटा घर वल्लो डाँडामा देखिन्थ्यो । अर्को चाहीँ पल्लोमा । एक डाँडोबाट अर्को डाँडोको मान्छेलाई बोलाउँदा सहजै सुनिन्थ्यो तर हिँडेर आउँm भने पूरै दिन लाग्ने सम्भावना थियो । 

त्यसो त ढुङ्गेयुगको जर्जरता चिरेर सामाजिकीकरण भैसकेको पनि थुप्रै भैसकेको छ मान्छे तर त्यहाँ पुग्दा कताकता ढुङ्गेयुग भनेको यही त होइन भन्ने प्रश्नको खिचडी मन–मस्तिष्कमा पाकिरहन्छ ।

यात्रामा रहँदा अरूलाई के लाग्यो त्यसको ग्यारेन्टी दिन म सक्दिनँ । तर मलाई लाग्यो—किन चेपाङहरू पहाडमै बस्न रुचाउँछन् ? असामाजिक जस्ता किन देखिन्छन् ? मर्दा पर्दा कसरी काम फुक्छ यिनीहरूको ? कति पटक बजार झर्छन् होला वर्षमा ? के नेपाल सरकारले कहिल्यै यिनीहरूसमक्ष पुग्ने आँट गर्‍यो ? 

पहाडी ठाम । हावा पानीको हिसाबले स्वर्गतुल्य लाग्यो । दुर्गम क्षेत्रमा भोगिरहेको कष्टसाध्य दिन्दैनिनी पनि बुझियो । हाम्रो सरकार कत्तिको उदार छ भन्नेकुरा यी क्षेत्रको भ्रमणले पुष्टि गर्छ । 

 दुई–चार घण्टा पहाडको काखमा लुटपुटिँदै रमाइलो गर्‍यौं । फोक्सोमा पहाडको हावा भरेर ओरालो झर्दै उही बाटो पर्सामा आएर यात्रामा पूर्णविराम लगायौं । एउटा अचम्भित बनाउने कुरा सुनियो । त्यस्तो दुर्गममा पनि प्रतिकठ्ठा ६५ हजार रे जग्गाको ।

 

प्रकाशित :कार्तिक १७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्